यसरी बचाउन सकिन्छ सहकारीको सुन्दरता

नेपालको संविधानले सहकारीलाई अर्थतन्त्रको तेस्रो खम्बाका रूपमा चित्रण गरेको छ । समुदायमा हुने स–सानो वित्तीय कारोबारलाई एकीकृत गरी सर्वसाधारणको जीवनस्तर माथि उकास्ने नीतिअनुरूप अगाडि सारिएको तर, सहकारी क्षेत्र, खासगरी बचत तथा ऋण सहकारीले पछिल्लो समय केही समस्याहरूको सामना गरिरहेको छ । सहकारी ऐनले यस क्षेत्रमा स्वनियमनको परिकल्पना गरेको छ । नेपालको संविधानले सहकारीलाई समाजवाद उन्मुख अर्थतन्त्रका रूपमा परिभाषित गरेको छ । त्यो लक्ष्य पुरा गर्न सहकारी क्षेत्र प्रभावकारी माध्यम पनि बन्न सक्छ । सहकारीहरू समुदायमा आधारित हुने भएकोले समाजको उत्थान र आर्थिक विकासका लागि प्रभावकारी मोडल बन्न सक्छ । सदस्यहरूको आर्थिक हितको लागि काम गर्नुपर्ने संस्था सहकारी हो । अन्य बैंक तथा वित्तीय संस्थाको तुलनामा सहकारीहरु प्रजातन्त्रिक हुन्छन् । तर पछिल्लो समय वित्तीय सहकारीमा देखिएका विचलनले यसको सुन्दरता जोगाउने जोखिम सिर्जना भएको छ । विषय प्रवेश सहकारी क्षेत्र सामाजिक र आर्थिक विकासको महत्वपूर्ण साधन हो । सहकारी क्षेत्रले विशेषगरि कमजोर आर्थिक वर्गको जीवनस्तर उकास्न, सामूहिक प्रयासलाई बलियो बनाउँदै, आत्मनिर्भरता र आर्थिक समृद्धिको मार्ग देखाउने काम गर्छ । पछिल्लो समय अर्थतन्त्रमा देखिएको केही सुस्सताका कारण सहकारी क्षेत्र पनि त्यसको प्रत्यक्ष मारमा प¥यो । विभिन्न चुनौती र जोखिमहरू यस क्षेत्रले सामना गर्नुप¥यो । सहकारी सञ्चालनमा देखिएको अपारदर्शिता, आर्थिक अनियमितता, वित्तीय व्यवस्थापनको कमी र सहकारीका सदस्यहरूको सक्रिय सहभागिताको अभावका कारण सहकारी क्षेत्रले केही विचलनहरु देखा परेको छ । पछिल्लो समय सहकारीको अस्तित्व र यसको प्रभावकारितामाथि पनि प्रश्न उठिरहेको छ । यी विविध समस्याहरूबाट बाहिर निस्कनुपर्ने आजको आवश्यकता हो । जुन सामुहिक प्रयास, समन्वय र सहकार्यले मात्रै सम्भव छ । सहकारीलाई यसको मूल्य, मान्यता र सिद्धान्तमा परिचालित गराई पुनरुत्थान गर्नुपर्ने आजको आवश्यकता हो । वित्तीय सहकारीलाई वित्तीय रूपमा पारदर्शी, संरचनात्मक रूपमा सुधार, व्यवस्थापकीय क्षमता अभिवृद्धि तथा प्रभावकारी नियमन गरेर यो क्षेत्रलाई अगाडि बढाउनुपर्ने जरूरी छ । सहकारीको वर्तमान समस्या अहिले सहकारी क्षेत्रमा केही समस्या देखा परेका छन् । यो समस्या आउन सक्ने सम्भावना पहिलेदेखि नै थियो । वित्तीय कारोबार जोखिमयुक्त नै हुन्छ । त्यो जोखिम आउन नदिनका लागि प्रभावकारी नियमन तथा सुपरिवेक्षण चाहिन्छ । जुन सहकारी क्षेत्रमा हुन सकेको थिएन । सहकारीमा कसले सुपरिवेक्षण गर्ने भन्ने अन्योलता पनि थियो । सहकारी सिद्धान्त अनुरुप स्वः नियमनमा पनि बसेनन् । कतिपय सहकारी सञ्चालकहरूले ठूलो संख्यामा शाखा विस्तार गरेर बचत संकलन गरे । वित्तीय साधनको प्रयोग सही ठाउँमा भएन । परिणामस्वरुप सहकारीमा तरलताको समस्या देखा पर्यो । निक्षेपकर्ताले निक्षेप फिर्ता पाउन नसक्ने अवस्था आयो । सहकारी कारोबार सानोस्तर तथा समूहबीच हुनुपर्ने मान्यता भएपनि केही व्यक्ति तथा समूहले गलत नियतका साथ ठूलो स्तरमा सहकारी सञ्चालन गरे तर सही ढंगले व्यवस्थापन गर्न सकेनन् । ती संस्थाहरू स्वनियमनमा बस्न सकेनन् । वित्तीय कारोवार आउन सक्ने जोखिमको पहिचान र तिनीहरुको व्यवस्थापन गर्न असफल भए । ठूलो स्केलमा वित्तीय कारोबार गरेर सदस्य बढाउने उद्देश्यमा लागेर आफ्नो स्वार्थअनुसार सहकारीलाई परिचालन गरियो । यहीबीचमा अर्थतन्त्रमा पनि सुस्तता सिर्जना भयो । घरजग्गा क्षेत्र त्यसको मारमा प¥यो । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्दै गयो । घरजग्गामा लगानी गरेका सहकारीहरूले निक्षेप फिर्ता गर्न सकेनन् । सोही कारण वित्तीय अनुशासनमा नबसेका र केही महत्वकांक्षी भएर सञ्चालन भएका सहकारीहरु समस्यामा परे । अहिलेको मुख्य समस्या भनेको कर्जा असूली हुन नसक्नु र तरलता अभाव हो । अहिले अधिकांश वित्तीय सहकारी संस्थामा तरलताको समस्या छ । निक्षेप संकलन गरेर गलत ठाउँमा लगानी गरेका तर भनेको समय कर्जा असूली नहुँदा तरलताको अभाव भएको र बचतकर्ताहरुलाई बचत फिर्ता गर्न नसकेको अवस्था हो । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव हुँदा नियामक नेपाल राष्ट्र्र बैंकले पैसा दिने व्यवस्था भएजस्तै सहकारीमा पनि त्यो व्यवस्था भएको भए अहिलेको जस्तो समस्या नआउन सक्थ्यो । तर, त्यो व्यवस्था सहकारीको लागि छैन । अधिकांश सहकारीहरु तरलताको व्यवस्थापन गर्न नसकेरै समस्यामा परेका छन् । सहकारीहरूका सदस्यहरुले पनि आफ्नो वित्तीय व्यवस्थापन सही ढंगले गर्नुपथ्र्यो । लामो समय वित्तीय क्षेत्रमा काम गरेको, अनुभव भएको तथा वित्तीय जानकारी भएको व्यक्तिले पनि सहकारीमा ठूलो रकम जम्मा गरेको देखिन्छ । उहाँहरूले सहकारीको प्रवृति बुझ्नुपथ्र्यो । प्रभावकारी नियमन र सुपरीवेक्षण नभएका र स्वनियमनमा सञ्चालित सहकारीमा त्यति ठूलो रकम जम्मा गर्दा जोखिम हुन सक्ने कुरा बुझ्नु पर्दथ्यो । वित्तीय जोखिम व्यवस्थापन गर्न व्यक्ति पनि होसियार हुनुपर्छ । अधिकांश समस्या सहरी क्षेत्रका सहकारी संस्थामा देखिएको छ । सहरी क्षेत्रमा त बैंक तथा वित्तीय संस्थाहरू पनि जताततै छन् । बैंक तथा वित्तीय संस्थाको शाखाहरु पाइँलापिच्छे छन् । ती नियमन र सुपरीवेक्षणमा रहेका बैंक तथा वित्तीय संस्था छन् भन्ने जान्दाजान्दै सहकारीमा ठूलो पैसा जम्मा गर्नु आफैमा पनि गल्ति हो । विकल्प हुँदा हुँदै, जोखिम भएको थाहा पाउँदा पाउँदै पनि ठूलो रकम जम्मा गर्नु सही काम थिएन । आफूसँग भएको सबै रकम अझ एउटै सहकारीमा लगेर राख्नु भनेको बचतकर्ताको पनि कमजोरी देखिन्छ । उनीहरुले त्यस्तो नगरिदिएको भए यो समस्या यति ठूलोस्तरमा आउने थिएन । सहकारी सञ्चालकले पनि आफ्नो दायित्व बुझ्नु भएन । सहकारीको मर्म बुझ्नु भएन । सहकारीको माध्यमबाट आफ्नो महत्वाकांक्षा पुरा गर्ने काम गरेको देखिन्छ । सहकारीको वित्तीय जोखिमलाई नजरअन्दाज गरे । वित्तीय कारोवारमा देखिने कर्जा, ब्याजदर र तरलताको जोखिमलाई नजरअन्दाज गरे । लगानी भएको कर्जा सुरक्षित छ कि छैन ? असुल हुन्छ कि हुँदैन भन्ने विषय बुझ्नुपर्छ । तर, धेरैले छोटो समयमै उच्च प्रतिफल पाउने हिसाबले घरजग्गामा लगानी गरे । घरजग्गाको मूल्य सधैं बढ्छ भन्ने हुँदैन । मूल्य एउटा उचाइमा पुगेपछि खरिदकर्ताले पनि खरिद गर्ने क्षमता नै राख्दैनन् । क्षमता नराखे पछि माग नै सिर्जना नहुन सक्छ । त्यस कारणले पनि अहिले घरजग्गाको मूल्य घटेको छ । वर्तमान समस्याबाट पाठ सिकेर अब अगाडि बढ्न आवश्यक छ । समस्या सतहमा आइसकेको छ । यो समस्याको समाधान गर्ने चुनौती सहकारी सञ्चालक र सरकारमाथि पनि छ । सहकारीमा नियमन सहकारी क्षेत्रमा कमजोर नियमन भएकै कारण वर्तमान समस्या सिर्जना भएको हो । लोभ गर्ने मान्छेको प्रवृति हो । वित्तीय क्षेत्रमा नियमन प्रभावकारी हुनुपर्छ । विश्वव्यापी रूपमै वित्तीय क्षेत्रमा कडा नियमन हुन्छ । गलत प्रवृति विकास हुन नदिनका लागि पनि कडा नियमन आवश्यक पर्छ । बजार अर्थतन्त्रमा बजारमा सरकारको हस्तक्षेप कम हुनुपर्ने आवाज उठेपनि वित्तीय क्षेत्र जोखिमयुक्त हुने भएकोले नियामकले कडा नियमन तथा सुपरिवेक्षण गर्नुपर्ने हुन्छ । वित्तीय बजार विश्वासको भरमा चल्छ । यो क्षेत्रमा वित्तीय अपचलन हुने सम्भावना बढी हुन्छ । सहकारी सञ्चालन गर्ने भनेको समुदायमा हो । सहकारीको सिद्धान्त पनि अवलम्बन नगर्ने, बैंक तथा वित्तीय संस्था जस्तै ढंगले कारोबार गर्ने र त्यसमै बचतकर्ताले पनि विश्वास गर्ने परिपाटीले गर्दा अहिले समस्या आएको र्हो । नेपाल राष्ट्र बैंकको नियमनभित्र रहेका बैंक तथा वित्तीय संस्थालाई विश्वास नगरेर सहकारी संस्थाहरुको विश्वास गर्दै ठूलो रकम सहकारीमा जम्मा गर्दा पनि यो समस्या देखा परेको हो । बिना नियमन वित्तीय कारोबार गर्ने हो भने सानो स्तरमा निश्चित क्षेत्र र समुदायमा भित्र हुनुपर्छ । समुदाय तथा सदस्यहरुबाट नियन्त्रित हुनुपर्छ । सदस्यले हेर्न सक्ने हुनुपर्छ । तर, ठूलो रकममा कारोबार गर्दा वास्तवमा अनुमति नै लिनुपर्छ । नियमन पनि दह्रो चाहिन्छ । तर, आकारमा ठूलो हुने तर बलियो नियमन नहुँदा नै