९ महिना बितिसक्दा पनि २ दर्जन बढी बीमा कम्पनीले गरेनन् एजीएम, प्राधिकरणले गरायो सचेत
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को चैत्र मसान्त सकिसक्दा पनि सञ्चालनमा रहेका अधिकांश बीमा कम्पनीहरूले साधारणसभा गर्न सकेका छैनन् । कम्पनी ऐन, २०६३ अनुसार आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारण सभा डाक्नुपर्ने प्रावधान छ । तर, आव २०८०/८१ सम्पन्न भएको ९ महिना बितिसक्दा पनि दुई दर्जनभन्दा बढी कम्पनीहरूले साधारण सभा डाक्न सकेका छैनन् । हाल जीवन, निर्जीवन, लघु र पुर्नबीमा कम्पनी गरी ३७ कम्पनी सञ्चालनमा छन् । जसमा जीवन बीमा १४ वटा, निर्जीवन १४, लघुबीमा ७ वटा र पुनर्बीमा २ वटा छन् । यीमध्ये एक दर्जन कम्पनीले मात्रै साधारण सभा सम्पन्न गरेका छन् । सञ्चालनमा रहेका पाँच जीवन बीमा कम्पनी र एक लघुबीमा कम्पनीले समयमै साधारण सभा सम्पन्न गरेका हुन् । नेपाल लाइफ, आईएमई लाइफ, सिटिजन लाइफ, सूर्यज्योति लाइफ, सानिमा रिलायन्स लाइफ र गार्डियन माइक्रो लाइफले समयमै साधारण सभा सम्पन्न गरेका हुन् । नेपाल लाइफले गत माघ २८ गते, आइएमई लाइफले फागुन २५ गते, सिटिजन लाइफले चैत १५ गते, सूर्यज्योति लाइफले पुस ६ गते, सानिमा रिलायन्स लाइफले चैत ८ गते र गार्डियन माइक्रो लाइफले चैत ११ गते साधारणसभा गरिसकेका छन् । बाँकी जीवन बीमा कम्पनीले अझैसम्म साधारणसभा गर्न सकेका छैनन् । ती कम्पनीहरूमा राष्ट्रिय जीवन बीमा, नेसनल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल), मेटलाइफ, एसियन लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, हिमालयन लाइफ र प्रभु लाइफ छन् । त्यस्तै, लघु बीमकमा क्रेस्ट माइक्रो लाइफ र लिबर्टी माइक्रोले अझै पनि साधारणसभा बोलाएका छैनन् । सञ्चालनमा रहेका १४ निर्जीवन बीमामध्ये ६ वटाले मात्रै साधारणसभा सम्पन्न गरेका छन् । शिखर इन्स्योरेन्सले फागुन १३ गते, नेपाल इन्स्यारेन्सले चैत्र १९ गते, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको फागुन १५ गते, हिमालयन एभरेस्ट इन्स्योरेन्सले फागुन २७ गते, सानिमा जीआईसीले चैत्र २१ गते र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले फागुन २५ गते साधारणसभा डाकिसकेका छन् । बाँकी ८ निर्जीवन बीमा कम्पनीले साधारण सभा गर्न सकेका छैनन् । साधारण सभा गर्न नसक्ने कम्पनीहरूमा नेको इन्स्योरेन्स, दि ओरिएन्टल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, नेसनल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्स छन् । त्यस्तै, चार निर्जीवन लघु बीमकले अझैसम्म साधारणसभा गर्न सकेका छैनन् । नेपाल माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र ट्रस्ट माइक्रो इन्स्योरेन्सले पनि हालसम्म गत साधारण सभा गर्न सकेका छैनन् । सञ्चालनमा रहेका दुई पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनीले पनि गत आवको साधारणसभा बोलाउन सकेका छैनन् । युनाइटेड अजोड इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कमल गौतम प्राधिकरणबाट लेखापरीक्षण स्वीकृत भएर नआउँदा समयमै साधारणसभा गर्न नसकेको बताउँछन् । प्राधिकरणबाट स्वीकृत भएर आएपछि छिट्टै नै साधारणसभा गर्ने तयारी रहेको उनको भनाइ छ । एशियन लाइफ इन्स्यारेन्सका सूचना अधिकारी होमबहादुर श्रेष्ठ अहिले भ्यालुएसनको प्रक्रियामा रहेको हुँदा त्यसले केही समय लाग्ने र त्यसपछि स्वीकृतिको लागि