बीमा समितिको निर्देशन लत्याउँदै बैंकहरु, कुमारी बैंकको बैंकास्याेरेन्सबारे समितिले अनुसन्धान गर्ने

काठमाडौ । बीमा समितिले जारी गरेको नीति नियम विपरित बैंकहरुले बीमा सेवा बेच्न थालेको पाईएको छ । ग्राहक आकर्षित गर्न बैंकहरु अस्वस्थ्य प्रतिस्पर्धामा उत्रिएको भेटिएको छ । चार वटा निर्जीवन बीमा कम्पनीसँग बैंकास्योरेन्स गरेको कुमारी बैंकले आफ्ना ग्राहकलाई बीमा समितिको निर्देशनभन्दा बढी बीमा शुल्क छुट दिएर बीमा गर्न/ गराउन शाखा कार्यालयहरुलाई निर्देशन दिएको पत्र विकासन्यूजले प्राप्त गरेको छ । फागुन १४ गते कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृतको कार्यालयबाट सबै कर्मचारीलाई जारी गरेको परिपत्रमा एसएमई लोन र कर्पोरेट लोन लिने ग्राहकको सम्पत्ति बीमा गर्दा बीमा समितिको निर्देशन भन्दा बढी छुट दिएर व्यापार विस्तार गर्न निर्देशन दिईएको छ । बैंकले ग्राहकलाई कर्पोरेट डिस्काउन्ट १० प्रतिशत र विशेष सम्बन्ध भएका ग्राहकलाई थप ४ प्रतिशत गरी १४ प्रतिशतसम्म छुट दिन निर्देशन दिईएको छ । बीमा समितिको सम्पत्ति बीमा निर्देशिका २०७५ ले सम्पत्ति बीमाका दर तोकेको छ । तोकिएको बीमा दरको आधारमा बीमा शुल्क गणना गरी सोही बमोजिमको बीमा शुल्क लिनु पर्नेछ । निर्देशिका बमोजिम जारी गरिने बीमा लेखको बीमा शुुल्कमा कुनैपनि प्रकारको छुट (डिस्काउन्ट), रिहायत, कटौति वा सहुलियत दिन पाईने छैन । तर, बीमा अभिकर्ताको प्रयोग नगरी सिधै बीमा लेख बिक्री (प्रत्यक्ष बीमा) गरिएको अवस्थामा हुलदंगा तथा आतंकबाद जोखिम समूह बापतको बीमा शुल्क बाहेक अन्य कुल बीमा शुल्क गणना गरेपश्चात १० प्रतिशतका दरले हुन आउने रकम छुट प्रदान गर्न सकिन्छ । कुमारी बैंकले निर्जीवन बीमाको प्रिमियम तिर्दा त्यसमा सहभागी हुने ग्राहकलाई १० प्रतिशत छुट दिने र एसएमई र कर्पोरेटका ग्राहकलाई प्रत्यक्ष १० प्रतिशतका अतिरिक्त ४ प्रतिशत बीमा शुल्कमा छुट दिने व्यवस्था गरेको छ । प्रिमियर ईन्स्योरेन्स, लुम्बिनी जेनेरल ईन्स्योरेन्स, प्रुडेन्सियल ईन्स्योरेन्स र सानिमा जेनेरल ईन्स्योरेन्सले कुमारी बैंकलाई संस्थागत अभिकर्ता बनाएका छन् । संस्थागत अभिकर्ताले बीमा शुल्कको ५ प्रतिशत कमिशन पाउने व्यवस्था छ । तर अभिकर्ताले ५ प्रतिशत कमिशन लिएपछि बीमितलाई छुट दिन नपाइने बीमा समितिका उच्च अधिकारीले बताए । ‘बैंकले १० प्रतिशत छुट पाउँछ । बैंकले पाएको छुट सबै ग्राहकलाई दिन्छ भने त्यो बैंकको आफ्नो कुरा भयो । थप चार प्रतिशत दिन मिल्दैन । उनीहरुले कसरी गरेका रहेछन् ? हामी अनुसन्धान गर्छौ’ बीमा समितिका उच्च अधिकारीले विकासन्यूजसँग भने । कुमारी बैंकले ग्राहकलाई १४ प्रतिशत छुट दिनै नसक्ने सानिमा जनरल इन्स्योरेन्स कम्पनीका नायब महाप्रवन्धक सुबोधलाल श्रेष्ठले बताए । ‘बैंकले बीमा कम्पनीको तर्फबाट सीधै पोलिसी बेचेमा आधारभूत बीमा शुल्कको १० प्रतिशत छुट दिन सक्छ । बैंकले अभिकर्ताको रुपमा बीमा गराएको हो भने ५ प्रतिशत मात्र कमिशन पाउँछ’ उनले भने–‘बैंकले दुई मध्ये एक प्रकारको छुटको सुविधा लिन सक्छ । १० प्रतिशतमा अतिरिक्त ४ प्रतिशत छुट दिनै सक्दैन । दिएको हो भने पनि हामीलाई त्यसबारे जानकारी छैन ।’ पछिल्लो समय व्यवसाय विस्तार र नाफा वृद्धिमा परेको चापसँग बैंकहरुले बीमा अभिकर्ताको रुपमा काम थालेका छन् । तर, बैंकहरुले बीमा सेवा प्रदान गर्ने क्रममा बीमा समितिले जारी गरेको नीति नियमहरु परिपालना नगरेको गुनासा बीमा क्षेत्रमा बढ्दै गएको छ ।