बचत तथा ऋण सहकारीहरुमा वर्तमान समस्या सिर्जना भएको हो । पछिल्लो समय सहकारीको प्रभावकारी नियमनका लागि दोस्रो तहको नियामक स्थापना गर्ने विषयले पनि प्राथमिकता पाएको छ । लामो समयदेखि दोस्रो तहको नियामक (एसटीआई)को विषयमा बहस हुँदै आएपनि यस पटक भने वित्तीय सहकारी प्राधीकरण बनाउने गरी ऐनको मस्यौदा नै बनिसकेको छ । सहकारीको लागि प्रभावकारी स्वायत्त निकाय चाहिन्छ । स्वतन्त्र नियामक निकाय बन्नका लागि वित्तीय रूपमा पनि स्वतन्त्र हुनुपर्छ । नेपाल सरकारसँग बजेटका लागि भर पर्नुपर्ने अवस्था हुनु हुँदैन । उसले आफ्नो कार्यसम्पादन आफ्नै बजेटबाट गर्न सक्नुपर्छ । जस्तै, नेपाल राष्ट्र बैंकले बजेटका लागि सरकारको भर पर्नु पर्दैन । उसले आफ्नो बजेट आफैं बनाउँछ । दोस्रो तह नियामकको वित्तीय स्रोत के हो ? यो विषयमा प्रष्ट हुनुपर्छ । अहिले संचालनमा रहेको राष्ट्रिय सहकारी बैंकलाई वित्तीय सहकारीहरुको नियामक र सुपरीवेक्षण गर्ने निकायको रुपमा बनाउन सकिन्छ । यसको लागि विद्यमान सहकारी ऐनमा संशोधन गर्दा पनि हुन्छ । अहिले यति धेरै सहकारी छन् । सानो सहकारीलाई छोडेर ठूलो सहकारीको नियमन गर्ने हो भनेपनि सयौको संख्यामा सहकारीहरु सो नियामकको नियमनभित्र पर्न सक्छन् । ती सहकारीहरुकोे नियमन गर्नका लागि पनि ठूलो संख्यामा कर्मचारी चाहिन्छ, स्रोत साधन चाहिन्छ । वित्तीय स्रोत चाहिन्छ । त्यसैले अब यस विषयमा पनि बहस गर्न आवश्यक छ । एसटीआई सञ्चालनका लागि कि नियमन सुपरीवेक्षण गरेबापत शुल्क उठाउनु प¥यो, कि सरकारले बजेट दिनु पर्ने हुन्छ । सरकारले बजेट दिएर एसटीआई सञ्चालन हुने अवस्था बन्यो भने फेरि स्वतन्त्र संस्था नबन्न सक्छ । सो संस्थाका कर्मचारीले स्वतन्त्र ढंगले काम गर्न सक्ने वातावरण नबन्न सक्छ । वित्तीय स्रोतमा स्वतन्त्र बन्न सकिएन भने फेरि नियामक आफंैले बदमासी गर्ने अवस्था आउन सक्छ । नियामकले नै सहकारीबाट फाइदा लिने अवस्था सिर्जना हुन सक्छ । यो पक्षलाई ध्यान दिनुपर्छ । संस्था स्थापना गरेर मात्रै हुँदैन त्यसको वित्तीय स्रोतको विषय सबैभन्दा महत्वपूर्ण पक्ष हो । अहिले स्वतन्त्र रूपमा काम गरेर आफैं वित्तीय स्रोत जुटाइरहेका नियामक नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डबाट पनि एसटीआईले पाठ सिक्न सक्छ । अहिले सरकारले ठूला सहकारीको नियमन राष्ट्र बैंकले पनि गर्न सक्ने कानूनी व्यवस्था गरेको छ । अब सहकारी क्षेत्रको छुट्टै नियामक ल्याउने हो भने ठूला सहकारीलाई नेपाल राष्ट्र बैंकको नियमनभित्र ल्याउन आवश्यक छैन । एउटै काम दुइटा नियामकलाई दिनु उचित पनि हुँदैन । सहकारी विभागको आग्रहमा राष्ट्र बैंकले नियमन गर्न सक्ने कानूनी व्यवस्था छ । राष्ट्र बैंकको नियमनभित्र रहन सुरुमा राष्ट्र बैंकबाटै लाइसेन्स लिनुप¥यो । सहकारीले त राष्ट्र बैंकबाट लाइसेन्स लिएका छैनन् । लाइसेन्स लिनका लागि पनि कानूनी व्यवस्था हुनुपर्छ । सहकारीलाई अर्थतन्त्रको तेस्रो खम्बा भनिएको छ । जुन क्षेत्रमा स्वनियमन हुनुपर्ने मान्यता छ । लाइसेन्स लिने हो भने स्वतन्त्रता गुम्न सक्छ । फेरि ‘फिट एण्ड प्रोपर टेष्ट’ पनि हुन्छ । उसले लाइसेन्स दिन्छ कि दिँदैन । तर, सहकारी संस्थाहरुको प्रकृति नितान्त फरक हुन्छ । सहकारी प्रजातान्त्रिक संस्था हुन् । सय/सय रुपैयाँ सेयर उठाएर चल्ने संस्था हुन् । इच्छा लाग्यो भने जुनसुकै वेला पनि सहकारीको शेयर लिएर सदस्य बन्न सकिन्छ। सहकारीको आफ्नै सुन्दरता छ । लाइसेन्स लिने अभ्यास ‘कम्पनी कल्चर’ हो । कम्पनीहरु नाफामा आधारित हुन्छन् । तर, सहकारीहरू सदस्यको हितमा काम गर्छन् । राष्ट्र बैंकको नियमनमा आउने हो भने सहकारीको ‘ब्यूटी’ हराउन सक्छ । अर्को महत्वपूर्ण विषय राष्ट्र बैंकले सहकारीको नियमन गर्न थाल्यो भने फेरि अहिलेका बैंक तथा वित्तीय संस्थाको नियमन छायामा पर्न सक्छ । बैंक तथा वित्तीय संस्थामा राष्ट्र बैंकको ध्यान कम जान सक्छ । ९२ प्रतिशत बढी हिस्सा बोकेको बैंक तथा वित्तीय क्षेत्रलाई समेट्ने कि सहकारीलाई हेर्ने भन्ने विषय पनि आउन सक्छ । कर्पोरेट कल्चरले बढी नाफा