रुकुममा महालक्ष्मी लाईफको महिला सशक्तिकरण कार्यक्रम सम्पन्न

काठमाडौं । रुकुम पश्चिमको मुसिकोटमा महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ’ कार्यक्रमको शुभारम्भ गरेको छ । महिलालाई रोजगारी र समृद्धिको मुल नारा दिई संचालन भएको कार्यक्रमको उद्घाटन महालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले गरेका थिए । उक्त कार्यक्रम पुस ११ गते लक्ष्मी केसिको अध्यक्षतामा सम्पन्न शुभारम्भ र तालिम कार्यक्रममा विभिन्न पालिकाका जनप्रतिनिधि , महिला तथा अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै कार्यकारी प्रमुख भट्टराईले समाजमा पिछडिएका र अवसर नपाएका महिलाहरुलाई रोजगारी दिई आय आर्जनको लागि यो कार्यक्रम अवसरको रुपमा रहेको बताए। कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत प्रशान्तराज धमला र बजार प्रबन्धक यमलाल न्यौपानेले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै मुलुकको आर्थिक रुपान्तरणको लागि यो कार्यक्रम कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । रुकुम पश्चिम जिल्ला समन्वय समितिका संयोजक लुम्बिनी गौतमले रुकुम जस्तो दुर्गम क्षेत्र राजनैतिक चेतना र सुविधाको हिसावले विकसित भैसकेको भएता पनि महिलाको आर्थिक उन्नतीको लागि महालक्ष्मी लाईफको कार्यक्रम निकै नै प्रभावकारी हुने जानकारी दिए । कार्यक्रममा सानी भेरी गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष शेर बहादुर खड्काले महिला सशक्तिकरणको लागि सरकार र गाउँपालिकाले पनि बजेट छुट्याएकोले महिलाहरुको रोजगारी र आय बृद्धिको लागि संचालित यस्ता कार्यक्रममा महालक्ष्मी लाईफ सँग सहकार्य गरेर जान तैयार रहेको जानकारी दिए । महालक्ष्मी लाईफको रुकुम पश्चिम मुसिकोटका प्रमुख व्यूँझना पुन देवकोटाले संचालन गरेको कार्यक्रममा सानीभेरी गाउँपालिका पूर्व उपाध्यक्ष इन्दिरा ओलि, वडा नं ३ का वडा अध्यक्ष जगदीश नकाल, पत्रकारहरु, स्थानीय जनप्रतिनिधिहरु समेत ६० जनाको उपस्थिति रहेको थियो ।

मधेस प्रदेशका महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा

जनकपुरधाम । मधेस प्रदेशका एक सय ५० महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गरिएको छ । आमसञ्चार प्राधिकरण मधेस प्रदेश जनकपुरधामले नेपाल पत्रकार महासङ्घको सदस्यता लिएका र रेडियो, टिभी, अनलाइन र छापामाध्यमलगायतका सञ्चारमाध्यममा कार्यरत सक्रिय महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गराएको हो । गत २०७९ असारमा बीमा भएका सबै महिला पत्रकारले २०७९ साउन १ गतेदेखि बिमा सुविधा लिन पाउने आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिए । हालसम्म एक सय ५० महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गराइसकिएको र चालु आर्थिक वर्ष २०७९/८० मा प्रदेशभरिका सबै सक्रिय पत्रकारको स्वास्थ्य तथा दुर्घटना बिमा गराउने योजना रहेको उनले बताए । जिटुजी फोलिसीअन्तर्गत पत्रकारको स्वास्थ्य तथा दुर्घटना बिमा गराउन राष्ट्रिय बिमा कम्पनी लिमेटडसँग सम्झौता भएको र बिमावापत लाग्ने प्रिमियम आमसञ्चार प्राधिकरणले जम्मा गरिदिने अध्यक्ष यादवको भनाइ छ । बिमावापत पत्रकारले वर्षमा एक लाखसम्मको औषधोउपचार खर्च र सात लाखसम्मको दुर्घटना बिमा सुविधा पाउने छन् । यस्तै आमसञ्चार प्राधिकरण मधेस प्रदेशले यही पुस महिनाको तेस्रो सातादेखि पर्साको वीरगञ्जबाट प्रेस प्रतिनिधि परिचयपत्र वितरण सुरु गरिने जनाएको छ । प्रेस प्रतिनिधि परिचयपत्र प्राप्त गर्ने पत्रकारको स्वतः स्वास्थ्य तथा दुर्घटना बिमा हुने अध्यक्ष यादवले बताए । प्रेस प्रतिनिधि परिचयपत्र प्राप्त गर्न मधेस प्रदेशअन्तर्गतको जिल्लामा कम्तीमा दुई वर्षदेखि सक्रिय पत्रकारिता गर्दै आएको हुनुपर्ने प्रावधान राखिएको छ । यसका साथै प्रेस प्रतिनिधि परिचयपत्रका लागि पत्रकारले कार्यरत सञ्चारमाध्यमको नियुक्तिपत्र, सम्बन्धित सञ्चारमाध्यमको अद्यावधिक गराएको कागजात, नागरिकता प्रमाणपत्रलगायतको कागजात बुझाउनुपर्ने व्यवस्था गरिएको आमसञ्चार प्राधिकरणले जनाएको छ । रासस

जीवन बीमामा ‘ट्रेण्ड सेटर’ बन्न सूर्यज्योतिलाई सुझाव, ७ अठोटका साथ अघि बढ्ने कम्पनीको प्रण

