जनशक्ति बढ्दा स्वास्थ्यकर्मीको विदेश पलायन बढेको हो : उपकुलपति बस्नेत
काठमाडौं । विसं १९४७ मा स्थापना भएको वीर अस्पताल नेपालको सबैभन्दा पुरानो अस्पताल हो । सुरुमा पाँच कर्मचारीसहित सात शय्याबाट सुरु भएको यस अस्पतालले देशको आवश्यकताअनुसार बिरामीलाई स्वास्थ्य उपचार सेवासँगै विभिन्न तहका स्वास्थ्यकर्मीलाई चिकित्सा शिक्षा प्रदान गर्दै आएको छ । चिकित्सा शिक्षाको अभाव पूरा गर्ने उद्देश्यले २०५९ सालमा बनेको अवधारणाका आधारमा ल्याइएको अध्यादेशबाट २०६० चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) न्याम्सको स्थापना भएको थियो । २०६३ सालमा न्याम्सको अलग्गै ऐन बनेपछि यसको सञ्चालन हुँदै आएको छ । त्यो हिसाबले स्थापना र सञ्चालनमा आएको २० पूरा भएको छ । यस बीचमा सरकारी चिकित्सकलाई तालिम प्रदान गर्ने र दुर्गम क्षेत्रका सरकारी स्वास्थ्य संस्थासम्म पुगेर विशेषज्ञ सेवा उपलब्ध गराउन यसले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । प्रस्तुत छ, वीर अस्पतालका पूर्वनिर्देशक एवं राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)को उपकुलपति प्राडा भूपेन्द्र बस्नेतसँग गरेको कुराकानीको सम्पादित अंशः तपाईले न्याम्सको नेतृत्व लिएपछि यसको गतिविधिलाई कसरी हेर्नु भएको छ ? जतिबेला न्याम्स सुरु भयो त्यस समयमा म वीर अस्पतालमा मेडिकल अधिकृतको रुपमा कार्यरत थिएँ । त्यो समय नेपालले चिकित्सा शिक्षाले यति फड्को मारिसकेको अवस्था थिएन । यी २० वर्षमा हामीले धेरै काम गर्न सफल भएका छौँ । त्यस समयमा नेपालमा स्नातकोत्तर गर्ने खास गरी ब्याचलर अफ मेडिसिन र ब्याचलर अफ सर्जरी (एमबीबीएस)पछि डक्टर अफ मेडिसिनरमास्टर अफ सर्जरी (एमडीएमएस) गर्ने अवसर नेपालमा एकदमै कम थियो । त्यसमा पनि स्वास्थ्य मन्त्रालयसँग धेरै कम एमडीएमएस गरेका चिकित्सक थिए । यतिसम्म कि जिल्ला अस्पताल त के अञ्चल अस्पतालमै पनि चिकित्सक पुग्न सकेको थिएन । अञ्चल अस्पतालमा चिकित्सक पुगे पनि सबै प्रकारका विशेषज्ञको अभाव थियो । त्यो सबै अवस्थालाई मध्यनजर गर्दै देशभित्र सरकारले आफैँ एमडी पढाउने, तालिम दिने र नेपाल सरकारका सबै अस्पतालमा चिकित्सक उपलब्ध गराउनुपर्छ भन्ने अवधारणामा उक्त समयको स्वास्थ्य मन्त्रालयको नेतृत्वले न्याम्सको गठन गरेको हो । यो गठन यसरी आयो कि सरकारी चिकित्सकलाई मात्र पढ्न दिइन्थ्यो, त्यसपछि बाँकी रहेको मात्र खुल्ला प्रतिस्पर्धालाई दिइन्थ्यो । पछिल्लो समयमा चिकित्सा शिक्षा आयोग आइसकेपछि त्यो परिदृश्य केही परिवर्तन भएको हो । त्यसबीच एमडीएमएस गरेका यति धेरै चिकित्सकहरु उत्पादन भए कि आज नेपाल सरकारका अधिकतम् अस्पताल एवं स्वास्थ्य संस्थाको नेतृत्व एवं विशेषज्ञ सेवा उनीहरुबाटै भएको छ । यो न्याम्सको लागि सुखद् पक्ष हो । चिकित्सक एवं स्वास्थ्य जनशक्ति उत्पादनमा न्याम्सको भूमिकालाई कसरी हेर्नु भएको छ ? आजसम्मको स्थिति हेर्ने हो भने न्याम्सले नेपालमा एमडीएमएस सबैभन्दा धेरै उत्पादन गरेको छ । झण्डै १५ सय एमडीएमस चिकित्सक उत्पादन भइसकेका छन् भने विभिन्न विधाका चिकित्सक, नर्सिङ र पारामेडिक्स गरी झण्डै तीन हजार जनशक्ति उत्पादन गरिसकेको छ । यही जनशक्तिका कारण धेरै सरकारी र निजी स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा उपलब्ध गराउन सहज भएको छ । यसको स्थापना गर्दा नै स्वास्थ्य उपचार सेवा, अध्यापन र अनुसन्धान गर्ने रहेको