दाङ र सल्यानमा आइएमई लाइफ इन्स्योरेन्सले शुरु गर्यो कारोबार

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दाङ्गको घोराहीमा शाखा मार्फत औपचारिक रुपमा जीवन बीमाको कारोबार प्रारम्भ गरेको छ । शनिबार दाङको घोराहीमा आयोजित एक विशेष समारोहका बीच नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त शाखा कार्यालयको उद्घाटन गरे । शाखा कार्यालयको उद्घाटन गर्दै अध्यक्ष ढकालले करिव वीस बर्षअघि देखि नै आइएमई ग्रुपका विभिन्न सेवाहरू विशेष प्राथमिकताका साथ दाङ्गमा स्थापना गरिँदै आएको स्मरण गरे । त्यस्तै, आइतबार सल्यानजिल्लाको शारदा नगरपालिका १, श्रीनगरमा रहेको शाखा कार्यालयको उद्घाटन सल्यान जिल्ला समन्वय समितिका अध्यक्ष केशबहादुर विष्ट र आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकालले संयूक्त रुपमा गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिति विष्टले जिल्लामा आइएमई लाइफइन्स्योरेन्स कम्पनीको आगमनले स्थानीय बासिन्दाहरुमा जीवनबीमाको पहुँच र यसप्रतिको भरोसा अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे । दुवै उद्घाटन समारोहमा उधोग वाणिज्य महासंघका केन्द्रीय सदस्यद्वय ध्रुबराज श्रेष्ठ(भारी) र भरत आचार्य, राष्ट्रि«य समाचार समितिका संचालक एवम् सम्पादक एकराज पाठक स्थानीय उधोगी व्यवसायी, आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट, सहायक महाप्रबन्धक आशिष सिंह लगायत आइएमई ग्रुपमा कार्यरत उच्च पदस्थ कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

सरकारले गरिदिने भो ७० वर्ष पुगेका वृद्धवृद्धाको स्वास्थ्य बीमा

काठमाडौ । स्वास्थ्य बीमा नियमावली २०७५ मार्फत ७० वर्ष पुगेका वृद्धवृद्धाको स्वास्थ्य बीमा सरकारले नै गरिदिने भएको छ । सरकारले बीमाको पहुँचमा वृद्धी गर्ने उद्देश्यले ७० वर्ष पुगेका वृद्धवृद्धालाई १ लाख रुपैयाँको थप सुविधा समेतप्रदान गर्ने भएको हो । स्वास्थ्य बीमा नियमावलीमा २५ सय रुपैयाँ कायम रहँदै आएको प्रिमियममा १ हजार रुपैँयाको वृद्धी गरी ३५ सय रुपैयाँ पुर्याइएको छ । ‘स्वास्थ्य बीमा नियमावली’ सरकारले स्वीकृत गरी सकेकाले ७० वर्ष नपुगुन्जेलसम्म मात्र बिमितले प्रिमियमको तिर्नु पर्ने हुन्छ । तर, ६९ वर्ष नाघेपछि सरकारले नै स्वास्थ बीमाका सबै जिम्मा लिने निमयमावलीमा उल्लेख गरिएको छ । ६९ वर्ष नाघेका जेष्ठ नागरिकलाई लक्षित गरेर सरकारले यो योजना सार्वजनिक गरेको हो । स्वास्थ्य बीमा बोर्डका प्रमुख रमेश पोखरेल भन्छन्- ‘सरकारको उद्देश्य सबै नागरिक माझ पुग्ने हो, तर जेष्ठ नागरिकको हैसियतमा यस्तो सुविधा अपरिहार्य भएकाले ७० वर्ष पुगेका नागरिकलाई विशेष प्याकेज तयार गरिएको हो ।’