वेल्थ म्यानेजमेन्ट बन्यो एशियन लाइफको सहायक कम्पनी, बीमा क्षेत्रमै पहिलो मर्चेन्ट

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स र वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङबीच सेयर लगानी स्वामित्व खरिद गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ र वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङको तर्फबाट अध्यक्ष सचिन सिलवालले हस्ताक्षर गरेका हुन् । सोमबार आयोजित एक कार्यक्रममा एशियन लाइफले वेल्थ म्यानेजमेन्ट प्राप्ती गर्ने सम्झौता भएको हो । सम्झौतापत्रमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ र वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङको तर्फबाट अध्यक्ष सचिन सिलवालले हस्ताक्षर गरेका हुन् । यससँगै वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङ लिमिटेडमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ५१ प्रतिशत सेयर स्वामित्व कायम हुने छ । र, वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङ बीमा क्षेत्रमा एशियन लाइफको पहिलो सहायक कम्पनी बन्न सफल भएको छ । स्वामित्व परिवर्तनपछि वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङ लिमिटेडको नाम परिवर्तन गरी एशियन क्यापिटल लिमिटेड कायम हुनेछ । हाल लगानी व्यवस्थापन र निक्षेप सेवा ‘डिपी’ प्रदान गर्दै आएको वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङले भविष्यमा नियामक निकायबाट स्वीकृती लिई अन्य मर्चेन्ट बैंकिङ सेवाहरु पनि प्रदान गर्ने लक्ष्य लिएको छ ।

झापामा किसानकै गोठमै पुगेर वडाले निःशुल्क गरिदियो पशु बीमा

झापा । शिवसताक्षी नगरपालिका–६ ले १६० घर परिवार कृषकको निःशुल्क पशु बीमा गरिदिएको छ । वडाका बासिन्दाको व्यावसायिक पशुपालनबाट आयआर्जन वृद्धि गराउन सहयोग पुर्याउने उद्देश्यले पशुको बीमा गर्ने अभियान चलाइएको वडाध्यक्ष मनोज कार्कीले बताए । उनका अनुसार ‘एक घर एक पशु बीमा’ कार्यक्रम लागू भएको छ । किसानले पालेको गाई, भैँसी, बाख्रा, बङ्गुरलगायतका निःशुल्क पशुको बीमा गरिरहेको र बीमा गरेवापतको सबै रकम बीमा कम्पनीलाई वडाले भुक्तानी दिने उनले बताए । वडाको अधिकांश किसानका घरमा उन्नत जातका गाई छन् । चन्द्रडाँगी बीउबिजन केन्द्रमा केही वर्षपहिले नश्ल सुधारका लागि राखिएको बीउ साँढेका कारण बस्तीमा उन्नत जातका गाईपालन फस्टाएको उनले बताए । कम्पनीका अभिकर्ता लक्ष्मीप्रसाद नेपालले शुरुमा किसानले नबुझेर बीमा गर्न नमाने पनि अहिले आफैँ फोन गरेर उहाँहरुले बोलाउने गरेको बताए । उनका अनुसार बजारमा ९५ हजारसम्म पर्ने गाईको ७५ हजारसम्मको बीमा गर्ने गरिएको छ । स्थानीय किसान शर्मिलाले विकले भनिन्, ‘न आफूले कुनै बीमावापतको रकम नै तिर्नुप¥यो न अब बस्तु मरे भने ऋणमा डुबिन्छ भनेर चिन्ता नै गर्नुप¥यो, ढुक्क भइयो ।’ यसबाट किसानलाई राहत मिलेको उनको भनाइ छ । बीमा एनएलजी कम्पनीले गरिरहेको छ । पशुको स्वास्थ्य परीक्षणसमेत निःशुल्क स्थानीय पशु प्राविधिक प्रेमबहादुर पौडेलले गरिरहेको वडा कार्यालयले जनाएको छ । वडाले आह्वान गरेको सूचना र किसानले दिएको निवेदनका आधारमा किसानले पालेका पशुको बीमा गरिएको हो । अगामी वर्ष पनि किसानलाई हौसला र उत्साह प्रदान गर्न कार्यक्रमलाई निरन्तरता दिने वडाध्यक्ष कार्कीको भनाइ छ । वडाध्यक्ष आफैँ पशु बीमाका लागि बीमा कम्पनीका अभिकर्तालाई लिएर किसानको गोठगोठमा पुग्ने गर्नुभएको छ । पशु बीमा गरेपछि एक वर्षभित्र पशु दुर्घटना तथा रोग लागेर मरेमा बीमाङ्कको ९० प्रतिशत रकम कम्पनीले किसानका घरमै पुगेर भुक्तानी दिनेछ । पशुपालनको जोखिम घटाउन, किसानलाई पशुपालनतर्फ प्रोत्साहन गर्न, नश्ल सुधार गर्न, वडालाई दूध, दही तथा घ्यूमा आत्मनिर्भर बनाउनका लागि वडामा बीमा कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिए । पशु बीमा गर्दा बीमा कम्पनीले सिरियल नम्बरसहितको ट्याग पशुका कानमा लगाइदिन्छन् । बीमा दाबी भुक्तानी लिन किसानले पशु मरेको बारे तीन दिनभित्र कम्पनीमा जानकारी दिनुपर्ने कानूनी व्यवस्था छ । मरेको पशु गाडेको वा जलाएको प्रमाणसहित पशु प्राविधिकको सिफारिसपत्र कम्पनीमा पेश गरेपछि कम्पनीले दावी भुक्तानी दिने व्यवस्था छ । रासस

अब बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी पूर्ण रुपमा खोल्न पाइने, भिडभाड गरे कारवाही

काठमाडौं । काठमाडौं उपत्यकामा हाल जारी रहेको निषेधाज्ञा थप एक साता थपिएको छ । आइतबार साँझ बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले आगामी असार ८ गतेदेखि एक साता अर्थात असार १४ गतेसम्मको लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो । बैठकले हाल जारी रहेको निषेधाज्ञालाई खुकुलो बनाई अब असार १४ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । अब निषेधाज्ञामा बैंक तथा वित्तीय संस्था र बीमा कमपनीहरु भने पूर्ण रुपमा खोल्न पाइने भएको छ । यस अघि सीमित शाखा र कर्मचारीमा मात्रै सेवा दिने व्यवस्था थियो । अब भने भिडभाड नगरेर सेवा दिन पाइने भएको हो । भक्तपुरका प्रुमख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले भिडभाड नगरेर सबै शाखा र पूर्ण जनशक्तिमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु खोल्न पाइने बताए । उनका अनुसार भिडभाड गरे कारवाही हुनेछ । यस्तै, सवारी साधन पनि जोड बिजोर लागू गरेर सञ्चालन हुनेछन् । यससँगै आइतबार, मंगलबार र बिहीबार सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्रीका पसल खोल्न पाइने भएको छ । त्यस्तै, सोमबार, बुधबार र शुक्रबार सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न पाइने उनकाे भनाइ छ। साथै, उक्त पसलहरु बिहान ११ बजेदेखि ४ बसेसम्म सञ्चालन गर्न दिईने उनले बताए। निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइने छ भने खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न पाइने गरी बैठकले निर्णय गरेको छ ।