प्राधिकरण पठाउने तयारी भइरहेको बताउँछन् । उनले साधारण सभा समयमै गर्नुपर्ने भएपनि विविध कारणले हुन नसकेको उल्लेख गर्दै छिट्टै गर्ने तयारीमा रहेको बताए । सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री साधारणसभाको लागि सबै प्रक्रिया पूरा भइसकेको बताए । उनले यही महिनाको अन्तिमतिर साधारणसभा हुनसक्ने सम्भावना रहेको सुनाए । साधारणसभाबारे भोलि बोर्ड मिटिङ बस्ने तयारी रहेको समेत उनले उल्लेख गरे । नियमावलीमा केही प्रावधानहरू परिवर्तन हुँदा समस्या नेपाल बीमक संघका उपाध्यक्ष अशोककुमार खड्काले प्राधिकरणद्वारा जारी भएको नयाँ नियमावलीमा केही प्रावधानहरू परिवर्तन भएर आएको हुँदा त्यसले बीमा कम्पनीहरूलाई समयमै साधारण सभा गर्न समस्या भएको औंल्याउँछन् । उनले भने, ‘नयाँ नियमावली जारी हुनुभन्दा अघि हामी पुरानै व्यवस्थाअनुसार चलेका थियौं, अहिले बीमा नियमालीका केही प्रावधान परिवर्तन भएर आएका छन् । नयाँ प्रावधानअनुसार बीमकहरूलाई वित्तीय प्रतिवेदन मान (एनएफआरएस) अनिवार्य लागू गरेको छ । त्यस्तै बीमकहरूले साधारण सभा गर्नुभन्दा अघि एक्च्युरी मूल्यांकन गर्नुपर्ने व्यवस्था छ ।’ यी सबै कुराको सेटअप मिलाएर रिपोर्ट प्राधिकरणमा पेश गर्दा र त्यहाँबाट स्वीकृत भएर आउन ढिला हुँदा साधारणसभा ढिला हुन गएको उपाध्यक्ष खड्काले प्रष्ट्याएका छन् । बीमा नियमावलीअन्तर्गत बीमा कम्पनीहरूलाई नयाँ व्यवस्था लागू गर्दा त्यसलाई बुझ्नै समय लागेको हुँदा यो वर्ष कम्पनीहरूले समयमै साधारण सभा गर्न नसकेको सुनाउँदै उनले आगामी आवमा यो समस्या नहुने बताए । नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका खड्काले नेकोकै फाइल चार महिनादेखि प्राधिकरणमा अड्किएर बसेको हुँदा साधारण सभा गर्न नसकेको खुलाएका छन् । के छ ऐनमा व्यवस्था ? कम्पनी ऐन २०६३ को दफा ७६ को उपदफा १ अनुसार प्रत्येक पब्लिक कम्पनीले कारोबार सुरु गर्ने इजाजत पाएको १ वर्षभित्र प्रथम वार्षिक साधारणसभा गर्नुपर्ने व्यवस्था छ र त्यसपछि प्रत्येक वर्ष कम्पनीको आर्थिक वर्ष पूरा भएको ६ महिनाभित्र वार्षिक साधारणसभा गर्नुपर्ने उल्लेख छ । सोही दफाको उपदफा २ मा (१) मा निर्देशन प्राप्त गरेको तीन महिनाभित्र वार्षिक साधारणसभा नबोलाएमा कार्यालयले त्यस्तो कम्पनीको वार्षिक साधारणसभा बोलाउन निर्देशन दिन सक्ने प्रावधान छ । त्यस्तो निवेदन दिएमा अदालतले वार्षिक साधारणसभा गर्न लगाउन वा अन्य उपयुक्त आदेश जारी गर्न सक्ने उल्लेख गरेको छ। उपदफा ३ मा कार्यालयबाट निर्देशन प्राप्त गरेको ३ महिनाभित्र पनि कम्पनीले वार्षिक साधारणसभा नबोलाएमा सो कुरा खुलाई कुनै सेयरधनीले अदालतमा निवेदन दिन सक्ने प्रावधान रहेको छ । त्यस्तो निवेदन दिएमा अदालतले वार्षिक साधारणसभा गर्न लगाउन वा अन्य उपयुक्त आदेश जारी गर्न सक्नेछ । यस्तै, बीमा ऐन, २०७९ को दफा ८७ मा बीमा कम्पनीहरूले आव समाप्त भएको तीन महिनाभित्र प्रचलित कानुनबमोजिम लेखापरीक्षण गराउनुपर्ने हुन्छ । सोही दफाको उपदफा २ अनुसार उपदफा १ मा बजोजिम लेखापरीक्षण गराउन नसक्ने बीमकले मनासिव कारण खुलाई लेखापरीक्षण गराउने अवधि थपको लागि अनुरोध गरेमा प्राधिकरणले दुई महिनासम्मको अवधि थप गरिदिनसक्ने उल्लेख गरेको छ । त्यस्तै, सोही दफाको उपदफा ५ मा बीमकले आफ्नो लेखापरीक्षण सम्पन्न भएको ३० दिनभित्र आफ्नो वित्तीय विवरण स्वीकृतिका लागि प्राधिकरणसमक्ष पेस गर्नुपर्नेछ । प्राधिकरणले स्वीकृति