धन तथा सुन्दरताकी देवी लक्ष्मी, समग्र सुखका लागि अष्ट-साधना

ॐ ह्रीम क्लिम श्री लक्ष्मीभ्यो नमः लक्ष्मी वैदिक सनातन हिन्दू संस्कारमा धन तथा सुन्दरताकी देवी हुन् । लक्ष्मी शब्द सर्वप्रथम ऋग्वेदको पुरुषसुक्तमा उल्लेख गरिएको थियो । शास्त्रअनुसार सर्वोत्तम अवस्थामा भगवान विष्णु र उनको शक्ति लक्ष्मी एकै परमात्मा हुन् भनिएको छ । अर्को भाषामा स्त्रीलाई चौसठ्ठी कला मानिएको छ र ती चौसठ्ठी कलायुक्त महिलालाई लक्ष्मी भनिन्छ । सौभाग्य, समृद्धि, सफलता, सम्पन्नता र सुन्दरताको अर्थमा पनि लक्ष्मी शब्द प्रयुक्त हुने गर्दछ । भगवती दुर्गाको हजार नाममा एक नाम लक्ष्मी हो । लक्ष्मी पूजामा धनधान्यकी देवी माता लक्ष्मीको पूजा अर्जना गरिन्छ । लक्ष्मी पूजाको दिन घरमा भएका सम्पूर्ण श्रीसम्पत्ति, गरगहना, द्रब्यलाई लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरी पुजा गर्ने चलन छ । वैदिक सनातन हिन्दू संस्कारमा यसलाई अत्यन्त महत्वका रुपमा लिइन्छ । लक्ष्मी भन्ने बित्तिकै हामी धनमात्र हो भन्ने बुझ्छौँ । यद्यपि लक्ष्मीका विभिन्न आठ रुपहरु छन् । तिहारको अवसरमा लक्ष्मीको बिषेश महत्व रहने भएकाले आज लक्ष्मीको आठ रुप अर्थात् अष्टलक्ष्मीको बारेमा चर्चा गर्नेछौँ । लक्ष्मीको आठ रुपलाई अष्टलक्ष्मी भनिन्छ । लक्ष्मी पूजाको दिन घरमा भएका सम्पूर्ण श्रीसम्पत्ति, गरगहना, द्रव्य आदिलाई मात्र पूजा गर्छौं । धनलक्ष्मीको कृपाद्वारा पैसा जीवनमा प्राप्त हुन्छ तर पर्याप्त खुसी नहुन सक्छ । धनकै कारण मनमा शान्ति नहुन सक्दछ । व्यक्तिसँग पर्याप्त धन हुन्छ तर बिरामी हुने कारणले आफ्नो मनले चाहेको खाना खान सक्दैन, घुमफिर गर्न सक्दैन । शारीरिक रुपमा अस्वस्थ रहन सक्छ भने त्यस्तो धन के काम रु व्यक्तिसँग धन छ तर धनको उचित सदुपयोग छैन, काम गर्ने उत्साह छैन लक्ष्य उद्देश्य प्राप्त गर्न सक्दैन, धनको सदुपयोग गर्ने साधन छैन, सन्तान छैन, शिक्षादीक्षा राम्रो छैन, सामाजिक मान प्रतिष्ठा छैन, पारिवारिक शान्ति छैन । यी सम्पूर्ण विषय अष्टलक्ष्मीसँग जोडिएका छन् । अर्कोतर्फ मानिसले जीवनमा जति पैसा कमाउँछ थप कमाउने लालसा आउँछ । लालसाको कारण मानिस धेरै धन थुपार्ने चक्करमा आफ्नो खुसी गुमाउन पुग्छ । धन कमाए पनि पारिवारिक कलह रहन्छ । व्यक्तिको जीवनमा धन आउँछ तर जीवन धनले मात्र पूर्ण हुँदैन किनकी हामीले लक्ष्मीका अन्य सात रुपको उपेक्षा गरेका हुन्छौंँ । जसले जीवनमा समग्र खुसीयाली रहँदैन । वास्तुशास्त्रमा लक्ष्मीका आठ रुपको विभिन्न आठ दिशा तथा विदिशा बताइएको छ । हामीले वास्तुअनुसार घरको आठै दिशाहरुलाई वास्तु अनुकुल बनाए मात्र लक्ष्मीको आठै रुपको समान कृपा प्राप्त हुन्छ । जसले व्यक्तिको जीवनमा खुशीयाली छाउनुका साथै स्वस्थ र सम्पन्नता प्राप्त हुन्छ । वास्तुशास्त्रअनुसार अष्टलक्ष्मीले आठ दिशामा बास गर्ने गर्दछन् । यी अष्टलक्ष्मीको बारेमा विस्तृतरुपमा निम्नानुसार चर्चा महत्वपूर्ण छ । १. आदि लक्ष्मी/आद्यलक्ष्मी/महालक्ष्मी : आध्यात्मिक ज्ञानलाई नै आदि लक्ष्मी भनिन्छ । धनवान्, सम्पन्न, अध्यात्म, सात्विक भोजन, दुर्गाको पहिलो शक्ति, ब्रह्माण्डीय ऊर्जाशक्ति, धनको उत्पति र ऊर्जाको अनन्त स्रोतको प्रतिक वा आदिम् रुप पनि भन्न सकिन्छ । म को हुँ रु मेरो जीवनको उद्देश्य के हो रु आफूलाई चिन्ने आफ्नो अन्तर्मनसँग जोड्ने, आत्मसँग साक्षात्कार गर्ने काम आदि लक्ष्मीको हो । आदि लक्ष्मीको कृपाले व्यक्ति माया र सद्भाव राख्ने, परोपकारी तथा सहयोगी बन्छ । वास्तुमा आदिलक्ष्मीको दिशा इशान् कोण हो । यस दिशाबाट मानसिक सुख र आनन्द छ छैन हेर्ने गरिन्छ । यो दिशा गुरु वृहस्पतिको रहेकोले गुरुको कृपा छ छैन जाँच गर्न सकिन्छ । घरको यो दिशा वास्तु अनुकूल रहेमा यी गुण सहज प्राप्त हुन्छ अन्यथा वुद्घि, विवेक, विचारहरु, इच्छा, चाहना, उत्प्रेरणा, स्पष्टता, रचनात्मक सोचाइ आदिमा कमी आउँछ । २. धन-लक्ष्मी :  धन-लक्ष्मी भौतिक धन र आर्थिक प्रचुरताकी देवी हुन् । समृद्घि र आर्थिक स्थिरता कायम गर्ने काम धन-लक्ष्मीको हो । पैसा, सुन, चाँदी, भौतिक सम्पदा आदिलाई नै धन-लक्ष्मी भनिन्छ । धन-लक्ष्मीको