अजोड इन्स्योरेन्सले ३० करोडको आईपीओ जारी गर्दै, कहिलेदेखि पाइन्छ भर्न ?

काठमाडौं । अजोड इन्स्योरेन्सले ३० कराेड रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) जारी गर्ने भएको छ । इन्स्योरेन्सले आगामी असार २५ गतेदेखि सो मात्रा अर्थात प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ३० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले गत असार ७ गतेमात्र नेपाल धितोपत्र बोर्डबाट सेयर निष्काशन गर्न अनुमति पाएको थियाे । कूल ३० लाख कित्ता साधारण सेयर मध्ये ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएकाे छ । त्यस्तै, एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएकाे छ र बाँकी रहेको २७ लाख ३० हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आईपीओको निश्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा असार २९ गते र ढिलामा साउन ८ गतेसम्म हुनेछ । उक्त सेयर निष्काशनको लागि इन्स्योरेन्सले केयर रेटिङ नेपालबाट ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको बुझाउँछ । हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आईपीओ बाँडफाँड पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुग्ने छ ।

राष्ट्रिय बीमा कम्पनीकाे सीईओ नियुक्तीमा विवाद, पब्लिक डाइरेक्टरले दिए राजीनामा, व्यापार पनि घट्यो

काठमाडौं । सरकारी स्वामित्व पनि रहेको राष्ट्रिय बीमा कम्पनीमा सरकारी हस्तक्षेप बढेको छ । कम्पनीकाे प्रमुख कार्यकारी अधिकृत  (सीईओ) नियुक्तीमा विवाद भएकाे छ भने  कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी डेढ वर्षदेखि सरकारी कर्मचारीले समालेका छन् । यसैबीच कम्पनीमा  सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने पब्लिक डाइरेक्टर पनि हटेका छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा डेढ वर्षदेखि अर्थमन्त्रालयका वरिष्ठ तथ्यांकशास्त्री डा. डिल्लीराज अर्याल छन् । तत्कालिन प्रमुख कार्यकारी अधिकृत बीरविक्रम रायमाझीलाई पदबाट हटाइएपछि डा. अर्याललाई कम्पनीकै संचालक पदबाट राजीनामा गराएर ‘अर्काे व्यवस्था नभएसम्मको लागि’ प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको थियो । प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाउनुअघिसम्म डा. अर्याल अर्थमन्त्रालयको प्रतिनिधिका रुपमा कम्पनीको संचालक समिति सदस्य थिए । तत्काल प्रमुख कार्यकारी अधिकृत नभएर कम्पनीको व्यवस्थापकीय कार्यमा समस्या नपरोस भनेर अर्थमन्त्रालयका उपसचिव डा. अर्याललाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको थियो । तर, डा. अर्यालले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी वहन गरेको डेढ वर्ष बितिसकेपनि कम्पनीले प्रमुख कार्यकारी अधिकृत ल्याउन सकेको छैन । तत्कालिन प्रमुख कार्यकारी अधिकृत रायमाझी हट्ने वित्तिकै तत्काल नयाँ प्रमुख कार्यकारी अधिकृत ल्याउने गृहकार्य थालिएको कम्पनीको संचालक समिति अध्यक्ष उमेशचन्द्र उपाध्यायले बताएका थिए । कम्पनीको व्यवस्थापकीय जिम्मेवारी वहन गरेर व्यवसायिक सफलता प्राप्त गर्न चुक्दै गएको दबाब परेपछि कम्पनीले गत ७ चैतमा नयाँ प्रमुख कार्यकारी अधिकृतको विज्ञापन प्रकाशित गरेको थियो । तर, कम्पनीले सार्वजनिक गरेको विज्ञापन नियामक निकाय बीमा समितिले तोकेको प्रमुख कार्यकारी अधिकृत हुनको लागि आवश्यक पर्ने योग्यतामा फेरबदल गरेर आएको भन्ने उजुरी परेपछि समितिले सो विज्ञापन नै रोकिदिएको छ । तर, कम्पनीका अध्यक्ष उपाध्याय भने समितिले विज्ञापन नरोकेको दाबी गर्छन् । कोरोना भाइरस (कोभिड १९) संक्रमण बढ्दै