आरटीजीएसको पहिलो कारोबार माछापुच्छ्रे बैंकबाट, विनाचेक २० करोड भुक्तानी

काठमाडाैं । नेपाल राष्ट्र बैंकले लागू गरेको रियल टाइम ग्रस पेमेन्ट सेटलमेन्ट (आरटीजीएस) प्रणालीको शुभारम्भ माछापुच्छ्रे बैंकको खाताबाट नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा बिनाचेक २० करोड रुपैयाँ भुक्तानी गरेर भएको छ । आईतबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले पहिलो पटक २० करोडको ट्रेजरी डिल सिलिप एकअर्कामा साटासाट गरेर उक्त आरटीजीएस प्राणलीको प्रत्यक्ष उदाहरण पेश गरेका छन् । आरटीजीएस प्रणाली लागू भएपछि २ लाख रुपैयाँभन्दा माथिको भुक्तानी दिँदा चेक नचाहिने भएको छ । राष्ट्र बैंकले तत्काललाई २ लाख रुपैयाँ भन्दा माथि २० लाखसम्मको भुक्तानी स्वेच्छाले र २० लाख भन्दा माथि अनिवार्य आरटीजीएस प्रणालीबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो । विश्वका अधिकांश मुलुकमा जस्तै नेपालमा पनि बैंकिङ्ग कारोबारमा सहजता ल्याउने उदेश्यका साथ अत्याधुनिक प्रविधियुक्त रियल टाइम ग्रस पेमेन्ट सिस्टम प्रणाली कार्यन्वयनमा ल्याईएको हो ।

प्रभावकारी बन्दै म्यादी बीमा पुल, १७ कम्पनी सहभागी, आम्दानी अनुपात १ देखि १६ प्रतिशत

