कालो सूचिमा परेका प्राइम लाइफ इन्स्योरेन्सका संस्थापकले हकप्रद भर्न नपाउने

काठमाडौं । कर्जा सुचना केन्द्रको कालो सुचीमा परेका प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापकहरुले हकप्रद सेयर भर्न नपाउने भएका छन् । कम्पनीले संस्थापक लगानी कर्ताहरुलाई माघ २९ गतेभित्रै आफ्नो हिस्सा बराबरको हकप्रद सेयरको रकम जम्मा गर्न भनेको छ । तर कम्पनीले कालो सूचिमा परेका संस्थापकहरुले भने हकप्रद भर्न नपाउने स्पष्ट पारेको छ । प्राइमले पहिलो पटक बैंकको कर्जा नतिरेर कालो सुचिमा परेका संस्थापक सेयरधनीलाई हकप्रद निदिने जानकारी गराएको हो । कम्पनीले चुक्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्न लागेको छ । सर्वसाधारणमा हकप्रद निष्कासन गर्नुअघि संस्थापकले आफनो हिस्सामा पर्न आउने सेयर रकम बुझाउन भनेको छ । कालो सुचीमा भएकाले हकप्रद सेयर किन्न नपाउने अनिवार्य व्यवस्था नभएपनि कम्पनी आफुले यस विषय निर्णय गर्न सक्ने छन् । प्राइमले चुक्तापुँजी बढाउन १ बराबर १ः६० को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । सर्वसाधारण सेयरधनीलाई हकप्रद सेयर निष्कासनको सुचना प्रकाशित गर्नुअगावै धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिकामा भएको व्यवस्थाअनुसार हकप्रद निष्कासन गर्नुपर्ने कम्पनीले जनाएको छ । कम्पनीको गत भदौ २७ गते सम्पन्न सातौ, आठौ, नवौ र दशौं वार्षिक साधारणसभाले २५ प्रतिशत बोनस सेयर वितरण गरेर चुक्तापुँजी ६१ करोड २ लाख रुपैयाँ पुगेको छ । बीमा समितिले चालु आर्थिक वर्षभित्र जीवन बीमा कम्पनीलाई २ अर्ब रुपैयाँ चुक्तापँुजी पुर्याउन निर्देशन दिएको छ । कम्पनी स्थापना गर्दा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिइ कालोसुचिमा परेका व्यक्ति तथा संस्थाले संस्थापक सेयर खरिद गर्न नपाउने व्यवस्था छ । तर पछि हकप्रद सेयर खरिदको विषयमा यस्तो व्यवस्था नभएको बीमा समितिका नियमन विभाग प्रमुख शाम्भराज लामिछानेले बताए ।

जनता बैंक र सगरमाथा इन्स्युरेन्सबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । जनता बैक नेपाल लिमिटेड र सगरमाथा इन्स्युरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्धार सेवा प्रणाली मार्फत जीवन तथा निर्जीवन बीमा सेवा दिने अभिप्रायले उक्त सम्झौता गरेको हो । जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र सगरमाथा इन्स्युरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बैंकासुरेन्स सेबा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात ग्राहकहरुले जनता बैंकको सबै शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

स्टयाण्डर्ड चार्टड बैंक र शिखर इन्स्योरेन्सबीच बैंकएस्योरेन्स सम्झौता सम्पन्न

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लि. र स्टयाण्डर्ड चार्टड बैंक नेपाल लिमिटेडबीच बैंकएस्योरेन्स सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा स्ट्याण्डर्ड चार्टड बैंकका प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानुस र शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले एक समारोहका बीच हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात बैंकका सेवाग्राहीहरुले सुलभ रुपमा शिखर इन्स्योरेन्सबाट अग्नि बीमा, मोटर बीमा, स्वास्थ्य बीमा, दुर्घटना बीमा, यात्रा चिकित्सा बीमा लगायत विभिन्न निर्जिवन बीमा सेवा प्राप्त गर्न सक्नेछ । शिखर इन्स्योरेन्सको विस्तारित शाखा संजालको माध्यमबाट स्टयाण्डर्ड चार्टड बैंकका ग्राहकले सुलभ रुपमा बीमा सुविधा तथा दाबी फछ्र्यौट सुविधा प्राप्त गर्न सक्ने इन्स्योरेन्सले जनाएकाे छ । सम्झौता पश्चात माघ १८(आजै) बाट नै शिखरले बैंकका ग्राहकलाई बीमा सेवा प्रदान गरिएको छ ।