मोटर बीमा सम्बन्धी नयाँ निर्देशिका आयो, कसले कति क्षतिपूर्ति पाउने ?
बीमा समितिले मोटर बीमा दर सम्बन्धी निर्देशिका,२०७३ जारी गरेको छ । नयाँ निर्देशिका अनुसार यात्रु, सवारी हाँकिरहेको व्यक्ति वा बीमितको मृत्यु भएमा पाँच लाख क्षतिपूर्ति दिनुपर्नेछ । सरकारले आगामी आर्थिक वर्षका लागि संसद्मा पेस गरेको बजेटमा तेस्रो पक्ष दुर्घटना बीमा र यात्रुको बीमा रकम बराबर हुने व्यवस्था गरेपछि बीमा समितिले नयाँ निर्देशिका जारी गरेको हो । यो निर्देशिका आगामी साउने १ गतेदेखि लागू हुने बीमा समितिले जनाएको छ । त्यस्तै, बीमित पूर्ण स्थायी अशक्तता भएमा, निको नहुने गरी दुवै आँखाको दृष्टी क्षति भएमा, दुवै हातको नाडी वा दुवै खुट्टाको गोली गाँठोको जोर्र्नी वा सो भन्दा माथि देखि शारीरिक रुपले काम नलाग्ने भएमा, एउटा हातको नाडी वा एउटा खुट्टाको गोली गाँठोको जोर्नी वा सो भन्दा माथि देखि र एउटा आँखाको दृष्टी पूर्ण रुपले क्षति भएमा पाँच लाख क्षतिपूर्ति पाउने छ । एउटा आँखाको दृष्टी पूर्णरुपले क्षति भएमा, एउटा हातको नाडी वा एउटा खुट्टाको गोली गाँठोको जोर्नी वा सो भन्दा माथि देखि शारीरिक रुपले काम नलाग्ने गरी क्षति भएमा दुई लाख पचास हजार क्षतिपूर्ति पाउने छ । अन्य कुनै अंग भंग भएमा, शारीरिक क्षतिको समानुपातिक हुने गरी बीमाङ्कको प्रतिशत सवारी साधन दुर्घटनाको प्रत्यक्ष तथा एक मात्र परिणाम स्वरुप भएको औषधोपचार खर्च तीन लाख रुपौयाँको हदमा नबढ्ने क्षतिपूर्ति हुनेछ । यात्रु, सवारी हाँकिरहेको व्यक्ति वा बीमित घाइते भई उपचारको लागि अस्पतालमा भर्ना भएको प्रमाणित भएमा त्यस्तो अवधिको लागि प्रति दिन पाँच सय रुपैयाँको दरले बढिमा पंैतालीस दिन सम्मको कुरुवा खर्च औषधोपचार खर्च बीमा कम्पनीले दिनुपर्नेछ । दुर्घटनास्थलबाट वा प्रारम्भिक चिकित्सा अस्पतालबाट अर्को अस्पतालमा लैजानु पर्ने भएमा १० हजार वा वास्तविक खर्च जुन कम हुन्छ सम्बन्धित एम्बुलेन्सको बीलको भुक्तानी दिइनेछ र यस्तो खर्च औषधोपचारको सीमा भित्र रहनेछ । यात्रु, सवारी हाँकिरहेको व्यक्ति वा बीमितको मृत्युभएमा कृया खर्च वापत प्रति मृतक पचास हजार रुपैयाँ (बीमकको कूल प्रति मृतक दायित्व पाँच लाख रुपैयाँको सीमा भित्र रही) बीमकले तत्काल भुक्तानी दिनेछ । आफैले जानाजान लगाएको चोट, आत्महत्या वा आत्महत्याको प्रयासबाट वा मादक पदार्थ वा लागू पदार्थको सेवनबाट दुर्घटनामा परी त्यसको परिणाम स्वरुप भएको हानि–नोक्सानी वापत बीमकले कुनै क्षतिपूर्ति दिने छैन ।
लुम्बिनी बैंक र प्रुडेन्सियल इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता
काठमाडौं, २४ असार । लुम्बिनी बैंक लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख–बजार व्यवसथापान विभागका रितेश लामिछाने र इन्स्योरेन्सका तर्फबाट नायब महाप्रबन्धक तुलसी नारायण मानन्धरले हस्ताक्षर गरेका हुन् । यस सेवा अन्तर्गत बैंकका सम्पूर्ण ग्राहकवर्गहरुले निरजीवन बिमा सेवा सुलभ र छरितो रुपमा बैंकका सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपाल बैंक र सेन्ट्रल बैंक अफ ईण्डियाबीच रेमिट सम्झौता
काठमाडौं, २३ असार । नेपाल बैंक र भारतको सेन्ट्रल बैंक अफ ईण्डियाबीच मुम्बईमा रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सो सम्झौता पछि भारतमा विभिन्न रोजगारी तथा व्यवसाय गरी रहेका नेपालीहरुले उक्त सेन्ट्रल बैंक अफ ईण्डियाको कुनै पनि शाखाबाट पठाएको रकम मूलुकभर रहेका नेपाल बैंक लिमिटेडको कुनै पनि शाखाबाट सजिलै भुक्तानी लिन सक्नेछन । सेन्ट्रल बैंक अफ ईण्डियाबाट पठाएको रकम नेपाल बैंकको एनबीएल रेमिट मार्फत क्यास टु क्यास, अकाउन्ट टु अकाउन्ट अथवा क्यास टु अकाउन्ट सुविधाबाट भुक्तानी लिन सक्नेछन् । अहिले मूलुकभर नेपाल बैंकको १२६ वटा शाखा सञ्चालनमा छन् । करिब चार हजार पाँच सय शाखा रहेको भारतको सेन्ट्रल बैंक अफ ईण्डियासँगको रेमिट्यान्स सेवा सम्झौता पछि भारतमा रहेका नेपालीहरुलाई स्वदेश आगमनमा रकम बोक्नु पर्ने झन्झटबाट मुक्ति पाउनुका साथै बाटोमा हुन सक्ने चोरी ठगीबाट समेत सुरक्षित हुने बैंकले जनाएको छ । नेपाल बैंकले यस अघि नै राष्ट्रिय तथा अन्तराष्ट्रिय रेमिट्यान्स कम्पनीहरुसँगको साझेदारीमा युरोप, खाडी मूलुक तथा अन्य राष्ट्रबाट “एनबिएल रेमिट तथा अन्य माध्यमबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ । यसैगरी यस बैंकले वेष्टर्न युनियन, हिमाल रेमिट, प्रभु मनी ट्रान्सफर, आईएमई, मनीग्राम, सिटी एक्सप्रेस लगायतका रेमिट्यान्स कम्पनीसंगको सहकार्यमा विदेशबाट पठाएको रकम भुक्तानी गर्दै आएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।