कृपाले व्यक्तिबाट प्राप्त अथवा सही तरिकाले कमाएको धनले मात्र हामीलाई खुसियाली प्रदान गर्दछ । यसले मनमा शान्ति प्राप्त हुन्छ । वास्तुमा धन-लक्ष्मीको दिशा आग्नेय कोणमा पर्दछ । यस दिशालाई प्रसिद्घि, धन, भौतिक सुख आदिका रुपमा पनि लिइन्छ । घरको यो दिशा वास्तु अनुकूल रहेमा उल्लिखित गुणहरु प्राप्त हुन्छ । अन्यथा घरका आयस्रोतहरु ठप्प हुने, धनागमनमा समस्या, दुर्घटना हुनसक्ने, खर्च बढ्ने आदि हुनसक्छ । ३. धान्य-लक्ष्मी : धान्य-लक्ष्मी कृषि धनको वाहक, प्रशस्त उत्पादन र खाद्य सुरक्षा सुनिश्चित गर्ने देवी हुन् । धान्य-लक्ष्मीलाई माता अन्नपूर्णा वा भोजनकी देवी पनि भनिन्छ । धान्य-लक्ष्मीको सम्बन्ध भोजनसँग छ । उचित भोजनले हाम्रो शरीरलाई पौष्टिकताका साथै सकारात्मक ऊर्जा उपलब्ध गराउँछ । भोजन ग्रहण गरेर मात्र हुँदैन उपयुक्त भोजन राम्रोसँग पचाउन पनि सक्नुपर्छ । जुन व्यक्तिमा धान्य-लक्ष्मीको कृपा रहँदैन, त्यो व्यक्ति सधैँ बिरामी रहन्छ । खाना राम्रोसँग पचाउन नसक्नेले मन लागेको वस्तुको सेवन गर्न सक्दैन । यस्ता व्यक्तिका लागि संसारको सम्पूर्ण धन पनि व्यर्थ रहन्छ । घरमा अन्नको सदुरुपयोग गर्नाले धान्यलक्ष्मीको कृपा रहन्छ । वास्तुमा धान्य-लक्ष्मीको दिशा पूर्व र उत्तर-पश्चिमलाई मानिन्छ । यस दिशालाई स्वास्थ्य, नाम प्रसिद्घि, अन्न अनाजको प्रतीकका रुपमा पनि लिइन्छ । ४. गज-लक्ष्मी/भाग्य-लक्ष्मी/राज-लक्ष्मी : गज-लक्ष्मी/भाग्य-लक्ष्मी/राज-लक्ष्मीलाई धन, शक्ति, कृषि तथा उर्बरताकी देवी, सन्तान प्राप्ति, सन्तान सुख, समृद्घि, वाहन प्राप्ति, शाही वैभव र सार्वभौमिकताको प्रतीकको रुपमा लिइन्छ । यी देवी अन्जन नामक हात्ती चढ्छिन् । गज-लक्ष्मी व्यक्तिको जीवनमा गाडी-घोडाहरुको कारक हो । भाग्य-लक्ष्मीले जीवनमा भाग्य ल्याउँछ भने राज-लक्ष्मीले उन्नति-प्रगति । साथै भाग्य-लक्ष्मीको कृपाले व्यक्ति उच्च ओहदामा पुग्ने गर्दछन् । ५. सन्तान-लक्ष्मी : सन्तान र पारिवारिक समृद्घिको दाता, ज्ञान कला कौशलता, शिक्षामा सफलता, सन्तानसहित परिवारलाई आशीर्वाद दिने र उनीहरुको कल्याण गर्ने देवी सन्तान-लक्ष्मी हुन् । सन्तान लक्ष्मीलाई स्कन्द माता पनि भनिन्छ । सन्तान-लक्ष्मीको कृपाले बच्चा स्वस्थ, आज्ञाकारी र माता-पिताप्रति सद्भाव राख्नाका साथै माता-पिताको सेवा गर्ने हुन्छन् । यस्ता सन्तानले समाजमा आफ्नो तथा परिवारको नाम कमाउँछन् । ६. वीर-लक्ष्मी/धैर्य-लक्ष्मी : वीर-लक्ष्मी व्यक्तिको जीवनमा शान्ति, वीरता, विजय र साहसको प्रतीक हो । धैर्य-लक्ष्मीबाट व्यक्तिको जीवनमा सौभाग्य, समृद्घि, आत्मविश्वास र धैर्यता प्राप्त हुन्छ । माता वीर-लक्ष्मी प्रसन्न रहेमा भक्तलाई अकाल मृत्युबाट बचाउने तथा भक्तलाई रक्षा गर्दछिन् । वीर-लक्ष्मीलाई माता कात्याइनीका रुपमा पनि चिनिन्छ, जसले महिषासुरको वध गरेकी थिइन् । वास्तुअनुसार बीर-लक्ष्मीको दिशा दक्षिण र धैर्य लक्ष्मीको दिशा पश्चिम हो । परिवार बनाउने या तोड्ने कार्यका लागि यो महत्वपूर्ण क्षेत्र हो । जब परिवारका सदस्यहरूले धैर्यता राख्न असक्षम हुन्छन्, तब घरमा शान्ति र सहिष्णुताको स्तर कमजोर हुन्छ । यसले अन्ततः ठूलो पारिवारिक समस्याको रूप लिन्छ । यस दिशालाई घरको मुख्य मान्छे, नैतिकता, शान्ति, प्रसिद्घी, आनन्दआदिको रुपमा पनि लिइन्छ । यदि घरमा यी चिजहरुको कमी छ भने तपाइको बीर-लक्ष्मीको कृपा नरहेको स्पष्ट हुन्छ । ७. विद्या-लक्ष्मी : विद्या-लक्ष्मी ज्ञानकी लक्ष्मी हुन् । विद्या-लक्ष्मीले सिक्ने, सिकाउने क्षमतालाई मद्दत गर्छिन्, जसले आफ्नो कर्मको मार्गमा पुग्न मद्दत मिल्छ । उनको कृपाले हामी सबै आफ्नो क्षेत्रमा अधिक ज्ञान प्राप्त गर्छौं र कठिन विषयहरू पनि बुझ्न सक्षम हुन्छौँ । विद्या-लक्ष्मी हाँसमा विराजमान रहन्छिन् भने धन-लक्ष्मी कमलको फूलमा । त्यसैले विद्या-लक्ष्मीलाई धेरै स्थिर मानिन्छ, जब कि धन-लक्ष्मीलाई चञ्चल । जीवनमा ज्ञानलाई भौतिक सम्पदाभन्दा धेरै महत्व दिइन्छ । ८. विजय लक्ष्मी : जीवनमा आउने समस्याबाट लड्ने शक्ति विजय-लक्ष्मीबाट प्राप्त हुन्छ । यिनको कृपाले जय-विजय, यश, कृति तथा सम्मान प्राप्त