सिभिल बैंक र मेटलाइफबीच बैंकासुरेन्स सम्झौता, बीमा योजनाहरु प्रदान गर्ने

काठमाडौं । सिभिल बैंक लिमिटेड र मेटलाइफबीच बैंकासुरेन्स सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीइओ) गोविन्द गुरुङ र मेटलाइफका तर्फबाट महा-प्रबन्धक निर्मलकाजी श्रेष्ठले हस्ताक्षर गरेका छन् । बैंकले जीवन बीमा सेवालाई अझ विस्तार गर्ने उद्देश्यले मेटलाइफसंग सम्झौता गरेको हो । यस सम्झौताबाट बैंकले मेटलाइफको विविध जीवन बीमा योजनाहरु प्रदान गरी आफ्ना ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकका सीइओ गुरुङले बताएका छन् । साथै, बैंकले यस अघि निर्जीवन बीमा सेवा पनि उपलब्ध गराउँदै आइरहेको छ ।

प्राइम लाईफ इन्स्योरेन्सले ३२ प्रतिशत बोनस सेयर दिने, हकप्रद भर्नेले पनि पाउने

काठमाडौं । प्राइम लाईफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ३२.५ प्रतिशत बोनस दिने भएको छ । कम्पनीले सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट असार मसान्तसम्मको चुक्ता पुँजीको सो मात्रा अर्थात १९ करोड ८३ लाख रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको छ । गत असार मसान्तसम्म कम्पनीको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ रहेको थियो । त्यसमा ३२.५ प्रतिशत बोनस पश्चात इन्स्योरेन्सको पुँजी ८१ करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ । साथै, कम्पनीले सो बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागी आवश्यक रकम नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको छ । उक्त निर्णय माघ २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई बीमा समितिले स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाबाट पारित हुनु पर्ने छ । कम्पनीको गत भदौ २७ गते सम्पन्न सातौँ, आठौँ, नवौँ र दशौँ वार्षिक साधारणसभाले चुक्ता पुँजीको १६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय पारित गरेको थियाे । हाल कम्पनी सो मात्राको हकप्रद निष्कासन गर्ने प्रक्रियामा रहेको छ । त्यस्तै, हकप्रद पश्चात कायम हुने पुँजीमा उक्त बोनस सेयर वितरण गर्ने कम्पनीले जनाएको छ । साथै, कम्पनीले जारी गर्ने हकप्रदमा आवेदन दिनेले पनि ३२.५ प्रतिशत बोनस सेयर पाउने इन्स्योरेन्सले जनाएको छ ।

नेशनल लाईफ इन्स्योरेन्सको नयाँ शाखा न्यूरोडमा, ट्रेडिङ्ग इन्स्टिच्यूट खाल्ने तयारी

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नयाँ शाखा कार्यालय न्यूरोडमा सञ्चालन गरेको छ । बुधबार बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले उक्त नयाँ शाखाको उद्घाटन गरेका हुन् । शाखा उद्घाटन कार्यक्रममा बोल्दै कम्पनीको अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहले कम्पनीको व्यवसाय बृद्धि गर्ने क्रममा यस क्षेत्रका ग्राहकहरुलाई सेवा विस्तारमा सहयोग पुर्याउने प्रयोजनको लागि नयाँ शाखा खोलिएको बताएका छन् । सिंहले कम्पनीको जारी बीमालेख संख्या ८ लाख नाघेको र बीमितहरुको लागि ६१-८० को उच्चतम बोनस दर कायम गर्न सफल रहि नेपालको जीवन बीमा बजारमा कम्पनीको योगदान रहेको बताएकी छन् । कार्यक्रममा बीमा समितिको अध्यक्ष चापागाईले कम्पनीको प्रस्तावित ६० प्रतिशत हकप्रद शेयर जारी भएपछि २०७५ साल असार मसान्त भित्र चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्ने बताएका छन् । अध्यक्ष चापागाईले यस क्षेत्रमा बीमालेख व्यतित हुने समस्या (ल्याप्स रेसियो) बारे सुधार गर्नु पर्ने र यसको लागि अभिकर्ता र कर्मचारीलाई राम्रोसंग तालिम दिन आवश्यक रहेको बर्ताएका छन् । साथै, अध्यक्ष चापागाईले गुणस्तरीय जनशक्तिको व्यवस्था गर्न बीमाको उच्च स्तरीय पढाईको लागि छलफल र सम्पुर्ण बीमा कम्पनीहरुको संयुक्त प्रयासमा एउटा तालिम प्रदान गर्ने संस्था (ट्रेडिङ्ग इन्स्टिच्यूट)को व्यवस्था भैरहेको बताएका छन् ।