दिएपछि कम्पनीहरूले वार्षिक साधारणसभाबाट मिति तय गर्न पाउँछन् । उपदफा ५ बमाेजिम प्राधिकरणमा प्रतिवेदन पेश नगरी बीमकले साधारणसभा आह्वान गर्न मिल्दैन । त्यस्तै, सोही दफाको उपदफा ८ मा बीमकले प्रत्येक वर्ष लेखापरीक्षण भएको वित्तीय विवरण कम्तीमा दुईपटक राष्ट्रिय स्तरका सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रशारण गर्नुपर्ने उल्लेख गरिएको छ । के भन्छ नियामक निकाय ? नेपाल बीमा प्राधिकरणका उपनिर्देशक विरोध वाग्ले पछिल्लो समय प्राधिकरणमा कर्मचारी सरुवा भएर नयाँ कर्मचारी नियुक्त भएकाले बीमा कम्पनीको फाइल पेन्डिङमा राख्नुपर्ने अवस्था सिर्जना भएको बताए । उनका अनुसार पुराना पेन्डिङमा भएका फाइल यही हप्ताभरिमा सबै स्वीकृत भएर जाने र नयाँ फाइल पनि छिट्टै स्वीकृतिको प्रक्रियामा छन् । उपनिर्देशक वाग्लेले अहिले ४/५ वटा कम्पनीको नयाँ फाइल पेन्डिङमा रहेको बताए । कम्पनीको फाइल प्राधिकरणमा रोकिनुमा कम्पनी स्वयंले प्राधिकरणले मागेअनुसारको चीज उपलब्ध नगराउँदा दोहरिएर माग्नुपर्ने भएकाले ढिला हुन जाने वाग्लेले जानकारी दिए । ‘कम्पनीहरूलाई मागेको सबै चीज पुरा गरेर नदिँदा दोहरिएर माग्नुपर्ने हुन्छ, त्यसले गर्दा प्राधिकरणबाट स्वीकृत भएर जान ढिला हुन्छ,’ उनले भने । यसपटक धेरैजसो कम्पनीको साधारण सभा ढिला हुन जानुमा अर्को कारण जोखिममा आधारित पुँजीले गर्दा पनि हुन सक्ने औंल्याउँछन् वाग्ले । प्राधिकरणले बीमा कम्पनीहरूलाई आव २०८०/८१ को लागि बीमांकीय मूल्यांकन जोखिममा आधारित पुँजीअनुसार गर्न निर्देशन दिएको छ । त्योअनुसार कम्पनीले पेश गर्नुपर्ने हुन्छ । कतिपय कम्पनीले जोखिममा आधारित पुँजी अनुसारको बीमांकीय मूल्यांकन प्राधिकरणबाट स्वीकृत गराई साधारण सभा गरेका छन् भने कतिपयले गर्न बाँकी छ । प्राधिकरणले कम्पनीको फाइल अड्काएर रोक्ने कुनै मनसाय नभएको वाग्ले सुनाउँछन् । के हुन्छ कानुनी कारबाही ? उपनिर्देशक वाग्लेले समयमै साधारण सभा गर्न नसक्ने कम्पनीहरूलाई प्राधिकरणले नियामकीय कारबाही र जरिवाना लगाउने/नलगाउने भन्ने कारबाही गर्न सक्ने बताए । बीमा नियमावली लागू भएपछि यो वर्ष पहिलोपटक साधारण सभा हुने भएकाले कम्पनीहरूलाई सचेत मात्रै गराएको वाग्लेले जानकारी दिए । उनका अनुसार नियामकीय कारबाही गर्ने हो भने समयमै साधारण सभा नगर्ने कम्पनीलाई बढीमा १० लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ । कति दिन ढिला भएको छ, त्योअनुसार प्राधिकरणले कम्पनीलाई जरिवाना गर्न सक्ने व्यवस्था छ । यो जरिवाना आगामी आवमा लागू हुने वाग्लेले जानकारी दिए ।
बीमा गराउँदा बुढी ठूस्स, ४० लाख पाएपछि छोरी डाक्टर
खेमराज ढकाल तपाईं एक घन्टा कुनै योगी वा महात्मासँग गफ गर्नूस्, संगत गरेको केहीबेरपछि तपाईंमा जीवन केही होइन् भन्ने भान पर्दछ र तपाईंमा वैराग्यता आउन थाल्दछ । तपाईं केहीबेर कुनै राम्रो राजनीतिकर्मीसँग बस्नूस्, केही बेरपछि तपाईंलाई पनि राजनीति गर्न वा उसको कार्यकर्ता हुन मन लाग्दछ । तपाईं कुनै डिस्को वा वारमा कुनै जाँड पिउने साथीसँग केहीबेर बस्नूस्, एकछिन पछि तपाईंलाई पनि उसको कुरा सुनेर जाँड पिऊँ पिऊँ जस्तो लाग्छ । हामी जसको र जस्तो सगंत गर्दछौं, विस्तारै हामी पनि ऊ जस्तै हुन थाल्दछौं । झन् बीमा अभिकर्ताको कुरा सुन्यौं भने त हामीलाई लाग्न सक्छ– जीवन केही होइन, हामी जतिखेर पनि मर्न सक्छौं… बरु आफू बाँच्दा वा जीउँदो छँदभन्दा मरेपछि एकमुष्ठ पैसा आउने हुँदा बरु मर्दा फाइदा छ । आजभन्दा पन्ध्र–सोह्र वर्ष अगाडिको कुरा हो । मेरो एकजना मिल्ने साथी जो पेशाले जीवन बीमाको अभिकर्ता हुन् । ऊ र म साथी भएको नाताले र उसको पेशा नै अरूलाई बीमा गराउने भएकोले ऊ बारम्बार मेरो घरमा आइरहन्थ्यो । एकछिनको औपचारिकता निभाएपछि ऊ बीमा गर्ने होइन त भनेर मसँग पेशागत मार्केटिङ गरिहाल्थ्यो । म भने बीमामा खासै रुचि नभएकोले र पैसा पनि नभएकोले जहिले पनि हरेक भेटमा ठाडै नाइँ भन्न नसकेर र साथी रिसाउँछ भन्ठानेर हाँसीहाँसी पछि गरौंला नि भनेर टार्दथें । मलाई र मेरो श्रीमतीलाई बीमासम्बन्धी कुनै ज्ञान नभएकोले बीमा गर्नुपर्दछ भन्ने लाग्दैनथ्यो । झन् मेरी श्रीमती त उसलाई देखिसहदिन थिइन् । भन्थिन् कस्तो हो … हजुरको साथी जहिले पनि घरमा आई बीमा गर, बीमा गर मात्र भन्छन् । उनको संगत नगर्नू है… यस्ताको …। काठमाडौंको बसाइँ महगो छ, घरखर्च गर्न त धौधौ छ, बीमा गर्ने खर्च कहाँ बाट ल्याउने …? म भने उनलाई फकाउँदै नरिसाउन, साथी हो, उसको पेसै यस्तै छ, बरु चिया पकाइदेऊन भनेर फकाउँथे । उनी भने रिसाइरिसाइ साथी र मलाई चिया पकाउँथिन् । तर यो चोटि उसले अति नै कर गर्यो मलाई । सायद यो महिना एउटा पनि उसको पोलिसी नबिकेको हुनुपर्दछ । मैले संधै झैं उसलाई टार्दै पछि गरौंला नि, हुन्न ? भनें । उसले पछिपछि भनेर नभन्न यार, आज त एउटा पोलिसी जसरी पनि काटदछु …के तँ मेरो साथी होइन ? उसले साथीको प्रश्न उठायो, मैले हो नि त, मेरो मिल्ने साथी हो भनेर भनें । उसले साथी हो भने एउटा जीवन बीमा गर न त भनेर अति नै कर गर्यो, मैले अहँ भन्नै सकिनँ । विस्तारै हुन्छ भनेँ । ऊ औधी खुसी भयो । म भने मनमनै बीमा गर्ने पैसा कहाँबाट ल्याउने होला भनी सोंचिरहें । कर गरेर भएपनि बीमा त गर्ने भइयो । अब कुरा आयो कसको गर्ने । उसले मलाई सुझाव दिँदै परिवारमा तँ नै कमाउने हो, तेरै गर्नुपर्छ । यदि तँलाई भोलि केही भइहाल्यो भने अथवा मरिस् भने त एकमुष्ठ पैसा भाउजूले पाउनु हुन्छ । ऊ स्टे्रट फरवार्ड मान्छे सिधै भनिदियो तँ मरिस भने एकमुष्ठ पैसा आउछ भनेर । श्रीमतीले यो कुरा सुनेर मलाई इसाराले कोठामा आउन आदेश दिइन् । म डराइडराइ एकछिन है भनेर साथीलाई बैठककोठामै छोडेर श्रीमती भएको कोठामा गएँ र फकाउँदै भने के भयो ? श्रीमतीको अनुहार मलिन थियो, घुँक्कघुँक्क रुँदै उनले भनिन्, ‘चाहिँदैन बीमासीमा… कस्तो साथी हो यो तपाईंको ? तपाईं मरेपछि पैसा आउछ रे… तपाईं मरेपछि मलाई पैसाको के काम । मेरो श्रीमती अलि भावनात्मक र संवेदनशील मान्छे भएकोले म मर्ने कुरा सुनेर होला उसलाई चोट परेको । मलाई केही हुन्न क्या… भनेर उसलाई कोठामै छोडेर एकछिन है भनेर म फेरि साथी भएको बैठककोठामै आएँ र भनें– मेरो नगर्दा हुन्न ? उसले फेरि उसो भए छोरीको गरौं न त भन्दै सुझायो । छोरीको पढाइको लागि शैक्षिक बीमा । अन्ततः मेरो ३ वर्षे छोरीको नाममा शैक्षिक बीमा गरियो, १६ वर्षे अवधिको, बीस लाख रुपैयाँ बीमाङ्कको । जसमा मैले महिनामा करिब दश हजार जति तिर्नु पर्ने भयो । उसले हाँस्दै पोलिसी काट्यो, म भने भित्रभित्र खर्च बढ्यो भनेर खिन्न भइरहेको थिएँ । उसले पोलिसी काट्दै मलाई ढाडस दिँदै भन्न थाल्यो– कहिले काही किस्ता तिर्ने पैसा भएन भने भन्न म हालिदिम्ला सापटी । मैले टाउको हल्लाई स्वीकृति दिएँ । छोरीको शैक्षिक बीमा गरेको त्यो रात श्रीमती मसँग धेरै रिसाइन्, अब प्रत्येक महिना बीमालाई दश हजार तिरेपछि केले