स्वास्थ्य बीमा बोर्डमा रमेश पोखरेल

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रमेशकुमार पोखरेल नियुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयले अन्तिम सूचिमा सिफारिस गरेका ३ जनामध्येबाट मन्त्रिपरिषद बैठकले पोखरेललाई नियुक्त गरेको हो । पोखरेलले केहि समय अघि मात्रै नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशककाे जिम्मेवारीबाट अवकास प्राप्त गरेका थिए । उनले स्वास्थ्य बीमा बोर्डको कामलाई थप प्रभावकारी बनाउँदै लैजाने, स्वास्थ्य बीमा प्रति नागरिकमा विश्वा अभिवृद्धि गराउने प्रतिवद्धता व्यक्त गरे । ‘केहि दिनपछि आधिकारीक पत्र लिएर कार्यभार सम्हाल्छु, स्वास्थ्य बीमाको दायरा विस्तार र विश्वसनियता अभिवृद्धिका लागि म आफुलाई समर्पित गराउनेछु’, नवनियुक्त कार्यकारी निर्देशक पोखरेलले विकासन्युजसँग भने ।

जनता बैंक नेपाल र अजोड इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । अजोड इन्स्योरेन्स र जनता बैंक नेपालबीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुवंर क्षेत्री तथा इन्स्योरेन्सका तर्फबाट प्रमुख कायर्कारी अधिकृत कुमार वहादुर खत्रीले हस्ताक्षर गरेका छन् । सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने इन्स्योरेन्सका बजार विभाग प्रमुख लक्ष्मण पराजुलीेले बताएका छन् ।

सेञ्चुरी बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकबाट उक्त कम्पनीको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सकिने छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गरेका छन् ।