गैरकानुनी कारोबार रोक्न बैंकको रडार ठूलो बनाइँदै

सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) भन्नाले गैरकानूनी कार्य गरी आर्जन गरेको सम्पत्तिलाई कानूनी स्रोतबाट प्राप्त भएको देखाउन त्यस्तो सम्पत्तिको वास्तविक स्रोत लुकाउने, प्रकृति बदल्ने वा कारोबार छल्ने कार्यलाई बुझिन्छ । सम्पत्तिको शुद्धीकरण विभिन्न जटिल तथा बहु चक्रीय प्रक्रिया मार्फत राज्य संयन्त्रको दुरुपयोग गरी हुने गरेको पाइन्छ । व्यक्तिगत वा सांगठनिक रुपमा हुने आतङ्कवादी क्रियाकलापहरूमा प्रत्यक्ष वा परोक्ष रुपमा आर्थिक सहयोग गर्ने कार्यलाई आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी मानिन्छ । निश्चित क्षेत्र, वर्ग वा देशमा मात्र सीमित नरहने यस्ता अपराधले राज्यको समग्र कानूनी, वित्तीय तथा सुरक्षा प्रणालीलाई कमजोर बनाई अपराध र अपराधीलाई नै शक्तिशाली बन्न थप मद्दत पुर्याउँछ । यस्तो कार्य गर्न बैंकहरुले सम्पत्ति शुद्धीकरण (एन्टीमनी लाउण्डरिङ्ग (एएमएल) तथा आतङ्कवादी क्रियाकलाप (सीएफटी)मा आधारित भएर काम गरिरहेका छन् । नेपालमा आतङ्कवाद क्रियाकलापमा वित्तीय लगानी सान्दर्भिकता छैन । किनभने त्यति धेरै देखिएको छैन । र, ठूलो मात्रामा रकम कारोबार हुने देश पनि होइन । तर, मनी लाउण्डरिङ्गको भने विभिन्न तरिकाबाट भइरहेको हुन सक्छ । जस्तो भ्रष्टाचारका मुद्दा, कालोधनलाई सेतो धन बनाउने मुद्दा हुन सक्छन् । विगतमा नीतिगत व्यवस्था नभएका कारण १२/१३ वर्ष अगाडि नेपाल खैरो सूची (ग्रेलिष्ट)मा परेको थियो । त्यसपछि सरकारले नीतिगत व्यवस्था गर्ने प्रतिवद्धता जनाएपछि ग्रेलिष्टबाट बाहिरि निस्किएको थियो । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ), एशिया प्यासेफिक ग्रुप (एपीजी)ले एएमएल/सीएफटीसँग सम्बन्धी विषयहरू हेर्छन् । विगतमा नेपालले कानुन बनाएपनि कार्यान्वयन प्रभावकारिता नभएपछि फेरी ग्रेलिष्टमा परेको हो । सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित कानुन कार्यान्वयन गर्ने निकाय धेरै रहेका छन् । जसमध्ये बैंक एउटा पार्ट मात्रै हो । पछिल्लो अवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाहरूले एएमएल/सीएफटीसँग सम्बन्धि गतिविधिहरू प्रभावकारी रुपमा कार्यान्वयन गरिरहेको देखिन्छ । एएमएलमा अन्य क्षेत्र क्यासिनो, एजुकेसन कन्सल्टेन्सी, पेट्रोल पम्प लगायत पनि पर्छन् । यी क्षेत्रमा हुने नगद कारोबारलाई रोक्न सकिँदैन । किनभने धेरै नगद कारोबार हुने देशमा नेपाल पनि पर्छ । ग्रेलिष्टबाट बाहिरी निस्किन २ वर्षको समय दिएको छ । साथै, केही नीतिगत व्यवस्था गर्नुपर्ने र कार्यान्वयनमा प्रभावकारिता तथा कडा रूपमा लागू गर्न सुझाव दिएको छ । त्यो गरेपछि ग्रेलिष्टबाट निस्किन सम्भव छ । नेपाल आयातमा आधारित देश हो । निर्यातभन्दा आयात १०/१२ गुणा बढी छ । हामीले खपत गर्ने सबै सामान विदेशबाट आयात हुन्छ । जुन सामान प्रतीतपत्र (एलसी) खोलेर विदेशबाट आयात गर्नुपर्छ । ग्रेलिष्टमा परेपछि एलसी खोल्दा विदेशी बैंकहरूले अन्तर्राष्ट्रिय बैंकबाट कन्फर्मेसन गराएपछि मात्रै एलसी स्वीकार गर्छन् । विदेशी बैंकहरूले नेपाललाई सहज रुपमा स्वीकार गर्दैनन् । कन्फर्मेसन गर्ने बैंकले बढी शुल्क लिन सक्छ । शुल्क लागेपछि त्यो लागत ग्राहकले खरिद गर्ने सामाको मूल्यमा पर्छ । यसले मूल्य वृद्धि बढाउन भूमिका खेल्छ । नेपालमा थोरै भएपनि वैदेशिक लगानी (एफडीआई) छ । वैदेशीक लगानी भित्र्याउने र विकास निर्माणका काम गर्ने राज्यको नीति रहेको छ । अब एफडीआई हाल्दा