बीमा संस्थानको अध्यक्षमा गंगाराम कँडेल

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको सञ्चालक समितिको अध्यक्षमा गंगाराम कँडेल नियुक्त भएका छन् । कँडेललाई गत साता बसेको मन्त्रिपरिषद् बैठकले उक्त पदमा नियुक्त गरेको हो । कँडेल लामो समयदेखि विद्यालय तथा कलेजहरूमा अध्यापन पेशमा सम्लग्न रहेका थिए । अध्यक्षमा नियुक्त भएका कँडेलेको वित्तीय क्षेत्रमा नयाँ अनुभव हो । कँडेलले व्यवस्थानमा एमबीए, तथ्यांकशास्त्रमा स्नाकोत्तर तथा विदेशबाट एक्चुरियल स्टाटिटिक्समा स्नातक गरेका छन् ।

ज्योति लाईफ इन्स्योरेन्सद्वारा बीमा दाबी रकम हस्तान्तरण

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । उक्त कम्पनीका क्षेत्रीय प्रबन्धक मोहन पुरीले बीमित स्व. जनक केसीको घरमै पुगी दुघर्टना मृत्यु बापत हुने बीमाङ्कको दोहोरो रकम रु २० लाख र बोनस बापतको रकम रु ५५ हजार गरी कुल २० लाख ५५ हजारको चेक हस्तार गरेका हुन् । स्व. केसीले यस कम्पनीको तुलसीपुर उपशाखाबाट गत चैत १२ गते रु १० लाख बीमाङ्कको बीमालेख लिएका थिए भने यही असोज १३ गते मोटरसाईकल दुर्घटनामा परी उनको निधन भएको थियो । बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गर्न आयोजित उक्त कार्यक्रममा तुलसीपुर उमनपा वडा ९ का वडा सदस्य डम्मर पुरी, प्रहरी सहायक निरक्षक प्रदीप खड्का, टोलका अध्यक्ष केशव ओली, घोराही शाखाका प्रवन्धक पूर्णबहादुर ओली, तुलसीपुर उपशाखा प्रवन्धक कमलसिंह खडका, कम्पनीका एजेन्सी म्यानेजर दिनेश केसी लगायतको उपस्थिति रहेको थियो ।

सिटिजन लाइफ इन्स्योरेन्स एनसीएचएलसँग आबद्ध

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी सम्झौता भएको छ । सम्झौता पत्रमा सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेड कान्तिपुर मिडिया ग्रुप, शिखर इन्स्योरेन्स, प्रतिष्ठित एविएशन उद्योगपतिहरु, सफल बैंकरहरु र विभिन्न उद्योगको प्रतिष्ठित प्रतिनिधिहरुद्वारा प्रबद्र्धित कम्पनी हो । कम्पनीले एनसीएचएलसँगको यस साझेदारीले डिजिटल इन्स्योरेन्स सेवाहरुमा पनि आफ्नो विशेष उपस्थिति जनाउन मद्दत पुग्ने अपेक्षा गरेको छ ।