गराउने काम गर्छिन् । जीवनमा हामीले सङ्घर्ष गर्नुपर्दछ, जसवाट जित्ने प्रेरणा विजय-लक्ष्मीले दिन्छिन् । हाम्रो जीवनमा आउने समस्याहरुसँग लड्ने र जित्ने साहस दिने काम विजय-लक्ष्मीको हो । वास्तुअनुसार विजय-लक्ष्मीको दिशा उत्तर-पश्चिम (वायव्य) कोण हो । अष्ट-लक्ष्मीहरूले जीवनलाई सहज र स्थिर राख्न एकअर्कासँग मिलेर काम गर्छन् । पूर्वकी धान्य वा ऐश्वर्या लक्ष्मीले गज लक्ष्मीसँग मिलेर व्यक्तिहरूलाई सुख सुविधा र विलासिताका साथ उच्चपदको उपभोग गर्ने क्षमता प्रदान गर्छिन् । दक्षिण-पूर्वकी धन-लक्ष्मीले उत्तर-पश्चिमकी विजया-लक्ष्मीसँग मिलेर आग्नेयमा उत्पन्न हुने नगद आवश्यक परेको बेला सहयोगको रूपमा उपलब्ध छ भनी सुनिश्चित गराउँछन् । वास्तुअनुसार लक्ष्मी वा सम्पत्ति भनेको स्पष्टता हो, जुन हामीले उत्तर-पूर्वबाट प्राप्त गर्छौं, दोस्रो लक्ष्मी, स्वास्थ्य तथा कनेक्टिभिटी हो जुन हामीले पूर्वबाट प्राप्त गर्छौं ं। तेस्रो लक्ष्मी भनेको पैसा हो जुन हामीले दक्षिण-पूर्व, नगद वा अग्निको वास्तु क्षेत्रबाट प्राप्त गर्छौं । चौथो लक्ष्मी भनेको प्रसिद्धि हो जुन हामीले दक्षिणबाट पाउँछौँ । त्यसपछि दक्षिण-पश्चिम क्षेत्र आउँछ जसले हामीलाई सीप र विशेषज्ञता दिन्छ । उत्तर-पश्चिमले बल र समर्थन दिन्छ । उत्तरले अवसर दिन्छ । यसरी आठ दिशाबाट यी आठ प्रकारको धन वा लक्ष्मीको आशीर्वाद लिन सकियो भने मात्र जीवन साँच्चै अनमोल बन्न सक्दछ । अन्त्यमा, आज लक्ष्मी पूजा अर्थात् धनधान्यकी देवीको पूजा गर्ने दिन । हामी सबैले आफ्नो घर या कर्म क्षेत्रमा माता लक्ष्मीको पूजा-अर्चना गर्छौैं । माता लक्ष्मीको पूजा गर्दा लक्ष्मीका आठवटै रुपको विधिवत् पूजा-अर्चना गर्न अनिवार्य छ । समग्र सुखको प्राप्तिका लागि धनलक्ष्मीको मात्र साधना नगरी आठै रुपको विधिवत् अर्चना या आराधना गर्दा उत्तम लाभ मिल्छ । जीवनका समग्र पक्षमा अधिकतम् उपलब्धिका लागि लक्ष्मीका आठैरुपको साधना गरौँ । (लेखक वास्तु विज्ञानका सञ्चालक एवं दक्षिण एसियाली ज्योतिष महासङ्घका आजीवन सदस्य हुनुहुन्छ)

कृषि र व्यापारभन्दा जागिरमा आकर्षण

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको भदौ मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले अर्थतन्त्रका बाह्य सूचकाङ्कहरूमा तिहारको झिलीमिली जस्तै उज्यालो रहेको देखाएको छ । अहिले बजारमा तिहारको उज्यालोले प्रवेश पाए जस्तै अर्थतन्त्रका बाह्य सूचकाङ्कहरुमा पनि उज्यालोपन देखिएको हो । आयातमा भएको कमी र बढ्दो विप्रेषणको कारण रु २१ खर्ब ५२ अर्ब बराबरको विदेशी मुद्रा सञ्चितिमा रहेको छ । विदेशी मुद्रा सञ्चितिको आकार चालु आवको बजेटभन्दा बढी रहेको छ । जबकि चालु आवको बजेटको आकार रु १८ खर्ब ६० अर्ब ३० करोड छ । यसले अर्थतन्त्रको बाह्य सूचक एकदमै मजबुत रहेको देखाउँछ । विदेशी दातृ निकायहरूले विदेशी विनिमय सञ्चिति बढेको कारण लगानी बढाउन सक्ने देखिएको छ । सञ्चितिमा रहेको विदेशी मुद्रा वैदेशिक भ्रमण र अध्ययनका लागि जाने विद्यार्थीले लैजानेबाहेक उपादनमूलक क्षेत्रमा प्रवाह गर्न सकेमा अझै सुधार आउने थियो । अहिले चालु खाता रु ४९ अर्ब ६९ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु २३ अर्ब ९७ करोडले मात्रै बचतमा रहेको थियो । अहिलेको सञ्चितिले १६.८ महिनाको वस्तु र १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैङ्कले जनाएको छ । भदौसम्ममा विप्रेषण १५.२ प्रतिशतले वृद्धि भई रु दुई खर्ब ६३ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्ष भदौ मसान्तसम्म शोधानान्तर स्थिति रु ५५ अर्ब १० करोड बचत रहेकामा चालु आवमा रु एक खर्ब एक अर्ब ७७ करोडले बचतमा रहेको छ । यी कुराहरूले अर्थतन्त्रको बाह्य सूचकाङ्क राम्रो रहेको देखाउँछ । तर, आन्तरिक अर्थतन्त्र पनि बाह्य अर्थतन्त्र जस्तै बनाउनु पर्ने खाँचो देखिएको छ । रोजगारीमा आएको सङ्कुचन, केन्द्रीय बैंकले सार्वजनिक गरेभन्दा बढी रहेको मूल्य, खस्कदो आयजस्ता कारणले गर्दा आन्तरिक अर्थतन्त्र केही कमजोर रहेको देखिन्छ । उत्पादन पर्याप्त बढाउन नसक्दा निर्यात व्यापारमा त्यही अनुपातमा सुधार