बीमा समितिले एक्चुरी नियुक्ति गर्न सकेन, ‘दुबै हातमा लड्डु खोजे’

काठमाडौ । पछिल्लो समय बीमा समितिलाई बीमाङ्कीय मूल्याङ्न गर्ने आफ्नै (एक्चुरी) बीमाङ्की नियुक्तीमा असहजता पैदा भएको छ । बीमा समितिले दिने भनेको सुविधा भन्दापनि अन्य जागिरतर्फ बढी आम्दानी हुने भएपछि एक्चुरी अन्यत्र आकर्षित हुने गरेका छन् । यसकारण एक्चुरी नियुक्तीमा सकस भएको हो । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले भने–‘हामीले नेपालको आफ्नै एक्चुरी राख्न हरसम्मत प्रयास गरिरेहका छौँ, तर एक्चुरीहरु भने अन्य जागिरपनि गरौँ भन्नुहुन्छ, यसरी दुवै हातमा लड्डु खोज्ने प्रवृत्तीका कारण सहमति जुटाउन गाह्रो भएको छ ।’ नेपालले हालसम्म भारतीय बीमाङ्की मार्फत जोखिम मुल्याङ्कन गराउँदै आएको छ । बीमा कम्पनीहरुले आफ्नो बीमाङ्कीय मुल्याङ्कन पश्चात बीमा समितिमा एक्चुरी भ्यालुएसन टेष्टको लागि पठाउने गर्छन् । तर, नियामक बीमा समितिमा समेत आफ्नो एक्चुरी नभएका कारण मूल्याङकनका लागि पुनः भारतमै पठाउनु पर्ने बाध्यता रहँदै आएको छ । एक्चुरीको लागि नेपाललाई भारत एक मात्र विकल्प रहेकाले बीमाङ्कीय मूल्याङ्कन गर्न लामो समय खर्चनु पर्छ । साथै, बीमाङ्कीय मूल्याङ्कनको शुल्क समेत महङ्गो छ । एक्चुरी भनेको के हो ? एक्चुरी भन्नाले बीमामा सम्पत्ति र दायित्वको मूल्याङ्कन गर्ने व्यक्ती हुन् । भविष्यमा आउने जोखिमको दायित्व निर्धारण गर्ने भएकाले एक्चुरीको छुट्टै महत्व छ । बीमा समितिले नेपालमै एक्चुरी पढ्ने वातावरण निर्माण गर्नु पर्ने बताउँदै आएको छ । हालसम्म सो विषय अध्ययनको लागि  भारत नै धाउनु पर्छ । एक्चुरी पढ्नको लागि करिब ४० लाख रुपैयाँ लाग्छ । ८ वर्षको अध्ययनपछि एक्चुरी बन्न सकिन्छ । ४ वर्ष डिप्लोमा र ४ वर्ष फेलोसिपको पढाई हुने गर्छ । एक्चुरीले जीवन बीमा क्षेत्रमा मात्र काम गर्छन् । तर, एक्चुरी अध्ययन गरेका व्यक्तीले बीमा क्षेत्रमा मात्र काम गर्नु पर्छ भन्ने छैन । एक्चुरीको अध्ययन पश्चात त्यस्ता व्यक्तीले विभिन्न कम्पनी, प्रोजेक्ट, कर्मचारी सञ्चय कोष लगायतका अन्य क्षेत्रमा समेत काम गर्न सक्छन् । यसरी बीमाको दायित्वका सवालमा एक्चुरी महत्वपूर्ण मानिन्छन् । जोखिमको बारेमा अग्रिम अध्ययन गर्ने तथा हिसाब किताबमा अब्बल हुने कारण एक्चुरीको माग अन्य संस्थामा पनि हुने गर्छ ।

ज्योति विकास बैंकबाट सानिमाको बीमा सेवा पाइने

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेड र सानिमा जेनरल इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकको केन्द्रीय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत उक्त इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवन बीमा योजनाहरु विक्री गर्ने एवम् अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवम् भरपर्दो सेवा पुर्याउने उद्देश्येले दुई संस्थाका बीच बैंकास्योरेन्स सम्झौता भएको बताइएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र इन्स्योरेन्स कम्पनीको तर्फबाट कम्पनीका नायव महाप्रबन्धक सुबोधलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

अजोड इन्स्योरेन्सले बनेपामा खोल्यो नयाँ शाखा

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले बनेपामा नयाँ शाखा कार्यालय विस्तार गरी उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईले गरेका हुन् । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले संस्थाको परिचय, समग्र अवस्था, गतिविधि, भावी कार्य योजना तथा कम्पनीको समग्र अवस्थाका बारेमा जानकारी दिएका छन् । प्रधान कार्यालय सहित कम्पनीको हाल ३० वटा शाखा सञ्चालनमा रहेको छ । उक्त शाखा मार्फत कम्पनीले निर्जीवन बीमाका सम्पूर्ण सेवा सुबिधाहरु तथा दावी भुक्तानी प्रदान गरिरहेको छ ।