खोज्छ । सहकारीको उद्देश्य नाफा पनि होइन । सहकारी सदस्यको सेवाका लागि हुनु पर्ने हो । कसको सेयर कति प्रतिशत छ भन्ने कुरा सहकारीले प्राथमिकतामा राख्दैन । बैंक तथा वित्तीय संस्थामा सेयर हिस्साअनुसारको हैसियत हुन्छ । सहकारीमा सबै सदस्यको समान सहभागिता हुन्छ । त्यसैले राष्ट्र बैंकलाई नियमन गर्न दियो भने सहकारीको ब्यूटी मर्ने होकि भन्ने चिन्ता पनि हुन सक्छ । अहिले पनि राम्रो अभ्यास गरिरहेका सहकारी पनि छन् । सहकारीको मूल्य मान्यता र सिद्धान्तअनुरुप काम भएका पनि छन् । सबै ठाउँमा सहकारी चाहिन्छ भन्ने पनि हुँदैन । समुदायमा आधारित सहकारी राम्रोसँग चलिरहेका छन् । सहकारी व्यावसायिकभन्दा पनि समुदाय र सदस्यको हितका लागि काम गर्दा प्रभावकारी हुन्छ । सहकारी नचाहिने भन्ने होइन । तर, सहकारीले सबै काम गर्न सक्दैन। समुदायलाई जोड्नका लागि सहकारी चाहिन्छ । निष्कर्ष सहकारी क्षेत्रमा वर्तमान समस्या सिर्जना गरेको पनि यसका हर्ताकर्ताले नै हो । अब यो समस्याको समाधानका लागि पनि सबैको सहकार्य चाहिन्छ । विगतका गल्ति र कमी कमजोरी पहिचान गरेर समाधानको बाटोमा लाग्यो भने अहिलेको समस्या समाधान हुन्छ । साना सहकारीहरूले पसल–पसल तथा घर–घरमा गएर बचत संकलन गर्नु राम्रो मोडल हो । त्यो काम बैंक तथा वित्तीय संस्थाले गर्न सक्दैनन् । सहकारीमा रहेको सुन्दर पक्षलाई जोगाउनु पर्दछ । त्यसैले अब सबैको समन्वयमा साना बचतकर्ताको बचत फिर्ताको उपाय खोज्नुपर्छ । रकम हिनामिनाको विषयमा सरकारले कारवाहीको प्रक्रिया पनि अगाडि बढाइरहेको छ । सहकारीमा अहिलेसम्म भएको कर्जा लगानी उठाउनुपर्छ । कर्जा उठाउँदै बचत कर्ताको रकम फिर्ता गर्नुपर्छ । यसको लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई थप प्रभावकारी बनाउनु पर्छ । सहकारीको रकम अपचलन गर्ने जिम्मेवार व्यक्तिलाई कानूनी कारवाहीको दायरामा ल्याउनु पर्दछ । उनीहरुको सम्पति बेचविखन गरेर पनि बचत कर्ताको रकम फिर्ता गर्नुपर्दछ । समस्याग्रस्त संस्थालाई कसरी सुधारको बाटोमा लैजाने भन्ने विषयमा बैंक तथा वित्तीय क्षेत्रको नियामक नेपाल राष्ट्र बैंकबाट पनि केही अनुभव लिन सकिन्छ । एउटा स्तर भन्दा माथिको वित्तीय सहकारीको नियमन र सुपरीवेक्षणको व्यवस्था गर्नुपर्दछ । वित्तीय सहकारीलाई निश्चित स्तर भन्दा ठूलो हुन दिनु पनि हुदैन । बचतकर्ताहरुले पनि विद्यमान वित्तीय प्रणाली बुझेर आफ्नो वित्तीय व्यवस्थापन गर्नुपर्दछ । लगानी विविधिकरण गर्नुपर्छ । सबै अण्डालाई एउटै डालोमा राख्नु वित्तीय रूपमा राम्रो मानिदैन । (लेखक राष्ट्रिय योजना आयोगका सदस्य तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन् । सीजेएन स्मारिकाबाट)

बिग्रिँदो जीवनशैली र जंकफुडले युवा अवस्थामै मुटुरोगको सिकार

विश्वमै मुटुरोगको जोखिम केही दशकयता बढ्दै ह्वात्तै बढेको छ । खासगरी युवा पुस्तामा कम उमेरमै मुटुरोगको समस्या बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार ८० प्रतिशत बढी मुटुरोगका कारणले हुने मृत्यु नेपालजस्ता निम्न र मध्यम आय भएका राष्ट्रहरूमा हुने गर्दछन् । नेपाललगायतका दक्षिण एशियाली राष्ट्रहरूमा युवामा मुटुरोगको प्रकोप वर्षेनी बढ्दै गएको देखिन्छ । केही वर्षअघिको तथ्यांकअनुसार विकसित राष्ट्रहरुमा हार्टअट्याक (ह्दयाघात) हुने औसत उमेर ६० वर्ष भनेता पनि अविकसित राष्ट्रहरूमा १० वर्ष अगाडि हुने देखाएको छ । भारतमा ह्दयाघात हुने औसत उमेर ५० वर्षको हाराहारीमा रहेको देखाएको छ भने दुई तिहाई मृत्यु कम उमेरका व्यक्तिहरूलाई हुने गरको अनुसन्धानबाट देखिन्छ । विश्वव्यापीरुपमै वातावरणीय प्रदूषणका कारण पनि मुटुरोग समस्या बढिरहेको पाइन्छ । अस्वस्थ खानपिन, शारीरिक निष्क्रियता, मानसिक तनाव, मोटोपना, प्रश्षण र नियमित स्वास्थ्य जाँच नगर्नु, चुरोट र अत्यधिक मदिरा सेवन युवाहरूमा हुने मुटुरोगको प्रमुख कारणको रुपमा लिन सकिन्छ । धेरै चिल्लो, धेरै पिरो, धेरै गुलियो तथा गुलिया पेय पदार्थहरूको सेवन गर्ने चलनले पनि उच्च रक्तचापको समस्या बढेको विभिन्न अनुसन्धानहरूले पुष्टि