आउन सकिरहेको छैन । चालु खाता बचत, बढ्दो विप्रेषण, बैंकिङ क्षेत्रमा थुप्रिएको तरलताले ‘लिक्युडिटी ट्रयाप’ को अवस्था सिर्जना गरेको छ । प्रचुर मात्रामा तरलता भए पनि लगानीको वातावरण सोचेजस्तो हुन सकेको छैन । चालु आवको दुई महिनामा पनि पुँजीगत खर्चभन्दा साधारण खर्चकै बाहुल्यता रहेको छ । बैंक तथा वित्तीय संस्थामा निक्षेप बढे पनि निजी क्षेत्रमा कर्जा प्रवाह बढ्न सकेको छैन । निजी क्षेत्र अझै पनि लगानीको लागि पर्ख र हेरको अवस्थामा रहेको छ । सोही कारण निजी क्षेत्रले कर्जा नलगेपछि बैंक तथा वित्तीय संस्थाले सेयर कर्जालाई बढाएका हुन् । भदौसम्मको तथ्याङ्कअनुसार सेयर धितो कर्जा अर्थात् मार्जिन प्रकृतिको कर्जा ९९ अर्ब ७६ करोड पुगेको छ । सेयरजस्तै गत वर्षको त्रैमासिक अवधिको तुलनमा चालु आवको सोही अवधिमा घरजग्गा कारोबार १७ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ । हाल देशभर बैकिङ क्षेत्रको रु तीन खर्ब घरजग्गामा ऋण लगानी रहेको छ । योभन्दा बढी व्यवसायीको लगानी छ । यी दुवै गरेर घरजग्गामा रु आठ खर्ब लगानी पुगिसक्दा पनि कारोबारमा सुधार आउन सकिरहेको छैन । यी कुराहरुलाई मध्यनजर गरी अर्थतन्त्रलाई अझ चलायमान बनाउन र देशलाई विकासको दीर्घकालीन बाटोमा लैजान आर्थिक विशेषज्ञता, नवीन सोच एवं साहसमा जोड दिनु पर्ने देखिएको छ । सन् २०२० मा विश्व अर्थतन्त्रमा आएको आर्थिक शिथिलता, रोजगारीका अवसरमा हस, गरिबी तथा असमानता, पेट्रोलियम पदार्थको उत्पादनमा देखिएको असन्तुलनजस्ता कारणबाट मानिसको दैनिक जीवनमा समेत समस्या देखिएको थियो । अहिले पनि फेरि त्यस्तै अवस्थाको सुरुआत हुन थालेको आभास हुन थालेको छ । बाह्य सूचकाङ्कले जस्तै आन्तरिक सूचकाङ्कले साथ दिएमा यस्ता कुराहरु हट्ने थियो । हामीकहाँ आर्थिक दृष्टिले पुँजीवादी खुला बजार अर्थतन्त्रको अभ्यास भइरहेको छ । योसँगै समाजवादी अर्थतन्त्र भएको छिमेकी मुलुक रहेको कारण नेपालको आर्थिक प्रणालीमा प्रत्यक्ष प्रभाव पारिरहेको छ । यसले पनि आयात दर उच्च बनाउन केही भूमिका खेलेको छ । कृषिमा आधारित अर्थतन्त्र भए पनि उत्पादकत्वमा सुधार आउन सकेको छैन । प्राकृतिक साधन तथा स्रोतको पहिचान र उपयोग हुन नसक्दा उत्पादकत्वमा उल्लेखनीय सुधार आउन नसकेको हो । हामीकहाँ ७० प्रतिशत जनसङ्ख्या कृषिमा आधारित रहेको अनुमान छ । विश्वव्यापी रूपमा हेर्ने हो सन् १९९१ मा कृषि क्षेत्रमा कार्यरत सङ्ख्या ४४ प्रतिशत रहेको थियो । अहिले यो झरेर २८ प्रतिशतमा खुम्चिएको छ । यसले कृषितर्फ आकर्षण घट्दै गइरहेको देखाउँछ । हामी कहाँ पुरानो उखान उत्तम खेती, मध्यम व्यापार र निकृष्ट नोकरी भन्ने रहेको थियो । तर, यो उखान अहिले त्यति उपयुक्त नहुन सक्छ । किनकि खेतीपाती र व्यापारभन्दा पनि नोकरीतर्फ आकर्षण बढेको कारण स्वदेशमा नोकरी नपाउनेहरु विदेशमा गएर काम गर्न थालेका छन् । तर पनि जुन देशमा कृषि रोजगारी कम छ, त्यस देशको विकास बढी भएको देखिएको छ । तर, हामी कहाँ ७० प्रतिशत कृषि रोजगारीमा रहे पनि खाद्यान्नमा अझै पनि परनिर्भरताकै अवस्था रहेको छ । परनिर्भरता हटाउनको लागि माथि भनिएजस्तै कृषिमा परम्परागत प्रवृतिलाई विस्थापित गरी कृषि यान्त्रिकीकरण गर्नुपर्ने खाँचो देखिएको छ । नेपालको संविधान २०७२ ले मुलुककको अर्थतन्त्रलाई समाजवाद उन्मुख अर्थतन्त्रको रूपमा विकास गर्ने आर्थिक उद्देश्य राखेको छ । समाजवादले देशमा रहेको सम्पूर्ण उत्पादनका स्रोत, साधनहरू व्यक्ति विशेषको नियन्त्रणमा नभएर समाजको नियन्त्रणमा हुनुलाई जनाउँछ । उत्पादनको स्रोत, साधनहरू व्यक्ति विशेषको नियन्त्रणमा नरहेर समाजको नियन्त्रणमा रहँदा उत्पादनबाट आउने नाफामा श्रमिकहरुको समान पहुँच हुन गई समाजमा धनी र गरिबबीचको खाडल मेटिन्छ भन्ने मान्यता समाजवादमा रहेको छ । श्रीमद्भागवद् गीताको १६ अध्यायको श्लोक १६ मा आसुरी व्यक्तिले धन आर्जनमा पापपूर्ण बाटो अपनाउने र अवैध तरिकाले इन्द्रिय तृप्तिको लागि कालोबजारी गर्ने उल्लेख छ । हामीकहाँ पनि बजार मूल्य बढाउनुमा अतृप्त धन आर्जन नै मुख्य तत्वको रूपमा रहेको छ । खाद्यान्नमा परनिर्भरताको कारण देशभित्र उत्पादन कम हुन