घर खर्च गर्ने ? के खाने ? त्यही पोलिसी पकाउने हो अब ? आफै पुर्याउनु घरखर्च, तलब मलाई दिनु पर्दैन अब भन्दै रिसाइन् । त्यो रात रिसाएर घरमा खाना पनि पाकेन, नखाई सुतियो । साँच्चै भन्नुपर्दा चार पाँच दिन मेरो र श्रीमतीबीच बोलचाल नै बन्द भयो । झन कहिलेकाही गफैगफमा त्यो बीमा अभिकर्ता मेरो साथीको कुरा निस्कियो भने ऊ मलाई खाउँला जसरी हेर्थिन् । त्यस्ता साथीको कुरा नगर्नु है मसँग, त्यस्तालाई घरमा पनि ल्याउनु पर्दैन भन्थिन् । कहिलेकाँही भने उसलाई म घरबाहिरै भेट्थेँ । यद्यपि पछिल्लो समय भेट पातलिँदै गइरहेको थियो । मैले एउटा पोलिसी किनिदिएर होला र मसँगको स्वार्थ पुरा भएर होला प्रायः आउने साथी बिस्तारै टाढिँदै गयो । आखिरमा उसको काम फत्ते भयो, अब किन पो आउँथ्यो र मेरोकहाँ ? उसलाई पोलिसी बेच्नुथ्यो बेच्यो । यता मैले बीमाको किस्ता नियमित नै तिरिहरेको थिएँ । घर खर्च गर्न धौधौ परिरहेकै थियो । समयको अन्तरालसँगै छोरीले पनि एसईईमा ए प्लस ल्याइन् । सानैदेखिको उसको डाक्टर पढने रहरले राम्रै कलेजमा साइन्स पढाइयो र प्लस टु पनि राम्रैसँग पास गरिन् । आज झन खुसीको दिन थियो । एमबीबीएस इन्ट्रान्समा छोरी पास भएकोले अब छोरी डाक्टर पढ्ने र उसको रहर पुरा हुने पक्का थियो तर डाक्टर पढ्न साठी लाखजति लाग्ने भएकोले यत्रो पैसा कहाँबाट ल्याउने भनेर हामी चिन्तित थियौं । सम्पत्तिको नाममा हामीसँग केही थिएन । झन मेरो सानो जागिर त्यसमा पनि काठमाडौको बसाइँ– खान लाउन र छोरीलाई पढाउँदा दैनिक घर खर्च चलाउन धौधौ नै थियो । बैंक ब्यालेन्स जिरो थियो । विवाहको श्रीेमतीको गरगहना बेच्दा र मेरो नोकरीको सञ्चयकोषको सबै रकम निकाल्दा पनि बीस–बाइस लाख मात्र जोहो हुन्थ्यो । छोरीलाई डाक्टर पढाउन साठी लाख लाग्दथ्यो, जसमा बीस लाख घटाउँदा पनि चालीस लाख पुग्दैनथ्यो । अरू तिरबाट सरसापट माग्न नखोजेको पनि होइन । तर भनेको बेला कस्ले दिन्छ र सापटी ? फेरि तिर्नु पनि त पर्यो नि त, कसरी तिर्ने ? भनेको बेला कोसँग पैसा हुन्छ आजकाल ? फेरि कसले पत्याउने ? थोरै भए पो सापटी माग्नू । र अन्त्यमा हामी निराश हँुदै छोरीलाई डाक्टर नपढाउने बरु नर्स पढाउन धेरै खर्च नलाग्ने भएकोले नर्स नै पढाउने निर्णय गरियो । छोरीको सानैदेखिको डाक्टर पढ्ने सपना भए पनि, उसले डाक्टरमा नाम निकाले पनि बल्लबल्ल उसलाई नर्स नै पढ ल छोरी, बाबामामुसँग त्यत्रो पैसा छैन भनेर सम्झाइयो र अन्त्यमा ऊ पनि नमानीनमानी नर्स नै पढ्ने निधो गरिन् । आज छोरीको नर्सको इन्ट्रान्स परीक्षाको दिन, छोरी परीक्षा दिनको लागि ठिक्क पर्दै थिइन् । म र मेरो श्रीमती पैसाकै कारणले छोरीलाई डाक्टर पढउन नसकेको र हाम्रो कारणले छोरीले नर्सको परीक्षा दिन लागेको सम्झेर मन खिन्न भइरहेको थियो । एक्कासि घरको मूल ढोकामा कारको हर्न बज्यो । सायद कोही आएको हुनुपर्दछ । हामीले ढोका खोल्यौं । गाडीमा त उही मेरो पूरानो साथी पो रहेछ, उही क्या त बीमा अभिकर्ता । ऊ वर्षौंपछि मेरो घरमा आएको थियो । उसलाई देख्दा निकै ऊ निकै बदलिएको देखिन्थ्यो । उसले टिलिक्क टल्केको जुत्ता र निकै राम्रो सुट लगाएको थियो । संधै बाइक चढ्ने ऊ आज कारमा थियो । मैले पनि औपचारिकता देखाउँदै आऊ बस भने । चिया खाने हो त भनेर सोध्न आँट पनि आएन । मेरो श्रीमतीले मन नपराएको मान्छे हो ऊ । ‘कहाँ हराएको यत्रो दिन’ भनेर मैले गफको प्रसंग कोट्याएँ । ‘म कहाँ हराएँ र ? बीमाको काम यस्तै हो … थाहा नै