रिलायन्स लाईफको साधारणसभा सम्पन्न, ६३ करोडको आईपीओ निष्कासनको प्रस्ताव पारित
काठमाडौं। रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको हालै सम्पन्न प्रथम वार्षिक साधारणसभाले ६३ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेका छ । साधारणसभाले प्रस्ताव पारित गरेकाले आईपीओ निष्कासन गर्न कम्पनी व्यवस्थापनलाई बाटो खुला भएको छ । सभाले ताराचन्द केडियालाई सर्वसम्मत रुपमा कम्पनीको अध्यमा चयन गरेको छ । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ । कम्पनीले हाल ५ वटा जीवन बीमा योजनाबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ। कम्पनीले हाल मेरो मुटु बालयोजना, सुखमय जीवन सवाधिक तथा आजीवन, सुरक्षित जीवन सवाधिक, धनफिर्ता १५ र २० वर्ष, जीवन शान्ति बीमा योजना सञ्चालनमा ल्याएको छ । साथै कम्पनीले हालै ७,११ र १८ घातक रोगहरु विरुद्धको रक्षावरण र सामुहिकम्यादी बीमा योजना पनि अघि ल्याएको छ।
राष्ट्रिय बीमा कम्पनीको १२० प्रतिशत बोनस सेयर बीमा समितिमा अड्कियाे, हिसाव किताव क्लियर नभएकाे अाराेप
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले २०७४ फागुन १० गते १२० प्रतिशत बोनस सेयर घोषणा गरेको थियो । आर्थिक बर्ष २०६८।६९ सम्मको मुनाफाबाट १२० प्रतिशत बोनस सेयर वितरण गर्ने कम्पनीको प्रस्तावलाई अझै पनि बीमा समितिले स्वीकृति दिएको छैन् । बाेनस प्रस्ताव स्वीकृत नभएपछि कम्पनीको पुँजी वृद्धि योजनामै धक्का मात्रै लागेको छैन, १२० प्रतिशत सेयरको आशमा सेयर खरिद गरेका लगानीकर्ता पनि मारमा परेका छन् । बीमा कम्पनीका चाटर्ड एकाउन्टेन्ट अब्दस अन्सारीले राष्ट्रिय बीमा संस्थानसँगको हिसाब किताब फरफारक नभएकाले बोनस सेयरले समितिबाट स्वीकृति नपाएको बताए । कम्पनीले आर्थिक बर्ष २०६८।६९ सम्मको मुनाफाबाट सो मात्रामा बोनस सेयर वितरण गर्ने निर्णय गरेको थियो । कम्पनीले ०६८।६९ पछिको कुनै पनि आर्थिक वर्षको वित्तीय विवरणको लेखा परिक्षण गराएको छैन। हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको छ । १२० प्रतिशत बोनस पश्चात कम्पनीको पुँजी ५८ करोड ६५ लाख रुपैयाँ पुग्ने थियो । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले वित्तिय विवरणको लेखा परिक्षण नगरेको तथा बीमा संस्थानसँगको हिसाब किताब समेत फरफारक नगरेकाले बोनस सेयर सम्बन्धी निर्णयले स्वीकृति नपाएको बताए । उनले हिसाब किताब फरफारक तथा लेखा परिक्षणको रिपोर्ट आउने वित्तिकै बोनस सेयर सम्बन्धी निर्णय कार्यान्वयनको बाटो खोलिदिने पनि स्पष्ट पारे । ‘हर हिसाब, सम्पति तथा दायित्वको मिलान नभएसम्म बोनस सेयर नदिन भनेका छौंं’, अध्यक्ष चापागाइँले भने । समितिले कम्पनीलाई कर्मचारीको तलब भत्ता, उपदान तथा नियमित खर्च बाहेकका अतिरिक्त खर्च समेत नगर्न भनेको छ । बीमा संस्थानले आफ्नो लेखा परिक्षण नगराउँदा कम्पनीमा समेत त्यसको नकारात्मक असर परेको हो ।
सिभिल बैंक र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । सिभिल बैंक लिमिटेड र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले रिलायबल नेपाल लाईफसँग उक्त सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा सिभिल बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र रिलायबल नेपाललाईफ इन्स्योरेन्सकातर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरेका छन् । अब रिलायबल नेपाल लाईफ इन्स्योरेन्सका जीवन बीमा सेवालाई सिभिल बैंकका देशभर छरिएका ६८ शाखाहरु मार्पmत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले देशका ग्रामीण भेगलाई बिशेष ध्यानमा राखी विभिन्न जीवन बीमाका योजनाहरु ल्याईएको बताएका छन् । सिभिल बैंकले यस अघिपनि जीवन बीमा कम्पनीहरु मेटलाइफ र एलआईसी नेपाल तथा थुप्रै निर्जीवन बीमा कम्पनीहरुसँग सम्झौता गरी जीवन बीमा तथा निर्जीवन बीमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।