बाध्यतामा पारेर बीमा गराइन्छ, स्वेच्छाले गर्ने वातावरण बनाउँछौ- कमल गौतम
कमल गौतम, महाप्रबन्धक–सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सन नेपाल लाइफ कम्पनीको पछिल्लो अबस्था कस्तो छ ? सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २०७४ साउन १८ गते बीमा समितिबाट लाइसेन्स लिएर असोज ६ गतेबाट सेवा आरम्भ गरेको हो । चैत मसान्तसम्मको रिपोर्ट हामीलाई सन्तोष जनक लागेको छ । हामीले प्रत्येक त्रैमासिकमा राम्रो गरिरहेका छौं । नाफा पनि राम्रै गरेका छौं । चैत मसान्तमा १७ करोड १३ करोड प्रथम बीमा शुल्क आर्जन गरेका छौं जुन पुस मसान्तमा १० करोड २७ लाख मात्रै थियो । पाँच हजार ५ सय ५१ वटा पोलिसी बेच्न सफल भएका छौं । अहिलेसम्मको परपरमेन्सलाई हेर्दा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छि भन्नुपर्ने अवस्थामा छैन् । सन नेपालले क्या राम्रो गर्यो भन्ने अवस्था कहिले आउँछ ? पुराना ९ वटा कम्पनी छन्, नयाँ ९ वटा कम्पनी पनि थपिएका छन् । सबैले एक अर्कालाई नजिकबाट हेरेर प्रतिष्पर्धा गरिरहेका छन् । कसले कसरी बिजनेश गरिरहेको छ भनेर सबैले हेरिरहेका पनि छन् । जसले राम्रो बिजनेश गर्छ, सबैले उसैलाई हेर्ने हुन् । तीब्र प्रतिष्पर्धाका बीच सन नेपालले राम्रो गरिरहेको छ । तपाई इन्स्योरेन्स क्षेत्रको पुरानो व्यक्ति हुनुहुन्छ । बीमा बजारमा कति परिवर्तन देख्नुहुन्छ ? म इन्स्योरेन्स क्षेत्रमा आवद्ध हुँदाको दिन सम्झिरहेको छु । त्यतिबेला भन्दा अहिले बजार धेरै विस्तार भएको छ, फराकिलो बन्दै गएको छ । धेरै किसिमका परिवर्तन पनि भएको छ । अझै हामी धेरै ठाउँमा पुग्न सकिरहेका छैनौं । धेरैले नेपाली अझै पनि बीमा कम्पनी कुरिरहेका छन् जहाँ हामी पुग्ने प्रयास गरिरहेका छौं । अरु बीमा कम्पनी नपुगेको ठाउँमा पुग्ने खास योजना के छन् ? ७/८ महिनाको अवधिमा हामीले २० वटा शाखा स्थापना गरेका छौं । १२ वटा उपशाखा छन् । तत्काल करिव २० वटा शाखा विस्तार गर्ने सोच छ । अभिकर्ताहरुको संख्या करिब ७ हजार पुगिसकेको छ । मासिक ७ सयको हाराहारीमा अभिकर्ता बनाउने गरेका छौं । अभिकर्ताहरुको सक्रियता पनि अहिले बढेको छ । पहिले बजारमा पुगेर लक्षित वर्ग छान्ने भन्ने योजनामा छौं । बजारमा कुन वर्गमा बीमा पुगेको छैन वा कम छ त्यसलाई कसरी समेट्ने भनेर योजना बनाईरहेका छौं । पहिलो बजारमा पुगेर त्यसको अवस्था पत्ता लगाउने अनि त्यस्तै खाले प्रडक्टहरु तयार पार्ने योजना छ हाम्रो । सन नेपालले बीमा पोलिसीहरु कस्तो ल्याएको छ ? बजारमा धेरै कम्पनीका धेरै प्रडक्टहरु छन् । हामीले छोटो अवधिमा नै ७ वटा बीमा पोलिसी ल्याएका छौं । आफ्ना प्रडक्टहरु बेच्न चुनौती चाँही पक्कै पनि छन् । तर बीमा भनेको