प्राइम लाइफको जीवन बीमा योजना अनलाइनबाटै खरिद गर्न सकिने
काठमाडौँ । प्राइम लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले अनलाइन प्रविधिबाट विभिन्न जीवन बीमा योजना ग्राहक स्वयम्ले नै खरिद गर्न सक्ने प्रविधि विकास गरी सञ्चालनमा ल्याएको छ । यो प्रविधिबाट जुनसुकै स्थानका ग्राहकले आफुले लिन चाहेको जीवन बीमा योजना तथा त्यस योजना अन्तर्गतका अतिरिक्त ऐच्छिक सुविधाहरु छनौट गरी त्यस वापतको प्रिमियम अनलाइन भुक्तानी सेवा प्रदायक मार्फत भुक्तानी गर्न सकिने जनाएको छ । हालको लागि अधिकतम विमाङ्क रकम रु. ५ लाखसम्मको बीमालेख खरिद गर्न सकिनेछ । यस प्रविधि अन्तर्गत ग्राहकलाई कागजी प्रस्ताव फारम भर्न नपर्ने र अनलाइन फारममा उपलब्ध गराइएका विवरणका आधारमा सो प्रस्ताव फारम तत्कालै स्वीकृत भई बीमालेख जारी हुनेछ । कम्पनीले शुरुवात गरेको अनलाइन प्रविधिबाट प्रदान गरिने बीमाको सेवाबाट धेरै भन्दा धेरै जनता समक्ष जीवन बीमाको पहुँच पुग्ने विश्वास कम्पनीले लिएको छ । अनलाइन मार्फत प्राप्त प्रस्ताव फारममा उल्लेखित ठेगानाबाट नजिक पर्ने यस कम्पनीको शाखा तथा उपशाखा कार्यालयबाट स्वीकृत भएको बीमालेख सम्बन्धित बीमितलाई दिने व्यवस्था समेत गरिएको जनाएको छ ।
स्वाथ्य बीमा बोर्डको आलोचना गर्दै अर्थमन्त्रीले भने-‘बीमाको काम बीमा कम्पनीहरुले मात्र गर्ने हो’
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बीमाको काम बीमा कम्पनीहरुले मात्र गर्नु पर्ने र बीमा सेवासँग जोडिएको सबै संस्थाको नियमन बीमा समितिले गर्नु पर्ने बताएका छन् । बीमा कस-कसले गर्ने भन्ने विषयमा रहेको अन्यौलता हटाउन पर्नेमा उनले जोड दिएका छन् । बीमाको मुल व्यवसाय कसले गर्ने ? बीमाको एजेन्ट भएर काम कसले गर्ने ? भन्ने विषयमा बजारमा दुविधा र अन्यौलता हटाउन उचित हस्तक्षेप आवश्यक रहेको समेत उनले बताए । ‘बैंकले पनि बीमा गर्ने, सहकारीले पनि बीमा गर्ने । नागरिक लगानी कोषले पनि बीमा गर्ने/गराउने । कर्मचारी संचयकोषले पनि बीमा गर्ने/गराउने’, अर्थमन्त्रीले भने- ‘कुन चाहि एजेन्ट हुन् ? कुन चाहि अपरेटर हुन् भनेर मलाई त कहिले काँहि छुट्याउन पनि गाह्रो हुन्छ ।’ बैंकहरुले अनप्रोफेशनल रुपमा बीमा व्यवसाय गर्न थालेपछि सरकारले हस्तक्षेप गर्नु परेको उनले बताए । सरकारी हस्तक्षेपपछि बीमा कम्पनीहरुमा खुशी छाएको तर बैंकहरुले अन्याय भयो भनेर गुनासो गर्ने गरेको अर्थमन्त्रीले सुनाए । ‘तपाईहरुको अनुहार हेरेर म चिन्छु । तपाईहरु बैंक पनि चलाउनु हुन्छ । बीमा पनि चलाउनु हुन्छ । बैंकको बोर्डकाे रुपमा बसेर मेरो बीमा कम्पनीमा बीमा गर्नुहोस् भनेर तपाईहरु नै भन्नु हुन्छ । यहाँ स्वार्थ बाझियो । बैंकहरुले प्रोफेशनल रुपमा बीमा एजेन्ट भूमिका खेलेको भए सरकारले हस्तक्षेप गर्नु पर्ने थिएन ।’ बीमा क्षेत्रलाई कन्सोलिडेट गर्नुपर्ने उनले बताए । ‘बीमाका सबै कार्य बीमा कम्पनीबाट हुनु पर्छ । सबै प्रकारका बीमा सेवा प्रदायकको नियमन बीमा ऐन अन्तर्गत बीमा समितिबाट हुनुपर्छ’ अर्थमन्त्रीले प्रष्ट पारे । बीमा कम्पनीको सञ्चालन कसरी प्रभावकारी बनाउने भन्ने विषयमा बीमा समितिले काम गर्नु पर्ने बताए । अर्थमन्त्री खतिवडाले स्वास्थ्य बीमा बोर्डको भूमिकाको बारेमा पनि खुलेर आलोचना गरेका छन् । साथै, उनले स्वास्थ्य बीमा सेवाका सबै काम बीमा कम्पनीहरुबाट गराउनु पर्ने विचार राखेका छन् । ‘बीमा आफैमा व्यवसायिक कार्य हो । सबै व्यवसायमा सरकारले हात हाल्नुपर्छ भन्ने छैन’ अर्थमन्त्रीले खुलेर भने- ‘स्वास्थ्य बीमा गर्न प्रिमियम तिर्न नसक्नेलाई सरकारले तिरिदिने हो । तर सरकार आफै एक्चुरी हुने, आफै मूल्याङ्कन गर्ने, आफै क्षतिपूर्ति दिने, समयमा क्षतिपूर्ति दिएर जनता निरास पनि बनाउने । यस्तो हुनु भएन ।’ नेपाल पुर्नबीमा कम्पनीको छैटौं वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने- ‘बीमा व्यवसायको अपरेटर पनि आफै, रेगुलेटर पनि आफै, क्षतिको मूल्याङकन गर्ने पनि आफै, क्षतिपूर्ति दिने पनि सरकार आफै’ खतिवडाले भने- सबै काम सरकारले गर्नु हुँदैन, यसरी हुँदैन । यसमा सुधार गर्नुपर्छ । तपाईहरु, रेगुलेटर पनि यहि हुनुहुन्छ, अपरेटेर पनि यहि हुनुहुन्छ । तपाईहरु प्रस्ताव लिएर आउनुहोस् । सरकारले गर्नु पर्ने सहयोग गर्छ ।’ अर्थमन्त्री खतिवडाले बीमा कम्पनीहरुले दिने सेवाको स्तर कमजोर भएकोमा आलोचना गरे । बीमा कम्पनीहरुले टेलिभिजनमा स्मार्ट सेवा दिन्छौं भनेर विज्ञापन गरे पनि प्रचार गरेजस्तो सेवा दिन सफल नभएको उनले बताए । बीमा कम्पनीहरुले दावी भुक्तानी गरेनन् भनेर सरकारी निकायहरुमा धेरै उजुरी आएको तथा सानो बीमा दावी गर्न बीमा कम्पनी धाउनु भन्दा नजाँदा नै फाइदा हुन्छ भन्ने सोचाई जनमानसमा विकसित हुँदै गएको उनले बताए । ‘क्षतिको कति दिनभित्र मूल्याङकन भइसक्ने ? कति दिनभित्र बीमितको खातामा पैसा पठाउने हो ? मापदण्ड बनाउनुहोस् र लागू गर्नुहोस्’ उनले बीमा समिति र कम्पनीहरुलाई निर्देशन दिँदै भने । बीमा व्यवसायलाई खेलवाडका विषय नबनाउने समेत उनले सचेत गरे । ‘फेक क्लेमको पनि धेरै समस्या छन् । फेक रेस्क्यू त कति भए भए, तल परे आफ्नै घर भत्काएर पनि बीमा दावी गर्न हामी तयार हुन्छौं । यो हाम्रो नैतिकता पतनको पराकाष्ट हो’ खतिवडाले भने-‘एकातिर यस्तो व्यवहार गर्ने, अर्कोतिर हामी नैतिकताको भाषण गर्दै हिड्ने । समाज कता जादैछ ?’ एकातिर नयाँ बीमा कम्पनी थप्दै जाने अर्कोतिर मर्ज गर्दै जाने कार्य राम्रो नभएको उनले बताए । ‘बीमा बजारमा विस्तार र सुदृढिकरणको बारेमा दुविधा बोकेर हुँदैन । समितिले ५/५ वर्षको योजना बनाएर काम गर्दा बजारको विकास राम्रोसँग हुन्छ’ उनले भने । ‘पहिलो चरण बीमा सेवाको पहुँच वितारमा काम गरौं । दोस्रो चरणमा सेवा स्तर सुदृढ गर्ने गरी काम गरौं । तेस्रो चरणमा मर्ज एक्विजिशन वा कन्सोलिडेशनमा जाँदा राम्रो होला’ उनले भने । देशको सीमा क्षेत्रमा तथा ग्रामिण क्षेत्रमा बीमा पहुँच ज्यादै कम भएको उनले बताए । बीमा समितिको पूर्व अध्यक्ष फत्तबहादुर केसीको ८ वर्षे कार्यकालमा बीमा क्षेत्र पोखरीको पानी जस्तो स्थीर भएको टिप्पणी गरे । ‘बीमा क्षेत्रको पहुँच कति छ भनेर सोध्यो, अध्यक्ष केसीले जहिले पनि ५ देखि ६ प्रतिशत भन्नुहुन्थ्यो । बीमा बजार पोखरीको पानी जस्तो स्थीर थियो’ अर्थमन्त्री खतिवडाले भने- पछिल्ला वर्षमा यो क्षेत्रले गति लिएको छ । बीमाको पहुँच करिब २० प्रतिशत पुगेको छ । यो राम्रो पक्ष हो ।’ बीमा क्षेत्रको प्रगति राम्रो भएको उनले बताए । जोखिम वहन गर्नको लागि सरकारले लघुबीमालाई जोड दिएको तर यस क्षेत्रमा अझै प्रयाप्त काम नभएको उनले बताए । बीमा कम्पनी कै जोखिम व्यवस्थापन गर्न र भौगोलिक रुपमा जोखिम विविधिकरण गर्नको लागि पुर्नबीमा कम्पनी स्थापना भएको उल्लेख गर्दै उनले भने- शुरुमा २० प्रतिशत पुर्नबीमा नेपाल रिमा गर्ने व्यवस्था गराएका थियाै । अहिले ३० प्रतिशत गरेको छौं । अब पुर्नबीमा कम्पनीलाई विदेशबाट बीमा व्यवसाय ल्याउन प्रेरित गर्नुपर्छ । त्यसको लागि सरकारले सक्दो सहयोग गर्नेछ ।’
कर्मचारीलाई दक्ष बनाउन अजोड इन्स्योरेन्सको सक्रियता, २५ लाख छुट्याएका छौँ-सीईओ खत्री
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले कर्मचारीहरुलाई दक्ष बनाउन सक्रियता देखाएको छ । त्यसका लागि कम्पनीले २५ लाख रुपैयाँ बजेट छुट्याएको छ । उक्त इन्स्योरेन्स कम्पनीले बीमा क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई दक्ष बनाउन तालिम दिँदै आएको जनाएको हो । अजोड इन्स्योरेन्स कम्पनीले गाउँ–शहर सबैतिरका कर्मचारीहरुलाई बीमाबारे सचेत गराउनु पर्ने बताएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कुमारबहादुर खत्रीका अनुसार सबैभन्दा पहिला कर्मचारी दक्ष बन्न आवश्यक हुन्छ । उनले भने–‘दक्ष कर्मचारी मार्फत बीमा बजारलाई थप विकास गर्न सकिन्छ ।’ हालसम्म सो कम्पनीले सुर्खेत तथा काठमाडौंमा तालिम कार्यक्रम संचालन गरिसकेको छ । सुर्खेतमा कृषी तथा पशु बीमा सम्बन्धी र काठमाडौंमा भने सामान्य अभिकर्ता तालिम दिएको हो । आगामी बर्ष कम्पनीले आफ्ना कर्मचारीहरुलाई विदेशमा समेत तालिमका लागि पठाउने निर्णय गरेको जनाएको छ । एआइआरडीसीले बैंककमा गर्ने तालिममा अजोड इन्स्योरेन्सका कर्मचारीले सहभागिता जनाउने छन् । नेपालको ७ वटै प्रदेशमा तालिम दिने उद्देश्य उक्त इन्स्योरेन्स कम्पनीले राखेको छ । साथै, हालसम्म एउटा प्रदेशमा भने कम्पनीले कार्यक्रम गरिसकेकाले अब बाँकी ६ प्रदेशमा नै कम्पनी पुग्नेछ । पुस महिनामा कर्मचारीहरुले अण्डरराइटिङ्ग सम्बन्धी तालिम लिने अवसर पाउने छन् । यस्तै, माघ महिनामा भने मार्केटिङ्ग कन्फ्रेन्स हुने छ । आजोड इन्स्योरेन्स कम्पनीले आफ्नो आन्तरिक तालिमका लागि कर्मचारीहरुलाई बानेश्वरमा रहेको शाखामा मार्फत प्रशिक्षण गर्दै आएको छ । वित्तीय सेवा भएको ठाउँमा बीमा कम्पनीको आवश्यकता कुनैपनि वित्तीय सेवा उपलब्ध भएको ठाउँमा बीमा चेतना फैल्याउन आवश्यक रहेकोे कम्पनीको ठम्याई छ । वित्तीय पहँुचलाई बीमाले थप सुरक्षण गर्ने बताइएको छ । बाग्लुङ्गको बुर्तिबाङ्ग, गोरखाको पालुङ्गटार तथा रौतहट लगायतका ठाउँमा कम्पनीले बीमा चेतना दिइसकेको जानकारी दिएको छ । ‘हामीले नाफा भन्दा जनचेतना तथा तालिमलाई आवश्यक मानेका छौँ’-सीइओ खत्रीले भने । हालसम्म सो इन्स्योरेन्स कम्पनीमा २ सय जनशक्ती रहेका छन् । सो मध्येमा ७५ प्रतिशत कर्मचारीहरु भने बीमा क्षेत्रका जानकार भन्दापनि इच्छुक छन् । बीमा बजारमा काम गर्न कम्पनी तथा कर्मचारी दुवैको उद्देश्यमा मेल भएमा कर्मचारी आउने जाने क्रम रोकिन सक्नेछ । उक्त कम्पनीमा भने नयाँ जनशक्तीहरुले नियमित काम गर्दै आएको र केही बाहिरिएका कर्मचारीले बीमा क्षेत्रै छोडेको जनाएको छ ।