छ त तिमीलाई । अहिले म बीमा कम्पनीको प्रदेश हेड भइसकेँ नि त, धेरै देश पनि डुलिसकेँ, पैसा पनि राम्रै कमाइयो । ऊ त्यो कार छ नि त्यो पनि कम्पनीले मलाई नै दिएको हो,’ उसले भन्यो । मैले उसलाई बधाईसँगै यो तिम्रो मिहिनेतको परिणाम हो भनेँ । हाम्रो कुरा सुनेर श्रीमती रिसाइरहेकी थिइन् । ऊ वर्षौंपछि हाम्रो घरमा आउँदा पनि मेरो श्रीमतीको मन र रिस भने अझै मरेको थिएन । वर्षौपछि कसरी सम्झियौ त मलाई आज भनी मैले प्रश्न गरेँ । उसले आफ्नो ब्यागबाट कागजपत्र निकाल्दै मलाई एक चेक थमाउँदै भन्यो, ‘ल यो राख चालीस लाखको तिम्रो छोरीको नामको चेक । थाहा छ तिमीले छोरीको सोह्र वर्षे शैक्षिक बीमा गरेको थियौ नि, बीस लाखको त्यसको भाका पुग्यो । तिमीले तिरेको बीस लाख र त्यसको बोनस गरेर जम्मा चालीस लाख भयो । म त्यही दिन आएको ।’ म खुसीले गदगद भएँ । नसोचेको पैसा आज एक्कासि हातमा आइपुग्यो । बीमा भनेको त खर्च भन्ठानेको थिए, यो त बचत पो रहेछ । मैले उसलाई आफ्नो कमिशनको लागि बीमा गराएको होला भन्ठानेको थिएँ, त्यसो होइन रहेछ । मैले उसलाई कति गलत सोंचेछु । बीमा अभिकर्ताहरू हामीजस्ताको लुखुरलुखुर घर धाइरहन्छन्, बीमा नगरुन्जेल लिसोजस्तै टाँस्सिरहन्छन् भनेर सोचेको होइन रहेछ । बीमा भनेको त हाम्रौ लागि रहेछ । भविष्यको जोखिम कम गर्न पो रहेछ । बल्ल आज मैले बुझेँ । यदि आजको यो स्वार्थी दुनियाँमा हाम्रो लागि आफ्नो परिवारबाहेक बाहिरको कोही सोच्ने छ भने त्यो बीमा अभिकर्ता नै हो । मैले बल्ल बीमाको महत्व बुझेँ । यत्तिकैमा छोरी पनि नर्सको परीक्षा दिन तयार हुँदै कोठाबाट बाहिर ठीक्क निस्केकी मात्र के थिइन्, ती मेरा साथीले सोधिहाले– तिम्री छोरी त ठूली भइसकिछिन्, कतिमा पढ्दैछौ छोरी ? उसले छोरीलाई कतिमा पढ्छौ भनेर के प्रश्न गरेका मात्र थिए यता मेरी श्रीमतीले हाँस्दै र मेरो हातको उसले भर्खरै दिएको चालीस लाखको चेक हेर्दै छोरीले अब डाक्टर पढ्छे भनिन् । सायद श्रीमतीले चालीस लाखको बीमाको चेक मेरो हातमा देखेर हुनुपर्दछ छोरीलाई डाक्टर पढाउन आँट आएको । मैले पनि मनमनै गरगहना र सञ्चयकोषको गरी बीस लाख, अनि बीमाको चालीस लाख जम्मा गरी साठी लाख । म खुसीले फुरुङ भएर भनेँ– हो डाक्टर पढ्छे । मेरो साथीले पनि बधाई दिँदै हामीबाट बिदा हुन खोज्यो । यता म भने चियासम्म खुवाउन नसकेकोमा दुःख मानिरहेको थिएँ । एक्कासि श्रीमतीले भान्साबाट हामीनिर आई छोरीलाई हजारको नोट दिँदै चोकबाट छोरीलाई मासु लिन भनिन् । उनले साथीलाई भनिन्, ‘आज चिया होइन, मासुभात खुवाउँछु मेरो देवर बावुलाई । आज यतै बस्नुपर्छ है । बीमा सम्बन्धी धेरै कुरा बुझ्न मन लागेको छ मलाई ।’ मेरी श्रीमती र साथी गफ गर्दै थिए, यता म भने मेरो श्रीमतीको साथीप्रति र बीमाप्रति आएको सकारात्मक परिवर्तन देखेर खुसी हुँदै थिएँ । तर त्यतिखेर साथीलाई नराम्रो सम्झेकोमा मनमनै पश्चाताप पनि भैरहेको थियो । उता भान्साबाट मेरी श्रीमतीले मेरो साथीलाई सोेध्दै थिइन्, ‘साँच्ची बावु यो बीमा अभिकर्ता बन्न के गर्नु पर्दछ ? म पनि बनूम् कि क्या हो बीमा अभिकर्ता ?’
३० सेकेण्डमै कर्जा, बैंकका लागि चुनौती