गरेको छ । अधिकांश युवाहरूमा मुटुरोगप्रतिको सचेतना अझै आउन सकेको देखिँदैन । आधुनिकीकरणले अस्वस्थ जीवनशैली बढिरहेको देखिन्छ । युवाहरूमा यो समस्या बढी देखिनुको मुख्य कारणहरुमा शारीरिक ब्यायाम नगर्ने, मदिरा चुरोटको सेवन बढ़ी गर्ने, स्वास्थ्य जाँच नगर्ने, औषधि खाना नचाहने आदि प्रमुख कारण हुन् । युवाहरु मानसिक तनावको शिकार पनि बढ़ी भएको र यसले पनि मुटुरोगको समस्यालाई बढाएको देखिन्छ । अध्ययन अनुसन्धानले ९० प्रतिशत हृदयघात रोकथाम गर्न मिल्ने बताउँछ । आजको परिस्थितिमा युवाहरुले मुटुरोग र हृदयघातबाट बच्न लिनुपर्ने निम्न पाँच व्यावहारिक सावधानीहरूमा ध्यान दिनु आवश्यक छ । स्वस्थ देखिएमा पनि जाँच गर्न जरुरी   अधिकांश युवाहरूमा कुनै न कुनै किसिमको मुटुरोगका कारणहरू अदृश्य रूपमा रहेको १० वर्ष अगाडि गरिएको अनुसन्धानमा देखिएको थियो । । अनुसन्धानको क्रममा अधिकांश युवाहरूले मलाई मुटुरोगको कुनै लक्षण नै छैन, किन जाँच गर्नुपर्यो भन्ने धारणा राखेका थिए । त्यही गलत धारणा र भ्रममा पर्दा समयमै आफस्भित्र उक्त रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रलजस्ता समस्याहरू भएको थाहा पाउन सकेनन् र पछि एक्कासी जटिल समस्या भोग्नुपरेको देखिन्छ । त्यसैले समय अनुकूल बाहिर केही रोगको लक्षण नदेखिए तापनि स्वास्थ्य जाँच गरेकामा मुटु रोगको जटिलताबाट बच्न सकिन्छ । समय समयमा आफ्नो रक्तचाप, चिनीरोग र कोलेस्ट्रोलको स्तर नाप्ने गर्नुपर्छ । यसको लागि धेरै खर्च पनि गर्नु पर्दै । सामान्यतया एक हजार रुपैयाँ खर्च गरे पुग्छ । यदि यी मुटुरोगका कारणहरू अलि बोर्डर मा छ भने जीवनशैलीमा व्यापक परिवर्तन गर्नुपर्छ र नियमित अनुगमन गरिराख्नु पर्छ । औषधि प्रयोगको महत्व  हाम्रो अनुभवमा सहरी भेगमा बसोबास गर्ने ४० वर्षमुनिका युवाहरूमा मुटुरोगका कारणका लागि औषधिको सेवन गर्नुपर्ने देखिन्छ तर यति कम उमेरमा औषधि सेवन गर्न हुन्न भन्ने भ्रममा परी चिकित्सकको सल्लाह विपरीत औषधि सेवन नगरेर स्वास्थ्य दुर्घटना हुने गरेको पाइन्छ । समयमै औषधिको प्रयोग महत्व बुझी यस्ता दुर्घटनाबाट जोगिन सकिन्छ । औषधिको साइडइफेक्टको बारेमा भ्रम पालेर चाहिने अवस्थामा पनि सेवन नगरी हताहत भएको रोगले युवा अवस्थामै जटिलतामा प्रवेश गरेको अनेकौँ उदाहरण छन् । चुरोट  हाम्रो समाजमा असङ्ख्य युवा चुरोटको सेवन गर्दछन् । चुरोटको कुल तुरुन्तै केही हानि गरेको नदेखेता पनि यसले अदृश्य रुपमा मुटुमा असर गरिरहेको हुन्छ । एक/दुई खिल्लीले पनि पछि गएर मुटु रोगको जोखिम निम्त्याउन सक्ने तथ्यबाट अभिज्ञ भएको देखिन्छ । युवाहरूमा हृदयघातको प्रमुख कारण चुरोट मानिन्छ । त्यसैले समयमै चुरोट त्याग्नु जरुरी छ । चुरोट त्यागेको केही समयभित्र यसको दुष्प्रभाव घट्ने अनुसन्धानहरुले देखाएको छ । प्रेरणाको कमीले थाहा भएर पनी चुरोट त्याग्न नसकेका धेरै छन् । तयारी (पत्रु) खाना बिग्रिँदो जीवनशैलीले गर्दा अधिकांश युवाहरूमा जंकफुट/फास्टफुड अर्थात तयारी (पत्रु) खाना र घर बाहिरको खाने गरेको देखिन्छ । इच्छा वा बाध्यताले जेले भएपनि यसको दुर्गामी असरबाट बच्न गाह्रो छ । दुर्भाग्यबस अधिकांश युवाले फास्टफुडको सेवनले स्वास्थ्य र मुटु रोगको प्रकोपलाई नजरअन्दाज गरेको देखिन्छ । समयमै यस्तो खालको खाद्य संस्कृतिमा सुधार गरी आफ्नै घरमा बनाएको स्वस्थकर खाना खाने संस्कार विकास गर्नु आवश्यक छ । प्राकृतिक रुपमा उत्पादन भएका र घरको खानालाई प्रवद्र्धन गर्न सकिएमा मुटुरोगको समस्या धेरै हदसम्म कम हुन जान्छ । प्रमुख प्रशोधित खानेकुरामा बिस्कुट, चाउचाउ, पाउरोटी, केक, पेस्ट्रिज, पिँजा, बर्गर, ससेज, आइसक्रिम, दुनोट, फ्राइड चिकन, हेम बर्गर, चिप्स, चकलेट, जुस, कोल्डड्रिङ्क्स आदि पर्छ । व्यायामको महत्व  बिरामी व्यक्ति, औषधि सेवन गर्ने व्यक्ति र वृद्ध व्यक्तिले मात्र बिहानको हिँडाइ वा नियमित व्यायाम गर्नुपर्ने जनधारणा भएको हामी पाउँछौँ । त्यसैले होला आधुनिक युगमा शारीरिक रूपमा निष्क्रिय र मोटोपनको शिकार भएका विचार किशोर र युवाहरूको संख्या बढ्दै गएको देखिन्छ । आधुनिकताले निकट भविष्यमा यसके संख्या घट्ने देखिदैन । युवाले २० वर्ष वा कम उमेरदेखि नै आफूलाई नियमित शारीरिक व्यायाममा संलग्न गरी जीवनशैलीको एउटा महत्वपूर्ण अंंगको रूपमा शारीरिक गतिविधिलाई अवलम्बन गरी विभिन्न किसिमका दीर्घ रोग र औषधि उपचारबाट बच्न सकिन्छ । एउटा स्वस्थ्य व्यक्तिले दैनिक ३० मिनेटभन्दा बढ़ी सक्रिय ब्यायाम गर्नपर्छ । बढ़ी गर्न सके अझ राम्रो मानिन्छ । कुनै प्रकारको नियमित शारीरिक गतिविधिमा आफूलाई संलग्न गर्नुपर्छ । खेलकूद, साइकल, पौड़ी, योगा, अभ्यास, जुम्बा आदि जे गरे पनि हन्छ । आफ्नो परिस्थिति अनुकूल ब्यायाम रोज्न सक्नुपर्छ । मुटु रोगको थालनी पहिले ४० वर्षमै भइसक्ने विभिन्न अध्ययन अनुसन्धानले देखाउँछ । पहिले ४० वर्षमै मुटु रोगको कारणलाई जीवनशैली र आवश्यकता परे चिकित्सकको परामर्श अनुसार औषधिको सेवन गरेर असामयिक मुटु रोग र त्यसबाट हुने आर्थिक, शारीरिक, मानसिक, पारिवारिक, सामाजिक क्षतिबाट आफूलाई जोगाउन सकिन्छ । अन्त्यमा, रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नै नदिनु बुद्धिमानी हुने भएकाले यसतर्फ सबै सचेत हुन आवश्यक छ । स्वस्थ आहार र व्यायामले नै शरीरका अङ्गहरूलाई स्वस्थ राख्न मद्दत गर्दछ । वनस्पतिबाट प्राप्त हुने प्राकृतिक खानेकुराहरूलाई स्वस्थ आहार भनिन्छ । फलफूल र सागसब्जीमा भएको भिटामिन, मिनरल्स, फाइबर र अन्य पदार्थहरूले रक्तनली, मुटु र मस्तिष्कलाई स्वस्थ राख्छ । फलफूल र सागसब्जीमा पाइने भिटामिनहरूले हाम्रो रोग निरोधक क्षमतालाई बढाउँछ र सङ्क्रमण हुनबाट बचाउँछ । त्यसैले बजारमा पाइने तयारी खानेकुरा, विलासी जीवनशैली र मानसिक तनाबबाट मुक्त हुनु नै निरोगी र दीर्घजीवी बन्ने उपाय हो । रासस (लेखक वरिष्ठ मुटुरोग विशेषज्ञ हुन्)

विष्णुको विवेक र सेयर बजारमाथिको छेडखानी

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कार्यालयमा पुगेर सेयर बजारप्रति चिन्ता व्यक्त गरे । उनले नेप्सेका कर्मचारीलाई सेयर बजार निरन्तर किन घटिरहेको छ ? भन्ने प्रश्न मात्रै गरेनन्, बजारमा चलखेल गर्नेलाई कानूनी कारबाही हुने चेतावनीसमेत दिएर फर्किए । जम्बो टोलीसहित नेप्सेमा पुगेका अर्थमन्त्री पौडेलले सेयर बजारमा किन उतारचढाव आइरहेको छ ? ३० अर्ब रुपैयाँसम्म पुगेको कारोबार रकम कसरी चार/पाँच अर्बमा झर्‍याे ? ३ हजार सिमा पार गरेको नेप्से इन्डेक्स २५ सयमा कसरी ओर्लियो ? बैंकको ब्याजदर घट्दा पनि यो किसिमको गिरावट सेयर बजारमा किन आइरहेको छ ? उनले यी र यस्तै प्रश्न र जिज्ञासाहरूको भारी नेप्सेका कर्मचारीहरूसामू बिसाए । उनले प्रश्नहरू मात्रै गरेनन्, आफ्नो अनभिज्ञता र अञ्जानपन ‘ब्यूरोक्रेसी’सामू छर्लङ्ग पारे । सेयर बजारमा यसरी किन उतारचढाव भइरहेको छ भन्ने विषयले आफ्नो मनमा अनेक कुरा खेलिरहने पनि उनले कर्मचारीसँग ‘सेयर’ गरे । उनले आफूले पुँजीबजारलाई संवेदनशील तरिकाले हेरेको प्रष्ट्याए । सुरुमा विश्लेषण गरौं अर्थमन्त्री पौडेलका प्रश्नहरूको । उनले कर्मचारीसँग पहिलो प्रश्न गरेका छन्- सेयर बजारमा किन उतारचढाव आइरहेको छ ? सेयर बजारमा हुने उतारचढाव वा सेयर मूल्यमा हुने घटबढ भनेको सेयर बजारको सामान्य र नियमित लक्षण हो । आज बढेको सेयर बजार भोलि घट्न सक्छ । भोलि घट्ने बजार पर्सि बढ्न सक्छ । जसरी मान्छेको मुटु ‘ढुकढुक’ चल्छ, स्वस्थ्य मानिसको ई सीजी रिपाेर्टमा तलमाथि देखिन्छ, त्यसरी नै सेयरमा पनि उतारचढाव हुन्छ । उतारचढावबिनाको सेयर बजारको परिकल्पना पनि गर्न सकिँदैन । उचारचढाव नै सेयर बजारको सुन्दरता, विशेषता र गुण हो । अब कुरा गरौं दोस्रो र तेस्रो प्रश्नको । अर्थमन्त्री पौडेलले कर्मचारीहरूसँग सोधका छन्- ३० अर्ब रुपैयाँसम्म पुगेको कारोबार रकम चार/पाँच अर्बमा कसरी झर्‍याे ? ३ हजार सिमा पार गरेको नेप्से इन्डेक्स २५ सयमा कसरी ओर्लियो ? उनले थाहा पाउनु पर्ने विषय के हो भने सेयर बजार माग र आपूर्तिमा चल्छ । जब सेयर बजारमा सेयरको उच्च माग हुन्छ, त्यसले मूल्य बढ्छ र जब माग हुँदैन त्यसपछि सेयर मूल्य र बजार पनि घट्न थाल्छ । माग र आपूर्ति