ग्रेलिष्टमा परेको देशलाई गर्दिनँ भनेर अस्विकार गर्न सक्छ । यसले सरकारको नीति तथा योजनामा समेत धक्का लाग्छ । यसले अर्थतन्त्र विकासमा ठूलो असर गर्छ । बैंकले के गरिरहेको छ ? सिटिजन्स बैंकको एएमएल/सीएफटीको छुट्टै विभाग छ । राष्ट्र बैंकले तोकेबमोजिम कम्पलायन्स अफिसर (म्यानेजर लेभल)को नेतृत्वमा विभागले एएमएल तथा सीएफटीसँग सम्बन्धित विभिन्न क्रियाकलापका विषयमा काम गरिरहेको छ । जस्तो केवाईसी, ग्राहकको ड्यूडेलिजेन्स, देशभरिका २ सय वटा शाखा र व्यवसायीक केन्द्रबाट हुने कारोबारको पुनरावलोकन, आवश्यकताका आधारमा नीति निर्माण गर्ने, नीति नियम कार्यान्वयन गर्ने र त्यसको प्रभावकारिता हेर्ने काम एएमएल/सीएफटी विभागले गरिरहेको छ । विभागमा १३ जना कर्मचारीले काम गरिरहेका छन् । नेपाल ग्रेलिष्टमा परेपछि अझै निगरानी बढाउनुपर्ने भएकाले विभागमा कर्मचारी थप्नुपर्ने देखिन्छ । बैंकको रडार अझै ठूलो बनाउनुपर्ने भएको छ । सानो सानो वित्तीय कारोबारलाई पनि पुनरावलोकन गर्नुपर्ने देखिएको छ । किनभने सानो वित्तीय कारोबारमा पो गलत अभ्यास भइरहेको छ की भनेर निगरानी बढाउनु पर्ने देखिएको हो । बैंकले एएमएल/सीएफटीसँग सम्बन्धित रहेर सबै कर्मचारीहरूलाई निरन्तर तालिमको व्यवस्था गरिरहेको छ । ग्राहकलाई के सिकाउने, के जानकारी गराउने, अपडेट कसरी गर्ने भनेर निरन्तर तालिम दिइरहेको छ । जस्तो कोही ग्राहक बैंकमा कारोबार गर्न आउँदा त्यतिबेला ग्राहकलाई बैंकले एएमएल/सीएफटीका विषयमा जानकारी गराउँछ । एकचोटी बुझेपछि अर्काेपटक ग्राहक आफै सजग हुन्छ । यो विषय बैंकका कर्मचारीले मात्रै थाहा पाएर हुँदैन, ग्राहकलाई पनि जानकारी गराउनुपर्ने हुन्छ ।  केवाईसी नै मुख्य बैंकमा खाता खोल्दा सुरुवातमा केवाईसी भर्नुपर्ने हुन्छ । म को हो, मेरो क्षमता के हो ? मैले कतिको कारोबार गर्छु भनेर केवाईसीमार्फत सबै विवरण भर्नुपर्ने हुन्छ । जस्तो विद्यार्थी भनेर खाता खोलिएको छ तर, कारोबार करोडौं हुन्छ भने त्यो गलत अभ्यास हो । त्यसैले बैंकको खाता खोल्दा सुरुवातमा केवाईसी नै मुख्य हो । केवाईसीको आधारमा कारोबार भएको छ/छैन भनेर बैंकले निरन्तर निगरानी गरिरहेको हुन्छ । केवाईसीमा घोषणा गरिएको वार्षिक कारोबारको सीमा कोरबैंकिङ प्रणाली (सीबीएस)मा अपडेट गरिएको हुन्छ । यदि सीमा भन्दा बढी कारोबार भयो भने बैंकलाई स्वतः जानकारी हुन्छ । त्यसपछि केवाईसी मिस म्याच भयो भनेर बैंकले ग्राहकलाई जानकारी गराउँछ । तर, कतिपटक केवाईसी भर्न लगाएको भन्दै ग्राहकहरूले झन्झट मान्ने गर्नुहुन्छ । तर, त्यो एएमएल/सीएफटीका लागि केवाईसी भरिएको हुन्छ ।  जस्तो केवाईसीमा वार्षिक १० लाखको कारोबार गर्ने भनेर उल्लेख गरिएको छ । तर, खातामा ५० लाखको कारोबार भयो भने केवाईसीसँग म्याच गर्दैन । एएमएलको आवश्यकताका आधारमा कसरी ५० लाखको कारोबार भयो भनेर जस्टिफाइ गर्नुपर्ने हुन्छ । यस्ता ग्याप देखिएको ठाउँमा बैंकले पूरा गरेर अघि बढेको हुन्छ । यदि १० लाखको सीमा राखेर ५० लाख कारोबार गरेको छ भने बैंकले ग्राहकलाई केवाईसी अपडेट गराउन लगाउँछ । सूचना दिँदा पनि केवाईसी अपडेट गराएन, कारोबार शङ्कास्पद छ, सीमाभन्दा बढी कारोबार भएको छ भने खाता ब्लक गरेर राष्ट्र बैंकमा रिपोर्ट गरिन्छ । त्यसपछि राष्ट्र बैंकले अनुसन्धान गर्ने निकायलाई पठाउँछ । अनुसन्धान गरेपछि एएमएल/सीएफटीसँग सम्बन्धित छ/छैन भनेर पत्ता लगाउँछ । र, केही त्रुटी भेट्यो भने कारबाही वा मुद्दामा जान्छ ।  