प्रिमियर इन्सोरेन्सले ६ करोड ९५ लाख बोनस शेयर जारी गर्यो, अब चुक्ता पूँजी ५८ करोड ४० लाख पुग्ने

काठमाडौं । सोमबार प्रिमियर इन्स्योरेनस कम्पनीको २४ औं वार्षिक साधारण सभा नक्साल व्याङ्क्वेट, नक्सालको सभा कक्षमा सम्पन्न भएको छ । कम्पनीको गएको आर्थिक वर्ष २०७३/७४ मा कुल बीमा शुल्क १ अर्ब ३४ करोड ८८ लाख २१ हजार रुपैयाँ आर्जन गरि खुद मुनाफा रु १५ करोड ५८ लाख आर्जन गरेको जनाएको छ । उक्त मुनाफाबाट बीमा कोषमा रु ७ करोड ७९ लाख सारी बाँकी रकम तथा गत आर्थिक वर्षसम्मको वितरण नभएको जगेडा समावेश गरि हाल हकप्रद शेयर जारी पश्चात कामय चुक्ता पूँजीको १३.५२ प्रतिशतका दरले रु ६ करोड ९५ लाख रकम बराबरको बोन शेयर जारी गरेको छ । साथै बोनश शेयरको कर प्रयोजनको लागि ३६ लाख ५९हजार ७४९ रुपैयाँ नगद लाभांशको व्यवस्था साधारण सभाबाट पारित भएको कम्पनीले जानकारी गराएको छ । कम्पनीको अनुसार सो जारी बोनस शेयर पश्चात कम्पनीको चुक्ता पूँजी रु ५८ करोड ४० लाख पुग्नेछ । साथै कम्पनीले चालु आर्थिक वर्ष २०७४/७५ मा हालसम्म १ अर्ब १० करोड १० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको कम्पनीको भनाइ छ ।

आइएमई इन्स्योरेन्स र मौरीपालन सहकारी संघबीच मौरीको बीमा गर्ने सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल मौरीपालन केन्द्रीय सहारी संघ लिमिटेडबीच संघसँग आवद्ध मौरीपालक कृषकहरुको मौरीको बीमा गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक शरण रेग्मी र सहकारी संघ लिमिटेडका अध्यक्ष अर्जुनप्रसाद पोखरेलले संयुक्त रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सम्झौतापश्चात उक्त सहकारीसँग आवद्ध सबै मौरीपालक कृषकहरुको मौरीको बीमा हुनेछ । सोही अवसरमा इन्स्योरेन्सका नायव महाप्रबन्धक रेग्मीले बीमा बजारमा मौरीको बीमा गर्ने बीमालेख भएतापनि आजसम्म खासै मौरीपालक कृषकहरुले आफ्ना मौरीहरुको बीमा गराईनसकेकोे जानकारी गराए । सो अवस्थामा संघसँगको संझौताबाट थोरै बीमा शुल्कबाट मौरीपालक कृषकहरुले आफ्ना मौरीको बीमा गरी ढुक्कसँग व्यावसायलाई विस्तार गर्न उत्साह पुग्ने उनले अपेक्षा गरे । सहकारी संघ लिमिटेडले आफ्ना सदस्य कृषकहरुको व्यावसायीक हितलाई सदैव ध्यानमा राखी सराहनीय कार्य गरेको जनाइएको छ ।