आवश्यक कुरा हो, नभै नहुने कुरा हो भनेर जुन कम्पनीका अभिकर्ताले बुझाउन सक्छन्, त्यहि कम्पनीमा नागरिकले बीमा गर्छन् । सन नेपाल ब्राण्डिङमा पछाडि परेको हो ? मैले बीमा क्षेत्रमा ४० बर्ष बिताएको छु, २० बर्ष त अभिकर्ता भएरै काम गरेको हुँ । ८ हजार मानिसका घरमा बीमा गराउनु पर्छ भनेर म आफैं पुगेको थिएँ । कम्पनीले बीमा गराउनका लागि ब्राण्डिङ गरेकै भरमा बीमा गराउन मानिस आउँदैनन् । उनीहरुलाई बीमा गराउनुपर्छ भनेर बुझाउनुपर्छ, तब मात्रै कम्पनीमा बीमा गराउन आउँछन् । नागरिकको कमाई अनुसारको बीमा गराउने सुबिधा दिनुपर्छ । सन नेपालले नागरिकलाई बीमा अनिवार्य छ, यो आवश्यकता हो भनेर बुझाउँछौँ, त्यसपछि उनीहरुले यसैमा बीमा गराउनेछन् । भोलि २० लाख रुपैंयाँ आवश्यक पर्न सक्छ, अहिले २ लाखको बीमा गरियो भने भोलि १८ लाख मात्रै खोज्दा हुन्छ । नत्र २० लाख नै खोज्नुपर्ने हुन्छ । हरेक मानिसले आय आर्जन गर्छ, उसले दीर्घकालका लागि कमाईको केहि हिस्सा बचाउनु पर्छ, त्यो भनेका बीमा हुनसक्छ । जति कमाउन सकिन्छ, त्यसबाट केहि हिस्सा आफ्ना सन्तानका लागि जोगाउनुपर्छ भन्ने नै हो । यसका लागि अभिकर्ताले नै राम्रोसँग प्रचार गर्न सक्छन् । ब्राण्डिङले पनि केहि काम भने पक्कै गर्छ । बिहानै गीत वा भजनको साटो कम्पनीको ब्राण्डिङ सम्बन्धी सूचना दिन सकियो भने त्यसले पनि थप काम गर्छ । सन नेपालले ब्राण्डिङका लागि धुर्मुस र सुन्तलीलाई एम्बेसडर बनाएका छौं । हामीले शाखा विस्तार लगायतका काममा उहाँहरुलाई अघि सारेर बीमा चेतना बढाईरहेका छौं । हामीले भन्नु भन्दा धुर्मुस सुन्तलीले बीमा गराउनुस भन्दा त्यसले धेरै राम्रो सन्देश लैजान्छ । के बीमा कम्पनीहरुले नागरिकलाई ‘मैले बीमा गर्नैपर्छ’ भनेर सोच्ने र बीमा कम्पनीमा गएर ‘म बीमा गर्न चाहान्छु, कम्पनीसँग कस्ता कस्ता योजना छन्’ भनेर सोध्ने वातावरण बनाउन सकिदैन ? अहिले हामी जबरजस्ती बीमा गराईरहेका छौं । एउटा व्यक्तिले २० हजारको जागिर खाएर ४ जनाको परिवार पालेर कसरी बीमा गराउन सक्छ ? पल्लो घरे दाइले बच्चा पढाउन बीमा गराएको थियो, अहिले राम्रो भएको छ, बिरामी हुँदा उपचारका लागि पैसा पायो भन्ने ढंगले सन्देश दिएर बीमा गराउने प्रयास भैरहेको छ । अहिले बीमा गराउनेहरुले पनि खान, लाउन कटाएर पनि बीमा गरिरहेका छन् । अत्यावश्यक खर्चलाई नै कटाएर बीमा गराईरहेको प्रसस्तै भेटिन्छ । बीमा सम्बन्धि व्यापक चेतना अभिवृद्धि तथा व्यापक विस्तारपछि मात्रै मानिसहरु कम्पनीको कार्यालयमै आएर बीमा गराउने अवस्था आउन सक्छ । त्यसका लागि बीमा कम्पनी, बीमा समिति, सरकारले मिलेर काम गर्नुपर्छ । बीमा गरेकाहरुको जोखिम हस्तान्तरण भएको छ, नागरिकको अर्थाेपार्जनमा बीमाले सघाएको