७ वटा बीमा कम्पनीले मात्रै पुर्‍याए तोकिएको चुक्ता पुँजी, कसको कति अपुग ?

काठमाडौं । सञ्चालनमा आएका बीमा कम्पनीहरुमध्ये ७ वटा बीमा कम्पनीले मात्रै तोकिएको चुक्ता पुँजी पुर्‍याएका छन् । नेपाल बीमा प्राधिकरणले आर्थिक वर्ष २०७९/८० काे असार मसान्तसम्ममा जीवन बीमा कम्पनीलाई पाँच अर्ब र निर्जीवन बीमा कम्पनीलाई साढे दुई अर्ब न्यूनतम चुक्ता पुँजी पुर्‍याउन निर्देशन दिएको थियो । दिइइकाे समयमा जीवन बीमातर्फका तीन कम्पनी र निर्जीवन बीमा तर्फका चार कम्पनी गरी सात वटा कम्पनीले मात्रै तोकिएको न्यूनतम पुँजी पुर्‍याएका हुन् । सो अनुसार जीवन बीमातर्फबाट नेपाल लाइफ, नेशनल लाइफ र हिमालयन लाइफले पुर्‍याएका छन् । हाल नेपाल लाइफको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ छ । त्यस्तै, नेशनल लाइफको ५ अर्ब एक करोड र मर्जपछि बनेको हिमालयन लाइफको ८ अर्ब २ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी छ । साविकको प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ मर्ज भई बनेको हिमालयन लाइफ इन्स्योरेन्स चुक्ता पुँजीमा जीवन बीमा कम्पनीमध्येकै दोश्रो बन्न सफल भएको छ । त्यस्तै, निर्जीवन बीमा तर्फबाट शिखर इन्स्योरेन्स, सिद्धार्थ प्रुडेन्सियल, सगरमाथा लुम्बिनी र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले तोकिएको समयभित्रै चुक्ता पुँजी पुर्‍याउन सफल भएका छन् । यीमध्ये हालै मर्जरमा गई बनेको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सर्वाधिक अर्थात २ अर्ब ६५ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी छ । त्यस्तै, सिद्धार्थ प्रिमियरको २ अर्ब ८० करोड, शिखरको २ अर्ब ६५ करोड र सगरमाथा लुम्बिनीको २ अर्ब ६२ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी छ । न्यूनतम पुँजी नपुर्याउनेमा अन्य १० वटा जीवन र ८ वटा निर्जीवन गरी १८ वटा बीमा कम्पनी रहेका छन् । यीमध्ये केहीले पुँजी पुर्याउनको लागि मर्जरको बाटो रोजिसकेका छन् भने केहीले कुनै पनि विकल्प शुरु गरेका छैनन् । मर्जरको विकल्प रोजेर पनि पुँजी नपुर्‍याउनेमा जीवन बीमा तर्फका ३ र निर्जीवन बीमा तर्फका तीन गरी ६ वटा कम्पनी रहेका छन् । जसमा जीवन बीमातर्फका सूर्यज्याति लाइफ (साविकको सूर्या लाइफ र ज्योति लाइफ), सानिमा रिलायन्स लाइफ (साविकको सानिमा लाइफ र रिलायन्स लाइफ) र प्रभु महालक्ष्मी लाइफ (साविकका प्रभु लाइफ र ज्योति लाइफ) रहेका छन् । यता निर्जीवन बीमा तर्फका हिमालयन एभरेष्ट (साविकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स), सानिमा जिआईसी (साविकको सानिमा जनरल र जनरल इन्स्योरेन्स) र युनाइटेड अजोड इन्स्योरेन्स (साविकको युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स) रहेका छन् । पुँजी नपुर्याउनेलाई कारवाही ! चुक्ता पुँजी वृद्धिको लागि प्रयास गर्दा गर्दै पनि पुँजी पुर्याउन नसकेका कम्पनीलाई हकप्रद र बोनसबाट पुँजी पुर्‍याउन दिइने प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल बताउँछन् । ‘हामीले पहिला हकप्रद र बोनसबाट मात्रै पुँजी पुर्‍याउन नदिने भनेको थियौं, तर हालसम्म पनि पुँजी पुर्‍याउनको लागि कोशिस गरेका तर पुर्‍याउन नसकेका कम्पनीलाई उनीहरुको वित्तीय अवस्था हेरेर हकप्रद सेयर जारी गर्न दिने छौं,’ अध्यक्ष सिलवालले विकासन्युजसँग भने- ‘पुँजी नपुगेको हकमा ३०/४० प्रतिशतसम्म हकप्रद सेयर जारी गर्न दिन्छौं, त्यतिले नपुग्ने अवस्थामा भने कम्पनीको चालु आर्थिक वर्षको वित्तीय अवस्थामा हेरेर मात्रै थप थप दिने नदिने निर्णय गर्नेछौं ।’ तर पुँजी वृद्धिको लागि कुनै पनि प्रयास नै नगर्नेलाई भने कारवाही गर्ने मोडमा प्राधिकरण छ । ‘कुनै पनि कोशिश गरेका छैनन् भने ती कम्पनीलाई बीमा ऐनअनुसार कारवाही गर्ने छलफल भइरहेको छ,’ प्राधिकरण स्राेतले विकासन्युजसँग भन्यो ।