थालेको छ । श्रीलङ्का, अफगानिस्तान, लेबनान, इथियोपिया, सोमालिया, केन्या, इजिप्ट, दक्षिण सुडान, यमनलगायतका देशमा खाद्यान्नमा दबाबको अवस्था कायमै रहेको छ । बढी खाद्यान्न निर्यात गर्ने देशहरुले ‘खाद्य राष्ट्रवाद’ (फुड नेसनालिजम) लाई प्राथामिकतामा राख्न थालेका छन् । आम्दानीको तुलनामा खर्च मात्रै बढ्न थालेपछि उपभोक्ताको जीवनयापन असहज हुन थालेको छ । वस्तु र सेवाको मूल्य महँगो (इन्फ्लेसन) हुन थालेको अहिलेको अवस्थामा वस्तु तथा सेवाको परिणाम घटाएर बेच्ने पद्धतिको अभ्यास शुरु भएकोसम्म देखिन आएको छ । यसले बजारमा मागभन्दा आपूर्ति कम हुन गई मूल्य बढाउन सहयोग पुर्‍याइरहेको छ । राजनीतिक विश्लेषक हरि रोकाले वैकल्पिक अर्थतन्त्र नामक पुस्तकमा जीवनयापनका लागि पुँजी निर्माण हुन नसक्दा ग्रामीण वा सहरी क्षेत्रका आम नागरिकको जीवस्तर नराम्ररी प्रभावित भएको उल्लेख गर्नु भएको छ । पुँजी निर्माणमा सक्रियतापूर्वक जनसङ्ख्यामाथि हुने वातावरण नबन्दा राष्ट्रिय पुँजी निर्माणमा समेत आघात पुगेको उहाँको पुस्तकमा लेखिएको छ । यसले अर्थतन्त्रको बाह्य सूचक मात्रै मजबुत हुँदैमा आम नागरिकको जीवनस्तरमा आमूल परिवर्तन आउन सक्दैन भन्ने देखाउँछ । बजेटले अर्थतन्त्रमा सिर्जना भएको गतिशीतला, पुनरुत्थान, निजी क्षेत्रको उत्साहप्रद लगानीबाट ६ प्रतिशतको आर्थिक वृद्धिदर र ५.५ प्रतिशतको मुद्रास्फीर्तिलाई बाञ्छित सीमाभित्र राख्ने घोषणा गरेको छ । यसलाई व्यवहारमा ल्याउन आन्तरिक उत्पादनमा वृद्धि, रोजगारी सिर्जना, उद्योग कलकारखाना पूर्णरूपमा चल्ने वातावरण सिर्जना गर्न सकेमा तिहारको चमक जस्तै अर्थतन्त्रमा उज्यालोपन आउने थियो ।

लगानीकर्तालाई धोका, अर्बौं घोटालामा लाखको सजाय

धितोपत्र बजारका नियमनकर्ताहरूको अन्तर्राष्ट्रिय सङ्गठनले सन् २०१७ देखि विश्व लगानीकर्ता सप्ताह आयोजना गर्दै आएको छ । भर्खरै संसारभर विश्व लगानीकर्ता सप्ताहको आठौँ संस्करण २०२४ यसै साता सम्पन्न भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नेतृत्वमा नेपालमा पनि धितोपत्र बजारसँग सरोकार राख्ने नेपाल स्टक एक्सचेञ्ज (नेप्से), सिडिएस एन्ड क्लियरिङ (सिडिएससी), मर्चेन्ट बैङ्कर एसोसिएसन, स्टक ब्रोकर एसोसिएसन अफ नेपाल, धितोपत्र ब्रोकर्स एसोसिएसन अफ नेपाल, क्रेडिट रेटिङ संस्था, स्टक डिलर, निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको संलग्नतामा कात्तिक ६ देखि १२ गतेसम्म सातै प्रदेशमा सर्वसाधारण र लगानीकर्तालाई लगानी शिक्षा र सचेतना गराउँदै, विश्वविद्यालय स्तरका विद्यार्थीहरूमा निबन्ध प्रतिस्पर्धा, क्रेडिट रेटिङ जानकारी, मिडियामार्फत लगानीसम्बन्धी मुख्य सन्देश प्रवाह, लगानीसम्बन्धी शैक्षिक सामग्री वितरण, विद्यार्थीहरूलाई नेप्से, सिडिएससी, मर्चेन्ट बैङ्क र ब्रोकर कार्यालयको भ्रमणलगायतका गतिविधि गरेर सम्पन्न भएको छ । यस वर्षको लगानी सप्ताहले मुख्य गरेर लगानीका आधारभूत पक्षहरू, प्रविधि तथा डिजिटल फाइनान्स, दिगो वित्त र धोखाधडी तथा घोटालाको रोकथाम सम्बन्धमा लागानीकर्तामा साक्षरता सिर्जना गर्नु रहेको थियो । साथै, हरेक व्यक्तिलाई निजसँग भएको धन लगानी गरेर अझै समृद्धि प्राप्त गर्न प्रोत्साहन गर्नु, असुरक्षित ढङ्गबाट लगानी गरियो भने लगानीकर्ता कसरी ठगिन पुग्छ ? कसरी आफ्नो सम्पत्ति गुमाउन बाध्य हुन्छ ? उसले गरेको लगानी कति सुरक्षित र जोखिममा रहेको छ ? लगानी गर्न बजारमा जाँदै गर्दा कस्ता स्क्याम र फ्रडहरू हुन सक्छ ? हरेक लगानीकर्ताले कमाउन सम्भव छ ? के लगानी सुरक्षित ढङ्गबाट गर्ने उपायहरू छन् ? यस्ता प्रश्नहरूको जवाफ लगानी सप्ताहका कार्यक्रमहरूले दिन सकेको छ भने ती गतिविधिहरूको औचित्य हुन्छ अन्यथा कर्मकाण्डी मात्रै हुने निश्चित छ । नेपालमा लगानीका सम्बन्धमा ठगी, छलकपट र धुर्ताईका घटनाहरू धेरै भएका छन् तर कारबाही र क्षतिपूर्ति भराउने काम भने अत्यन्तै कम हुने गरेको देखिन्छ । घटना नं. १ : कुनै समय निजी क्षेत्रबाट ऊर्जा क्षेत्रको विकासका लागि योगदान गरेर कहलिएका एक प्रतिष्ठत व्यक्ति जो रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको अध्यक्ष