नेशनल लाइफ इन्स्योरेन्सको हकप्रद सेयर साउन १ देखि, असार २१ सम्म कायम भएकाले भर्न पाउने
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन १ देखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी बढाउन ९९ करोड ३६ लाख ४७ हजार रुपैयाँ बराबरको ९९ लाख ३६ हजार ४७० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन भदौ १ गते बन्द हुने बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । असार २१ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई कायम रहेका सेयरधनीले मात्र हकप्रद भर्न पाउने छन् । हकप्रद बाँडफाँडपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ६४ करोड ९७ लाख रुपैयाँ पुग्ने छ । हाल १ अर्ब ६५ करोड ६० लाख रुपैयाँ चुक्तापुँजी छ । कम्पनीमा संस्थापक सेयरधनी नेपालीको ४५, विदेशी संस्थापकको १०, सर्वसाधारणको ३५ र राष्ट्रिय वाणिज्य बैंकको १० प्रतिशत स्वामित्व रहेको कम्पनीले जनाएको छ ।
सानिमा लाईफ इन्स्योरेन्सका ग्राहकलाई नेपाल मेडिसिटि अस्पतालमा १० प्रतिशत छुट
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सका ग्राहकहरुले नेपाल मेडिसिटि अस्पतालमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । ग्राहक तथा कर्मचारीको सुलभ उपचारका लागि इन्स्योरेन्सले नेपाल मेडिसिटि अस्पतालसंग सम्झौता गरेको हो । उक्त सम्झौता पत्रमा अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमाल र सानिमा लाईफ इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशव राज केसीले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात जीवन बीमाका लागि ग्राहकहरुको पूर्व स्वास्थ्य परिक्षण अब मेडिसिटि अस्पताले गर्ने भएको छ भने त्यसको सम्पूर्ण व्यवस्थापन बीमा कम्पनीले गर्ने छ । अब इन्स्योरेन्सका ग्राहक र कर्मचारी दुबैले उपचार खर्च, औषधि र डाक्टरसंगको परामर्शमा अस्पतालले १० प्रतिशतसम्मको सहुलियत पाउने छन् । नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले, सानिमा लाईफ इन्स्योरेन्सको माध्यमबाट क्यासलेस स्वास्थ्य परिक्षण गराउन पाएकोमा खुशी व्यक्त गरेका छन् । कम्पनीका नायव महाप्रबन्धक केशवराज केसील ग्राहकहरु र कर्मचारीहरुको स्वास्थ्यको लागि विभिन्न योजनाहरु ल्याउनु साथै अस्पतालसंग निरन्तर काम गर्ने अपेक्षा रहेको बताएका छन् ।
आइएमई जनरल इन्स्योरेन्स र कुमारी बैंकबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र कुमारी बैंक लिमिटेडबीच बैंकास्योरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र कुमारी बैंकको तर्फबाट बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले कुमारी बैंकका जुनसुकै शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्सले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् । साथै, बैंकका सीईओ श्रेष्ठले सबै ग्राहकहरुलाई बैकिङ् सेवा लिइरहेको शाखाहरु मार्फत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा लिन आग्रह गरेका छन् ।