शरद् ओझा प्रकरणमा सर्वोच्चको ‘आदेशअनुसार गर्न सरकारलाई पत्र

काठमाडौं । सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाले दायर गरेको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी भएकाले त्यसअनुसार गर्न सरकारलाई पत्र काटेको छ ।  अदालतले मंसिर ७ गते नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाममा आदेशको प्रतिलिपिसहित म्याद जारी गर्दै भदौ २३ गते सर्वोच्च अदालतबाट अल्पकालीन अन्तरिम आदेश जारी भएकाले ‘आदेशअनुसार गर्न हुन’ भनेको हो ।   अदालतले अन्तरिम आदेश छलफलका लागि मंसिर १६ गते उपस्थित हुनुपर्ने उल्लेख गरेको छ । सर्वोच्चले जारी गरेको म्याद सूचनामा ‘यसमा के कसो भएको हो ? निवेदक माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुन नपर्ने भए सोको आधार र कारणसहित बाटोको म्याद बाहेक सूचना प्राप्त भएको मितिले १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न’ भनिएको छ । गत भदौ २३ गते सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदीको इजलासले ओझाले दायर गरेको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । आदेश जारी भएपनि उक्त दिन देशभर जेनजी पुस्ताले गरेको आन्दोलनको कारण सर्वोच्च अदालत, सिंहदरबार लगायतका निकायमा आगजनी भएको थियो ।  असोज १ गते ओझा सर्वोच्चको पत्र लिएर बीमा प्राधिकरण हाजिर गर्न पुगेका थिए । अर्थमन्त्रालयले भने ओझालाई अध्यक्षको हैसियतमा काम नगराउन पत्र काटेको थियो ।  २०८१ फागुन १२ गते बसेको बसेको मन्त्रिपरिषद बैठकले ओझालाई प्राधिकरण अध्यक्षमा नियुक्त गरेको थियो । नियुक्ति भएदेखि नै उनी विवादित बन्न पुगेका थिए । योग्यता नै नपुगी झुटो कागजात पेश गरेर अध्यक्ष बनेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।  २०८२ असार ३० गतेको मन्त्रिपरिषद् बैठकले बीमा प्राधिकरणका अध्यक्ष ओझाबारे छानबिन गर्न पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको थियो । छानबिन समिति गठन भएसँगै अध्यक्ष ओझा स्वतः पदमुक्त भएका थिए ।

मेटलाइफ र क्यानबीच बीमा सहकार्य, खेलाडीलाई सुरक्षा

काठमाडौं । एक वर्षदेखि राष्ट्रिय क्रिकेट खेलाडीहरूका विश्वसनीय संरक्षक बनेको मेटलाइफ नेपालले फेरि नेपाल क्रिकेट संघ (क्यान) सँगको आफ्नो बीमा साझेदारी नवीकरण गरेको छ । यससहित पुरुष तथा महिला दुवै राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरू र क्यानले निरन्तर आर्थिक सुरक्षा र सहयोग प्राप्त गर्नेछन्, जसले खेलाडीहरूलाई पूर्ण आत्मविश्वासका साथ खेलमा केन्द्रित रहन मद्दत गर्नेछ । गत वर्षभरि राष्ट्रिय टोलीका खेलाडीहरूले विभिन्न अन्तर्राष्ट्रिय टूर्नामेन्टहरूमा दृढ आत्मविश्वासका साथ प्रतिस्पर्धा गरेका थिए । जहाँ प्रत्येक स्ट्रोक, डाइभ र जितको पछाडि मेटलाइफ नेपालको बीमा सुरक्षा महत्वपूर्ण आधार बनेको थियो । मेटलाइफको यो नवीकरण विशेष अर्थपूर्ण क्षणमा आएको छ । नेपालको राष्ट्रिय क्रिकेट टोलीले आगामी आइसीसी टी–२० विश्वकपका लागि योग्यता हासिल गरेको छ, जसले राष्ट्रको खेलकुद इतिहासमा अर्को महत्वपूर्ण उपलब्धि जोडेको छ । आगामी ठूला प्रतिस्पर्धाका लागि तयारीरत टोलीको मनोबल मेटलाइफको अटल सुरक्षा र साथले अझ मजबुत बनाएको छ । क्यानका सचिव तथा पूर्व कप्तान पारस खड्काले भने, 'मेटलाइफ हाम्रो बीमाकर्ता भएकाले हामीलाई दृढ आत्मविश्वास मिलेको छ । खेलाडीहरू सुरक्षित छन् भन्ने थाहा पाउँदा हामी सम्पूर्ण मन र जोशका साथ खेलमा केन्द्रित हुन सक्छौँ ।' मेटलाइफ नेपालका जनरल म्यानेजर नर्मल काजी श्रेष्ठले भने, 'हाम्रा क्रिकेट खेलाडीहरू नेपालकै गौरव, एकता र दृढताको प्रतीक हुन् । उनीहरूले राष्ट्रलाई प्रेरित गर्ने प्रत्येक प्रदर्शनमा हामी उनीहरूको सुरक्षा कवच बनेर साथ दिन पाउँदा गर्वान्वित छौँ । टोली आगामी ठूला प्रतियोगितामा अघि बढ्दै गर्दा, मेटलाइफ नेपाल उनीहरूको विश्वासिलो सुरक्षा साझेदार बनेर उभिएको छ । किनकि जब हाम्रा खेलाडीहरू निडर हुन्छन्, नेपालको आत्मविश्वास अझ उज्यालो देखिन्छ ।'