थियो । न्याम्स र वीरलाई छुट्याउने, न्याम्सले छुट्टै अस्पताल स्थापना गर्ने विषयप्रति तपाईको बुझाई के हो ? अहिले छुट्याउने र जोडने कुराहरु आइरहेको छ । म भन्छु, छुट्याउन हुँदैन । न्याम्सको योगदान महत्वपूर्ण छ । सबै सरकारी स्वास्थ्य संस्थामा चिकित्सक पुर्याउने, तालिम दिने राम्रो काम भएको छ । यदि आफ्नो अस्पताल नै नहुने हो भने त तालिमको नै वैधानिकता हुँदैन, मान्यता हुँदैन नि । स्वास्थ्य प्रतिष्ठानलाई पढाउनको लागि आफ्नै एउटा अस्पताल चाहिन्छ । न्याम्सले वीर अस्पतालबाहेक पनि थुप्रै ठाउँमा पढाई र तालिमको कार्यक्रम गर्छ । जस्तैः बालबालिकाको लागि कान्ति बाल अस्पताल, आँखाको लागि नेपाल आँखा अस्पताल, तिलगङ्गा, विराटनगर, भैरहवालगायत, प्रसुतिका लागि परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल र अन्य अस्पतालको वीर अस्पतालमा गरेको छ । अहिलेको चिकित्सा शिक्षा ऐनकै कुरा गर्ने हो भने नर्सिङ पढाउनका लागि एक सय शैय्यासम्मको अस्पताल चाहिन्छ । एमबिबिएस कार्यक्रमका लागि तीन सय शैय्या न्यूनतम् रुपमा सञ्चालनमा हुनुपर्छ । त्यसैले एमडीएमएस गर्न पर्यो भने पक्कै पनि आफ्नै एउटा अस्पताल चाहिन्छ । त्यो आफनो अस्पताल भनेको ऐनले निर्दिष्ट गरेको न्याम्सको वीर अस्पताल हो । आफनो एउटा अस्पताल भएपछि अन्य कार्यक्रम जहाँ पनि चलाउन पाइन्छ । त्यसैले ऐन आउँदै खेरी वीर अस्पताल, न्याम्सको आङ्गिक अस्पताल भएर आएको हो । यदि न्याम्सको आफ्नै अस्पताल भएन भने कार्यक्रमहरु चलाउन पाइँदैन, यहाँबाट हुने अध्ययनको यसको वैधता र मान्यतामा प्रश्न उठ्छ । यसको अर्का पाटो, वीर अस्पताल सरकारको केन्द्रीय अस्पताल पनि हो । नेपाल सरकारका चिकित्सक जो स्वास्थ्य सेवामा हुनुहुन्छ उहाँहरु जिल्ला, अञ्चल, क्षेत्रीय अस्पताल हुँदै यो अस्पतालसम्म आउने बाटो पनि त खुल्ला हुनुपर्छ नि । त्यसैले अहिले पनि त्यो छ । केही कर्मचारी न्याम्सको हुनुहुन्छ, तर धेरै जना स्वास्थ्य सेवाबाट विभिन्न ठाउँबाट सरुवा भएर यहाँ आउनुहुन्छ । यो आउनै नपाउने गरी बन्द गर्ने किसिमले गर्नु हुँदैन । न्याम्सको आफनै छुट्टै अस्पताल निर्माणको कुरा चाहिँ के भैरहेको छ ? हो, त्यसकै लागि भक्तपुरको दुवाकोटमा अहिले जग्गा प्राप्ति भएको छ । त्यहाँ केन्द्रीय अस्पताल बनाएर सर्यो भने, न्याम्सको आंगिक अस्पताल बन्यो भने वीर अस्पताल तालिम साइट मात्र पनि हुन सक्छ । तर आजकै दिनमा न्याम्सबाट वीर अस्पताल छुट्याउँदा डिग्रीकै मान्यता र वैधानिकतामा प्रभाव पर्छ, विद्यार्थीको भविष्यमा समेत असर पर्ने सक्छ । ऐनले यही कुरा नै भनेको छ । दुवाकोटमा अस्पताल बनाउने हाम्रो पहिलो प्राथमिकतामा छ । यो ठूलो योजना भएका कारण सरकारले तत्काल काम सुरु गर्न नसक्ने हो कि भनेर हामीले त्यसलाई तीन चरणमा बाँडेका छौँ । त्यहाँ १५ सयको शैय्या बनाउने योजना छ, हामीलाई एकैदिनमा १५ सय शैय्या चाहिदैन । प्रथम चरणमा पाँच सय शैय्या, दोस्रोमा पाँच सय र तेस्रोमा पाँच सय गरी जम्मा १५ सय शैय्या बनाउने सोचेका छौँ । पहिलो चरणको पाँच सय शैय्याको मेडिकल कलेज तत्काल बनाउन भनेर यो वर्षको बजेटमा राख्नुपर्छ भनेका छौँ । अहिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले समेत चिकित्सा शिक्षा र स्वास्थ्यबारे निरन्तर चासो व्यक्त गर्नुभएको छ । मन्त्रालयको भिजनअनुसार एक शय शैय्यासम्म नर्सिङ र प्यारामेडिक्स पढाउने, तीन सय शैय्यामाथि