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले जीवन बीमा क्षेत्रमै नयाँ इतिहास रचेको छ । जीवन बीमा क्षेत्रमै पहिलो मर्जर सफल गरी कम्पनीले एक उज्जवल शुरुवात गरेको हो । सूर्य लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्ज भई बनेको सूर्यज्योतिले पुस ७ गतेदेखि एकीकृत कारोबार शुरु गरेका हुन् । गत असारमा प्रारम्भिक सम्झौता गरेका यी कम्पनीले निकै चुनौतिका बावजुद पनि छोटो समयमै मर्जरको काम सम्पन्न गरी एकीकृत कारोबार गर्न सफल भएको कम्पनीका सीईओ प्रकाश बिक्रम खत्रीले बताए । सूर्यको ज्योतिमा सात रंग भएझैं सूर्यज्योति पनि शुरुवात, न्यायोपन, प्रष्ट, उज्जवल, प्रतिवद्ध, समय र उर्जाका साथ एकभई अगाडि बढ्ने कम्पनीको अठोट रहेको सीईओ खत्रीले बताए । सोमबार आयोजित एक कार्यक्रममा बोल्दै उनले कम्पनीले आउने दिनमा व्यवसाय बढाउने र सूर्यज्योतिलाई बीमा क्षेत्रकै बेञ्चमार्क बनाउने कम्पनीको प्रण रहेको समेत बताए । मर्जपश्चात बनेको कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । यससँगै कम्पनी चुक्ता पुँजीमा तेश्रो ठूलो बीमा कम्पनी बन्न सफल भएको छ । एकीकृत कारोबार पश्चात् सूर्यज्योतिको कुल शाखा संख्या १८० पुगेका छन् । यस्तै, कुल कर्मचारीको संख्या ६७५ पुगेको छ । सूर्य लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सबीचको मर्जरको अनुभव चुनौतिपूर्ण रहेको स्मरण गर्दै सीईओ खत्रीले भने- ‘मर्ज गर्नुअघि बेञ्चमार्क केलाई बनाउने भन्ने उत्तर थिएन, भ्यालुएसन कसरी गर्ने, २ वटा एक्च्यूरी टीमले छुट्टाछुट्टै भ्यालुएसन गर्न नै चुनौती थियो ।’ साथै, उनले एकीकृत कारोबार पश्चात कम्पनीले दुई दिनमै एक हजारभन्दा बढीको बीमालेख जारी गरेको समेत बताए । ‘पुस ७ गतेदेखि सूर्यज्योति लाइफको नामबाट एकीकृत कारोबार शुरु गरेका थियौं, त्यसको दुई दिनमै अर्थात पुस ७ र ८ गतेभित्र कम्पनीले एक हजारबढीको बीमालेख बिक्री गरिसकेको छ,’ उनले बताए । सिटिजन लाइफ इन्स्योरेन्सका सीईओ समेत रहेका जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेलले सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीलाई आफ्नो जिम्मेवारी पुरा गरी सूर्य र ज्योति जस्तै छाउँदै जान शुभकामना दिएका छन् । ‘१५ वर्षको सूर्य लाइफ र ५ वर्षको ज्योति लाइफ जोड्दा २० वर्षको अनुभव नभई ७५ वर्षको होस्,’ शुभकामना दिँदै उनले भने । साथै, अध्यक्ष पौडेलले सूर्य लाइफ र ज्योति लाइफबीचको मर्ज अन्य मर्जरमा जाँदै गरेको कम्पनीलाई उदाहारण बन्ने समेत बताए । सूर्यज्योतिले आगामी दिनमा ट्रेण्ड सेटरको रुपमा काम गर्ने र यसले जीवन बीमा क्षेत्रको पहुँचलाई बढाउनमा जीवन बीमक संघ विश्वस्त रहेको अध्यक्ष पौडेलको भनाई छ । यता सगरमाथा इन्स्योरेन्सका सीईओ समेत रहेका बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले सूर्यज्योतीलाई नामजस्तै काम गरेर बीमा क्षेत्रमा प्रकाश छर्दै अघि बढ्न शुभकामना दिएका छन् । बीमा प्राधिकरणको लक्ष्य अनुसार बीमा कम्पनीहरु अघि बढेको बताउँदै उनले मर्जरमा कर्मचारी व्यवस्थापनको पाटो निकै चुनौतिपूर्ण रहेको बताए । त्यसैगरी, कम्पनीका ब्राण्ड एम्बेस्डर राजेश हमालले सूर्यले ज्योति र ज्योतिले आफ्नो श्रोत सूर्य पाएको बताएका छन् । यसले नयाँ बनेको कम्पनी सूर्यज्योतिको भविष्य थप बृहत, सबल र विशाल हुने शुभेच्छा दिए । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले जीवन बीमा क्षेत्रमै ठूलो सफलता भएको र नयाँ इतिहास राखेको बताएका छन् । कम्पनीले ६ महिनाको अवधिमै मर्जर सफल पारेको बताउँदै बीमा प्राधिकरण लगायत कम्पनीको सम्पूर्ण टीम धन्यवादको पात्र रहेको समेत बताएका छन् । मर्जपछि कम्पनीले टेक्नोलोजीमा लगानी गर्नुपर्ने र बजारमा आफ्नो प्रडक्ट मोडिफाई गर्नमा ध्यान दिनुपर्नेमा उनले जोड दिए ।