जनरल इन्स्योरेन्सको नायव महाप्रबन्धकमा राजेश मानन्धर नियुक्त
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले नायव महाप्रबन्धकमा राजेश प्रसाद मानन्धर नियुक्त गरेको छ । मानन्धरले असोज ५ गतेदेखि उक्त जिम्मेवारी समालेका छन् । मानन्धरसँग २७ वर्ष वित्तीय क्षेत्रमा काम गरेको अनुभव छ । २०४९ देखि ६५ सालसम्म नेशनल फाइनान्समा काम गरेका मानन्धर पछि क्रमशः कस्मिक मर्चेन्ट, सिएमबी, सिनर्जी हुँदै पछिल्लो समय बेष्ट फाइनान्समा नायव महाप्रबन्धककाे जिम्मेवारीमा थिए । वित्तीय क्षेत्रमा झण्डै तीन दशक काम गरेको अनुभवले बीमा क्षेत्रमा केही योगदान गर्न सक्ने विश्वास आफूमा रहेको मानन्धरले बताए । पछिल्लो सयम बीमा क्षेत्रको विकास राम्रो हुँदै गएको छ तर यो क्षेत्रको विकास र विस्तारमा अझै धेरै काम गर्न बाँकी देखिएको उनले बताए । उनले शंकरदेव क्याम्पसबाट एमबीएसम्मको औपचारिक शिक्षा हासिल गरेका छन् ।
सन नेपाललाइफ तेश्रो वर्षमा, विविध कार्यक्रम सम्पन्न
काठमाडौँ । सन नेपाललाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड स्थापनाको दोश्रो वर्ष पूरा गरी तेश्रोे वर्षमा प्रवेश गरेको छ । कम्पनीले सोमबार तेश्रो वर्ष प्रवेश र समाजिक सेवा दिवसको अवसरमा कर्पोरेट कार्यालय लगायत शाखा कार्यायलहरुमा रक्तदान, सरसफाई, बृद्धाश्रम/हस्पिटलमा फलफुल वितरणको साथै अनाथ असाहयहरुलाई कापी, कलम वितरण गरी सम्पन्न गरेको छ ।
युनाइटेड इन्स्योरेन्सको हकप्रद भर्ने अवधि १५ दिन थपियो
काठमाडौं । युनाइटेड इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन गर्ने अवधि थपिएको छ । इन्स्योरेन्सले जारी गरेको १ः२.४ अनुपातको हकप्रद शेयर भर्ने समयावधि १५ दिनका लागि थपिएको हो । यसअघि साउन १४ गतेदेखि असोज ६ गतेसम्म रहेको समयावधि थपिएसँगै अब शेयरधनीहरुले असोज २३ गतेसम्म हकप्रद भर्न सक्नेछन् । सो अवधिसम्म पनि हकप्रद नभर्ने शेयरधनीहरुले पाउनुपर्ने शेयर भने लिलाम बढाबढमा बिक्री हुनेछ । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुको १ अर्ब चुक्ता पुँजी तोक्दै सो पुँजी पुर्याउन गत असार मसान्तसम्म समयावधि दिएपछि युनाइटेड इन्स्योरेन्सले हकप्रदको बाटो लिएको थियो । हाल ३० करोड २४ लाख चुक्ता पुँजी भएको युनाइटेडको हकप्रदपश्चात् पुँजी १ अर्ब २ करोड ८१ लाख रुपैंया पुग्नेछ । युनाइटेडले हकप्रद भर्न असोज २३ गतेसम्म समय दिए पनि असोज १८ गतेदेखि २२ गतेसम्म सार्वजनिक बिदा भएका कारण दशैंपछि भने १ दिन मात्रै शेयर भर्ने समय हुनेछ ।