पुँजी बजारमा एलआईसीको सन्देश : सञ्चालक समितिको मात्र भर नपर्नु !

काठमाडौं । कम्पनीको सञ्चालक समितिले गरेको निर्णयलाई मात्र सर्वोपरि मानेर त्यसैअनुसार शेयर बजारमा लगानी गर्न/लगानी झिक्न चाहने लगानीकर्तालाई लाइफ इन्स्योरेन्स कर्पोरेसनले गतिलो सन्देश दिएको छ । इन्स्योरेन्स सञ्चालक समितिको गत साउन २४ गते बसेको बैठकले शेयरधनीलाई ३६ प्रतिशत बोनस सेयर तथा उक्त बोनस सेयरबापत लाग्ने कर प्रयोजनका लागि १.८९ रुपैंया नगद लाभांश दिने गरी गरिएको प्रस्तावलाई बीमा समितिले अस्वीकार गरी वित्तीय विवरण संशोधनका लागि निर्देशन दिएपछि सञ्चालक समितिको शनिबार पुनः बैठक बसी १२ प्रतिशत बोनस शेयर तथा त्यसमा लाग्ने ०.६३ प्रतिशत नगद लाभांश दिने संशोधित प्रस्ताव गरेको छ । यो स्रस्तावलाई बीमा समितिले स्वीकृत गरेपछि शेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन् । उक्त प्रस्तावसँगै आइतबारको शेयर बजारमा सो इन्स्योरेन्सको शेयर मूल्यमा भारी गिरावट आएको छ । आइतबारको शेयर बजारमा एलआईसीले सर्वाधिक मूल्य गुमाएको छ । कम्पनीको शेयर मूल्यमा ५.६३ प्रतिशतले गिरावट भई १५०० रुपैंयामा अन्तिम कारोबार भएको छ । समग्रमा दोहोरो अंकको गिरावट आएको बजारमा कम्पनीको मूल्यमा आएको गिरावट सामान्य देखिए पनि लगानीकर्तालाई सञ्चालक समितिको निर्णयलाई नै अन्तिम मान्ने प्रचलनप्रति सावधान रहनुपर्ने सन्देश दिएको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशनले १२ प्रतिशत बोनस दिने, सेयर मूल्यमा भारी गिरावट

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)ले सेयरधनीलाई १२ प्रतिशत बोनस दिने भएको छ । साथै, कर प्रयोजनका लागि इन्स्योरेन्सले ०.६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव हालै बसेको कम्पनीे सञ्चालक समितिको बैठकले गरेको हो । समितिले कम्पनीको आर्थिक वर्ष २०७३/०७४ को नाफाबाट चुक्ता पुँजीको सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । यस अघि कम्पनीले ३६ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरी बीमा समितिमा पेश गरेको थियो । उक्त प्रस्तावलाई बीमा समितिले विभिन्न प्राविधिक कारणवश वित्तिय विवरणमा संसोधन गरी पुनः पेश गर्न निर्देशन दिएको थियो । उक्त निर्देशनलाई पालना गर्दै वित्तिय विवरण पुनः पेश गरेकाे कम्पनीको प्रस्तावित लाभांशमा गिरावट आएको हो । सोही अनुसार कम्पनीले १२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । समितिको प्रस्तावलाई बीमा समितिले स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश दिने छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ३३ करोड रुपैयाँ रहेको छ । जसमा १२ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी साढे एक अर्ब रुपैयाँ कायम हुने छ । लाभांश घोषणासँगै कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको छ । आइतबार प्रतिकित्ता १५८० रुपैयाँमा कारोबार शुरु भएको कम्पनीको सेयर मूल्य घटेर प्रतिकित्ता १५२० रुपैयाँ पुगेको छ । बोनस सेयर घटेर १२ प्रतिशतमा झरेपछि धेरै बोनस पाउने आसमा रहेका लगानीकर्तामा निरासा देखिएको सेयर मूल्यले संकेत गरेको बुझिन्छ ।

अजोड इन्स्योरेन्सका ग्राहकले नेपाल मेडीसिटी अस्पतालमा छुट पाउने

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडका ग्राहकले नेपाल मेडीसिटी अस्पतालमा विशेष छुट पाउने भएका छन् । बिहीबार दुई कम्पनीबीच मेडीसिटीमा इन्स्योरेन्सका ग्राहकलाई नगदरहित सेवा दिने सम्बन्धि सम्झौता भएको छ ।उक्त सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार क्यासलेस अर्थात नगदरहीत सेवा ग्राहकले उपचारका लागि भर्नाको अवस्थामा उपभोग गर्न पाउने छन् । स्वास्थ्य सबैको पहुचमा पुग्ने भएकोले स्वास्थ्य बीमालाई अस्पतालले विशेष जोड दिएको अस्पतालका महाप्रबन्धक रिमालले बताएका छन् । त्यस्तै, अजोड इन्स्योरेन्सले स्वास्थ्य बीमामा जोड दिएको र भविष्यमा धेरै भन्दा धेरै मानिसमा स्वास्थ्य बीमा बारे सचेतना वृद्धि गर्दै जाने उद्धेश्यले उक्त सम्झौता गरेको कम्पनीले जनाएको छ ।