छ भन्ने सन्देश स्थापित नगराउँदासम्म नागरिक नै कम्पनीमा आएर बीमा गराउनु पर्यो भन्ने दिन आउन मुस्किल छ । पछिल्लो समय करोड भन्दा बढीको बीमाङकसहित बीमा गर्नेको संख्या उच्च दरमा बढेको बताइन्छ । तपाईको कम्पनीको कस्तो छ अवस्था ? पैसावालहरुको संख्या पनि नेपालमा बढेकै छन् । उनीहरुले पनि आफ्नो हैसियत अनुसार बीमा गराएकै छन् । हामीले ५५ हजार ५१ जनाको बीमा गराएर १७ करोड १३ लाख प्रिमियमको बीमा गरिएको छ । त्यसमा साढे चार लाख रुपैंयाँ औषत बीमांक परेको छ । एक पोलिसीको प्रिमियम साइज ३० हजारको हुने देखिन्छ । यद्यपी धेरै पैसा भएकाहरुको बीमा न्युन देखिन्छ भने थोरै पैसा भएकाहरुको संख्या धेरै छ । हामीले करोड करोडका पोलिसी बेचिरहेका छैनौं । बीमा गराएपछि निरन्तरता पनि आवश्यक ठानेका छौं । मुख्य कुरा भनेको मानिसमा बीमाको चेतना हुनुपर्छ । त्यसपछि त उसले आफ्नो आर्थिक हैसियत अनुसार बीमा गराउँछ नै । बीमा क्षेत्रमा जनशक्तिको अभाव छ, कसरी व्यवस्थापन गर्नु भएको छ ? बीमा क्षेत्रमा जनशक्तिको चरम अभाव छ । हामी कहाँ बिशेष क्षेत्रमा बिशेष शिक्षा दिने व्यवस्था नै छैन । पाढ्यक्रमहरुले एउटा कुरा पढाउँछन, काम गर्दा अर्काे खाले काम गर्नु पर्ने बाध्यता छ । त्यसकारण सबै क्षेत्रमा जनशक्ति तानातानको अवस्था देखिएको छ जुन स्वभाविक पनि हो । अवसर र सुबिधाका लागि कम्पनी परिवर्तन गर्नु सामान्य कुरा हो । कम्पनीले सर्वसाधारणको लागि सेयर निष्काशन कहिले गर्छ ? सन नेपाल लाइफको अधिकृत पुँजी २ अर्बको हो । अहिले हामी एक अर्ब ४० करोडको पुँजीमा काम गरिरहेका छौं । ६० करोडको आइपीओ ल्याउने तयारी छ । त्यसका लागि एक आर्थिक वर्षको व्यालेन्ससिट तयार भएपछि मात्रै आइपीओ ल्याउन पाउने व्यवस्था छ । त्यसका लागि हामी काम गरिरहेका छौं । असोज मसान्तसम्ममा ब्यालेन्ससिट तयार पारिसक्छौं, एक्चुरीका लागि अधिकतम एक महिना लाग्न सक्छ । त्यसपछि आईपीओ निकाल्ने व्यवस्था अघि बढाउछौं । २०७५ साल भित्र आइपीओ ल्याइसक्छौं । ढिलोमा चैत र त्यो भन्दा चाँडो पनि आउन सक्छ हाम्रो आइपीओ । न्यूनतम दुई अर्ब पुँजी भएको १८ वटा बीमा कम्पनीबीच प्रतिस्पर्धा चलेको छ । लगानीकर्ताले नाफा कहिले पाउँछन् ? बजार सानो छ । मानिसको क्रयशक्ति कमजोर छ । बीमा गर्न सक्ने जनशक्ति थोरै छ । १८ वर्षदेखि ४० बर्षका मानिस एक तिहाई छन् । तीमध्ये धेरै विदेश गएका छन् । तीनलाई बीमामा समेट्न समय लाग्छ । २ सय करोडको व्यवसाय अधिकतम ३ वर्ष भित्र पुर्याउँछौं । सञ्चालनमा आएको तेश्रो वर्षपछि लगानीकर्ताले राम्रै प्रतिफल पाउनेछन् ।