एमबिबिएस पढाउने कुरालाई न्याम्सले ग्रहण गरिसकेका छौँ । आगामी शैक्षिक सत्रमा, ठीक एक वर्षपछि न्याम्सले पनि एमबिबिएस कार्यक्रम सुरु गर्छौं । त्यसका लागि आउने आर्थिक वर्षदेखि दुवाकोटमा भवन निर्माणको लागि काम गरिरहेका छौँ । एमबिबिएससँगै त्यहाँ हाम्रो क्षमताअनुसार अन्य शैक्षिक कार्यक्रम विस्तार गर्दै जाने हो । यसबाट कम खर्चमा नागरिकले गुणस्तरीय शिक्षा र स्वास्थ्य उपचार सेवा दुवै प्राप्त गर्न सक्छन् । जुन स्वास्थ्यकर्मीले आजको नवीन प्रविधि पढेको हुन्छ, उसले राम्रो सेवा दिन सक्छ । त्यो पढ्ने कुरा हाम्रो जस्तो शैक्षिक संस्थामा हुन्छ । त्यसैले सबै सरकारी अस्पताल शैक्षिक संस्थाको रुपमा विकास हुनुपर्छ, सबैले दिनहुँ पढ्न र बिरामीको गुणस्तरीय उपचार होस्, हाम्रो उद्देश्य नै त्यही हो । अहिले देशभित्रै नर्सिङ अध्ययन गर्न नपाएर नेपाली विद्यार्थीहरु भारतलगायत अन्य मुलुकमा जानुपर्ने बाध्यता कसरी भयो ? चिकित्सा शिक्षा ऐनमा देखिएको समस्या हो वा अन्य कुनै कारण पनि हुन सक्छ ? अहिले नर्सिङ अध्ययनका लागि समस्या देखिएको छ । ऐनगत समस्या भएका कारण नै चिकित्सा शिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोग, मन्त्रालय र सरकार नै लागिपरेको छ । न्याम्समा पिसिएल नर्सिङ पढाइ हुन्थ्यो आजको दिनमा बन्द भयो । हामीसँग नर्सिङ कलेज छ, शिक्षक छन् र एक हजार शैय्याको अस्पताल छ । हामी धेरै नर्सिङ पढाउन सक्छाैँ, यस्ता कार्यक्रम हाम्रो बन्द भयो, ऐनका कारण । यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र पाटन अस्पतालको पनि बन्द भयो । सबै स्वास्थ्य प्रतिष्ठानले पढाउन पाउँछन्, न्याम्सले मात्र आज पढाउन पाउने हो भने हामी पाँच सय जना पिसिएल नर्स उत्पादन गर्न सक्छाैँ । पाँच ठाउँमा हामीले नर्सिङ पढाउन सक्छौँ । कान्ति, प्रसुति, सिभिल, भरतपुर र वीर अस्पतालबाट दुई सय ५० पिसिएल नर्स वार्षिक उत्पादन गर्न सक्छौँ । ऐनलाई संशोधन गर्ने बितिकै नेपाल सरकारका स्वास्थ्य प्रतिष्ठान र अस्पतालबाट नर्सिङ जनशक्ति उत्पादन गर्न सकिन्छ । आधारभूत स्वास्थ्य उपचारको प्रत्याभूति संविधानले नै गरेको छ तर नागरिकहरु सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य उपचारको सेवाबाट बञ्चित भैनैरहेका छन, किन होला ? अहिलेको संविधानले स्वास्थ्यको जिम्मेवारी तीन तहको सरकारमा बाँडेको छ । यी सरकारहरुबीच तालमेल नमिलको जस्तो लाग्छ । थुप्रै अधिकार स्थानीय तहलाई गएको छ । तर अधिकारसँगै अरु कुरा भएका छन त ? अर्कातर्फ केन्द्रिकृत मानसिकतामा काम गर्दै आएकाले सङ्घीयताअनुसार काम गर्न नसक्दा पनि धेरै जटिलता देखिएको हुन सक्छ । कार्यान्वयनलाई निर्खार्दै जाने हो । कोही चिकित्सक दुर्गममा गएन भन्नुहुन्छ । चिकित्सक एउटा व्यक्ति हो, उसँग ज्ञान हुन्छ । त्यो ज्ञानको प्रयोग गर्न उनलाई साधन, सहयोगी सेवा र समूहको आवश्यकता पर्छ । दुर्गमकै उदाहारण दिंदा पनि, त्यहाँ चिकित्सक मात्र पुगेर हुँदैन । त्यहाँ पूर्वाधार, उपकरण र पूर्ण समूह अनिर्वाय हुनुपर्छ । स्वास्थ्य जनशक्ति विदेसिने क्रम बढ्दो छ । यसलाई अवसरको खोजीमा जाने बढे भन्ने कि स्वास्थ्यकर्मी टिकाउने वातावरण नबनेको हो भन्ने ? हो, चिकित्सकहरुको विदेश पलायन बढ्दो छ । तर हाम्रो उत्पादन पनि बढिरहेको छ । हिजो उत्पादन कम थियो विदेश पलायन पनि कम थियो । आज उत्पादन बढी छ, विदेसिने पनि बढी छन् । यद्यपि हामीले केही ‘क्रिम’ जनशक्तिलाई रोकेर राख्ने वातावरण आवश्यक छ । वीर अस्पतालमा अझै पनि सहज र समयमै उपचार सेवा पाउन नसकिरहेको बिरामीहरुको गुनासो छ । सरकारी अस्पतालप्रति सेवाग्राहीको विश्वास खस्केको हो ? वीर अस्पताल गतिशील छ । सेवाग्राहीको विश्वास बढेको छ, सेवा विस्तार भएको छ र स्वयं अस्पतालको आम्दानी बढेको छ । म २०७३ सालदेखि २०७५ सालसम्म निर्देशकको जिम्मेवारीमा रहेँ । त्यसबेला चिसोयाममा सातदेखि आठ सय बिरामी हुन्थ्यो । अहिले चिसोयाममा मात्र पनि २२ सय बिरामीको सङ्ख्या छ । त्यस समयमा गर्मीमा १६ सय बिरामी हुने गर्दथ्यो, अबको गर्मीयाममा चार हजारसम्म पुग्ने देखिन्छ । यी सङ्ख्याका सेवाग्राही विश्वास भएरै वीर अस्पताल आएका हुन् । एक दिनमा हामीले ४० वटा शल्यक्रिया गरेका छौँ । हाम्रो क्षमता एक सय वटासम्म शल्यक्रियाको छ । नर्सलगायत जनशक्ति जस्ता केही समस्याका कारण अप्ठ्यारो छ । हाम्रो क्षमताअनुसार सेवा दिन छोडेका छैनौँ । वीर अस्पतालबारे नकरात्मक कुरा फैलाएर बिरामी निजी अस्पतालमा लग्ने केही समूहको खेती पनि छ । यस्ता समूहलाई कारबाही पनि गरेका छौँ । तर अधिकांश कर्मचारीले राम्रो काम गर्नुभएको छ । दुई/चार वटा कर्मचारीका कारण सम्पूर्णको बारे गलत प्रचार गर्नु हुँदैन । अहिलेको स्वास्थ्य मन्त्रीले शैय्या बढाउनुभयो । भिआइपीको चाप बढेको छ । धेरै सुधार भएको छ, सेवा खस्केको छैन । केही समय अघिमात्र अक्सिजन र खाना रोकियो भन्नेबारे गलत सूचना प्रवाह भयो । हामीले एक दिन पनि यी कुरा रोकेका थिएनौँ । बजेट विनियोजन हुँदा त्यो शिर्षकमा पैसा आएन । रोकियो भन्ने कुरा ५० औँ मिडियाले मिडियाबाजी गरे । हामीले विज्ञप्ति निकाल्यौँ तर कसैले समाचार लेखेनन् । यो कुरा प्रमाणसहित ल्याए म पद छोडन तयार छु । राम्रो काम गर्दा पनि विरोध धेरै भयो । अधिकांशले नकारात्मक कुरा लेख्नुहुन्छ । धेरै नकारात्मक मानसिकता भयो । अस्पतालबाट प्रवाह हुने सेवा सुधारका लागि विगतमा र अहिले भएका प्रयासहरु के पर्याप्त छन त ? हाम्रो क्षमताअनुसार गरिरहेका छाैँ । सुधारका लागि तयार छौँ । सुझाव दिनु हुने सबैका लागि वेबसाइटमा स्क्यान गरेर पनि सन्देश छोड्न सक्नुहुन्छ । हामी धेरै सकारात्मक सुझावको प्रतिक्षामा छाैँ । सरकारी अस्पतालसँग सबै कुरा छ । जग्गा छ, भवन निर्माण भैसकेको छ, चिकित्सक छन्, बिरामीहरु सेवा लिन आउँछन् । त्यहाँ शैक्षिक प्रणाली छिराउन मात्र बाँकी हो । यहाँ बिरामीलाई लाइन बस्नुपर्ने समस्या छ, यो हाम्रो बाध्यता हो । क्षमता अभिवृद्धिमा प्रयत्नशील छौँ । रासस
मन, मस्तिष्क र शरीरको गहिरो सम्बन्ध हुन्छ
कुनै पनि व्यक्तिको शारीरिक स्वास्थ्यमा समस्या आयो भने तुरुन्त अस्पताल पुगेर जाँच गर्छ । कुनै समस्या देखियो भने उपचार गर्छ । देखिएन भने ढुक्क भएर बस्छ । तर, मानसिक स्वास्थ्यमा समस्या भयो भने ऊ अस्पताल पुग्दैन । मनलाई अशान्त बनाएर दुःखी भएर घरमै बस्छ । अझ कडा खालको समस्या देखियो भने परिवार, समाजले नै हेलाको दृष्टिले हेर्छ । हाम्रो समाजमा अहिले पनि यस्तो प्रवृति कायम छ । तर, अझै धेरैलाई मानसिक स्वास्थ्यबारे जानकारी छैन । यसो भनिरहँदा धेरैलाई लाग्न सक्छ मानसिक स्वास्थ्य के हो ? मानसिक स्वास्थ्य भन्नाले व्यक्तिको अवस्थालाई बुझ्न सकिन्छ । जसमा व्यक्तिले आफ्नो क्षमताको पहिचान गर्न सक्छ । उसले आफ्नो जीवनमा आइपर्ने तनावसँग सामना गर्न सक्छ । आफ्नो जीवनमा परिणाममुखी