सानिमा जिआईसीले बोलायो पहिलो साधारण सभा

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले साधारण सभा बोलाएको छ । कम्पनीले जेठ ३२ गते काठमाडौंमा पहिलो वार्षिक सभा बोलाएको हो । सभाले आर्थिक वर्ष २०७८र७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, साविकको सानिमा जनरल इन्स्योरेन्स र साविकको जनरल इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७८/७९ असार मसान्तसम्मको वासलात, नाफा नोक्सानको हिसाव किताव, नगद प्रवाह विवरण सहित एनएफआरएस बमोजिमको वितरण विवरण माथि छलफल गरी पारित गर्नेछ । यस्तै, सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा तीन जना गरी ६ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ । सभाले कम्पनीको संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अनुपात बमोजिम सञ्चालक समितिको प्रतिनिधित्व हुने गरी सञ्चालक समितिको गठन गर्नको लागि कम्पनीको नियमावली संशोधन गर्ने विषेश प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ १२ गते बुक क्लोज गर्ने जनाएको छ ।

बीमा प्राधिकरणले घटाएर पठायो प्रभु लाइफको लाभांश

काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्रभु लाइफको २०७७/७८ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेर पठाएको छ । प्राधिकरणले बैशाख २९ गते इन्स्योरेन्सको लाभांश संशोधन गरेर पठाएको हो। इन्स्योरेन्सले यसअघि हाल कायम चुक्ता पूँजीको १०.५२६ प्रतिशत  बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरी स्वीकृतीका लागि नेपाल बीमा प्राधिकरणमा पठाएको थियो । कम्पनीले लाभांश संशोधन गरी ९.८ प्रतिशतको दरले बोनस सेयर र ०.५८ प्रतिशत नगद लाभांश गरी कुल १०।३८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश कम्पनीले आगामी साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गर्नेछ ।

९ हजार बढी बीमितले त्यागे एक अर्ब बढीको बीमा पोलिसी

काठमाडौं । जीवन बीमा गर्दै आएका बीमितहरुले धमाधम पोलिसी त्यागेका छन् । गत चैतसम्ममा मात्रै ९ हजार ३५८ जना बीमितले एक अर्ब १८ करोड ६ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार सबैभन्दा बढी पोलिसी त्याग्नेमा नेपाल लाइफ इन्स्योरेन्सका बीमितहरु रहेका छन् । गत साउनदेखि चैतसम्ममा नेपाल लाइफका २ हजार ६९८ जना बीमितले ४२ करोड २२ लाख रुपैयाँ बराबरको बीमापोलिसी सरेन्डर गरेका छन् । त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को १८ करोड ३७ लाख, राष्ट्रिय बीमा संस्थानको १० करोड ५६ लाख र सूर्यज्योति लाइफ इन्स्योरेन्सको १० करोड ४८ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ । यी तीन कम्पनीका क्रमशः १५५५, १४२३ र ५२१ जना बीमितले तोकिएको समयअघि नै पोलिसी रोकेका हुन् । समीक्षा अवधिमा सबैभन्दा कम बीमा पोलिसी सरेन्डर हुनेको सूचीमा सन नेपाल लाइफ रहेको छ । इन्स्योरेन्सका ३१ जना बीमितले कूल ३२ लाख रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका छन् । यस्तै, नेशनल लाईफ इन्स्योरेन्सको ७ करोड ७३ लाख, मेट लाइफको ५ करोड ५८ लाख, एशियन लाइफको ४ करोड २२ लाख, गुराँस लाइफको ७ करोड ८६ लाख, प्राइम लाइफको २ करोड ८३ लाख, आइएमई लाइफको १ करोड २४ लाख, युनियन लाइफको २ करोड ३२ लाख, रिलायबल नेपाल लाइफको ७५ लाख, सिटिजन लाइफको १ करोड ३४ लाख, प्रभु लाइफको ५४ लाख र महालक्ष्मी लाइफको ७१ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएका छन् ।