जस्तो कुनै ग्राहकको आम्दानी १० लाख रुपैयाँ छ । २ वर्षपछि २० लाख रुपैयाँ भयो भने केवाईसी अपडेट गराउनुपर्छ । यदि ग्राहकलाई जानकारी छैन भने बैंकले नै फोन गरेर केवाईसी अपडेट गर्न जानकारी दिन्छ । यदि केवाईसी अपडेट गराएन भने बैंकले खाता रोक्का हुन्छ । केवाईसी अपडेट गर्याे भने पुनः खुला हुन्छ । शङ्कास्पद कारोबार धेरै भइरहेका हुन्छन् । तर, शङ्कास्पद हुँदैमा सबै कारोबार गैरकानुनी हुँदैनन् । ग्राहकलाई फुर्सद नभएर केवाईसी अपडेट नगरेको पनि हुन सक्छ ।  कुनै शङ्कास्पद कारोबार भइरहेको छ भने बैंकको सिस्टमले ट्रयाक गरेर राष्ट्र बैंकको फाइनान्सियल इन्फर्मेसन युनिट (एफआईयू) मा पठाउँछ । शङ्कास्पद कारोबारको रिपोर्ट गरेको मुद्दामा बैंकको विभागमा कार्यरत कर्मचारीलाई बाहेक अरूलाई थाहा हुँदैन । आन्तरिक वा बाह्य लेखापरीक्षक (अडिटर), राष्ट्र बैंकले गर्ने निरीक्षणमा समेत कसको रिपोर्ट गरेको हो भनेर नाम ठेगाना केही पनि सोध्न पाउँदैन । कसैले ९ लाख ९९ हजार रुपैयाँको मात्रै कारोबार गरिरहेको छ भने त्यसलाई पनि शङ्कास्पद कारोबार मानिन्छ । त्यो त १० लाख रुपैयाँको कारोबारलाई छल्न गरेको कारोबार हो । नगदमा हुने कारोबारलाई निरुत्साहित गरेर डिजिटल कारोबारलाई जोड दिने हो भने धेरै हदसम्म गैरकानुनी काम रोकिन सक्छन् । कालो धनलाई सेतो बनाउन बैंकको भूमिका छ ?  कालो धनलाई सेतो धन बनाउन बैंकको भूमिका हुँदैन । तर, संसारभर बैंकलाई प्रयोग गरिन्छ भन्ने अध्ययनले देखाएको छ । हाम्रो देशमा सबैभन्दा कालो धनलाई सेतो बनाउन जग्गाको प्रयोग भइरहेको देखिन्छ । एक वर्ष अगाडि २० लाख रुपैयाँमा खरिद गरेको जग्गा एक वर्षपछि करोडमा बिक्री गरिरहेका हुन्छन् । यसमा साढे ७ प्रतिशत कर तिर्नुपर्ने हो । तर, थोरै रकम मात्रै सेतो भएर आउँछ । जस्तो कुनै ग्राहकले जग्गा कारोबार गरेको ३० लाख रुपैयाँ जम्मा गरिदिनु पर्‍याे भनेर बैंकमा आयो भने हामीले बचत गर्दैनौं । किनभने १० लाखभन्दा माथिको कारोबार अनिवार्य रुपमा चेकबाट गर्नुपर्ने हुन्छ । जस्तो करोडको जग्गा बिक्री गरेर ल्याएको रकम बैंकको शाखाको कर्मचारीले मात्रै जम्मा गर्न सक्दैन । त्यसको लागि हेड अफिसको अनुमति लिएर मात्रै जम्मा गर्नु पर्ने हुन्छ । त्यसको चेक एण्ड ब्यालेन्स भइरहेको हुन्छ । जहाँ बढी नगद कारोबार हुन्छ त्यो क्षेत्रमा एएमएलको जोखिम बढी हुन्छ । घरजग्गा, सुनचाँदी पसलमा बढी नगद कारोबार हुन्छ । त्यसैले १० लाखभन्दा बढीको सुनचाँदीको खरिद गर्ने ग्राहकको अनिवार्य केवाईसी भर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । अब बैंकले जस्तै सुनचाँदी व्यवसायीले पनि रिपोर्ट गर्नुपर्ने हुन्छ । नगद बढी हुने व्यवसाय पेट्रोल पम्प, होटल रेस्टुरेन्ट, क्यासिनो लगायत पनि पर्छन् । सिटिजन्स बैंकले के गरिरहेकाे छ ? नेपाल राष्ट्र बैंकको एएमएल/सीएफटीको सुपरीवेक्षण महाशाखाले समय समयमा एएमएल/सीएफटीका लागि छुट्टै सुपरीवेक्षण गर्छ । त्यतिबेला बैंकले सबै कागजात बुझाउँछ । नीतिगतदेखि सबै कागजात हेर्छ । पछिल्लो पटकको निरीक्षणमा बैंकको पर्फमेन्स राम्रो छ भनेर सन्तुष्ट भएर गएका छन् । फेरी आउँदा दिइएका सुझावलाई आत्मसात गर्दै अघि बढ्ने हो ।  केही समयअघि राष्ट्र बैंकले एएमएल/सीएफटी निर्देशन नम्बर १९ मा परिवर्तन गरेको छ । परिवर्तन गर्ने बित्तिकै बैंकले पनि तत्काल कार्यान्वयनमा ल्याइसकेको छ । जस्तो राष्ट्रिय परिचयपत्र नभई खाता नखोल्न निर्देशन दिएको छ । यस्तै, मोबाइल बैंकिङमा जसको खाता हो, उसैको नाममा दर्ता भएको मोबाइल नम्बर हुनुपर्छ भनिएको छ । १८/१९ लाख ग्राहकमध्ये ६/७ लाख मोबाइल बैंकका ग्राहक छन् । त्यसैले फोन गर्दै, बोलाउँदै, आफ्नै नाममा रहेको मोबाइल नम्बर दर्ता गराउने काम भइरहेको छ ।  