जेष्ठ नागरिकको बीमाङ्क रकमको बीमा शुल्क सरकारले व्यहोर्ने

काठमाडौ । सरकारले आगामी आर्थिक बर्ष २०७६/७७ को बजेट मार्फत गरिबीको रेखा मुनी रहेका नागरिक र जेष्ठ नागरिकको बीमा गर्ने कार्यक्रम अघि बढाएको छ । आज प्रस्तुत गरेको बजेटमा ७० वर्ष माथिका जेष्ठ नागरिकको बीमाङ्क रकमको बीमा शुल्क सरकारले व्यहोर्ने अर्थमन्त्री खतिवडाले उल्लेख गरे । स्वास्थ्य बीमाको सेवाको दायरा बढाउन बीमाङ्क रकम दोब्बर बनाएर १ लाख रुपैयाँ पुर्याइने बजेटमा उल्लेख छ । आर्थिक रुपले विपन्न तथा अशक्त रुपमा रहेका एकल महिला तथा आफ्नो रेरचाह आफैले गर्न नसक्नेका लागि समेत सरकारले सहयोग योजना ल्याएको छ ।

सेञ्चुरी बैंक र मेटलाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मेटलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच मंगलबार बैंकास्योरेन्सको सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकका सम्पूर्ण शाखाहरुबाट उक्त कम्पनीको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र मेटलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका उपाध्यक्ष एवम् महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

लक्ष्मी बैंकबाट महालक्ष्मीको बीमा सेवा पाइने

काठमाडौँ । लक्ष्मी बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा दिने सम्बन्धमा एक समारोहबीच सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार लक्ष्मी बैंक लिमिटेडले देशभर रहेका आफ्ना १०६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरी पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म २७ वटा शाखाहरूतथा उपशाखा कार्यालयहरूबाट कारोबार प्रारम्भ गरिसकेको छ। सम्झौतामा लक्ष्मी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयबिक्रम शाह र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।