सिद्धार्थ बैक र नेशनल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । सिद्धार्थ बैंक र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्ससेवा सम्बन्धि सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा, सिद्धार्थ बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वर बस्याल र नेशनल लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुखकार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरेका छन् । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बस्यालले अबदेखि नेशनल लाइफ ईन्स्योरेन्समा जीवन बीमा गर्ने ग्राहकहरुलाई जीवन बीमा सम्बन्धि सेवाहरु सिद्धार्थ बैकंको सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुने बताएका छन् । साथै, जीवन बीमाको प्रिमियम तथा नविकरण प्रिमियम सिद्धार्थ बैकं मार्फत सजिलै बुझाउन सकिने उनले जानकारी दिए । बैंकले हाल देशभर ११२ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, ११६ एटीएम र ८०० भन्दा बढी पीओएस् मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
हरेक क्षेत्रमा अगुवाई गर्दै शिखर इन्स्योरेन्स, हजार रोगको उपचारसहित स्वास्थ्य बीमामा फोकस
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी निर्जीवन तर्फको अगुवा कम्पनी हो । हाल १८ वटा निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यसमध्ये १५ औं कम्पनीको रुपमा १४ वर्षअघि स्थापना भएको यो कम्पनी धेरै कोण र आधारबाट सबैभन्दा राम्रो बीमा कम्पनी भएको छ । एक अर्ब ५ करोड चुक्ता पुँजी भएको यो कम्पनी पुँजीको आधारमा पनि सबैभन्दा ठूलो निर्जीवन बीमा कम्पनी हो । यस कम्पनीले चालु आर्थिक वर्षमा २ अर्ब ७७ करोड रुपैयाँ प्रिमियम आम्दानी गरेको छ । जुन निर्जीवन तर्फको कुल बजारको करिव १७ प्रतिशत हिस्सा हो । अरु कुनै पनि कम्पनीले कुल बजारको १० प्रतिशतभन्दा बढी हिस्सा लिन सकेका छैनन् । त्यस्तै यस कम्पनीले बीमा पोलिसी संख्या २ लाख ६५ हजार भन्दा बढी बिक्री गरेको छ जुन कुल बजारको १९ प्रतिशत भएको कम्पनीले जनाएको छ । कम्पनीको शाखा हाल ७५ वटा छन् । निकट भविष्यमा शाखा संख्यालाई १०० भन्दा बढी बनाउने कम्पनीको योजना छ । शाखा सञ्जालको आधारमा पनि शिखर इन्स्योरेन्स कम्पनी नम्बर वान छ । लगानीकर्तालाई दिने लाभांशको आधारमा पनि शिखर इन्स्योरेन्स कम्पनी अरु भन्दा अगाडि छ । पछिल्लो छ वर्षमा कम्पनीले सेयरधनीलाई वार्षिक कम्तिमा २० र बढीमा ६० प्रतिशतसम्म बोनस दिएको छ । सञ्चालनमा आएको १३ वर्षमा लगानीकर्तालाई नगद र बोनस सेयर गरी २३६ प्रतिशत लाभांश वितरण गर्न सफल भएको छ । कम्पनीको नेटवर्थ १ अर्ब ७७ करोड रुपैयाँ छ । चैत मसान्तसम्ममा कम्पनीले ३३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जनशक्ति विकास, प्रोफेशनालिजम्को विकास र जनचेतना वृद्धि