लाभदायीक मालिक (बेनिफिसियल ओनरसिप)को आइडी महत्वपूर्ण छ । जस्तो खाता मेरो छ तर, त्यो खाता कसले चलाइरहेको छ ? भनेर हेर्नुपर्ने हुन्छ । कहिलेकाहीँ खाताबाट करोडौंको कारोबार भयो, भरिया मात्रै समातियो, आधिकारिक मान्छे को हो भन्ने पत्ता लाग्दैन । झुपडी भएको मान्छेको खातामा करोडौं कारोबार भएको सुनिन्छ । खाताको मुख्य सञ्चालकले नै सञ्चालन गरिरहेको छ भन्ने हुँदैन । यो विषय जटिल छ । तर, बैंकले यस विषयमा पनि वास्तविक खातावालको मात्रै कारोबार गराउने काम गरिरहेको छ ।  जस्तो कुनै कम्पनीको खातामा सेयरधनी, सञ्चालक, सीईओ छ भने उनीहरुले मात्रै सञ्चालन गरिरहेका छन् भने त्यो विषय बैंकलाई थाहा हुनुपर्छ । अब भरिया मात्रै नभएर मालिकलाई पनि समात्ने गरी प्रणालीको विकास भइसकेको छ । लाभदायीक मालिक को हो, कारोबार कसले गरिरहेको छ भनेर बैंकले तथ्याङ्क राख्ने काम गरिरहेको छ । जसले अनुसन्धान गर्न सजिलो हुन्छ ।  साथै, वित्तीय सचेतनाका लागि विद्यालय तहको पाठ्यक्रममा पनि समावेश गर्नुपर्छ । जस्तो विद्यार्थीलाई रातो बत्ति बल्दा रोकिनु पर्छ, हरियो बत्ति बल्दा हिँड्नुपर्छ भनेर पढाइन्छ । सानोमा सिकाइएको यो विषय ठूलो हुँदा पनि त्यही नै सिक्छन् । त्यसैले यो विषय पनि विद्यालय तहदेखि नै पढाउन सकियो भने सहज हुन्छ ।   

आफ्नै भूमिकाबाट देश र समाज सुधारको मार्ग

हरिकृष्ण जोशी आजभोलि प्रायः मानिसहरू समाज बिग्रियो, संस्कृति हराउँदै गए र मानवीय मूल्यहरू खस्किँदै गएको गुनासो गरिरहेकै हुन्छन् । कतिपयले त देशमा केही अवसर नै छैन भनेर निराशा व्यक्त गरिरहेका छन् । यस्ता गुनासाहरू सामाजिक सञ्जालदेखि चिया गफसम्म सबै ठाउँमा सुनिन्छन्  । तर, यस्तो गुनासो गर्नु अघि हामीले एकपटक आफूले आफूलाई प्रश्न गर्न आवश्यक छ, के मैले समाजका लागि केही गरिरहेका छु ? के मैले संस्कृतिको संरक्षणमा कुनै योगदान पुराइरहेको छु ? के म मानवीय मूल्यहरूमा अडिग छु ? जबसम्म यस्ता प्रयत्नहरु हामी आफूले आफैंलाई प्रश्न गरी आत्मसमीक्षा  गर्न सक्दैनाैं तबसम्म समाज, संस्कृति र राष्ट्रको परिवर्तनको अपेक्षा गर्नु केवल कल्पना मात्र हुन्छ । समाज र राष्ट्र स्वतः बिग्रिएको हुँदैन समाज र राष्ट्र  त हामीले बिगारेका हुन्छौ जब हामी व्यक्तिगत स्वार्थलाई सामाजिक उत्तरदायित्वभन्दा माथि राख्छौँ, जब हामी सत्यभन्दा सजिलो झूट रोज्छौँ, जब हामी कामभन्दा बहाना खोज्छौँ, तब समाज कमजोर हुँदै जान्छ । समाज भन्नु केवल सरकार वा नेताहरू मात्र होइन, समाज हामी हौं, हामी हरेक व्यक्ति । समाज कुनै एक दिनमा बिग्रिने र एकै दिनमा बन्ने पनि होइन । यो एक क्रमिक प्रक्रिया हो, जसमा हामी सबैको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका रहको छ । अहिलेको समाज अत्यन्त प्रतिस्पर्धात्मक, व्यस्त, र स्वार्थ प्रधान बन्दै गएको छ । मानिसहरूलाई अब के सही हो ? भन्दा पनि के चाँडो फाइदा पुग्छ ? भन्नेमा चासो छ । यसले गर्दा इमानदारी, करुणा, सहकार्य, आदर, सहनशीलता जस्ता मानवीय मूल्यहरू कम हुँदै गएको छ । हामीहरू यति आत्म केन्द्रित भइसकेका छौँ कि अरूको पीडाप्रति संवेदनशील दर्साउन समेत गाह्रो भइरहेको छ । सांस्कृतिक दृष्टिले हेर्दा पनि हाम्रो स्थिति खस्कँदै गएको छ । हाम्रो मौलिकताहरू लोप हुँदै गएका छन् । हाम्रो भाषा, पहिरन, खानपान, परम्परा र चाडपर्वप्रति गौरव गर्ने सोच घट्दो अवस्थामा छ । बरु हामी विदेशी संस्कृतिको अनुकरणमा रमाइरहेका छौं । पछिल्लो पुस्ता मोबाइल र इन्टरनेटको माध्यमबाट अन्तर्राष्ट्रिय प्रभावमा गहिरो रूपमा तानिएको छ । तर, आफ्नै घरको संस्कृति, बाजेको कथा, रीतिथिति र भाषाको महत्व बुझ्न सकिरहेको छैनन् । यसको दोष पछिल्लो पुस्तालाई मात्र  दिन मिल्दैन । शिक्षा प्रणाली, अभिभावक, र समाजका ठूला वर्ग पनि यस्तै असंवेदनशीलतामा रमाइरहेका प्रभाव उनीहरूमा पनि परेको छ ।  