बीमा अभिकर्ताको लाइसेन्स नवीकरण गर्न कम्तीमा १ प्रतिशत बीमालेख नवीकरण भएको प्रमाण पेश गर्नुपर्ने
काठमाडौं । जीवन बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण गर्न कम्तीमा १ प्रतिशत बीमालेख नवीकरण भएको प्रमाण पेस गर्नुपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले आइतबार (हिजो) गरेको निर्णयअनुसार बीमा कम्पनीहरूलाई सो सम्बन्धी निर्देशन जारी गरेको हो । प्राधिकरणका अनुसार जीवन बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण गर्न बीमा नियमावली, २०८१ को नियम ४३ को उपनियम (१) को खण्ड (ख) बमोजिम एउटा बीमालेखमा नघट्ने गरी कम्तीमा १ प्रतिशत बीमालेख नवीकरण भएको प्रमाण पेस गर्नुपर्नेछ । त्यसैगरी, आईआरएमआईएस प्रणालीमा बीमा अभिकर्ताको व्यक्तिगत विवरण (केवाईसी) स्पष्ट र बुझिने कागजात अपलोड गरी अद्यावधिक गर्नुपर्नेछ । बीमा अभिकर्ताको इजाजतपत्र नवीकरणका लागि बीमा नियमावलीको अनुसूची–७ बमोजिम नवीकरण दस्तुर १ हजार रुपैयाँ तथा नियमन दस्तुर ५०० गरी जम्मा १ हजार ५०० रुपैयाँमात्र लाग्ने प्राधिकरणले जनाएको छ । बीमा ऐन, २०७९ को दफा ९४ को उपदफा २ बमोजिम इजाजतपत्रको अवधिभित्र नवीकरण गर्न नसकेका बीमा अभिकर्ताले म्याद सकिएको अवधिदेखि ३ महिनाभित्र अनुसूची–७ बमोजिम विलम्ब शुल्क १ हजार रुपैयाँमात्र भुक्तानी गरी निवेदन पेस गर्न सक्नेछन् । बीमा ऐन, २०७९ को दफा ९५ बमोजिम इजाजतपत्रको म्याद सकिएको अवधिदेखि ३ महिनाभित्र इजाजतपत्र नवीकरणका लागि निवेदन पेस नगर्ने बीमा अभिकर्ताको इजाजतपत्र स्वतः खारेज हुनेछ ।
नेपाल इन्स्योरेन्सको सञ्चालकमा विश्वराज बराल नियुक्त
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विश्वराज बराल नियुक्त भएका छन् । मंसिर १५ गते कम्पनी सञ्चालक समितिको बैठकले बराललाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले सञ्चालक पदमा संस्थापक सेयरधनी नेपाल बैंक लिमिटेडको तर्फबाट बराललाई नियुक्त गर्ने निर्णय गरेको जनाएको छ।
वैदेशिक रोजगार म्यादी जीवन बीमाको दायरा बढ्दै, ४ महिनामा १ अर्ब बढीको व्यवसाय
काठमाडौं । स्वदेशमै रोजगार सिर्जना नभएपछि कामको सिलसिलामा विदेश जाने नागरिकको संख्या दिनदिनै बढ्दै गएसँगै वैदेशिक रोजगार म्यादी जीवन बीमाको पनि दायरा बढ्दै गएको छ । सरकारले यो बीमालाई अनिवार्यसमेत गरेको कारण म्यादी जीवन बीमाको दायरा बढ्दै गएको हो । चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनाको अवधिमा वैदेशिक रोजगार म्यादी जीवन बीमा लेखअन्तर्गत २४ करोड ४३ लाख रुपैयाँ पोलिसी जारी भएको छ । सो संख्या बराबरको पोलिसी जारी हुँदा बीमा कम्पनीहरूले १ अर्ब १७ करोड ७३ लाख रुपैयाँ बराबरको व्यवसाय आर्जन गर्न सफल भएका छन् । गत आवको यही अवधिमा बीमा कम्पनीहरूले १ अर्ब ५ करोड ६७ लाख रुपैयाँ वैदेशिक रोजगार म्यादी जीवन बीमा लेखअन्तर्गत २१ लाख ६८ हजार ५५वटा पोलिसी जारी गरी १ अर्ब ५ करोड रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका थिए । गत आवको तुलनामा कम्पनीहरूले वैदेशिक रोजगार म्यादी जीवन व्यवसाय ११.४० प्रतिशतले वृद्धि भएको छ । बीमा कम्पनीहरूले उक्त पोलिसीअन्तर्गत सबैभन्दा धेरै व्यवसाय बागमती प्रदेशबाट गरेको छ । बीमा कम्पनीहरूले बागमती प्रदेशबाट मात्रै २४ लाख १३ हजार संख्या बराबरको बीमालेख जारी गरी कुल १ अर्ब ९ करोड ४ लाख रुपैयाँ बराबरको व्यवसाय आर्जन गरेका छन् । यो कुल व्यवसायको ९२.६२ प्रतिशत हो । त्यस्तै, चार महिनाको अवधिमा कोशी प्रदेशबाट ८५ लाख ७६ हजार बीमालेख जारी गरी २ करोड ५७ लाख रुपैयाँ बराबरको व्यवसाय आर्जन गरेका छन् । मधेश प्रदेशबाट २ अर्ब १३ करोड रुपैयाँ, लुम्बिनीबाट २ अर्ब ८ करोड रुपैयाँ, गण्डकीबाट १ अर्ब ३८ करोड रुपैयाँ, कर्णालीबाट २५ लाख र सुदूरपश्चिमबाट २४ लाख रुपैयाँको बीमा शुल्क संकलन गरेका छन् । गत आवको यही अवधिमा बीमा कम्पनीहरूले वैदेशिक रोजगार म्यादी जीवन बीमालेखअन्तर्गत बागमतीबाट १ अर्ब ५ करोड ६१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । गत वर्ष लुम्बिनी, गण्डकी र लुम्बिनीबाट १ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको थियो ।