सिटिजन लाइफको बीमालेख नवीकरणमा शतप्रतिशत छुट पाइने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सका बीमितले व्यतित बीमालेख नवीकरण गर्दा ब्याज तिर्न नपर्ने भएको छ । इन्स्योरेन्सले आइतबार एक सूचना जारी गर्दै उक्त बीमालोख नवीकरणमा शत प्रतिशत छुट दिने जानकारी गराएको हो । इन्स्योरेन्सले व्यतित भएका बीमालेखहरु बीमितले चालु राख्नका लागि भुक्तानी गर्नुपर्ने नवीकरण बीमाशुल्कमा लाग्ने विलम्ब शुल्क (ब्याज) पूर्ण रुपमा छुट प्रदान गरेको हो । यो सुविधा जेठ ७ गतेदेखि असार १५ गतेसम्मको लागि लागू हुने छ । साथै, यो छुट बीमा अवधिभरी एक पटक मात्र पाइने भएकाले बीमितले असार १५ गतेभित्र नवीकरण बीमाशुल्क भुक्तानी गरी बीमालेख सक्रिय बनाउन सक्ने छन् । यस्तै, यो विलम्ब शुल्क (ब्याज) छुट सुविधा बीमालेख निरन्तर गर्ने प्रयोजनका लागि मात्र रहेको कम्पनीले जनाएको छ ।
राष्ट्रिय बीमा संस्थानले हकप्रद बिक्री गरेर पूँजी वृद्धि गर्ने
काठमाडौं । राष्ट्रिय बीमा संस्थानले विशेष साधारण सभा आह्वान गरेको छ । संस्थानको सञ्चालक समितिको जेठ २ गते बसेको बैठकले जेठ २२ गते प्रधान कार्यालयमा अपरान्ह ४ बजे बोलाएको हो । संस्थानको सभाले नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम संस्थानको पूँजी योजना अध्ययन प्रतिवेदन २०७९ अनुरुप नृपाल सरकार, नेपाल राष्ट्र बैंक र नेपाल बैंकले आफ्नो लगानीको हिस्साबापत हकप्रद सेयर मार्फत थप गर्नु पर्ने पूँजी रकम वृद्धि गर्ने प्रस्ताव गरेको छ । यस्तै, संस्थानको आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण गर्न महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षक सीए राजकुमार शिवाकोटीलाई नियुक्तलाई अनुमोदन सभाले गर्नेछ ।
लघुबीमालाई स्थानीय तहमार्फत सहजीकरण गरिने, स्वास्थ्य बीमा कार्यक्रम पुनरावलोकन गर्दै सरकार
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा बोल्दै राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । उक्त कार्यक्रमले बीमा क्षेत्रको विभिन्न विषयलाई समेटेको छ । जसमा स्थानीय तहमार्फत लघुबीमाको सहजीकरण गर्ने, स्वास्थ्य बीमा कार्यक्रमको पुनरावलोकन गरिने लगायत कैदीबन्दीको समेत स्वास्थ्य बीमा गर्नेसम्मको कार्यक्रम समेटिएको छ । देशभर बीमाको पहुँच विस्तार गरिने र न्यून आय भएका वर्ग र समुदायलाई स्थानीय तहमार्फत लघुबीमा गराउन सहजीकरण गरिने नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले भने । त्यस्तै, पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गर्ने र कैदीबन्दीहरूको स्वास्थ्य उपचारका लागि स्वास्थ्य बीमा कार्यक्रम लागू गरिने उक्त कार्यक्रममा उल्लेख छ । सङ्घ, प्रदेश र स्थानीय तहबीच विपद्पश्चात्को क्षतिपूर्ति, पुनर्भरण, राहत व्यवस्थापन र पुनर्निर्माणका लागि बीमालगायत जोखिम हस्तान्तरणका सम्भाव्य उपायहरूको अवलम्बन गरिने बताइएको छ । साथै, गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकका पहुँच स्थापना गरिने बताउँदै राष्ट्रपति पौडेलले स्वास्थ्य बीमा कार्यक्रमको पुनरावलोकन गरिने समेत बताए ।