मानवीय मूल्यहरूको क्षयीकरण पनि गम्भीर चिन्ताको विषय हो । पहिले मानिसहरूले शिक्षालाई चरित्र निर्माणको माध्यमका रूपमा लिने गर्थे, अहिले भने शिक्षा प्रतिस्पर्धा जित्ने अस्त्र बनेको छ । विद्यार्थीले इमान, अनुशासन, दया, कर्तव्यबोध सिक्नु पर्ने ठाउँमा परीक्षा पास गर्न कति टिप्स छन् भन्ने नै प्राथमिकता राखेर पढिरहेका छन् । यदि यो स्थिति बदलिनुपर्ने हो भने यो केवल पाठ्यक्रम फेरिएर मात्र सम्भव हुँदैन । घर, समाज र शिक्षकहरू सबै मिलेर मूल्यमा आधारित वातावरण निर्माण गर्नु जरुरी छ । देशमा केही छैन भन्ने सोच एक किसिमको भाष्य निर्माण भइसकेको छ । निराशावादी सोचले हाम्रो मनोबल कमजोर बनाइरहेको छ र यसले हामीलाई र समाजलाई पनि नराम्रो अस पारिरहेको छ । हामी खाली अरूको आशा गर्ने भयौ, आफ्नो क्षमता अनुसार काम नगरी समाज र राष्ट्रलाई मात्रै गालि गरिरह्यौं । एकचोटि सोचौँ त, के तपाईंले आफ्नो क्षमता अनुसार देशलाई केही दिनुभयो ? केही सिर्जना गर्नुभयो ? केही सकारात्मक परिवर्तन ल्याउन प्रयास गर्नुभयो ? छैन भने अनि समाज र राष्ट्र प्रति किन गुनासो त ? अन्ततः परिवर्तन सधैं भरी भित्रबाट सुरु हुन्छ । गुनासो गरेर मात्र समाज सुधारिँदैन, संस्कृति जँगिँदैनन्, मूल्यहरू फर्किँदैनन् र देश अगाडि बढ्दैन । त्यसका लागि हरेक व्यक्तिको जागरण, आत्म बोध र सक्रिय योगदान जरुरी छ । परिवर्तनको सुरूवात अरूबाट होइन, आफैँबाट हुनुपर्छ । जब हरेक व्यक्तिले आफूले आफूलाई सुधार्ने दिन आउँछ, तब सम्भावनाहरू देखिन थाल्छन्  । देशमा केही छैन भनेर हामीले भन्दै गरेकाे त्यो केवल हाम्रो निराशा हो, यथार्थ होइन । अवसरहरू सदैव हुन्छन्, तर त्यसलाई देख्न सक्ने आँखा हामीसँग हुनुपर्छ । देश सुधारिनुपर्छ भने हामीले पहिले आफैँ सुधारिनुपर्छ । देशमा इमानदार नेतृत्व चाहिएको छ भने, पहिला हामी आफैँ इमानदार बन्नु पर्छ । देशमा सदाचार चाहिएको छ भने, हामी आफैँ सदाचारी बन्नु पर्छ तसर्थ परिवर्तनको जिम्मा सरकारलाई,नेतालाई र नीतिलाई होइन हामी आफैले लिनुपर्दछ र भन्न सक्नु पर्दछ परिवर्तन मबाट सुरु हुन्छ । (हरिकृष्ण जोशी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्।)

नेपाल स्पा र वेलनेस पर्यटनको गन्तव्य बन्दै : स्वास्थ्य, समृद्धि र सम्भावनाको संगम

स्पा र वेलनेसको अवधारणा मानव सभ्यताको प्रारम्भदेखि नै विद्यमान रहेको पाइन्छ । प्राचीन समयदेखि नै मानिसहरू प्राकृतिक स्रोतहरू जस्तै तातोपानी, जडीबुटी, ध्यान, योग र जल चिकित्साको माध्यमबाट आफ्नो शारीरिक, मानसिक र आत्मिक स्वास्थ्य सन्तुलनमा ध्यान दिने गर्दथे । आजको युगमा मानिसहरुको जीवन अन्त्यन्तै व्यस्त र तनावपूर्ण हुने गरेको छ । कामको तनाव, अनियमित खानपान र अपर्याप्त आरामले गर्दा मानिस विभिन्न शारीरिक र मानसिक स्वास्थ्य समस्याबाट पीडित छन् । यसको समाधानको उपायको रूपमा विश्वभर स्पा र वेलनेशलाई लिन थालिएको छ ।  