गएपछि त्यसको नियन्त्रण तथा रोकथामको लागि सरकारले जारी गरेको लकडाउनको अवस्थामा नयाँ प्रमुख कार्यकारी अधिकृत भर्ना गर्दा गलत सन्देश जाने भन्दै अर्थमन्त्रालय र बीमा समितिले सकारात्मक संकेत नदिएपछि नियामक निकाय र अर्थमन्त्रालयको आशय अनुसार नै विज्ञापन रोकिएको अध्यक्ष उपाध्यायको भनाइ छ । हटे पब्लिक डाइरेक्टर पनि राष्ट्रिय बीमा कम्पनीमा सर्वसाधारणको करिब २० प्रतिशत सेयर छ । कम्पनीको ७ सदस्यीय संचालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट एक जना संचालक समिति सदस्य नियुक्त हुने व्यवस्था छ । सोही व्यवस्था अनुसार कम्पनीमा सर्वसाधारण सेयरधनीको तर्फबाट अशोक कुमार उप्रेती संचालक सदस्य थिए । तर, संचालक समितिका गतिविधिप्रति आफूलाई चित्त नबुझेको भन्दै संचालक उप्रेतीले गत फागुनमा नै राजीनामा गरेका थिए । उप्रेतीले गरेको राजीनामा संचालक समितिले अघिल्लो साता मात्रै स्वीकृत गरेको छ । सेयरधनीले मानेनन् विजनेस दिन राष्ट्रिय बीमा कम्पनीले गत माघमा एकै झट्कामा २८ करोड रुपैयाँभन्दा बढीको विजनेस गुमाएको छ । कम्पनीको संस्थापक सेयरधनी रहेको र संचालक समितिमा एक जना संचालक समेत रहदै आएको कर्मचारी संचयकोषले नै राष्ट्रिय बीमा कम्पनीलाई विजनेस दिन अविश्वास गरेको हो । कम्पनी र कोषबीच करिब डेढ वर्ष अगाडि कोषका संचयकर्ताको स्वास्थ्य बीमा कम्पनीले गर्ने भन्ने सम्झौता भएको थियो । सो सम्झौता अहिलेका प्रमुख कार्यकारी अधिकृत डा. अर्याल आउनुअघि नै तत्कालिन प्रमुख कार्यकारी अधिकृत वीरविक्रम रायामाझीको कार्यकालमा भएको थियो । सम्झौता अनुसार कोषका संचयकर्तालाई साधारण औषधी उपचारको लागि प्रतिव्यक्ति १ लाख रुपैयाँसम्म र घातक रोगको उपचारमा प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म बीमा दाबी भुक्तानी दिने भन्ने थियो । कोषमा आवद्ध ६ लाख संचयकर्ताको बीमा सो कम्पनीमा गरिएको थियो । यसका लागि कोषले कम्पनीलाई २५ करोड रुपैयाँ र मूल्य अभिबृद्धि कर (भ्याट) वापत ३ करोड २५ लाख रुपैयाँ दिने सम्झौता भएको थियो । सम्झौताअनुसार कम्पनीले बीमा दाबी भुक्तानी नगरेपछि कोषले सम्झौता तोडेको हो । खुम्चदै व्यालेन्ससीट पछिल्लो समय कम्पनीको व्यालेन्ससीट खुम्चदै गएको पाइएको छ । कम्पनीले गत आर्थिक वर्षको चैत मसान्तको तुलनमा चालु आर्थिक वर्षको सोही अवधिमा व्यालेन्ससीटको आकार सानो देखाएको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको ९ महिनासम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बीमा शुल्क (खुद) १७ करोड ४७ लाख ५९ हजार रुपैयाँ संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३० करोड ३३ लाख ८८ हजार रुपैयाँ बीमा शुल्क (खुद) संकलन गरेको थियो । गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कम्पनीले दाबी भुक्तानी पनि कम गरेको छ । गत आर्थिक वर्षको ९ महिनामा कम्पनीले ५ करोड ३४ लाख रुपैयाँ दाबी भुक्तानी (खुद) गरेकोमा चालु आवको सोही अवधिमा ५ करोड ८ लाख रुपैयाँ मात्रै गरेको छ । कम्पनीको व्यवस्थापन खर्च भने बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १० करोड २० लाख रुपैयाँ व्यवस्थापन खर्च गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १४ करोड ७६ लाख रुपैयाँ खर्च गरेको छ । कम्पनीको नाफा पनि घटेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ४० करोड ६२ लाख रुपैयाँ खुद नाफा गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ३१ करोड ४१ लाख रुपैयाँ मात्रै नाफा गरेको छ । सम्बन्धित सामग्री राष्ट्रिय बीमा कम्पनीले एकै झट्कामा गुमायो २८ करोडको व्यापार, अध्यक्ष भन्छन्ः फेरि आउँछ