विद्युतीय दुर्घटनामा पनि तेस्रो पक्ष बीमा लागु गर्ने तयारी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले विद्युतीय दुर्घटनाले निम्त्याउने वित्तीय जोखिम न्यूनिकरण गर्न तेस्रो पक्ष बीमा आवश्यक भएको बताएका छन् । नेपाल विद्युत प्राधिकरण र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपालले विद्युतीय सुरक्षा दिवसका अवसरमा सोमबार राजधानीमा गरेको कार्यक्रममा मन्त्री पुनले विद्युतीय दुर्घटनामा पनि तेस्रो पक्ष बीमा लागू गर्न अगाडि बढ्नु पर्ने औल्याए । ‘यातायात क्षेत्रमा तेस्रो पक्ष बीमा लागू गरिएकाले सडक दूर्घटना हुँदा क्षतिपूर्तिको माग राख्दै सडक अवरुद्ध गर्ने लगायतका क्रियाकलाप रोकिएका छन् भने पीडितले पनि क्षतिपूर्ति पाएका छन्’,उनले भने,‘यसलाई विद्युतीय दुर्घटना पनि लागू गर्न सकियो भने वित्तीय जोखिम न्यूनिकरण गर्ने उपयुक्त विकल्प हुन सक्छ, यतातर्फ पनि अगाडि बढ्नु पर्छ ।’ प्राधिकरणका अनुसार, २०६८को असारबाट हालसम्म ७५२ विद्युतीय दुर्घटना भएका छन् । विद्युतीय दुर्घटनाबाट शारीरिकरुपमा अंगभंग भएका व्यक्तिको उपचार खर्च र मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति वापत १२ करोड २० लाख रुपैयाँ खर्च भएको छ । चालू आर्थिक वर्षमा मात्रै विद्युतीय दुर्घटनामा परी ८ जनाएको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच जना प्राधिकरणका कर्मचारी र तीन जना सर्वसाधारण छन् । सुरक्षा सम्बन्धी उपकरण प्रयोग नगरी काम गर्दा हालसम्म भएका दुर्घटनामा ५० प्रतिशतभन्दा बढी प्राधिकरणकै कर्मचारी पर्ने गरेका छन् । हावाहुरी, चट्याङ जस्ता प्राकृतिक प्रकोप, प्राधिकरणको जीर्ण बितरण प्रणाली, धेरै लामो तारमार्फत विद्युतीकरण,घरायसी प्रयोजनका लागि कमसल विद्युतीय उपकरणको प्रयोग, हुकिङबाट विद्युत चोरी, जनचेतनाको अभावआदि कारणले विद्युतीय दुर्घटना हुने गरेको छ । ऊर्जा सचिव एवं प्राधिकरण सञ्चालक समिति अध्यक्ष अनुपकुमार उपाध्यायले मुलुकको विकासका लागि विद्युत बरदान भए पनि यसमाथि गरिने सानो लापरबाहीले ठूलो जनधनको क्षति हुनेतर्फ सबै सचेत हुनु पर्ने बताए । उनले भने ,‘कति पय अवस्थामा सेवा प्रदायकका हिसावले सुरक्षामा ध्यान नदिएर हामीबाटै लापरबाही भएको छ, सुरक्षामा कसैले खेलवाड नगरौं ।’ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय दुर्घटनाका कारण प्राधिकरणलाई अतिरित्त वित्तीय बोझ बढेको जानकारी दिए । ‘दुर्घटना परेकाको उपचार खर्च तथा मृत्यु भएकालाई क्षतिपूर्ति वापत प्राधिकरणलाई वाध्यात्मक वित्तीय दायित्व सिर्जना भएको छ’,घिसिङले भने,‘तसर्थ सुरक्षात्मक उपाय अपनाउनु भनेको मानवीय क्षति घटाउनु मात्रै नभई प्राधिकरणको वित्तीय अवस्था पनि सुधार गर्ने अभियान हो ।’ यस वर्षको विद्युतीय सुरक्षा दिवसको नारा ‘विद्युतीय सुरक्षा,चुहावट नियन्त्रण र किफायति उपयोग ः सम्वृद्धिको लागी विद्युतको उत्पादनशील प्रयोग’ तय गरिएको छ । सभा हुनु विद्युतीय सुरक्षाका विषयमा जानकारी दिन आयोजना गरिएको र्याली प्राधिकरण केन्द्रीय कार्यालयबाट रत्नपार्कबाट सुरु भई भद्रकाली, सुन्धारा, न्यूरोड गेट, हुँदै रत्नपार्क पुगेर टुङगिएको थियो । नेपाल विद्युत प्राधिकरण र सोसाइटि अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल को संयुक्त आयोजनामा गत वर्षबाट विद्युतीय दुर्घटनाबारे जनचेतना दिन हरेक वर्ष २६ चैतमा ‘विद्युतीय सुरक्षा दिवस’ मनाउन सुरु गरिएको थियो ।