मेसोपोटामिया, मिश्र र भारतमा परम्परागत चिकित्सा पद्धति र प्राकृतिक उपचारको अभ्यास प्राचीनकालदेखि चलिआएको छ । प्राचीन भारतमा आयुर्वेद र योगलाई शरीर, मन र आत्माको सन्तुलनका लागि उपयोग गरिन्थ्यो । ग्रीस र रोमन साम्राज्यमा तातोपानी स्नान अत्यन्त लोकप्रिय थिए । त्यहाँ स्नान, विश्राम र सामाजिक जमघट सँगसँगै स्वास्थ्य सन्तुलनमा जोड दिइन्थ्यो । चीन र जापानमा तातोपानी, अकुपञ्चर/अकुप्रेसरजस्ता प्राकृतिक उपचार पद्धति स्वास्थ्य सन्तुलनको लागि प्राचीनकालदेखि चलिआएका छन् ।  आजको २१औँ शताब्दीमा स्पा र वेलनेस केवल स्वास्थ्य सेवाको रूपमा मात्र नभई खरबौँ डलरको विश्वव्यापी उद्योग बनेको छ । वेलनेस भन्नाले केवल रोगको अभाव मात्र होइन, यो जीवनशैलीको एक सक्रिय प्रक्रिया हो, जसले व्यक्तिलाई आफ्नै शरीर, मन र आत्मासँग जोड्न मद्दत गर्छ । डिजिटल जीवनशैली र मानसिक समस्याको वृद्धि, दीर्घकालीन रोगको जोखिम र मानिसको स्वास्थ्यप्रतिको सचेतनाले वेलनेस र स्पा सेवाको माग विश्वव्यापी रूपमा बढेको पाइन्छ । दिगो वेलनेस पर्यटन, पर्यावरणमैत्री स्पा, चिकित्सकीय वेलनेस, स्वास्थ्य केन्द्रित चिकित्सा सेवा, परम्परागत र आधुनिक चिकित्सा संयोजन जस्ता नयाँ विधा विकसित भएका छन् । कोभिड–१९ महामारीपछि मानसिक स्वास्थ्य, रोगप्रतिरोधात्मक क्षमतामा वृद्धि÷समष्टिगत तन्दुरुस्तताप्रति विश्वभर नयाँ चासो देखिएको छ । त्यसैले मानिसहरू शारीरिक, मानसिक, भावनात्मक र आध्यात्मिक सन्तुलनको खोजीमा छन् ।  नेपालमा स्पा र वेलनेस  नेपाली सन्दर्भमा वेलनेस भन्नाले ‘कल्याण’ हो, जसले शारीरिक, मानसिक, भावनात्मक, सामाजिक र आध्यात्मिक पक्षहरूको सन्तुलनलाई जनाउँछ । यो अवधारणा नेपालमा नयाँ होइन, यसको जरा हाम्रो परम्परागत आयुर्वेद, योग, ध्यान, जडीबुटी उपचार र प्राकृतिक जीवनशैलीमा गहिरो रूपमा जोडिएको छ । देशका विभिन्न स्थानमा रहेका तातोपानी कुण्डलाई प्राकृतिक जलचिकित्साको रूपमा  लिने गरिन्छ । नब्बेको दशकपछि होटलहरुमा स्पा सेवाको थालनी भएको पाइन्छ । फुलबारी रिसोर्ट एण्ड स्पा नेपालकै पहिलो स्पा रिसोर्ट थियो । विसं २०५० सालतिर काठमाडौँ र पोखराका केही होटलमा विदेशी पर्यटकलाई लक्षित गरी स्पा सेवा सुरु भयो । अहिले भने नेपालभर स्पाको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ । नेपाली समाजमा शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य र सामाजिक सन्तुलनलाई महत्व दिइन्छ । यसले वेलनेसको व्यापक अर्थलाई समेटछ । आफ्नो प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र परम्परागत उपचार पद्धतिलाई उपभोग गरी वेलनेश गन्तव्यको रूपमा स्थापित गर्न सकिने सम्भावना छ । पछिल्लो १५–२० वर्षमा निजी क्षेत्रको अग्रसरताले यो क्षेत्रलाई व्यावसायिक रूपमा अघि बढाएको छ र बेलनेस पर्यटनलाई नेपालको पर्यटन क्षेत्र विविधीकरण गर्ने अवसरको रूपमा हेरिन थालेको छ । नेपालका अधिकांश लक्जरी होटल तथा रिसोर्टले अहिले स्पा र वेलनेस सेवा दिइरहेका छन् । यसमा अर्बौँ रूपैयाँको लगानी र हजारौँ व्यक्तिले रोजगारी पाएका छन् । हालका स्पा सञ्चालकले आफ्ना वर्षौँको अनुभव पाँचतारे होटलमा काम गर्दै वा विदेशी अन्तरराष्ट्रिय चेन होटलबाट सिकेर सीप आर्जन गरेका हुन् ।  नेपालको प्राकृतिक सौन्दर्य, हिमालयको शान्त वातावरण र समृद्ध सांस्कृतिक विरासतले यसलाई वेलनेस पर्यटनको लागि एक आदर्श गन्तव्य बनाउँछ । विश्वभर बढ्दो वेलनेस पर्यटनको मागलाई मध्यनजर राख्दै नेपालले आफ्नो प्राकृतिक र सांस्कृतिक सम्पदालाई उपयोग गरी यस क्षेत्रमा आफ्नो पहिचान बनाउन ठूलो सम्भावना राख्दछ । अन्तरराष्ट्रिय पर्यटक नेपालमा योग, आयुर्वेद र प्राकृतिक उपचारको अनुभव लिन आउँछन्, जसले गर्दा नेपालको पर्यटक आगमनमा उल्लेख्य वृद्धि र तिनको बसाइलाई लम्ब्याउन सकिन्छ । सँगसँगै यसले स्थानीय संस्कृति र परम्परालाई संरक्षण गर्छ र नेपाललाई विश्वको नक्सामा एक स्वास्थ्य र आरामको गन्तव्यको रूपमा स्थापित गर्न मद्दत पुग्दछ ।  