काम गर्न सक्छ । सँगसँगै आफ्नो समाजमा पनि कुनै न कुनै योगदान गर्न सक्छ । यो सबै काम उसले गर्न सक्छ भने उसको मानसिक स्वास्थ्य अवस्था राम्रो छ अथवा मानसिक रूपमा स्वस्थ्य छ भनेर हामीले बुझ्न सक्छौं । यदि यी काम गर्न उसलाई अलिकति कठिनाइ भइरहेको छ, उसको दैनिकीमा अप्ठ्यारो छ भने मानसिक समस्या भएको छ कि भनेर शंका गर्न सकिन्छ । व्यक्तिको विचार भावना र व्यवहारमा कुनै पनि परिर्वतन आउँछ । त्यो परिर्वतन निश्चित अवधिभन्दा लामो समयसम्म रहन्छ भने उसलाई मानसिक स्वास्थ्य समस्या भएको हुन सक्छ । ताकि त्यो परिवर्तननले व्यक्तिको दैनिकीमा, जिम्मेवारीमा क्रियाशिलतामा नकरात्मक प्रभाव पार्छ । यो विषय व्यक्ति आफैंले पनि याद गर्न सक्छ भने परिवार साथीभाइ, छरछिमेक र कार्यस्थलका सहकर्मी साथीहरूलाई पनि थाहा हुन्छ । आजभोलि मानसिक स्वास्थ्य समस्या नभएको मान्छे प्राय भेट्न गाह्रो छ । कुनै न कुनै कारण मान्छेका मामनसिक स्थिती बिग्रेकै हुन्छ । कुनै पनि व्यक्तिको मस्तिष्क कस्तो छ भनेर उसको शरीरले भनिदिन्छ । किनकी मस्तिष्क, शरीर र मनको गहिरो सम्बन्ध हुन्छ । शरीरलाई केही भएको मनले भनिदिन्छ । मनलाई केही भएको शरीरले भनिदिन्छ । कुनै पनि व्यक्तिले म मानसिक रूपमा स्वस्थ छु कि छैन भन्नको लागि मेरो शरिर कस्तो छ र मेरो दैनिकी कसरी बितिरहेको छ भन्ने कुरा सबैभन्दा पहिले याद गर्नुपर्छ । जस्तो कि एन्जाइटी भएका मान्छेमा छटपटी हुने, डर लाग्ने, निन्द्रा नपर्ने शरिर काप्ने जस्तो हुने श्वास फेर्न गाह्रो भएजस्तो हुने घाँटीमा केही अड्केजस्तो हुने समस्या हुन्छ । यस्ता लक्षण देखापर्दा व्यक्तिले शरिरको समस्या भन्दै अस्पताल पुग्छ । तर, कुनै रोगको पहिचान हुँदैन । शरिरको कारणले मात्र व्यक्तिमा यस्तो समस्या देखिँदैन मनको समस्याका कारण पनि यस्तो हुन्छ । यो सँगसँगै व्यक्तिले अर्को के पनि याद गर्नुपर्छ भने मेरो मन सुखी छ कि, दुःखी छ । हिजोसम्म तपाईंलाई कुनै जमघटमा, पार्टीमा साथीभाइहरुसँग रमाइलो गर्न साह्रै इच्छा लाग्थ्यो भने आजदेखि नलाग्न सक्छ । व्यक्तिको व्यवहारमा केही न केही परिर्वतन आउँछ । जुन परिवर्तनले व्यक्तिलाई सकारात्मक परिणाम दिंदैन । दुःखी नै महसुस गराइरहेको हुन्छ । व्यक्ति धेरै एक्लोपनमा रमाउन थाल्छ । उसको निन्द्रा, खानपिन, व्यवहार यस्ता धेरै कुरामा परिवर्तन आउँछ । तनाव हरेक व्यक्तिलाई हुन्छ । कसैलाई अहिले तनाव हुने, केहिबेरमा हराएर जाने हुन्छ । अर्को कुरा सधैंभरी तनाव नराम्रो हुन्छ भन्ने पनि हैन । कहिलेकाहीँ तनावले हामीलाई सकारात्मक परिणाम पनि दिन्छ । जस्तो कुनै कुरामा हामीले स्ट्रेसले लिएर काम गर्याैं भने यसको परिणाम राम्रो पनि आउँछ । तर, सबै तनावले राम्रो परिणाम दिँदैन । यसले हाम्रो शरीरलाई नकारात्मक असर पार्छ । कुनै पनि कुराले साता दिन वा १५ दिनभन्दा बढी नचाहिँदो कुरामा कुनै कुरालाई याद आइरह्यो भने हामीले अलिकति डराउनुपर्ने हुन सक्छ । मानसिक स्वास्थ्य समस्या के कारणले हुन्छ ? मानसिक समस्या हुनु कुनै एक या दुई मात्र कारण छैनन् । यसका अनेकौं कारण छन् । मान्छेको जैविक अवस्था, मनोवैज्ञानिक अवस्था, पारिवारिक र सामाजिक अवस्था व्यक्तिलाई मानसिक समस्या निम्त्याउन जिम्मेवार रहन्छ । यस्ता समस्याबाट टाढा रहन पहिले यो विषयमा जानकार हुनुपर्छ । कतिपय व्यक्तिलाई आफू यस्तो समस्यामा परेको जानकारी नै हुँदैन । यस्तो बेला परिवारका