नेशनल लाइफ इन्स्योरेन्सको सफलताको सुरुवात कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरूका लागि ‘सफलताको सुरुवात’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरूका लागि २०८२ भाद्र महिनामा सञ्चालन गरेको मासिक योजनाअन्तर्गत लक्ष्य पुरा गर्न कार्यक्रमको आयोजना गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको उपस्थितिमा सम्पन्न कार्यक्रममा विभागीय प्रमुखहरू, प्रदेश प्रमुख, तथा विभिन्न शाखाका शाखा प्रमुखहरूसहित देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब ३०० जना वरिष्ठ अभिकर्ताहरूले कार्यक्रममा सहभागिता जनाएका थिए । सीईओ खत्रीले अभिकर्ताहरूलाई सम्वोधन गर्दै कम्पनीले आर्थिक बर्ष २०८१।८२ मा उल्लेखनीय व्यवसाय गर्न सफल हुनुमा अभिकर्ताहरूको मुख्य भूमिका रहेकोमा दुईमत नरहेका बताए । उनले कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्त्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै नयाँनयाँ योजनाहरू प्रस्तुत गरेका थिए । यसैगरी, कम्पनीका बजार विभाग प्रमुख विवेक शर्माले सेल्स स्किल सम्बन्धमा तालिम प्रदान गरेका थिए । कार्यक्रममा सहभागी अभिकर्ताहरूले महानायक राजेश हमालसँग साक्षात्कार गर्ने अवसर प्रदान गरेकोमा कम्पनीप्रति आभार व्यक्त गर्दै यस प्रकारको कार्यक्रमबाट वृत्ति विकासमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।
नेपाल पुनर्बीमा कम्पनीले बीमा कम्पनीहरूलाई भुक्तानी गर्यो १ अर्ब ९९ करोड
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई १ अर्ब ९९ करोड २२ लाख रुपैयाँ अग्रिम भुक्तानी (पेश्की) उपलब्ध गराएको छ । नेपाल पुनर्बीमा कम्पनीमा परेका कूल २ हजार ८६८ वटा पुनर्बीमा दाबीमध्ये उक्त रकम बराबरको भुक्तानी गरेको बीमा प्राधिकरणले जनाएको छ । बीमा प्राधिकरणका अनुसार नेपाल रिमा हालसम्म १६ अर्ब ५ करोड १३ लाख रुपैयाँ पुनर्बीमा दाबी रकम रहेको छ । जेनजी आन्दोलनको क्रममा भएको क्षतिमा हालसम्म २३ अर्ब २३ करोड ३७ लाख रुपैयाँको दाबी परेको छ। प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेको दाबीमध्ये कम्पनीहरूले हालसम्ममा अग्रिम भुक्तानी (पेश्की) समेत गरी करिब २ अर्ब ७९ करोड ७४ लाख बीमितहरूलाई भुक्तानी गरेका छन् ।
हिमालयन लाइफ इन्स्योरेन्सको सीईओमा कपिलकुमार दाहाल, को हुन् उनी ?
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कपिलकुमार दाहाल नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको कात्तिक १२ गते बसेको बैठकले दाहाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको ईश्वर कुमार सेडाईले जानकारी दिए । उनका अनुसार यसअघि दहाल निमित्त सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए । कम्पनीका सीईओ मनोज कुमार लाल कर्णले पदबाट राजीनामा दिएपछि दाहाललाई सीईओको जिम्मेवारी दिएको हो । नवनियुक्त सीईओ दाहाल लामो समयदेखि बीमा क्षेत्रसँग आबद्ध छन् । ४७ वर्षिय दाहाल चार्टर्ड एकाउण्टेन्ट (सीए) समेत हुन् । दाहालले सन् २००९ मा भारतको चेन्नईस्थित आईसीएआईबाट आफ्नो सीए गरेका हुन् । सर्लाही जिल्ला ढुंगे्रखोला नगरपालिका-४ का बासिन्दा दाहालसँग लेखा, वित्तीय व्यवस्थापन, लेखा परीक्षण र बीमा क्षेत्रमा १५ वर्षभन्दा बढीको अनुभव छ । उनले बीमा, कर, सूचना व्यवस्थापन प्रणाली, व्यवसाय व्यवस्थापन, एएमएल, आईएफआरएस र एनएफआरएस सम्बन्धी विभिन्न तालिमहरू लिएका छन् ।