भेटायो र हिमालयन एभरेस्टबीच सहकार्य, सेवा प्रदायकका लागि दुर्घटना बीमा सुरु

काठमाडौं । होम–आधारित सेवा प्लेटफर्म भेटायो इंक प्रालिले विशेषज्ञ फ्रील्यान्स सेवा प्रदायकहरूको सुरक्षा र हितलाई प्राथमिकता दिँदै हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडसँग सहकार्य गरेको छ । यस साझेदारीमार्फत भेटायोले एपमार्फत सेवा प्रदान गर्ने सबै पेशेवरका लागि दुर्घटना बीमा सुविधा सुरु गरेको छ । कम्पनीका अनुसार यो पहलले ग्राहकलाई सेवाका लागि जाने प्रत्येक प्रदायकलाई अतिरिक्त सुरक्षा प्रदान गर्नुका साथै भेटायोको कार्यबलप्रतिको जिम्मेवारी र प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ । भेटायोका सह–संस्थापक रोचन मान महर्जनले भने, 'हामीले सेवा विस्तारका यात्रामा हाम्रो आधारस्तम्भका रूपमा सेवा प्रदायकलाई राखेका छौँ । दुर्घटना बीमा उपलब्ध गराएर उनीहरू सुरक्षित महसुस गरून् र आफ्नो पेशागत यात्रामा अझ उत्साहित रहून् भन्ने हाम्रो चाहना हो ।' यो सहकार्यले भेटायोका सेवा प्रदायकहरूको आत्मविश्वास मात्रै बढाउने छैन, सेवा क्षेत्रमै नयाँ मापदण्ड पनि स्थापित गर्ने भेटायोको अपेक्षा छ । जहाँ कामदारको सुरक्षा, सम्मान र कल्याणलाई प्राथमिकता दिइन्छ। भेटायोले हिमालयन एभरेस्ट इन्स्योरेन्सको समर्थनका लागि कृतज्ञता व्यक्त गर्दै दुवै संस्थाको उद्देश्य नेपालमा जिम्मेवार, विश्वासिलो र प्रयोगकर्ता–केन्द्रित सेवा वातावरण निर्माण गर्नु रहेको जनाएको छ। भेटायो एपमार्फत हाल ग्राहकहरूले १५ भन्दा बढी सेवाहरू जस्तै प्लम्बिङ, इलेक्ट्रिकल, पेस्ट कन्ट्रोल, घर सरसफाइ लगायतका सेवा विश्वसनीय, छिटो र पारदर्शी रूपमा प्राप्त गर्न सक्छन् ।