सदस्य, साथीभाइलाई थाहा हुन्छ । जानकारी भएका साथीहरूले समयमै पहिचानका लागि सल्लाह दिनुपर्छ । समयमै पहिचान गर्दा निको हुन्छ । यो बाल्यवस्थाबाटै सुरु हुन्छ । एउटा बाल्यकालको अनुभव हुनसक्छ । अर्को दुव्र्यवहार पनि हुन सक्छ । स्कुलमा साथीभाइले होच्याउने, शिक्षकको कारण हुने तनाव पनि अन्य कारण हुन सक्छन् । लागू पर्दाथको कारण पनि हुन सक्छ । निद्रामा गडबडी, खानामा गडबडी, अरु कुनै दीर्घरोगको कारण अपांगता भएको कारण यो विभिन्न कारणले गर्दा हुन हुन्छ । मानसिक समस्या भएकाहरूको आनीबानीमा समेत परिर्वतन आउने गर्छ । यो विषयमा हाम्रो समाज सुसूचित छैन । कुन समस्या शारीरिक हो, कुन मासिक हो भन्नेमा व्यक्ति आफू उसको परिवार र समग्र समाज अझै प्रस्ट ढंगले बोल्न सकिरहेको छैन । यदि समस्या नै भइहाल्यो भनेपनि सामाजिक विश्वास, व्यवहार र बुझाइ अनुसारको फरक–फरक ढंगले व्यक्ति प्रस्तुत हुन्छ । कतिपयले यस्तो व्यक्तिलाई व्यक्तिगत लान्छनासँग जोड्छन्, उ कमजोर बनेको, उसले अल्छी गरेको अथवा असहयोग गरेको कतिपय सन्दर्भमा गलत बानी व्यवहार र दुर्व्यसनमा फसेको, उ हिंस्रक भएकोरूपमा हेरिन्छ । कसैले सहयोग नै गर्न चाह्यो पनि धामी झाँक्री कहाँ लाने, गलत र हानिकार अभ्यास गर्ने गरिरहेको हुन्छ । यति सम्मकि मानसिक स्वास्थ्य समस्या सुन्न पनि नसक्ने खालको सामाजिक चेतना छ । यस्ता हुन्छन् लक्षण मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूमा लक्षण पनि फरक-फरक देखा पर्छन् । पढाइ, निन्द्रा, खाना लगायत विभिन्न कुरामा हामी ख्याल गर्न सक्छौं । जस्तो कुनै कुरामा पहिले रुची हुन्थ्यो त्यो रुची घट्दै गएको हुन सक्छ । त्यस्तै चिटचिट पसिना आएजस्तै हुने, छिनमै तातो, छिनमै चिसो हुने, शारीरिक रुपमा पनि आफ्नो तापक्रम घटबढ भएको जस्तो हुने गर्छ । यो किन भएको हो थाहा नहुने शारीरिक रूपमा पनि यस्तो लक्षणहरु देखा पर्दछ । यस्तो अवस्थामा सामान्य कुराहरूलाई याद गर्न सकिन्छ । उसको नियमित र दैनिक क्रियाकलापहरू कस्तो भइरहेको छ त त्यो क्रियाकलापमा उसको ध्यान छ कि छैन ? जहिले बिहान ५ बजे उठ्ने मान्छे ७ बजेसम्म सुत्ने भइरहेको छ कि, उठ्न आलश्य गरिरहेको छ कि, फूर्तिलो कत्तिको छ खानपान कस्तो छ, दैनिकी सबै हेनुपर्छ । व्यक्तिको दैनिकीमा र नियमित क्रियाकलापमा परिवर्तन देखिन थाल्छ । उपचार के हुन्छ ? मानसिक स्वाथ्य समस्या विभिन्न प्रकारका हुन्छन् । यसको उपचारमा अहिलेसम्म औषधी उपचार र मनोवैज्ञानिक उपचार भइरहेको छ । कतिपय समस्या उपचार गरे निको हुन्छ भने कतिपय समस्यामा कसरी यो सँगसँगै बाँच्ने भन्ने कुरा सिकाइन्छ । पछिल्लो समयमा नयाँ खालको उपचार पद्धतिको पनि विकास भएको छ । यो प्रविधिले अप्रेसन गर्ने भन्दा पनि दिमागको निश्ति क्रिया सम्पादन गर्ने भागहरू हुन्छन् तिनिहरूलाई क्रियाशिल गराउने काम गर्छ । औषधी, मनोपरामर्शका अतिरिक्त यो प्रविधिले पनि उपचार गरिन्छ । तर, यस्तो समस्या भएकाहरू अझै खुलेर नआउने समस्या छ । समूदायमा यसको उपचारका लागि भनेर निशुल्क औषधीको व्यवस्था गरिएको छ । तर, उपचार गराउन आउनेहरूको सख्या कम छ । परिवार र साथीभाइको भूमिका स्वास्थ्य भनेको शारीरिक मात्र होइन । मानसिक पनि हो । यस्तो अवस्थामा व्यक्तिमात्र होइन, समाज पनि सचेत र सजग रहनुपर्छ । आफूलाई समस्या पर्दा पनि सोही ढंगले व्यवहार गर्नुपर्छ । अरूलाई पर्दा पनि हाम्रो दायित्व छ भनेर परिवारका