जस्ता कार्यमा पनि शिखर इन्स्योरेन्स कम्पनी सबैभन्दा अगाडि रहेको बताउँछन् यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे । कम्पनी सेवाग्राहीप्रति पनि उच्च सर्तक र प्रतिवद्ध छ । ‘हामीले एक आर्थिक वर्षभित्रमा १ अर्ब ३ करोड रुपैयाँसम्म बीमितको दावी भुक्तानी गरेका छौं । बीमा विश्वासमा चल्ने संस्था भएको, समस्या पर्दा बीमा कम्पनीले सहयोग गर्छ भन्ने विश्वासका आधारमा बीमा गरिने भएकोले बीमितको दावी भुक्तानी समयमा नै गर्दै आएको र बीमितको विश्वास कै कारण कम्पनी अग्रस्थानमा उभिन सफल भएको पाण्डे बताउँछन् । कम्पनीले धेरै क्षेत्रमा अगुवाई गरेको छ । कम्पनीले पहिलो पटक मौषम सूचकमा आधारित बीमा सेवा प्रदान गर्दै आएको छ । जुन किसानलाई निकै उपयोगी भएको छ । कम्पनीले नेपालमा पहिलो पटक जटिल रोगको बीमा शुरु गरेको छ भने क्यासलेस हेल्थ इन्स्योरेन्स सर्भिश शुरु गरेको छ । स्वास्थ्य बीमामा फोकस ‘मानिसहरुमा लाग्ने रोग पनि वृद्धि भईरहेको छ, उपचार खर्च पनि बढिरहेको छ । यस समस्याको समाधान अन्ततःस्वाथ्य बीमा नै हो’ पाण्डे भन्छन्–‘त्यसैले हामीले एक हजार भन्दा बढी रोगको उपचार हुने गरी स्वास्थ्य बीमा योजना लागू गरेका छौं ।’ १००० रोग भनेको विश्वभरमा देखिने अधिकांश रोग हुन् जसको उपचार हुन्छ । पाण्डेका अनुसार यी रोगहरुको पहिचाहन भएको छ र यस्ता रोग लाग्यो भने उपचार खर्च कति हुन्छ भनेर रिसर्च गर्ने पनि भईसकेको छ । हरेक प्रकारको रोगको बीमा गरिएको हुने र बीमा गरिएका रोगहरुको सूचि बीमा पोलिससँगै बीमितलाई दिने पुस्तिकामा उल्लेख गरिएको हुन्छ । ‘कुनै जोखिम बढी हुन्छ, कुनै रोगको उपचार विधि जटिल हुन्छ । तर सामान्यतय धेरै रोगको उपचार कति हुन्छ भनेर स्पष्ट नै भएका हुन्छन्’ पाण्डेले भने–थोरै खर्च हुने निश्चित प्रकारको उपचारको तत्काल भुक्तानी हुन्छ । स्वास्थ्य बीमा सेवा प्रभावकारी बनाउन थर्ड पार्टी एडमिनिस्ट्रेटर आवश्यक रहेको उनी बताउँछन् । ‘थर्ड पार्टी एडमिनिस्ट्रेटरको लागि अहिले कानुनी प्रबन्ध छैन । नयाँ कानुनमा थर्ड पार्टी एडमिनिस्ट्रेटरको व्यवस्था गर्न हामीले बीमा समितिलाई सुझाव दिएका छौं’ उनले भने । थर्ड पार्टी एडमिनिस्ट्रेटरको सेवा व्यक्तिले पनि दिन सक्छ । संस्थागत रुपमा यस्तो सेवा दिने कम्पनीहरु पनि आउनसक्छन् । बीमा कम्पनीहरुले ग्राहकलाई बीमा सेवा दिन्छन् । विरामी परेपछि बीमितले लिने उपचार, उसले पाउने सुविधा, उसले गरेको खर्च सबै एडमिनिस्ट्रेटरले हेर्छ । अस्पतालले विरामीसँग उचित शुल्क लिएको छ कि बढी लिइहेको छ कि छैन ? बीमितले बील सहि रुपमा पेश गरेको छ कि गडबडी गरेको छ भनेर थर्ड पार्टी एडमिनिस्ट्रेटरले हेर्छ । ‘थर्ड पार्टी एडमिनिस्ट्रेटरले अस्पताल र