सलहले अन्नबाली खाएपनि किसानको लगानी नडुब्ने

काठमाडौ । अफ्रिकादेखि आएको सलहको समुह भारत हुँदै नेपाल प्रवेश गरेको छ । एकै दिनमा ठूलो परिमाणमा बालीनाली खाने किरा सलहले नेपाली किसानले लगाएको अन्नबाली पनि खाएर सखाप पारिदेला कि भन्ने चिन्ता छ । तर, किसानले बाली बीमा गरेको अवस्थामा सलहले खाएपनि किसानले क्षतिपूर्ति पाउने बीमा कम्पनीहरुले बताएका छन् । किसानले गरेको बाली बीमामा जुनसुकै प्रकारबाट पनि क्षति पुगेमा क्षतिपूर्ति पाइने भएकोले किसानलाई आर्थिक नोक्सानी नपर्ने भएको हो । सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीका अनुसार अन्न बाली किरा फट्याङ्ग्राले खाएर क्षति पुगेको अवस्थामा पनि दाबी भुक्तानी पाइने व्यवस्था छ । ‘सलहलगायत कुनै पनि प्रकारका किरा फट्यांग्राले बीमा गरिएको बालीनाली तथा फलफूल खाए पनि आर्थिक क्षति नै हुन्छ कि भनेर चिन्ता गर्नु पर्दैन, बीमा गरिएको बालीनाली तथा फलफूलमा जुनसुकै प्रकारबाट क्षति भएपनि बीमा कम्पनीबाट दाबी भुक्तानी हुन्छ,’ क्षेत्रीले भने । सलह किराले निकै ठूलो परिमाणमा बालीनाली नष्ट गर्ने विभिन्न अनुसन्धानहरुले देखाएको छ । अन्र्तराष्ट्रिय संचार माध्यमहरुले बताएअनुसार पनि सलह किराले एकै दिनमा धेरै किलोमिटरको यात्रा तय गर्न सक्छ । विगतका दिनमा पनि नेपाली किसानहरुले अन्नबालीमा विभिन्न किराहरुले दिने दुःख हैरानी व्यहोर्दै आएका थिए । डिएपी, यूरियादेखि विभिन्न कम्पोस्ट मलखाद बालीनालीमा प्रयोग हुन्छ । यस्ता मलखादले अन्य प्रकारका किरा फट्यांग्रा नष्ट गर्ने भएपनि सलहलाई भने कुनै असर नपार्ने बताइएको छ । समूहमा देखिने, धेरै देखिने तथा एक ठाउँबाट अर्को ठाउँमा तिव्र गतिमा पुग्ने भएकाले सलह कृषि क्षेत्रमा जोखिम पूर्ण मानिन्छ । कृषि बीमाको प्रिमियममा सरकारले ७५ प्रतिशत अनुदान समेत दिदै आएको छ । बीमा प्रिमियममा उक्त अनुदान प्रदान हुने भएकाले बीमितले २५ प्रतिशत मात्र बीमा प्रिमियम बुझाउँदा हुन्छ । बीमा कम्पनीहरुले कृषि बीमाका लागि बाली अनुसार विभिन्न किसिमका बीमालेखहरु संचालन गर्दै आएका छन् । उक्त बीमालेख अनुसार कृषि बीमामा कतिपय कुराहरु समेटिन्छ भने कतिपय बीमालेखले नसमेटने हुन्छन् । बीमा कम्पनीहरुले सलह किराले गर्ने हानी नोक्सानीमा कृषकहरुलाई आत्तिनु भन्दापनि रक्षावण गर्दा राम्रो हुने सल्लाह दिएका छन् । विभिन्न किसिमका जोखिममा बीमाले बिमितलाई सघाउदै आएको र सम्झौता अनुसार बीमाको दाबी भुक्तानी हुनेमा ढुक्क रहन बीमा कम्पनीहरुले आग्रह पनि गरेका छन् ।