थिए । धनको लोभमा आफूलाई नियन्त्रण गर्न नसकी उनले कानुनको बर्खिलाप हुने गरेर आफू स्वयम् अध्यक्ष भएको कम्पनीको सेयर आफ्ना सन्तानको नामबाट बिक्री गरेर सोझा लगानीकर्ता फसाउने खेलमा लाग्दा धितोपत्र बजारको इतिहासमा पहिलोपटक नियामक निकायले अदालतमा उजुरी गरेर कारबाहीको कालो धब्बा बोक्न बाध्य भए । यो मुद्दा विशेष अदालतबाट फैसला भइसके पनि सर्वोच्च अदालतमा पुनरावेदनको प्रक्रियामा रहेको छ । यस्तै, अर्का पात्र ज्ञानेन्द्रलाल प्रधानले पनि आफू नेपाल हाइड्रो डेभलपर्स कम्पनीको अध्यक्ष हुँदाहुँदै संस्थापक सेयर बेचेर धनी हुन खोज्दा कानुनको फन्दामा पुगे । यी प्रतिनिधि घटनाले के देखाउँछ भने कैयाैँ संस्थाहरू सेवा र वस्तु बेचेरभन्दा सेयर बिक्री गरेर नाफा कमाउन खोलिएको हो । त्यसैले संस्थापकहरू लकइन पिरियड खुल्ने बित्तिकै आफ्नो सेयर बिक्री गरेर भाग्ने गरेको देखिन्छ । घटना नं. २ : विशाल बजार कम्पनी (हालसम्म) (राष्ट्रिय बीमा संस्थान र नेपाल बैंक लिमिटेड विगतमा) केही यस्ता कम्पनी छन्, जसका सञ्चालक विगत लामो समयदेखि कम्पनीबाट मोटो रकमको भत्ता, सुविधा र अन्य अवैधानिक लाभ लिइरहेका छन् । तर, कम्पनीमा शून्य सुशासन रहेको देखिन्छ । यसका कारण वर्षौदेखि लेखापरीक्षण र साधारण सभा हुन सकेको छैन । कम्पनीको आर्थिक र व्यावसायिक अवस्था कस्तो छ कसैलाई थाहा छैन । तर, दोस्रो बजारमा उक्त कम्पनीको सेयर हजारौँ मूल्यमा कारोबार भइरहेको छ । यस्तो लगानीकर्ताप्रति गैरजिम्मेवार सञ्चालक र कमजोर अनुशासन रहेको कम्पनीको सेयरको कारोबार हुन दिँदा सिधासाधा लगानीकर्ता बिना प्रतिफल आफ्नो धन जोखिममा हाल्न पुगेका छन् । यसबाट जोगिन सम्बन्धित लगानीकर्ता सजग हुन आवश्यक छ भने राज्यका निकायहरूले यस्ता कम्पनी र सञ्चालकलाई लगानीकर्ताप्रति जिम्मेवार बनाउन आवश्यक कानुनको व्यवस्था गर्नुपर्छ । विकृति र विसङ्गतिले बिग्रिएका लामो समयदेखि साधारण सभा, लेखापरीक्षण र कानुनी प्रक्रिया पूरा नगरी अटेरी गरेर बसेका कुनै पनि कम्पनीलाई दोस्रो बजारमा कारोबार हुनबाट रोक लगाउन सक्नुपर्छ । अनि मात्रै लगानीकर्ताको पैसा बालुवामा पानी हुनबाट जोगाउन सकिन्छ । घटना नं. ३ : सर्वोत्तम सिमेन्ट लिमिटेडले उत्पादनमूलक कम्पनीहरूलाई धितोपत्र बजारमा आकर्षित गर्न भनेर ल्याइएको बुक विल्डिङ्ग विधिमार्फत आईपीओ जारी गर्नका लागि सर्वप्रथम आवेदन दिएको थियो । यस कम्पनीको सेयर सर्वसाधारणलाई बिक्री गर्नुपूर्व नै विवादमा पर्‍यो । उक्त समयका सेबोन अध्यक्षले ‘गोल्डेन सेयर’ आफ्नो छोरीको नाममा लिएको र त्यस कम्पनीलाई वास्तविक वित्तीय विवरणको आधारमा नभई झुटो वित्तीय अवस्था खडा गरी साधारण लगानीकर्ताबाट बढी मूल्य उठाउन पाउने गरी मूल्य तोक्न सहयोग गरेको सूचना बाहिरिएसँगै चौतर्फी विरोध भयो । यसलाई थेग्न नसकेर अन्ततः अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने अवस्थामा पुगे । त्यस समयमा यदि यो गैरकानुनी कार्य सफल भइदिएको भए वास्तविकता भन्दा धेरै मूल्यमा लगानीकर्ताले सेयर खरिद गरेर आफ्नो सम्पत्ति गुमाउनु पर्ने अवस्था आउन सक्ने थियो । घटना नं. ४ : कुनै समय गोल्डम्यान इन्भेष्टमेन्ट कम्पनीका सञ्चालकहरूले सर्वसाधारण नागरिकलाई प्रभावित पार्न कम्पनीको कार्यक्रममा समाजका प्रतिष्ठित लगानीकर्तालाई सहभागी गराएर ‘म पनि लगानी गर्न चाहन्छ’ भन्ने भाषण गर्ने वातावरण तयार गरी त्यसैलाई प्रचारको माध्यम बनाएर साधारण लगानीकर्तालाई लोभ्याउँदै संस्थापक सेयर भिडाउने काम गरेका थिए । संस्थापक सेयर प्रचारप्रसार गरेर बिक्री गर्न कानुनले दण्डित र बर्जित गर्दागर्दै पनि सामाजिक सञ्जालको प्रयोगमार्फत उक्त कम्पनीमा ‘१० लाख १० वर्षका लागि लगानी गरेर १० करोड पाउनुहोस्’ भन्दै प्रचार गरेर सेयर बेच्न सफल भएका थिए । यसैमध्येका पीडित लगानीकर्ताले उजुरी गरेपछि छानबिन हुँदै गर्दा मुख्य संस्थापक लगानीकर्ताहरू आफ्नो सेयर अरुलाई गुपचुप बिक्री गरेर उन्मुक्त भई सकेका थिए तर खरिदकर्ताहरू हालसम्म पीडित नै छन् । त्यसलगतै कम्पनीको कारोबार तथा बैंक खाताहरू रोक्का गरिए तापनि जालसाजी ढङ्गले सेयर बिक्री गर्ने संस्थापकहरूलाई