सदस्य, साथीभाइहरू पनि सहयोग गर्नुपर्छ । यसका लागि सचेतना जरुरी छ । मान्छेमा सचेतना हुनसक्यो भनेमात्र पनि के सही के गलत, के भ्रम के यथार्त, के उपयुक्त के अनुपयुक्त बुझन सक्नुहुन्छ । यसका लागि मानसिक स्वास्थ्यका विषयमा खुलेर बहस गर्न आवश्यक छ । मानसिक समस्या लान्छनाको विषय हैन, विभेदको विषय पनि हैन कसैको कमजोरी पनि हैन हामीसँग भएको स्वभाविक स्वाभाविक मानसिक प्रवृति हो । यसलाई सन्तुलित राख्न व्यक्ति अलमलिनु पर्ने, हिचकिचाउनु पर्ने केही छैन । यो विषयमा परिवार, साथीभाइसँग कुरा गर्न अफ्यारो लाग्छ भने विज्ञहरूसँग भेटेर सजिलै कुराकानी गर्न सकिन्छ । यसका लागि पाटन मानसिक अस्पतालले पनि ११६६ को निःशुल्क हटलाइन सेवा सञ्चालन गरिएको छ । यसमा फोन गरेर पनि आफ्ना समस्या राख्न सकिन्छ । मानसिक स्वास्थ्यका विषयमा खुलेर कुरा गर्नुपर्छ । हामी स्वास्थ्य भन्ने बित्तिकै डाक्टर र अस्पतालको मात्र कुरा गर्छाैं, यो होइन । स्वास्थ्य भनेको घर व्यक्तिको आफ्नो जीवन, काम गर्ने ठाउँ जहाँ व्यक्ति जान्छ त्यहाँ स्वास्थ्य जोडिएको हुन्छ । यो कुरा बुझ्न आवश्यक छ । वरिष्ठ कन्सल्टेन्ट साइक्याट्रिक डाक्टर बासुदेव कार्कीस“ग गरिएको कुराकानीमा आधारित
‘सरकारको निगरानी गर्ने आधिकारिक संस्था नै सार्वभौम संसद् हो’
कानुन निर्माण गर्ने मुख्य थलोका रुपमा सङ्घीय संसद्लाई लिने गरिन्छ । जनतालाई कानुन निर्माण हुने थलो संसद् हो भन्ने कुरा राम्ररी बुझाउन नसक्दा एक खालको अन्यौल देखिन्छ ।संसद् मा विकास निर्माणलगायत जनसरोकारका विषय र विधेयकमाथिका छलफलले प्राथमिकता पाइरहेका हुन्छन् । विश्वव्यापी रुपमै स्वीकार गरेकै कुरा हो, यो व्यवस्था आफैँमा समुन्नत व्यवस्था हो । आवधिक निर्वाचन यसको जग हो । निर्वाचित जनप्रतिनिधिले जनजीविकाका विषयमा निरन्तर वकालत गर्नु उसको प्रमुख दायित्व र कर्तव्य नै हो । संसद््मा अल्पमत र बहुमतका आधारमा निर्णय हुन्छ जुन स्वभाविक हो । अल्पमत भएका दल प्रतिपक्षमा बस्ने र बहुमतले सरकार चलाउने गरिन्छ । सरकारले गरेका कामको निगरानी, अनुगमन तथा मूल्याङ्कनका साथै जनताले भोगेका समस्याका विषयमा सरकारलाई दबाब दिने आधिकारिक संस्था भनेकै सार्वभौम संसद्मा सक्रिय सांसदको हुने गर्दछ । सांसदले उठाएका विषयमा सरकार उत्तरदायी र जवाफदेही हुनुपर्छ । जब संसद्प्रति सरकार जिम्मेवार हुँदैन तब जनसरोकारका विषय ओझेलमा पर्दछन् । मिनी संसद्को रुपमा लिइने विषयगत संसदीय समितिको काम पनि अहिले सन्तोषजनक देखिन्न । सङ्घीय संसद्को मूल बैठकमा समसामयिक विषयमा छलफल र बहस हुने गरेपनि संसदीय समितिका बैठकमा कुनै विषय वा विधेयकमा सघन छलफल, धेरै बहस, धेरै विचारविमर्श हुनुपर्दछ । तर त्यहाँको काम पनि चित्तबुझ्दो छैन । अहिलेसम्म एकाध मात्रै विधेयक पारित भएर कानुन बनेका छन् । संसद्मा ४० भन्दा बढी विधेयक दर्ता भएका होलान् तर समितिका बैठकहरु कार्यसूचीबमोजिम नियमितरुपमा बस्ने गरेका छैनन् । समितिमा समय र कार्यतालिका निश्चित गरेर काम गर्नुपर्छ, महिनामा के के विषयमा कुन कुन बैठक बस्ने भन्ने कुरा निक्र्यौल गरेर काम गर्नुपर्छ र मात्रै हामीले अपेक्षित परिणाम पाउँछौँ । समितिमा विषयगत समितिका सभापति कति सक्रिय हुनुहुन्छ भन्ने कुरा पनि हेर्नुपर्छजस्तो लाग्छ । समितिमा सभापतिले बैठक नराख्ने वा छलफल नगर्ने अवस्था रह्यो भने त्यो अघि बढ्ने कुरा आउँदैन । हिजो म स्थानीय तहको नेतृत्व