वेलनेसबाट हुने फाइदा वेलनेस पर्यटनले नेपाललाई धेरै प्रकारका फाइदा दिन्छ । यसले पर्यटन उद्योगलाई बढावा दिनुको साथै स्थानीय अर्थतन्त्रलाई पनि मजबूत बनाउँछ । स्पवा तथा वेलनेसको प्रवर्द्धनबाट व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधारको साथै रोजगारी सिर्जना र मुलुकको आर्थिक समृद्धिमा योगदान पुग्दछ ।     स्वास्थ्यमा फाइदा : आधुनिक जीवनशैलीले मानिसलाई विभिन्न स्वास्थ्य समस्याबाट जोगिन गाहे बनाएको छ । तनाव, अनिद्रा, मांसपेशी दुखाई र मानसिक अशान्तिजस्ता समस्या बढ्दै गइरहेका छन् । यसले विश्वभर मानिस आफ्नो शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्य सुधार गर्न स्पा र वेलनेश सेवाको खोजीमा छन् । वेलनेस सेवाजस्तै मालिस, योग, ध्यान, आयुर्वेदिक उपचार र प्राकृतिक चिकित्साले मानिसलाई तनावमुक्त गर्न, शरीरिलाई आराम दिन र मनलाई शान्त बनाउन मद्दत गर्दछ । यसले समग्र रूपमा समाजको उत्पादकता र जीवनस्तरमा पनि सुधार ल्याउछ ।   वेलनेस पर्यटनले मानिसहरूको शारीरिक र मानसिक स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । आयुर्वेदिक उपचार, योग, र ध्यानले तनाव, अनिद्रा र मांसपेशी दुखाईजस्ता समस्याको समाधान गर्छ । यसले नयाँ स्वास्थ्य चुनौतीजस्तै नेकटेक (टेक्नोलोजी प्रयोगबाट हुने गर्धन दुखाई)को समाधानमा पनि मद्दत गर्छ । स्पाले शारीरिक र मानसिक स्वास्थ्य दुबैका लागि धेरै लाभ प्रदान गर्दछ । शारीरिक रूपमा यसले तनाव कम गर्न, रक्तसञ्चार सुधार गर्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्दछ । मानसिक रूपमा, स्पाले विश्राम अनुभूति दिलाउने, चिन्ता र डिप्रेसन घटाउने तथा समग्र जीवन सन्तुलन बढाउने काम गर्छ ।  विश्वभर मानसिक स्वास्थ्य समस्याको वृद्धि, बढ्दो प्रतिस्पर्धा र तीव्र गतिमा बदलिँदो जीवनशैलीले वेलनेस पर्यटनप्रतिको माग उल्लेखनीय रूपमा बढाएको छ । पर्यटक यात्रा गर्दासमेत तनाव घटाउने र आफ्नो समग्र स्वास्थ्य सुधार गर्ने उपायको खोजीमा हुन्छन् । यस प्रवृत्तिले स्पा उपचार, योग रिट्रिट र अन्य समग्र अभ्यासलाई झन् लोकप्रिय बनाएको छ । मानिसहरू अब वेलनेसलाई केबल उपचारको रूपमा नभई जीवनशैलीको अङ्ग बनाउँदैछन् । वेलनेसले शरीर र मनप्रतिको सजगता बढाउने, खानेकुरामा रुची जगाउने, मध्यमस्तरको तनाव र व्यायामको सन्तुलन कायम राख्न मद्दत गर्ने हुँदा यो हाम्रो जीवनशैलीको नियमित भागको रूपमा रहेको छ ।  शारीरिक तन्दुरुस्ती : मसाज, तातोपानीजस्ता स्पा उपचारले मांसपेशीमा भएको तनाव हटाउन, दीर्घकालीन पीडा कम गर्न र जोर्नीहरूको गतिशीलता सुधार गर्न सहयोग गर्छन् । तातोपानी स्नान, विपरीत तापक्रमको पानी र मसाजले रक्तसञ्चार बढाउन सहयोग पु¥याउँछ । यसबाट शरीरभरी अक्सिजन र पोषक तत्व राम्रोसँग आपूर्ति गर्न मद्दत पुग्दछ । स्पा उपचारले शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्न सहयोग गर्छ, समग्र स्वास्थ्य सुदृढ गर्छ र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन सहयोगी हुन्छ । विशेषगरी मसाजजस्ता स्पा उपचारले मानसिक तनाव घटाएर विश्राम अनुभूति दिलाउँछ । निद्राको गुणस्तर र बानीमा सुधार पनि ल्याउँछ । स्पा उपचारले छालाको स्वास्थ्य सुधार गर्न सहयोग गर्छन्, जसले छालालाई उज्यालो, मृदु र आकर्षक बनाउँछ ।  