बीमा कम्पनीबीच पुलको काम गर्छ । उसले डाटा म्यानेज गर्ने, भुक्तानी गर्ने काम गर्छ’ उनले भने । योजनाबद्ध रुपमा अस्पतालमा जानुछ भने बीमा कम्पनीलाई जानकारी दिएर उपचार गर्दा झनै सजिलो हुन्छ । पूर्व समय तालिका अनुसार अस्पतालमा भर्ना भएर, उपचार गरेर आरामले फर्कन सकिन्छ । थर्डपाटी एड्मिनिस्ट्रेटरले सबै बस्दोबस्त मिलाई दिएको हुन्छ । अकस्मात विरामी पर्ने वा अकस्मात अस्पताल जानु पर्ने अवस्थामा विरामीले पहिला भुक्तानी गरेर पछि बीमा दावी गर्न सक्छन् । ‘हामीले देशका ठूला २२ अस्पतालहरुमा नगदरहित कारोबार गर्ने गरी उपचारको सम्झौता गरिसकेका छौं । भारतमा थर्डपार्टी एड्मिनिस्ट्रेटर सिस्टममा गएको ६ वटा ठूला अस्पतालमा उपचार गर्दा पनि बीमा सुविधा प्राप्त गर्न सकिन्छ । नक्कली विलको समस्या नक्कली विल पेस हुने समस्याबाट बीमा कम्पनीहरु सफर छन् । पाण्डे भन्छन्–‘अरु क्षेत्रमा जस्तै बीमा क्षेत्रमा पनि मोरल हजाड रिस्क (अनैतिक कार्यबाट हुने जोखिम) हुन्छ । यस्तो समस्या क्रमशः नियन्त्रण हुँदै गएको छ । खासगरी थर्डपार्टी एड्मिनिष्ट्रेटर भएको अवस्थामा समस्या हुँदैन । ‘एउटा केस हामीकोमा आयो । ५० हजारको तीन वटा एन्टिवाइटिकङ खाएको भनेर बीलसहित बीमा दावी भयो । लगत्तै ती महिलाले बच्चा पाईन, सबै कुरा राम्रो भयो । हामीले पत्ता लगायौ कि दावी गरिएअनुसारको औषधि सेवन गरेको भए ती महिलाले पाउने वच्चा बाँच्ने सम्भावना शून्य हुनेथियो । त्यस्तो खतरा औषधि थियो त्यो । पछि त्यो दावी फिर्ता भयो’ विकृतिको उदाहरण उनले दिए । नेपालीहरु वर्तमानमा भन्दा भविष्यप्रति बढी चिन्तित हुन्छन् । जुन देशमा सरकारले नागरिकलाई स्वाथ्य सुविधा राम्रो दिएको छ, निशुल्क स्वास्थ्य उपचार दिन्छ, त्यो देशमा नागरिकहरु भविष्यप्रति धेरै चिन्तित हुँदैनन् । तर नेपाल जस्तो देशमा स्वास्थ्यप्रति सबै चिन्तित बन्नु परेको छ । ‘हामीले शुरुमा भारतको बीमा रेटलाई नेपालमा लागू गर्यौ । तर नेपालमा बीमा दावी कम आयो । त्यसपछि बीमा शुल्क दर एकपटक २० प्रतिशत, अर्को पटक १५ प्रतिशत गरेर दुई पटक घटाईसक्यौ’ उनी भन्छन्–बीमा गर्ने अभ्यास आम रुपमा बढ्दै जाने हो भने बीमा शुल्क झनै घट्नेछ । पछिल्लो समय कर्पोरेट क्षेत्रले आफ्न कर्मचारीको सामूहिक स्वाथ्य बीमा गराउने अभ्यास बढेको छ । तर सर्वसाधारणमा स्वाथ्य बीमाको अभ्यास कम नै छ । बीमा गर्नेहरु मध्ये जसले उपचार गर्नुपर्यो उसले फेरि बीमा गर्छ । तर एक वर्ष बीमा गरे, विरामी भएन भने मानिसहरु अनावश्यक खर्च भयो भनेर सोच्छन् त्यो गलत हो, पाण्डे भन्छन्–‘बीमालाई खर्च मान्ने होइन, लगानी सम्झनुपर्छ ।’ याे पनि बोनस सेयर दिएर दुई अर्ब रुपैयाँ चुक्ता पुँजी बनाउन सक्षम छौं -दीपप्रकाश पाण्डे