सन नेपाल लाइफ इन्स्योरेन्सको आइपिओमा सोमबारबाट आवेदन खुल्ला

काठमाडाै‌ं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सोमबारबाट आइपिओ बिक्री गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मुल्यमा १३९ रुपैयाँ प्रिमियम थपगरी प्रतिशेयर कुल २३९ रुपैयाँमा आपिओ निष्काशन गर्न लागेको हो । त्ययसपछि कम्पनीले सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्नेछ । कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । त्यसमध्ये, १० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता शेयर, प्रतिशेयर १०० रुपैयाँ अंकित मुल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २३९ रुपैयाँ वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गर्न लागेको हो । त्यसैगरी, निष्काशन गरिने कुल शेयरको ५ प्रतिशत अर्थात ४ लाख ८० हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि १०० रुपैयाँ अंकित मुल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २३९ रुपैयाँका दरले र ५ प्रतिशत अर्थात ४ लाख ८० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि प्रतिशेयर अंकित मुल्य १०० रुपैयाँका दरले छुट्याईएको छ । सर्वसाधारण लगानीकर्ताहरुले बाँकी रहेको ७६ लाख ८० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । बैदेशिक रोजगारीमा रहेका नेपालीहरुले साउन १ गतेदेखी १५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकत्तम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आइपिओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले ट्रिपल बि माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा नै वित्तिय दायित्व बहन गर्न समक्ष रहेको औषतस्तरको सुरक्षित कम्पनीलाई जनाउँदछ । कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तिय सस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड किलयरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको मेरो शेयर सफ्टवेयरबाट आवेदन दिन सक्नेछन् ।

एशियन लाइफले गर्‍याे एक करोड रूपैयाँ मृत्यु दाबी भुक्तानी

काठमाडाै ।एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबीवापत एक करोड रुपैयाँ दावी भुक्तानी दिएको छ । बीमित हजरा खातुनको पति नाथु देवानलाई आइतबार कम्पनीले एक करोड दुई लाख ५६ हजार ५७५ रुपैयाँको चेक हस्तान्तरण गरेको हो । आइतबार आयोजित एक कार्यक्रममा बीमित हजरा खातुनको पति नाथु देवानलाई कम्पनीको सञ्चालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठले मृत्यु दाबीवापतको चेक हस्तान्तरण गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कलैया उपमहानगरपालिका–२६ निवासी नाथु देवानले वार्षिक तीन लाख ७१ हजार ७५० बीमाशुल्क किस्ता तिर्ने गरी पत्नी हजरा खातुनको २०७८ असार २९ गते दोहोरो बीमांक सुविधा सहित ५० लाख रुपैयाँको बीमांकको वार्षिक धनलाभ बीमालेख गरेका थिए । बीमितबाट बीमा शुल्कको दुई किस्तावापत जम्मा सात लाख ४३ हजार ५०० रुपैयाँ भुक्तानी भएको कम्पनीले बताएको छ । बीमालेखको बीमांक वापतको ५० लाख रुपैयाँ, दोहोरो बीमांक (टु एक्स) वापतको ५० लाख र बोनश रकम समेत एक करोड दुई लाख ५६ हजार ५७५ रुपैयाँ दाबी भुक्तानी गरिएको कम्पनीले बताएको छ ।