एनआईसी एशिया बैंकले गर्यो ३० लाखको घातक रोग बीमा दावी रकम भुक्तानी

काठमाडाैं । एनआईसी एशिया बैंकले आफ्ना दुई ग्राहकलाई १५ लाख रुपैयाँ प्रतिव्यक्तिका दरले ३० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ। चमत्कारिक तथा सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोग उपचार बीमा वापत बैंकले उक्त रकम भुक्तानी गरेको बताएकाे हाे । चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीमा खाता खोलेका नवलपरासीस्थित भुमई निवासी दिपक श्रेष्ठलाई क्यान्सर रोगको उपचार वापत र सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीको खाता खोलेका काठमाडौंस्थित बुढानिलकण्ठ निवासी बसन्त राज कुँवरको श्रीमती पूजा कुँवरलाई क्यान्सर रोगको उपचार वापत उक्त रकम भुक्तानी गरिएको हो। सुपर चमत्कारिक बचत खातामा खातावालाको साथै निजको परिवारका सदस्यका लागि पनि बीमा सुविधा उपलब्ध रहेको छ।  श्रेष्ठलाई शिखर इन्स्योरेन्स र कुँवरलाई एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा दावी रकम बैंकले भुक्तानी गरिएको छ। बैंकको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खातामा ग्राहकहरूलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बीमा सुविधा प्रदान गरिएको बैंकले बताएको छ। यस बचत योजनाको ‘डायमण्ड’ श्रेणीको खातामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत १ लाख रुपैयाँ ९अस्पताल भर्नामा ८० हजार रुपैयाँ र बहिरंग उपचारमा २० हजार रुपैयाँ० सँगै विभिन्न निःशुल्क सुविधाहरू पाउन सकिन्छ। चमत्कारिक निक्षेप योजना ग्राहकहरू समक्ष निकै नै लोकप्रिय बनेको बैंकको भनाइ छ। यस बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६४ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

एनएलजी इन्स्योरेन्सको स्थगित हकप्रद सेयरको बिक्री खुल्ला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

काठमाडौं । लकडाउनका कारण स्थगित भएको एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरको पुनः आज(असार ९ गते) बाट बिक्री शुरु भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरको ३८ लाख ४२ हजार ४ सय ३७ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । यसअघि कम्पनीले २०७६ फागुन ११ गतेदेखि चैत १२ गतेसम्म सेयर निष्काशन गरेको थियो । तर त्यसपछि लकडाउन भएसँगै कम्पनीको सेयर निष्काशन पनि स्थगित भएको थियो । हाल सबै कार्यालयहरु खुला भएसँगै कम्पनीले स्थगित रहेको हकप्रद सेयरको पुनः बिक्री शुरु गरेको छ । यससँगै इच्छुक सेयरधनीले असार ९ गतेदेखि आगामी असार २५ गतेसम्म(बैंकिङ्ग समयभित्र) आवेदन दिन सक्नेछन् । उनीहरुले सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा मेरो शेयर मार्फत उक्त मितिसम्ममा आवेदन दिन सक्ने कम्पनीका बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटले जनाएको छ ।

बैंक अफ काठमाण्डूद्वारा बीमा दाबी भुक्तानी

काठमाडौं । बैंक अफ काठमाण्डूले बिओके सुपर तलब खाता अन्तर्गत सात लाख रुपैयाँ दुर्घटनाजन्य मृत्युको बीमा दाबी रकम भुक्तानी गरेको छ । नेपाल ईकरात ईन्जिनियरिङ्ग कम्पनीमा कार्यरत कर्मचारी रविन सूनारको दुर्घटनामा परी असामयिक निधन भएकोमा बैंकले उक्त रकम भुक्तानी गरेको हो । निधनपश्चात् मृतक सुनारका पिता ठुलो कान्छा सुनारलाई बैंकको हेटौंडा शाखा कार्यालयका शाखा प्रबन्धक रमेश प्याकुरेलले उक्त बीमा दाबी रकम सात लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् । बैंकले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसंगको सहकार्यमा उक्त तलब खातामा रहेको बीमा सुबिधा उपलब्ध गराउँदै आएको छ । बैंकले बिओके सुपर तलब खातामा विभिन्न सुबिधाहरुका साथ सात लाख रुपैयाँ दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तताको बीमा सुबिधा दिँदै आईरहेको छ । यस खातामा रहेका थुप्रै सुबिधाहरुको प्रयोगवापत लाभ लिन नेपाल ईकरात ईन्जिनियरिङ्ग कम्पनीले कर्मचारीहरुको तलब खाता बैंक अफ काठमाण्डूको हेटौंडा शाखामा विगत केही समयदेखि संचालन गर्दै आईरहेको छ । बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।