अब पशुधन र माछा दुबैको बीमा हुने, २ लाखसम्मको दुर्घटना बीमा, कति तोकियो प्रिमियम ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले पशुधन तथा माछा बीमालेख जारी गरेको छ । प्राधिकरणले आगामी आर्थिक वर्ष अर्थात २०८० साउन १ गतेदेखि लागु हुने गरी उक्त बीमालेख जारी गरेको हो । प्राधिकरणले पशुधनमा हुने क्षति विरुद्ध बीमा गर्न पशुधन बीमालेख र माछा पालनमा हुने क्षति विरुद्ध बीमा गर्न माछा बीमालेख ल्याएको हो । यी दुई वटै बीमालेखमा विभिन्न ७ प्रकारको क्षति वा नोक्सानीको रक्षावरण हुन्छ । जसमा अग्निजन्य, हावाजन्य, पानीजन्य, भूमीजन्य, चट्याङ्जन्य, रोगजन्य र आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणहरुबाट हुने क्षतिको रक्षावरण हुने छ । २ लाखसम्मको दुर्घटना बीमा यो दुबै बीमालेखमा अतिरिक्त सुविधा अन्तर्गत २ लाख सम्मको दुर्घटना बीमा रहेको छ । बीमा अवधिभित्र आत्महत्या बाहेकका अन्य कुनै पनि दुर्घटनाको कारणले मृत्यु भएमा, स्पाइनल इन्जुरीको कारण पुनः ठीक नहुने गरी हड्डी काम नलाग्ने भएमा, कुनै हात खुट्टा काम नलाग्ने भएमा र दुईवटै आँखाको दृष्टि गुमेमा मात्रै बीमितले यो सुविधा पाउने छन् । कसरी गरिन्छ बीमांक निर्धारण ? पशुधन बीमालेखको बीमांक रकम विभिन्न पक्षबाट निर्धारण हुनेछ । प्रति प्रशुधन एक लाख रुपैयाँसम्मको बीमांक रकम कायम गर्दा बीमक, बीमित र प्राविधिकको आपसी सहमतिमा प्रचलित बजार मूल्यभन्दा बढी नहुने गरी कायम गर्नुपर्ने छ । त्यस्तै, एक लाखदेखि माथि दुई लाख रुपैयाँसम्मको बीमांक रकम कायम गर्दा सम्बन्धित स्थानीय तहबाट सिफारिस लिएको हुनुपर्ने छ । दुई देखि तीन लाखसम्मको कायम गर्दा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत सिफारिस लिनु पर्ने र सोभन्दा माथि प्रति प्रशुधनको बीमांक कायम गर्दा वंशावली अभिलेख, जातीय शुद्धताको प्रमाण, औषत दुग्ध उत्पादन र उमेरको विवरण पेश गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । यता माछाको बीमांक निर्धारण कायम गर्दा माछाको बीमांक निर्धारण सूचक बमोजिम उत्पादन मूल्यलाई आधार लिनु पर्ने निर्देशिकामा स्पष्ट पारिएको छ । कति लाग्छ प्रिमियम ? पशुधन बीमालेख अनुसार पशुधनको बीमा गर्दा बीमांक रकमको पाँच प्रतिशतका दरले बीमाशुल्क (प्रिमियम) लाग्ने छ । दुर्घटना बीमाबापत बीमाशुल्क प्रतिबीमित ५ सय रुपैयाँ लाग्ने छ । त्यस्तै, माछा बीमामा तीन प्रतिशत प्रिमियम तोकिएको छ । यो बीमा न्यूनतम तीन महिनादेखि अधिकतम १२ महिनासम्म गर्न सकिने छ । बीमा प्राधिकरणका अनुसार १२ केजीभन्दा माथिको माछाको बीमा हुँदैन । र, पशुधन बीमाको जस्तै माछा बीमामा पनि दुर्घटना बीमा बापत प्रिमियम प्रति बीमित ५ सय रुपैयाँ लाग्ने छ ।
एनआईसी एशिया बैंकले पाँच जना ग्राहकलाई दियाे ५० लाख बीमा भुक्तानी
काठमाडौं । एनआईसी एशिया बैंकले ल्याएको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत दुर्घटनामा परी ज्यान गुमाएका पाँच जना ग्राहकका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँको दरले कुल ५० लाख रुपैयाँ हस्तान्तरण गरिएको छ । बैंकका विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोलेका ग्राहकको दुर्घटनामा परी मृत्यु भएपछि खातामा उपलब्ध बीमा रकम मृतकका परिवारहरूलाई हस्तान्तरण गरिएको हो । चितवनस्थित बसेनी शाखामा खाता खोलेका मृतक देवेन्द्र प्रसाद बछाडको भाइ राजन प्रसाद बछाड, रुपन्देहीस्थित ड्राइभर टोल शाखामा खाता खोलेका मृतक सम्राट खनालको बुबा लक्ष्मण खनाल, बर्दियास्थित भुरीगाउँ शाखामा खाता खोलेका मृतक आशिष थारुको बुबा दुल्लु राम थारु, सुनसरीस्थित झुम्का शाखामा खाता खोलेका मृतक चन्द्रराज दाहालकी श्रीमती लछीमा देवी घिमिरे दाहाल र स्याङजास्थित कृषि शाखामा खाता खोलेका मृतक कृष्ण प्रसाद भण्डारीकी श्रीमती टंकी देवी भण्डारीलाई रकम हस्तान्तरण गरिएको हो । लाभग्राहीहरूले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त रकम प्राप्त गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंकको बीमा सहितको निक्षेप योजनाहरूअन्तर्गत हालसम्म ३ हजार १ सय १६ जना ग्राहकलाई ९ करोड ४० लाखभन्दा बढी बीमा दाबी रकम हस्तान्तरण भइसकेको छ । जसमध्ये घातक रोग बीमा वापत २८ जनाले ३ करोड, दुर्घटना बीमा वापत १७ जनाले १ करोड ७० लाख र मेडिकल बीमा वापत ३ हजार ७१ जनाले ४ करोड ७० लाखभन्दा बढी रकम प्राप्त गरिसकेका छन् ।
आईएमई लाईफको आईपीओमा १३ लाखको आवेदन, पौने ४ अर्बको सेयर माग
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमा १२ लाख ९० हजार लगानीकर्ताले आवेदन दिएका छन् । सर्वसाधारणका लागि प्रिमियममा आईपीओ बिक्री गरेको सो कम्पनीको अन्तिम दिन अर्थात सोमबारसम्म १ करोड ५७ लाख कित्ता सेयरका लागि आवेदन परेको बिक्री प्रबन्धक सिभिल क्यापिटलले जानकारी दिएको छ । लाईफ इन्स्योरेन्स कम्पनीहरुमा आईएमई लाईफले नेपालमै पहिलो पटक प्रिमियम मूल्यमा सेयर निष्काशन गरेको थियो । कम्पनीले १ सय ३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर २३६ रुपैयाँ ९१ पैसा दरमा १ करोड २० लाख कित्ता सेयर निष्काशन गरेको थियो । जसमा कुल ३ अर्ब ७४ करोड रुपैयाँ बराबरको आवेदन परेको हो । कम्पनीले जारी गरेको कुल सेयरमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई वितरण गरिसकिएको छ । यस्तै ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सामुहिक लगानी कोषलाई र अर्को ५ प्रतिशत अर्थात ६ लाख कित्ता सस्थाका कर्मचारीहरुलाई छुट्याएर बाँकी ९६ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गरिएको गरेको थियो ।