बीमा समिति भन्छः बरु शाखा घटाउ, कर्मचारी नहटाउ

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई कोरोना महामारीको विशेष परिस्थितिमा कर्मचारीलाई कामबाट ननिकाल्न निर्देशन दिएको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण उत्पन्न परिस्थितिमा आफूहरुको आम्दानी नै खुम्चदै गएकोले खर्च कटौति गर्न भन्दै कम्पनीहरुले कर्मचारी कटौति गर्न लागेका समयमा समितिको यस्तो भनाइ आएको हो । बिमितलाई दिने सेवामा कुनै कमी नआउने गरी शाखा कार्यालय बन्द वा मर्ज गर्न आवश्यक भए बरु त्यसो गर्न भन्दै समितिले कर्मचारी कटौति भने नगर्न भनेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले अहिलेको परिस्थितिमा कम्पनीहरुलाई परेको समस्या समाधानका लागि समिति तयार भएपनि कर्मचारी कटौतिको विषयमा सोच्नसमेत नसकिने बताए । ‘बीमा कम्पनीहरुले आफूले प्रवाह गर्ने सेवालाई छिटो छरितो बनाउँन आवश्यक छ, अनावश्यक खर्चदेखि शाखा कटौतिमा कम्पनीहरु लाग्नु पर्छ तर कर्मचारी कटौति भने गर्नु हुँदैन’, कार्यकारी निर्देशक पौडेलले भने । बीमा कम्पनीहरु पनि सकेसम्म कर्मचारी कटौति नगर्ने मुडमा छन् । तर, आम्दानी घटेर कम्पनी नै समस्या पर्ने अवस्था आएको अवस्थामा कम्पनी बचाउन सबै विकल्पमा सोच्नुपर्ने उनीहरुको भनाइ छ । सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) चंकी क्षेत्री अहिले कर्मचारी कटौतिभन्दा पनि अन्य विकल्पका बारेमा गृहकार्य भइरहेको बताउँछन् । पहिलो चरणमा स्थानान्तरण गर्दा हुने शाखालाई नजिकको शाखामा गाभ्ने कार्य हुने उनको भनाइ छ । ‘बिमितलाई दिने सेवा सुविधामा कुनै सम्झौता गरिएको छैन, सकेसम्म सुविधा प्रदान गर्ने गरी काम भइरहेको छ, तर पछिल्लो समय खोलिएका शाखाहरुमा बिमितको आकर्षण देखिएको पाइएन, यसको मुख्य कारण कोरोना भाइरस संक्रमणको सन्त्रास नै हो, अहिले हामीहरु कम चाप देखिएका शाखालाई नजिकको शाखामा गाभ्ने लगायतका प्रयास गर्दा हुन्छ कि भन्ने सोचमै छौं,’ नेपाल बिमक संघका महासचिव समेत रहेका क्षेत्रीले भने । सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल बीमा कम्पनीहरु अब कसरी अगाडि बढ्नुपर्छ भनेर अध्ययन भइरहेको बताउँछन् । सो अध्ययनले दिएका विकल्पमा रहेर अघि बढ्ने योजनामा आफूहरु रहेको उनको भनाइ छ । ‘बीमा कम्पनीहरुले आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा योजना बनाइरहेका छन्, कोरोना महामारी आउनु अघि र कोरोना महामारी आएपछि बीमा बजारमा केही भिन्नता अवश्य नै हुनेछ, चलिरहेको शाखा त बन्द गर्ने कुरा भएन तर ग्राहक कम भएका शाखाहरु भने केही समयका लागि रोक्दा हुने देखिएको छ,’ प्रमुख कार्यकारी अधिकृत अर्यालले भने । केही समयअघिसम्म बीमा कम्पनीहरु मर्जर जान्छन् भन्ने चर्चा बीमा चलेको थियो । अहिले कोरोना महामारीका कारण बीमा कम्पनीहरु मर्जमा जाने भन्दापनि कम्पनीहरु आफ्नै शाखाहरु मर्ज गर्न केन्द्रित देखिएका छन् । बीमा समितिले पनि कुनै कम्पनीलाई कुनै शाखा बन्द गर्नुपर्ने अवस्था आए नजिकको शाखामा गाभेर सेवा प्रवाह गर्न भनेको छ ।

बैंक अफ काठमाण्डूद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । बैंक अफ काठमाण्डूले मुद्दती खातामा एक लाख रुपैयाँ बराबराको बीमा दावी भुक्तानी गरेको छ । बैंकले यस कम्पनीमा मुद्दती खाता खोली बैंकिङ्ग कारोबार गर्दै आईरहेकी शुभद्रा श्रेष्ठलाई औषधी उपचारको लागत खर्च बापत उक्त रकम भुक्तानी गरेको हो । बैंकको सहायक महाप्रबन्धक मनिष कुमार सिंहले बैंकको निक्षेप ग्राहक शुभद्रा श्रेष्ठलाई उक्त बीमा दाबी रकम हस्तान्तरण गरेका हुन् । यस खातामा रहेका सुविधाहरुको लाभ लिन शुभद्रा श्रेष्ठले बैंक अफ काठमाण्डूको साँखु शाखामा बिओके सफलता मुद्दती खाता खोली बैंकिङ्ग कारोबार गर्दै आईरहेकी छिन् । श्रेष्ठले आफ्नो उपचारको लागि अस्पतालबाट बहिरंग सेवा लिएकी थिइन् । बैंकले सफलता मुद्दती खातामा रहेको बीमा सुबिधा सिद्धार्थ इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा उपलब्ध गराउँदै आईरहको छ । बैंक अफ काठमाण्डूले बिओके सफलता मुद्दती खातामा उच्चतम व्याजदरका साथ ११ लाख रुपैयाँसम्मको बीमा सुबिधा उपलब्ध गराउँदै आईरहेको छ । बीमा सुबिधा अन्तर्गत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तता लागि पाँच लाख रुपैयाँ, १८ घातक रोगहरुको लागि पाँच लाख रुपैयाँ तथा औषधी उपचारको लागि एक लाख रुपैयाँको बीमा सुविधा रहेको छ । बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

वार्षिकोत्सवको अवसरमा अजोड इन्स्योरेन्सले गर्यो रक्तदान कार्यक्रम

काठमाडौं । अजोड इन्स्योरेन्सले आफ्नो दाेश्राे वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ । कम्पनीले दुई वर्ष पार गरी ३ वर्षमा प्रवेश गरेको अवसरमा आइतबार(असार २१ गते) रक्तदान कार्यक्रमको आयोजना गरेको हो । आज गरेको रक्तदान कार्यक्रममा हालसम्म ३५ जनाले रक्तदान गरेका छन् । कार्यक्रमको सुरुवात कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले रक्तदान गरेका थिए । साथै, इन्स्योरेन्स कम्पनीले आगामी दिनमा अझ विश्वनीय, भरपर्दो, छिटो, छरितो, व्यवस्थित एवम् प्रविधिमैत्री बीमा सेवा प्रदान गर्दै जाने प्रतिवद्धता जनाएको छ ।