अर्थात् ‘डिमाण्ड एण्ड सप्लाई’ सेयर बजारका अपरिहार्य सिद्धान्त र चक्र हुन् । माग र आपूर्तिकै आधारमा कम्पनीको सेयर मूल्य र समग्र सेयर बजार घटबढ हुन्छ । २०८० सालभरि दैनिक सेयर कारोबार ६०/७० करोड थियो । २०८१ सालपछि सेयर कारोबार वृद्धि हुँदै दैनिक ३० अर्बसम्मको कारोबार भएको हो । दैनिक ६० करोडको कारोबार ३० अर्ब पुग्नु पनि गलत थिएन । दैनिक ३० अर्बको कारोबार ५ अर्बमा झर्नु पनि गलत होइन । ३ हजार पार गरेको नेप्से इन्डेक्स २५ सय बिन्दुमा झर्नु नौलो विषय होइन । अन्तर्राष्ट्रिय सेयर बजारमा पनि यस्ता किसिमका उतारचढाव आइरहन्छन् । यो सामान्य विषय हो । त्यसैले पनि सेयर बजारका विज्ञ र विश्लेषकहरूले यसलाई लगानीको लागि जोखिमयुक्त क्षेत्रका रूपमा परिभाषित र किटान गरेका हुन् । अर्थमन्त्री पौडेलले अर्को प्रश्न गरेका छन्- बैंकको ब्याजदर घट्दा पनि सेयर बजारमा किन गिरावट आइरहेको छ ? पौडेलले बुझ्नुपर्ने र मनन गर्नुपर्ने विषय भनेको सेयर बजार बैंकको ब्याजदर घटबढले मात्रै प्रभावित हुँदैन । देशको अर्थतन्त्र, नेप्सेमा सूचीकृत कम्पनीको वित्तीय अवस्था र प्रतिफल, वैदेशिक लगानी, सरकारको नीति निर्देशन र कार्यप्रस्तुति, राजनीतिक स्थिरता तथा अस्थिरता र लगानीकर्ताको मनोविज्ञानले बजार घटबढमा महत्त्वपूर्ण प्रभाव पार्छ । सरकारले नीति निर्माण र डेलिभरीमा कत्तिको पारदर्शीता अपनाइरहेको छ भन्ने विषयले पनि यसमा महत्त्व राख्छ । यी विविध पक्षहरूको विश्लेषण गरेर लगानीकर्ताले लगानी गर्छन् । जब लगानीकर्ताले यी विषयवस्तुमा सन्तुलन र सन्तोष महसुस गर्छन्, त्यसपछि लगानीका लागि तयार हुन्छन् । जब माथि उल्लेखित पक्षहरू कमजोर बन्छन्, सरकारले नीति नियम तथा निर्देशनमा पारदर्शीता अपनाउँदैन भने लगानीकर्ताले लगानी पनि झिक्ने अवस्था सिर्जना हुन्छ र एकाएक बजारमा गिरावट मात्रै आउँदैन, पहिरो र बाढी नै आउन सक्छ । सरकारप्रति लगानीकर्ताको विश्वास गुम्छ । र, सिर्जना हुन्छ अर्थमन्त्री नै एउटा कार्यालयमै पुगेर बजार किन घटिरहेको छ भन्नुपर्ने अवस्था । अर्थमन्त्री पौडेलले नेप्सेको कार्यालयमै पुगेर आफू सेयर बजारप्रति सकारात्मक र संवेदनशील रहेको सन्देश प्रवाह गर्न खोजेको देखिन्छ । तर, देशको अर्थमन्त्री सेयर बजारको कार्यालयमा पुगेर बजार किन घट्यो ? कसरी घट्यो ? घटाउनेलाई कारबाही गर्छु भन्ने अभिव्यक्ति दिनु कत्तिको जायज हो ? जम्बो टोलीसहित कार्यालयमा पुगेर कर्मचारीसँग छेडखानी गर्नु कत्तिको उचित हो ? आफ्नै लय र सन्तुलित ढंगबाट चलिरहेको सेयर बजारलाई देशको अर्थमन्त्रीले प्रत्यक्ष हस्तक्षेप गरेर बजार बढाउन चाहेको सन्देश प्रवाह गर्न खोज्नु कत्तिको मनासिब हो ? हो, देशको नेतृत्वले पब्लिकलाई सकारात्मक सन्देश प्रवाह गर्न आतुर हुनुपर्छ । त्यो पनि नीतिगत रूपमा । तर, हचुवाको भरमा प्रभावित पार्ने किसिमका अभिव्यक्ति दिनुहुँदैन । नेप्से इन्डेक्स ३२ सय पार गरेको बेला ‘केक काट्छु’ भन्ने किसिमका सतही सौदाबाजी र दलालीमा सरकारको नेतृत्व लाग्नु हुँदैन । बरु लगानीकर्ताले के चाहिरहेका छन् ? सरकार कहाँ चुकिरहेको छ ? नीतिगत अस्थिरता र कानूनी छिद्रहरूलाई पुरेर कानूनी स्थिरता कायम गर्नतर्फ सरकार र सरकारी संयन्त्रहरू लाग्नुपर्छ । त्यसतर्फ अर्थमन्त्री पौडेलले कति काम गरेका छन् ? कति ध्यान दिएका छन् ? यसको जवाफ उनैसँग छ । ठूला दुई राजनीतिक दलको गठबन्धनमा सरकार बनेपछि लगानीकर्ता र आम सर्वसाधारणमा आशाको सञ्चार प्रवाह भएको थियो । लगानीकर्ताले पनि अब देशमा स्थिर सरकार बन्ने भयो भन्दै हौसिदै लगानी गरे । परिणामतः बजार पनि बढ्यो । तर, दुई ठूला दल मिलेको परिणाम र प्रतिफल लगानीकर्ताले पाएनन्, भेट्टाएनन् । परिणामस्वरूप अहिले बजार घटेको हो । सेयर बजार किन घटिरहेको छ ? कारोबार रकममा किन निरन्तर गिरावट आइरहेको छ ? भन्ने प्रश्नको जवाफ खोज्नुअघि अर्थमन्त्री पाैडेलले आफ्नो काम कारबाही र कार्यशैलीको मूल्यांकन, समीक्षा, मापन र विवेचना गर्न आवश्यक छ । विगत १० महिनादेखि पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डले