काठमाडौं । २०२४ सेप्टेम्बरको अन्त्यतिर सूर्यज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश बिक्रम खत्रीबाट सूचना प्रविधि विभाग प्रमुख निरञ्जन रेग्मीलाई निर्देशन आयो, बीमा लेख धितो कर्जालाई डिजिटल बनाउनु । उच्च व्यवस्थापनबाटै निर्देशन आएपछि रेग्मी योजना बनाउनतिर लागे । नेतृत्वको जिम्मेवारी पाएपछि विभिन्न फिनटेक कम्पनीहरूसँग वार्तामा बसे । बीमा लेख धितो कर्जालाई कसरी अनलाइन गर्ने भन्ने विषयमा उनी धेरैवटा पेमेन्ट गेटवेसँग छलफल गरे । लागत धेरै लाग्ने भएपछि केही कम्पनीसँग बीचमै वार्ता तोडे । तर, उनले हार खाएनन् । विभिन्न चरणमा भएको वार्ता र डकुमेन्टेसनको कार्यपछि अन्ततः डिजिटल वालेट ‘खल्ती’सँग सहमति भयो । त्यसपछि बन्यो, ‘सूर्यज्योति ई–कर्जा’ । ‘कति भ्यालिडेसन राख्ने, कर्जा कसरी दिने भनेर व्यवस्थापन टिमसँग बस्यौँ । विभिन्न चरणमा छलफल, डकुमेन्ट तयार र फिनटेक कम्पनीसँगको छलफलपछि अन्तिममा पूर्ण रूपमा अटोमेटड (स्वचालित) हुने गरी खल्तीसँग सहमति भयो,’ रेग्मीले प्रडक्ट विकासको स्मरण गर्दै भने, ‘यसमा धेरै अध्ययन विश्लेषण गरियो । ६ महिनाअघि प्रक्रिया सुरु गरेर चैत २५ गते सार्वजनिक गरेका हौं ।’ के हो सूर्यज्योति ई-कर्जा ? सूचना प्रविधि विभाग प्रमुख रेग्मीका अनुसार सूर्यज्योति लाइफ इन्स्योरेन्समा बीमा गरेका बीमितहरूलाई बीमा लेख (इन्स्योरेन्स पोलिसी)को आधारमा अनलाइनको माध्यमबाट दिइने कर्जा ‘सूर्यज्योति ई-कर्जा’ हो । सूर्यज्योति ई-कर्जा लिनका लागि सूर्यज्योति लाइफ इन्स्योरेन्समा बीमा गरेको हुनुपर्छ । अर्थात् सूर्यज्योति लाइफबाट बीमा पोलिसी खरिद गरेको हुनुपर्छ । साथै, बीमा पोलिसी खरिद गरेर तीन वर्ष पूरा भएको र तीन वटा किस्ता भुक्तानी गरेका बीमितलाई कम्पनीले कर्जा उपलब्ध गराउँछ । ‘प्रक्रिया पुगेपछि सिस्टममा भ्यालिडेट हुन्छ । बीमितले पाउने कर्जा रकम कति हो सिस्टमबाटै अटोमेटिक गणना हुन्छ । जस्तो ३ वर्षअघि बीमा गरेर ३ वटा किस्ता तिरेको छ भने कर्जा लिन योग्य हुन्छ । तत्कालका लागि ईकर्जा योजनामा ५० हजार रुपैयाँसम्म मात्रै ऋण दिइएको छ,’ उनले भने, ‘आगामी दिनमा राम्रो प्रतिक्रिया आयो भने ५० हजारको सीमा बढाउन सकिन्छ । तर, अहिले कर्जा लिन योग्य जतिभएपनि न्यूनतम १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म कर्जा दिइरहेका छौं ।’ यसरी लिन सकिन्छ कर्जा सूर्यज्योति ई–कर्जा प्रवाहका लागि कम्पनीले खल्तीसँग सम्झौता गरेको छ । त्यसैले सूर्यज्योति ई–कर्जा लिन इच्छुक बीमितले खल्ती एप डाउनलोड गर्नुपर्ने हुन्छ । खल्ती एपमा सूर्यज्योति ई-कर्जा अप्सन देखिन्छ । त्यसमा खल्तीको केवाईसी र सूर्यज्योतिको केवाईसी म्याच हुनुपर्छ । रेग्मीका अनुसार बीमितको नाम, मोबाइल नम्बर, जन्ममिति लगायत सबै म्याच भएपछि मात्र बीमा पोलिसीको विवरण देखाउँछ । ‘हामीले सबै विश्लेषण गरेर यो प्रडक्ट ल्याइएको हौं । त्यसैले बीमितको नाम, नम्बर, जन्म मिति १ सय प्रतिशत म्याच हुनुपर्छ । किनभने जोखिम धेरै छन् । ८०/९० प्रतिशत म्याच भएपछि कर्जा दिएको छैनौं । त्यसैले १ सय प्रतिशत म्याचमा कम जोखिम हुन्छ,’ रेग्मीले भने, ‘त्यसपछि पोलिसी नम्बर राखिसकेपछि कर्जा लिन योग्य छ भने कति योग्य हो भनेर देखाउँछ । कर्जा लिन योग्य छैन भने कर्जा पाउँदैन ।’ यदि पहिला नै कर्जा लिएर पुनः प्रयास गरेको छ भने पुरानो कर्जा नतिरि फेरी कर्जा लिन पाउँदैन । सबै विवरण आइसकेपछि कति कर्जा चाहिने हो आवश्यकता अनुसार लिन सक्ने उनको भनाइ छ । यी सबै प्रक्रिया पुर्याएपछि मोबाइल नम्बरमा ओटीपी आउँछ । ओटीपी नम्बर राखिसकेपछि सिस्टमले स्वतः तत्काल खातामा रकम पठाउँछ । ‘प्रक्रिया पूरा हुने बित्तिकै एक मिनेटमै पैसा आउँछ । अझ एक मिनेट पनि नलाग्न सक्छ । किनभने राम्रोसँग चलाउन जानेको व्यक्तिले ३० सेकेण्ड भित्र कर्जा पाउँछ,’ उनले भने । शाखामा जानुपर्ने वाध्यताको अन्त्य यसअघि बीमा लेख धितो कर्जा लिन शाखा कार्यालयमै जानुपर्ने बाध्यता थियो । साथै धेरैवटा डकुमेन्टेसनको काम गर्नुपर्ने हुन्छ । कार्यालयमा जाँदा विभिन्न कारणले ढिलाई हुने समस्या थियो । यो ढिलाई नहोस् र ग्राहकले चाहेको समयमा कर्जा पाओस् भन्ने हिसाबले ई–कर्जा ल्याइएको रेग्मीको भनाइ छ । ‘यो एउटा क्रेडिट कार्ड जस्तै हो । जस्तो ग्राहकलाई कर्जा चाहिएको छ भने सूर्यज्योतिको कुनै शाखामा जानुपरेन, कुनै आवेदन पनि दिनु परेन । ग्राहकले चाहेको बेला तत्काल खातामा जाने भयो । यसले ग्राहकलाई तत्काल काम हुने भयो । रिपेमेन्ट गर्ने व्यवस्था पनि सबै वालेटमा गरिसकेको छ,’ उनले भने, ‘यसअवधिमा २०/२५ जनाले कर्जा लिनु भएको छ । उहाँहरूले सकारात्मक प्रतिक्रिया दिनु भएको छ । कतिपयले कर्जा चाहिएको थिएन त्यतिकै प्रयास गरेको थिए कति छिटो पैसा आयो भन्नु हुन्छ । कतिपयले पैसाको आवश्यकता भएर प्रयास गरेर समस्या समाधान भयो भनेर प्रतिक्रिया दिनु भएको छ ।’ सबैबाट राम्रो प्रतिक्रिया आएकाले आगामी दिनमा थप रणनीति र व्यवसायिक योजना बनाउन सहयोग पुग्ने उनले बताए । ई–कर्जा बीमा क्षेत्रका लागि नयाँ भएकाले कर्जा लिएर नतिरेपछिको जोखिम पनि रहेको उनको भनाइ छ । ब्याजदर कति ? सूर्यज्योति ई-कर्जाको ब्याजदर कम्पनीले निर्धारण गरेबमोजिम १० प्रतिशत छ । बजारको माग अनुसार ब्याजदर घटबढ हुन सक्ने उनको भनाइ छ । ‘विगतमा बीमा लेख धितो कर्जामा १२ प्रतिशतसम्म ब्याजदर थियो । तर, ग्राहकको सुबिधाका लागि सबैको सहमतिमा प्राधिकरणले निर्देशन दिएपछि १० प्रतिशतमा झारेको हो,’ उनले भने । कागजी प्रक्रियाबाट बीमालेख धितोमा बीमालेखको मापदण्ड अनुसार कर्जा योग्य रकम प्रवाह भइरहेको छ । अनलाइन माध्यमबाट प्रवाह हुने कर्जामा व्यवस्थित हुँदै गयो र ग्राहको पहुँच बढाउन सकियो भने ५० हजारको सीमालाई पनि बढाउन सकिने उनको भनाइ छ । ‘कागजी प्रक्रिया अपनाएर कर्जा लिँदा २/३ घण्टा समय लाग्छ । कहिलेकाहीँ एक/दुई दिन पनि लाग्न सक्छ । साथै कम्पनीमा कर्जाको लिनेको चाप पनि धेरै हुन्छ । १७४ वटा शाखा कार्यालयबाट फाइल आउँदा कर्जाको चाप पक्कै हुने भयो,’ उनले भने, ‘अब ५० हजार रुपैयाँसम्मको कर्जा अनलाइनबाटै गयो भने हामीलाई काम गर्न पनि सहज भयो ।’ यो प्रडक्टले बैंकलाई कस्तो असर गर्छ ? उनका अनुसार यो प्रडक्ट बैंकसँग सम्बन्धित छैन । बीमा पोलिसीको आधारमा कर्जा दिने भएकाले बैंकसँग सम्बन्धित नरहेको उनको भनाइ छ । तर, तत्कालका लागि असर नगरे पनि भविष्यमा भने बैंकका लागि चुनौती पनि बन्न सक्ने उनले बताए । बीमा कम्पनीले संस्थागत मुद्दतीमा लगानी गर्दा ५/६ प्रतिशत मात्रै ब्याजदर पाउँछन् । अब बीमा कम्पनीले कम ब्याजदरमा निक्षेपमा लगानी गर्नु भन्दा बीमितलाई कर्जा दिँदा कम्पनीको आम्दानी बढ्ने बीमाकर्मीहरूको भनाइ छ । तर, रेग्मी भने लगानीको योजनाभन्दा पनि ग्राहकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले यो प्रडक्ट ल्याइएको बताउँछन् । ‘यो प्रडक्टले कता प्रभाव पार्छ भन्ने विषयमा भविष्यमा बहस होला । तर, हामीले लगानी विविधीकरण भन्दा पनि ग्राहकलाई छिटो र सहज सेवा दिन यो प्रडक्ट ल्याएका हौं । सेवा दिँदा त्यसको प्रभाव अन्य क्षेत्रमा पनि परेको छ भने फरक विषय हो । हामीले त्यो सोचेर बनाएको भने होइन,’ उनले भने ।