गरेर आफैँ कानुन बनाउने र त्यसलाई कार्यान्वयन गर्ने तहमा थिएँ । त्यहाँ हामीले छिटोछिटो काम गरेर जनतालाई सेवाप्रवाह गरेका थियौँ । योजना निर्माण पनि आफैँ गर्ने र त्यसलाई व्यवहारमा लागू गर्ने काम पनि हामीले गरेका थियौँ । त्यही कारण जनताले सहज र सर्वसुलभ ढङ्गबाट सेवा प्राप्त गर्न पाएका थिए । यो एक उदाहरण मात्र हो । अहिले वैदेशिक रोजगारीमा जाने युवाको लर्को छ । सधैँका लागि विदेशिनेको सङ्ख्या पनि बढ्दै गएको छ । यो गम्भीर विषय भए पनि यसप्रति सरकार गम्भीर भएको जस्तो पाइँदैन । खासगरी विदेश जानेलाई नकार्ने र उनीहरुलाई गाली गर्नेभन्दा पनि उनीहरुलाई स्वदेशमै राख्ने वातावरण सिर्जना गर्नुपर्छ । यहाँ भएका उद्योग व्यवसायको संरक्षण र सम्बद्र्धन गर्नुपर्छ । निजी क्षेत्रलाई उत्साहित बनाउनुपर्छ । निजी क्षेत्र पछिल्लो समय उत्साहित भएको अवस्था छैन । बैंकको चर्को ब्याजदरका कारण उद्योगी, व्यवसायी निराश मात्रै छैनन् भएका केही उद्योग बन्द हुन थालेका छन् । केही बन्द भएका छन् । उनीहरुले लगानी गरेर त्यसको परिणाम छिट्टै पाइन्छ भन्ने कुरामा विश्वस्त नभएको कारण पनि रोजगारीका अवसर सिर्जना भएका छैनन् । नेपालीले विदेशमा आर्जन गरेको रकम वा विप्रेषणलाई सुरक्षित तवरबाट नेपालमा लगानी गर्ने वातावरण निर्माण गर्नुपर्छ । आन्तरिक स्रोतबाट उठेको रकम कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता र अनिवार्य दायित्वका काममा खर्च भएको छ । मोटो रकम विप्रेषणले नै धानेको अवस्था छ । वैदेशिक रोजगारी न्यूनीकरणका लागि यहाँ सुशासन कायम गरेर भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ भन्ने मलाई लाग्छ । जसको अधिकार छ, जसको हातमा डाडुपन्यु छ त्यसले आफैँ खान्छ, नेपाली भ्रष्टाचारी प्रवृत्तिका छन् भन्ने मानसिकता बनेको छ यसलाई चिर्न जरुरी छ । रुपन्देही क्षेत्र नं ५ को निर्वाचन क्षेत्र कृषिसँग सम्बन्धित छ र यहाँ सिँचाइ र मलखादको टड्कारो आवश्यकता छ । सरकारले दिएको अनुदानको मलले पुग्दैन र खुला सिमाना भएका कारण भारतबाट समेत मलखाद आउँछ तर प्रहरी, प्रशासनले कडाइ गरेका कारण वास्तविक किसान मलखाद नपाएर पीडित भइरहेका छन् भने सिँचाइको समस्या पनि छ । यसबाहेक सडक पूर्वाधार, पुलको अवस्था पनि सन्तोषजनक छैन । लुम्बिनी गुरुयोजनालाई चाँडो सम्पन्न गर्न बजेट व्यवस्था गर्न आवश्यक छ । लुम्बिनी गुरुयोजना अनुसार कार्यसम्पादन हुन सके त्यसले स्थानीय पर्यटनमा एउटा सम्भावनाको ढोका खुल्न सक्छ । पर्यटन प्रवद्र्धनलाई सैनामैना, देवदहलगायतका नगरपालिकासँग जोडेर धार्मिक पर्यटनका रुपमा विकास गर्न पनि सकिन्छ । लुम्बिनी, सैनामैना, कञ्चन, गैडहवा र मायादेवी गाउँपालिकालाई जोडेर एकीकृत विकास हुँदा पर्यटनबाट लाभ लिन सकिन्छ । समग्रमा कृषि, स्वास्थ्य र शिक्षासँग सम्बन्धित समस्या यस निर्वाचन क्षेत्रमा रहेका छन् । गैडहवा, गजेडी तालको संरक्षण र सम्बद्र्धन गर्नुपर्ने खाँचो छ । यस निर्वाचन क्षेत्रलाई बुटवल र भैरहवासँग जोड्नुपर्ने आवश्यकता छ । गैडहवामा २५ श्यया बराबरको सुविधासम्पन्न अस्पताल जरुरी छ । यी तमाम समस्यालाई मैले संसद्मा उठाएको छु । तर सरकारले यस्ता विषयलाई गम्भीरतापूर्वक लिएर समाधान गर्ने तथा आवश्यक बजेट विनियोजन गर्नेतर्फ इच्छुक देखिन्न, जुन विडम्बनापूर्ण अवस्था हो । रासस (समाचारदाता युवराज पाण्डेसँग सांसद घिमिरेले गरेको कुराकानीको सम्पादित अंश)