कुनै कारबाही हुन सकेको छैन । लेखक । घटना नं. ५ : सेबोनका निवर्तमान अध्यक्षको पालामा लगानीकर्ता र त्यसका सङ्गठनहरूले खबरदारी गर्दागर्दै बीमा प्राधिकरणका अध्यक्ष र उनको मिलिभगतमा कानुनी रूपमा बीमा ऐन, नियमावली र निर्देशिकाहरूमा बीमा कम्पनीहरूले आफ्नो चुक्ता पुँजीको ३० प्रतिशत सेयर अनिवार्यरूपमा सर्वसाधारणलाई निष्कासन गर्नुपर्ने भन्ने व्यवस्था भए पनि प्रिमियम मूल्य जोडेर निकाल्ने अनुमति दिंदा रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ, आइएमई लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्सलगायतका कम्पनीले थप प्रिमियम जोडेर सर्वसाधारणको अर्बौ रकम संस्थापकहरूले उठाएका छन् । यसै सिलसिलामा अख्तियारमा उजुरी हुँदाहुँदै रातारात यसरी नै प्रिमियममा हिमालय रि-इन्सुरेन्सको सेयर बिक्री गर्न अनुमति दिएर जनताको पैसा ब्रह्मलुट भएका परिस्थितिहरू ताजा नै छन् । यस घटनामा सबैभन्दा टिठलाग्दो त के देखिन्छ भने राज्य संयन्त्रलाई पैसाको बलमा आफ्नो हातमा लिने र भएको कानुनी व्यवस्था नै रातारात परिवर्तन गरी आफू अनुकूल संशोधन गर्न लगाएर नागरिकलाई महङ्गोमा सेयर किन्न बाध्य बनाउने खेलमा संस्थापक र व्यापारीलाई स्वयम् नियामकले नै साथ दिएको देखिन्छ । हिमालयन रि-इन्स्योरेन्सको आईपीओ आउनुभन्दा अगाडिसम्म तीन वर्ष सञ्चालन र नाफामा भएका कम्पनीहरूले मात्रै प्रिमियम मूल्यमा सेयर बिक्री गर्न सक्ने व्यवस्था थियो । उक्त कम्पनीका मालिकहरूको फाइदाको लागि प्रिमियममा सेयर जारी गर्न अयोग्य रहेको यस कम्पनीलाई योग्य बनाउन भैरहेको व्यवस्था नै परिवर्तन गरी तीन वर्षको ठाउँमा दुई वर्ष मुनाफा भएको कम्पनीले प्रिमियममा सेयर निष्काशन गर्नसक्ने गरी समय अवधि एक वर्ष कममा झारियो र आवेदन दिएको अत्यन्तै छोटो अवधिमा आईपीओ जारी गर्न अनुमति दिने काम भयो जुन परिघटनामा सुनियोजित षड्यन्त्र देखिन्छ । यस्ता एउटै नीतिगत निर्णयबाट लगानीकर्ताको अर्बौं रकम झ्वाम पार्ने गरेको पाइन्छ । हालसम्म पनि उक्त प्रिमियम बापतको पैसा फिर्ता हुने आशामा लगानीकर्ता छन् । घटना नं. ६ : सन नेपाल लाइफले केही समय अगाडि प्रिमियममा आईपीओ जारी गरिसकेको छ । यसमध्ये उक्त कम्पनीमा कार्यरत कर्मचारीहरूलाई ५ प्रतिशत सेयर छुट्याइएको थियो । तर, केही सञ्चालक र कम्पनीका कार्यकारी प्रमुखको मिलीभगतमा कर्मचारीलाई भाग लगाइएको सेयरमध्ये कार्यकारी प्रमुखको नाममा ८० प्रतिशत छुट्याएर बाँकी २० प्रतिशत मात्रै कर्मचारीहरूलाई बाँडबाँट गरिएको थियो । हाल यो घटना बीमा प्राधिकरण र सेबोनसम्म पुगिसकेको छ । तत्काल यस समस्याको निराकरणका लागि कार्यकारी प्रमुखले राखेको उक्त सेयर कर्मचारीलाई पूर्ण वितरण गर्ने र दोषीलाई कारबाही गरिनुपर्ने माग भएको छ । घटना नं. ७ : धितोपत्र कारोबारमा बिक्रीपछि केही ब्रोकर कम्पनीहरूमा लगानीकर्तालाई समयमा भुक्तानी नदिने र अल्झाइरहने समस्या देखिन्छ । केही समय अगाडि नेप्सेलाई जानकारी गराउँदा पनि कुनै न्याय नपाएको भन्दै एक लगानीकर्ताले सिप्ला सेक्युरेटिज लिमिटेड, स्टक ब्रोकर नं. २० का विरुद्ध तेस्रो पटक निवेदन दिएको फोटो सामाजिक सञ्जालमा राखेका थिए । यो घटनामा हालसम्म बाहिर आएको समचार हेर्दा ब्रोकरहरू सकेसम्म पैसा नदिने र दिनैपर्ने अवस्था आएमा खाली खाताका चेक दिएर झुलाउने गरेको देखिन्छ । घटना नं. ८ : रिलायन्स स्पिनिङ मिल्स कम्पनीले केही समयअघि संस्थागत योग्य लगानीकर्ता र वैदेशिक रोजगारीमा गएकालाई बुकविल्डिङ विधिबाट आईपीओ निष्कासन गरेर बाँडफाँट गरिसकेको छ तर वैदेशिक रोजगारीमा जानेलाई भन्दा पहिला प्रभावित स्थानिय व्यक्ति र कर्मचारीलाई जारी गर्नु पर्नेमा त्यसो गरिएको देखिदैन । उक्त अवस्थामा आईपीओ खारेज गर्नको लागि लगानीकर्ताले विभिन्न निकायमा तिर्नुपर्ने विद्युत् महसुलवापतको अर्बाैं रकम तिर्न बाँकी रहेको तर सो दायित्व नदेखाएको, महङ्गो मूल्य ८२०.