नेतृत्व पाउन सकेको छैन । लामो समयदेखि नेप्सेको पुर्नरसंरचना गर्नुपर्ने विषय उठान भइरहेको छ । यसतर्फ सरकारले कुनै चासो दिन सकेको छैन । नेप्सेमा सर्वसाधारण र विदेशी लगानीकर्ता भित्र्याउने विषय कागजमै सीमित छ । प्राथमिक सेयर निष्काशन (आईपीओ) सार्वजनिक गर्ने भनेर लामो समयदेखि पाइपलाइनमा रहेका कम्पनीहरूले निकास पाउन सकेका छैनन् । प्रिमियममा सेयर निष्काशन गर्ने तयारी गरेका कम्पनीमाथि सरकारी तवरबाटै अनेक किसिमका प्रहार र दुःख दिने काम भइरहेका छन् । यस्ता खालका विविध समस्या र अवरोधहरूलाई नजरअन्दाज गर्दै नेप्से कार्यालयमा पुगेर सेयर बजार किन घट्यो भन्ने प्रश्न गर्ने आँट अर्थमन्त्री पौडेललाई कसरी आयो ? अर्थमन्त्री बनेपछि पौडेलले सेयर बजारको सुधारका लागि के-के काम गरे ? लगानीकर्ताको हित हुने नीति निर्देश कति गरे ? नियामक तथा सेयर बजार सम्बन्धित कार्यालयको प्राविधिक तथा व्यवस्थापकीय क्षमता अभिवृद्धिमा उनले के कति काम गरे ? आफू मातहतका निकायलाई जवाफदेही, पारदर्शी र उत्तरदायी बनाउका लागि उनले के कति नीतिगत व्यवस्था गरे ? भ्रष्टाचार, आर्थिक अनियमितता र नीतिगत अस्थिरता रोक्न कति पहल गरे ? वर्तमान समस्या समाधानका लागि सरोकारवालाहरूसँग छलफल, पैरवी तथा अन्तरक्रिया कति गरे ? लगानीकर्ताले राखेका मागहरू कति सम्बोधन भए ? यी विषयहरूमा गम्भीर नबनेर अर्थमन्त्रीले सेयर बजार किन घटिरहेको छ भन्नु लज्जास्पद हो । ठूला दुई राजनीतिक दलको गठबन्धनमा सरकार बनेपछि लगानीकर्ता र आम सर्वसाधारणमा आशाको सञ्चार प्रवाह भएको थियो । लगानीकर्ताले पनि अब देशमा स्थिर सरकार बन्ने भयो भन्दै हौसिदै लगानी गरे । परिणामतः बजार पनि बढ्यो । तर, दुई ठूला दल मिलेको परिणाम र प्रतिफल लगानीकर्ताले पाएनन्, भेट्टाएनन् । परिणामस्वरूप अहिले बजार घटेको हो । न कसैले बजार घटायो, न त कसैले ठूलो चलखेल गर्‍याे । लगानीकर्ताको अपेक्षाअनुसार सरकारले काम गर्न सकेन । कम्पनीहरूले लगानीकर्तालाई प्रतिफल दिन सकेनन् । देशको अर्थतन्त्रमा देखिएको मन्दीको तुसारो हट्ने छाँटकाँट लगानीकर्ताले देखेनन् । उनीहरू सेयर बिक्री गरेर फेरि फर्किएनन् । र, सेयर बजार घट्यो । भएको यत्ति हो । तर, अर्थमन्त्री पौडेलले तीलको पहाड सम्झे र निर्देशन दिन जम्बो टोलीसहित नेप्से कार्यालयमै पुगे । अर्थमन्त्री विष्णु पौडेलले गत भदौमा राजस्व चुहावट नियन्त्रण गर्ने भन्दै दुइटा द्रुत गस्ती निरीक्षण टोली गठन गरे । पहिलो टोली चितवनबाट पूर्व मेचीसम्म र दोस्रो टोली चितवनबाट पश्चिम महाकालीसम्मको क्षेत्रमा परिचालन गर्ने निर्णय भयो । आवश्यकताअनुसार चुहावट नियन्त्रण गर्ने विभिन्न निकायसँग समन्वय गर्ने, सहयोग लिने, आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालयको सहयोग लिनेगरी दुई टोलीलाई पूर्व–पश्चिम परिचालन गरियो । तर, यसलाई धेरैले असुल गर्ने धन्दाका रूपमा बुझेका छन् । पूर्वको झापा र ताप्लेजङुदेखि पश्चिमको कञ्चनपुर र दार्चुलासम्म सरकारका आफ्नै सरकारी संयन्त्रहरू छन् । भन्सार कार्यालयहरू छन् । हजारौं कर्मचारीहरू छन् । वर्षौंदेखि तिनै संयन्त्रहरूले काम गर्दै आएका छन् । कुनै कमजोरी भइरहको छ भने सच्याउने हो, त्यहाँका कर्मचारीहरूमा प्राविधिक ज्ञान, सिप र क्षमता छैन भने सरकारले सिकाउने हो, क्षमता अभिवृद्धि गराउने हो । तर,चाडपर्वको मुखमा राजस्व चुहावट नियन्त्रणसम्बन्धी द्रुत गस्ती निरीक्षण टोली परिचालन गर्ने नाममा व्यवसायीलाई त्रसित, आतंकित र भय सिर्जना गर्ने काम गर्नु हुँदैन । राजस्व चुहावट गर्ने नाममा व्यवसायीलाई छेडखानी गर्ने प्रयास गर्नुले समग्र उद्योग व्यवसाय क्षेत्र तरंगित हुनुका साथै यसले देशको अर्थतन्त्रमै प्रभाव पार्न सक्ने सम्भावना रहन्छ । हो, सरकारले राजस्व चुहावटका लागि काम गर्नु प्रशंसनीय छ । तर, चाडपर्वकै मुखमै मात्रै केन्द्रबाट टीम परिचालन गरेर काम गरेजस्तो देखाउनुले न राजस्व चुहावट रोकिन्छ, न त देशमा सम्वृद्धि आउँछ । सम्वृद्धि त केवल तिनै चाडपर्वको बेला भन्सार नाकाहरूमा खटिनेहरूको परिवारमा आउँछ ।