मानसिक स्वस्थता : मसाज, अरोमाथेरापीजस्ता स्पा उपचारले तनाव हर्मोनको मात्रा घटाउँछ र मानसिक शान्ति अनुभूति गराउँछन् । स्पाको शान्त वातावरण र उपचारले मानसिक सन्तुलन कायम राख्न, चिन्ता र डिप्रेसनका लक्षण कम गर्न तथा खुशीको अनुभूति बढाउन सहयोग गर्छ । रक्तसञ्चार सुधार हुने भएकाले स्पा उपचारले मानसिक स्पष्टता, एकाग्रता र सोच्ने क्षमतालाई बढावा दिन्छ । स्पा उपचारले शरीरमा इन्डोरफिन्स, डोपामाइन/सेरोटोनिनजस्ता ‘सुखद्’ हर्मोनको उत्पादन बढाउँछ, जसले ऊर्जास्तर र ‘मुड’ सुधार गर्न मद्दत गर्छ । स्पामा समय बिताउँदा आत्म–हेरचाहको अनुभूति हुन्छ । यसबाट व्यक्तिले आत्म–सम्मान र आत्मविश्वास बढाउँछ र सकारात्मक आत्म–छविमा सुधार आएको अनुभूति गर्दछ ।  रोजगारी सिर्जना : विश्वका धेरैजसो मुलुकमा वेलनेस पर्यटनको माध्यमबाट राज्यले राम्रो आम्दानी गर्नुको साथै स्थानीय रोजगारी सिर्जना भएको छ । नेपाल भ्रमणमा आउने पर्यटकलाई मात्रै लक्षित गरेको अवस्थामा पनि पर्यटकको वसाइ लम्ब्याउनुको साथै उनीहरुले खर्च गर्ने ठाउँ बन्नसक्छ ।  चुनौतीहरू र समाधान      नेपालमा वेलनेस पर्यटनको विकासमा धेरै चुनौती छन् । यसको लागि सरकार, निजी क्षेत्र, र स्थानीय समुदायको सहयोग आवश्यक छ । पर्यटन मन्त्रालयले होमस्टे, होटल, र रिसोर्टका लागि मापदण्ड तयार गरेको भए पनि अहिलेसम्म स्पा र वेलनेस क्षेत्रका लागि मापदण्ड बनाएको छैन । विश्वभर लक्जरी स्पा र होटलमा अत्यधिक माग भए पनि, धेरै नेपाली युवालाई यो उद्योगबारे अझै पर्याप्त जानकारी छैन ।  नेपालमा स्पा र वेलनेस सेवाका लागि स्पष्ट मापदण्ड नहुँदा केही विकृति विसङ्गति देखिएका छन् । यसले गर्दा सेवाको गुणस्तरमा असर पर्छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटीइभिटी०ले मसाज थेरापी, योग र सौन्दर्य चिकित्साको प्रशिक्षण दिन सकेको छ । सिटिइभिटीले वेलनेससम्बन्धी पाठ्यक्रम तयार गरी त्यसअनुसार जनशक्ति तयार गर्न सकिएमा रोजगारीको अवसर विस्तार हुनेछ ।  निष्कर्ष नेपालले वेलनेस पर्यटनमा सफल हुन धेरै कदम चाल्न आवश्यक छ । नेपाल र विश्व बजारमा स्पा तथा वेलनेस क्षेत्रमा रोजगारीका अवसर निकै आकर्षक बन्दै गएका छन् । यो क्षेत्रमा दक्ष जनशक्तिको माग उच्च छ र तलब पनि प्रतिस्पर्धात्मक छ । नेपालका अधिकांश स्पा व्यवसायी पनि कहिल्यै न कहिल्यै स्पा व्यावसायिक भएरै आफ्नो ‘करिअर’ सुरु गरेका थिए । यो क्षेत्रमा व्यवसायी बन्ने अवसर पनि सजिलो छ, किनभने सीप, अनुभव र लगनशीलताबाट नै यो उद्योगमा सफल हुन सकिन्छ । युवाले स्पा तथा वेलनेसलाई गम्भीर रूपमा लिएर आफ्नो भविष्यको ‘करिअर’को रूपमा हेर्नु आवश्यक छ, किनभने यो क्षेत्रले देशभित्र र विदेशमा उत्कृष्ट रोजगारी र व्यावसायिक सम्भावना प्रदान गर्छ ।  नेपालमा वेलनेस पर्यटनको भविष्य उज्ज्वल छ । यसले न केवल स्वास्थ्य र आराम प्रदान गर्छ, तर यसले नेपालको अर्थतन्त्र र पर्यटन उद्योगलाई पनि बढावा दिन्छ । नेपाललाई वेलनेस पर्यटनको गन्तव्यको रूपमा विकास गर्न सकिन्छ । यसका लागि सरकार, निजी क्षेत्र र स्थानीय समुदायको सहयोग आवश्यक छ । यसलाई व्यवस्थित, गुणस्तरीय र दिगो बनाउन स्पष्ट नीति, मापदण्ड, तालिम र अनुगमनका लागि यो निर्देशिका अत्यन्त आवश्यक छ । नेपाल सरकारले अन्य पर्यटन क्षेत्रझैँ वेलनेस पर्यटनका लागि छुट्टै निर्देशिका तत्काल लागू गर्नुपर्ने आवश्यकता छ ।  (लेखक सुरेश पुरी नेपाल स्पा तथा वेलनेस सङ्घका अध्यक्ष तथा ट्रांक्विलिटी स्पाका कार्यकारी निर्देशक हुन्)