काठमाडौं । बीमा समितिले म्यादी बीमा पुलमार्फत गर्ने व्यवस्था गरेपछि पछिल्लो समय अस्वस्थ प्रतिस्पर्धामा कमी आएको छ । समितिले केही मापदण्ड राखेर म्यादी बीमा गराउँदै आएपछि बजार थप मर्यादित बन्दै गएको हो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने–‘हामीले बीमा क्षेत्रमा सुधार गर्न समय अनुसार काम गर्दै आएका छौँ, अहिले म्यादी बीमाले पनि बजारमा राम्रै प्रभाव पारेको छ ।’ बीमा समितिले वैदेशिक रोजगारमा जानेहरूको म्यादी बीमामा सहजता ल्याउँन २०७५ साल माघ १७ गते म्यादी बीमा पुल मार्फत गर्ने सुरुवात गरेको थियो । पुल मार्फत हुने बीमामा बीमा कम्पनीहरूले समितिले तोकेको अनुपातमा बीमा शुल्क बाडेर लिने गरेका छन् । यस्तो छ म्यादी बीमाको प्रकृयाः बीमा समितिले म्यादी बीमा सम्पूर्ण जीवन बीमा कम्पनीहरूको लागि व्यवसाय गर्न सक्नेगरी ल्याएको हो । जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूको संख्या १९ भएपनि पुलमा भने १७ वटा बीमा कम्पनीहरूले मात्र कारोवार गर्दै आएका छन् । लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल र मेट लाईफ इन्स्योरेन्स कम्पनीले पुलमा सहभागिता जनाएका छैनन् । कम्पनीहरूले हाल समितिले निर्धारण गरेको पोर्टफोलियोमा जान आवश्यक नमानेकाले सहभागिता नजनाएको बीमा समितिले जनाएको छ । के हो त बीमा पुल ? बीमा पुल भनेको वैदेशिक रोजगारमा जाँदा अनिवार्य रुपमा गरिने एक प्रकारको बीमा हो । उक्त बीमाको अवधि छोटो समयको लागि नै हुन्छ । बीमा समितिले नेपाल सरकारसँग सहकार्य गरेर म्यादी बीमाका लागि केही महसुल तोकेको छ । अहिले जीवन बीमा गरेर बाहिर जानेहरूको संख्या ५ लाख नाघेको छ । एक जनाले ३४ सय सम्म तिर्ने भएकाले हाल सो पुलमार्फतमात्रै करिब दुई अर्ब रुपैयाँभन्दा बढी उठ्ने बीमा समितिले बताएको छ । ४ वटा फोकल कम्पनीले बीमा गराउने बीमा पुललाई संचालन गर्नको लागि ४ वटा फोकल कम्पनीहरू रहेका छन् । फोकल कम्पनीमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी, रिलायव लाईफ इन्स्योरेन्स कम्पनी, युनियन लाइफ इन्स्योरेन्स कम्पनी र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । आगामी वर्ष सो कम्पनीको स्थानमा अन्य कम्पनी रहने किसिमले सम्झौता गरिएको छ । यस्ता छन् ४ फोकल कम्पनीहरूले गर्ने कार्य ४ कम्पनीहरूले जीवन बीमा कम्पनीहरूको तर्फबाट बीमा गराउने कार्यमा सहजीकरण गर्ने छन् । आर्जन भएको बीमा शुल्क बीमा कम्पनीले बाँटफाँट गरेर लिन पाउने छन् । कम्पनीहरूले बीमा शुल्क बाड्दा आफ्नो विजनेशलाई आधार बनाउन पाउने छन् । पुलमा रहेका बीमा कम्पनीहरूले आर्जन गरेको बीमा शुल्कको बाँटफाँट गर्दा आफ्नो लगानी अनुसार १ देखि १६ प्रतिशतको आधारमा कस्ले कति पाउने भनेर तोकिएको छ । यसरी गरिएको सम्झौता १ वर्ष कायम रहने छ । आगामी वर्षमा भने सम्झौतामा आवश्यकता अनुसार हेरफेर गरिने बीमा समितिको तर्क छ । बीमा पुल ल्याउनुको आवश्यकता  बीमा समितिले बीमा पुलको योजना ल्याउनु अघि वैदेशिक रोजगारमा जानेहरूको बीमा गराउन कम्पनीहरूले तानातान गर्दै आएका थिए । सोही तानातानको क्रममा केही बिचौलियाहरू समेत बीमा क्षेत्रमा हावी भएको जानकारहरूले बताएका छन् । यस्तो अवस्थामा बीमा शुल्कमा कसैले धेरै तथा कसैले थोरै लिने गरेका थिए । यस्ता कुराले बीमा क्षेत्रमा असर नपुर्याओस भन्ने उदेश्यलेपनि पुलको स्थापना गरियो । बीमा समिति भन्छ अहिले बजार सुधारात्मक छ  बीमा समितिले पुलको स्थापना पश्चात म्यादी बीमामा समेत सुधार भएको बताएको छ । हाल नियामक बीमा समितिलाई पनि आफ्नो नियमनमा सहज भएको पाइएको छ । बीमा समितिका अनुसार–बीमा क्षेत्रमा हामीले पुलको सुरुवात गरेपछि हाल अस्वस्थ प्रतिस्पर्धाको बारेमा बजारमा चर्चा हुन छाडेको छ । सोही बीमा बजार मर्यादित बन्दै गएको समितिको विश्वास छ ।

सिप्रदी अर्थमुभर्स र ज्योति बिकाश बैङ्कबीच कर्जा सम्झौता

काठमाडौं । टाटा हिटाचिको आधिकारीक बिक्रेता सिप्रदी अर्थमुभर्स प्रा. लि. र ज्योति बिकाश बैङ्कबीच कर्जा सम्झौता भएको छ । टाटा हिटाचि खरिद गर्न चाहने खरिदकर्ताले ज्योति बिकाश बैङ्कको देशभरिको जुनसुकै शाखा मार्फत ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्ने भएको छ । उक्त सम्झौतापत्रमा सिप्रदी अर्थमुभर्सका तर्फबाट कम्पनीका उप महाप्रबन्धक राजेन्द्र कार्की र ज्योति विकास बैङ्कका तर्फबाट नायव महाप्रबन्धक शुशिलकुमार शर्माले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात् ग्राहकलाई कर्जा लिन सहज हुने बताइएको छ । सिप्रदी अर्थमुभर्स प्रा. लि. ले विगत १० बर्षदेखी टाटा हिटाचिका करिव १५सय भन्दा धेरै एक्जाभेटर, ब्याहृोलोडर र व्हिललोडर बिक्री वितरण गरेको छ । टाटा हिटाचिको उच्च प्रतिफल दिने, लामो समय चल्ने तथा सिप्रदी अर्थमुभर्सको देशभरिबाट बिक्री पछिको गुणस्तरीय सेवाका कारणले पछिल्लो समय ग्राहकवर्गको पहिलो रोजाई बन्दै आईरहेको छ ।