कामना सेवा विकास बैंक र यूनियन लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा कामना सेवा बिकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र यूनियन लाईफ ईन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकहरुले बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट यूनियन लाईफ इन्स्योरेन्सको बीमालेख खरिद गर्न सक्ने छन् ।
बीमा कम्पनीहरुलाई पुँजी वृद्धि गर्ने समय सीमा २०७६ असार मसान्तसम्म
चिरञ्जीवि चापागाई, अध्यक्ष, बीमा समिति काठमाडौं । तोकिएको समयमा न्यूनतम चुक्ता पुँजी पुर्याउन नसकेका बीमा कम्पनीहरुका लागि खुशीकाे खबर आएको छ । बीमा समितिले पुँजी वृद्धिको समय सीमा २०७६ असार मसान्तसम्म बढाउने भएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले बीमा कम्पनीहरुको लागि पुँजी वृद्धिको समयावधि बढाउन लागिएको जानकारी दिएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँगको भेटघाटका क्रममा अध्यक्ष चापागाईले सो जानकारी गराएका हुन् । वित्त बजारमा लगानी योग्य पुँजीको कमी रहेको र नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) लागू गर्ने क्रममा बीमा कम्पनीहरुको एक्चुरी र वार्षिक साधारणसभा समेत ढिला हुने भएकोले ६ महिना समय थप्न लागिएको उनले जानकारी दिए । जतिबेला पुँजी बृद्धि गर्न बीमा समितिले निर्देशन दिएकाे थियाे त्यतिबेला तरलता संकट नभएकाे तर अहिले तरलता संकट भएकाले लगानीकर्ताले पुँजी जुटाउन गाह्राे भएकाे जनाएकाे उनले बताए । सराेकार निकायहरूसँग छलफल गरेर पुँजी वृद्धिकाे समय थप्ने तयारी भएकाे र केही दिनभित्रै पुँजी वृद्धि बारे नयाँ निर्देशन जारी हुने उनले बताए । बीमा समितिले जीवन बीमा कम्पनीको लागि न्यूनतम २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको लागि न्यूनतम १ अर्ब रुपैयाँ चुक्ता पुँजी तोकेको छ । पुँजी वृद्धिको समय २०७५ असार मसान्तसम्म तोकिएको थियो । विशेष अवस्थामा कम्पनीहरुले ३/३ महिना गरी बढीमा छ महिना समय थप्न पाउने व्यवस्था थियो । हालसम्म नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, हिमालय जनरल इन्स्योरेन्स कम्पनीसहित थोरै कम्पनीले मात्र तोकिएको चुक्ता पुँजी पुरा गरेका छन् ।
अब एनआईसी एशिया बैंकबाटै आईएमई लाईफको इन्स्योरेन्स सेवा पाइने
काठमाडौं । अब एनआईसी एशिया बैंकबाटै आईएमई लाईफ इन्स्योरेन्सको जीवन बीमा सेवाहरु पाइने भएको छ । उक्त सेवा दिने सम्बन्धी मंगलबार दुई कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले बैंकको जुनसुकै शाखाबाट सजिलै आईएमई लाईफ इन्स्योरेन्सको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले हस्ताक्षर गरेका छन् ।