८० पैसामा सेयर बिक्री गर्न नभएको नाफा देखाएर फर्जी वित्तीय विवरण पेश गरेकोले छानबिन गर्न माग गरेपछि पहिलोपटक सेबोनले छानबिनको नाटक गरेर लेखापरीक्षण कम्पनीको साथ लिएर चोखाउन खोजिएको थियो । तर, लगानीकर्ताहरू सेबोनले आफ्ना कुरा नसुन्ने भेउ पाएपछि बाध्य भएर संसदको सार्वजनिक लेखा समितिमा उजुरी गर्न पुगेका थिए । लेखा समितिले यसैका आधारमा सेबोनलाई स्पष्टीकरण दिन निर्देशन गरेसँगै सेबोनले आईपीओ निष्कासन रद्द गर्न रिलायन्सलाई निर्देशन गरेको थियो । हाल यो मुद्दा अदालतमा विचाराधीन छ । यसरी नेपालको धितोपत्र बजारमा देखिएका यस्ता घटनाहरूमध्ये केही मुख्य प्रतिनिधि घटना माथि प्रस्तुत गरिएको हो । खासगरी केही अपराधीको संलग्नतामा बजार घटाउन चाहँदा बजार बढिरहेको समयमा टिएमएस बिगार्ने, क्रेडिट रेटिङ्ग गलत गरिदिने, सामाजिक सञ्जालको प्रयोगमार्फत भित्री तथा सर्कुलर कारोबार गर्ने, क्लब हाउसहरूमा तथाकथित विज्ञहरूले फलानो सेयर यति पु¥याउने, फलानोले किन्दैछ, फलानो समूहले उठाउन थाल्यो किन्दा हुन्छ, बजार यतिभन्दा माथि जाँदैन, तल जाँदैन, ‘लो–क्याप’ भएकाले छिटै मूल्य बढ्ने कुरा छ भन्ने हल्ला गरेर सोझा लगानीकर्तालाई किन्न लोभ्याउदै माथिल्लो बिन्दुमा पुगेपछि थोरै पुँजी भएका कमजोर कम्पनीका सेयरहरू भिडाएर बाठा लगानीकर्ता भाग्ने गरेका छन् । यस्तै संसद र समितिहरूमा समेत फलानो सेयरको मूल्य बढी भयो भनेर नामै लिएर बहस गर्ने गरिएको देखिन्छ, जुन गलत छ । यसले लगानीकर्ताको मनोभाव बिगारीदिन्छ । कयौं मिडिया हाउसहरूले कुनै खास समुह र लगानीकर्तालाई लाभ दिने ढङ्गबाट समाचारहरू बनाउने गरेको पाइन्छ । कुनै कम्पनीको मूल्य घटाउनु छ नकारात्मक समाचार बनाउने र बढाउनु छ भने सकारात्मक समचार लेख्ने गरेको पाइन्छ । नक्कली कमोडिटी बजार खडा गरेर ६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएकामा म्याक्स कम्पनीलाई कारबाही भइरहेको छ । यसले सहभागी भएका हजारौँ लगानीकर्तालाई क्षति पुर्याएको छ । यसरी सूचना पासोलाई प्रयोग गरेर लगानीकर्ता माथि ठूलो चलखेल भइरहेको देखिन्छ । यस्ता घटनालाई समयमा रोक्नुपर्नेमा त्यसो हुन सकिरहेको छैन । निराकरणको उपाय के हुन सक्छ ? यस्ता ठगीहरू रोक्नको लागि सर्वप्रथम स्वयम् लगानीकर्ता जागरुक हुन जरुरी छ । आफूले लगानी गर्नका लागि लिइएका तथ्य र सूचना सही हो होइन परीक्षण गर्नुपर्छ । लगानी गर्दा कसैले भन्दिएकै भएरमा गर्ने गर्नु हुँदैन । यथार्थ जानकारी लिएर मात्रै गर्नुपर्छ । लगानीका लागि आवश्यक ज्ञान, सीप र योग्यता बढाउन आवश्यक कार्यहरू गर्नुपर्छ । छिटो र छोटो बाटोबाट धनी हुने स्किम भएका लगानीका अवसरहरू हेर्दा आकर्षक देखिएता पनि त्यो गलत हुनसक्छ । त्यस्ता काल्पनिक प्रतिफल दिने लगानीबाट सधैँ होसियार हुन जरुरत छ । सामाजिक सञ्जालहरूमा आएका आकर्षक भनाई र प्रचारप्रसारमा लागेर हचुवाको भरमा लगानी गर्नु हुँदैन । यस्तै, नियामकहरूले ठगी गर्नेहरूलाई कडा कारबाहीका कानुनहरू बनाएर लागु गर्न आवश्यक छ । अर्बाैं घोटला गर्नेहरूलाई केही लाखको सजाय अत्यन्त न्यून हुने हुनाले यसलाई बढाउन जरुरी छ । नीति निर्माता र निर्णय तहमा रहेकाहरूमा नैतिकता र इमान्दारिता हुनुपर्छ । कानुनमा भएका छिद्र र कमजोरीहरू सुधारेर त्यसलाई रोक्न आवश्यकता अनुसार संशोधन र परिमार्जन गर्दै जानुपर्ने देखिन्छ ।लगानीकर्ताबाट परेका उजुरीहरूको समयमा छानबिन गरेर किनार लगाउन झन धेरै खाँचो छ । लगानीमा हुने धोका, बेइमानी र छलकपट पहिचान गर्नका लागि नियामक निकायमा आवश्यक पर्ने सक्षम मानव संशाधन र प्रविधिको व्यवस्थासहित स्रोत साधनको व्यवस्था मिलाउनुपर्ने देखिन्छ । लगानीमा प्रयोग हुने प्रविधि र यसको दुरुपयोग गरेर अपराधीहरूले कसरी ठगी गरिरहेका हुन्छन् हरेक लगानीकर्तालाई बुझाउनु पर्छ । टिएमएस, मेरो सेयर, बैक खाता, वालेट र डिजिटल कारोबारलाई कसरी सुरक्षित राख्न सकिन्छ, लगानीकर्तालाई राज्यका निकाय र लगानीसँग सरोकार राख्ने निजी संस्थाहरूको समेत सक्रियतामा समयसमयमा जानकारी र शिक्षित गराउने गर्नुपर्छ । यस्ता परिघटनाबाट सर्वसाधरणलाई बचाउन सचेतनाका कार्यक्रम सम्पूर्ण सरोकार निकायले सञ्चालन गर्ने हो भने लगानीकर्तामा ज्ञान र अनुभव बढ्न गई ठगी र स्क्यामका घटनाहरू स्वत न्यूनीकरण हुने देखिन्छ । (लेखक धितोपत्र बजारका जानकार हुन् । प्रस्तुत विचार लेखक स्वयमकाे हो ।)