शिक्षाको गुणस्तर र प्रभावकारी सेवा प्रवाहमा ध्यान केन्द्रित गरौं : मन्त्री भट्टराई
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयहरूको गुणस्तर सुधार्न आइतबारबाट सुरु भएकाे अन्तरक्रिया आज पनि जारी छ । मन्त्रालयमा सोमबार मन्त्री विद्या भट्टराईको उपस्थितिमा योजना आयोगका सदस्य, विश्वविद्यालय अनुदान आयोग र मध्य पश्चिम विश्वविद्यालयका पदाधिकारीहरूसँग छलफल सम्पन्न भयाे । कार्यक्रममा मन्त्री भट्टराईले सबै विश्वविद्यालयलाई शिक्षाको गुणस्तर र प्रभावकारी सेवा प्रवाहमा गम्भीरताका साथ ध्यान केन्द्रित गर्न आग्रह गरिन् । उनले अन्तरक्रियाबाट प्राप्त महत्त्वपूर्ण विषयलाई समेटेर विश्वविद्यालय शिक्षाको नीति निर्माण गरिने बताइन् । उनले विद्यमान शिक्षाको प्रभावकारी व्यवस्थापन आवश्यक रहेकोमा जोड दिइन् । मन्त्री भट्टराईले विश्वविद्यालयको शैक्षिक क्यालेन्डर, पठनपाठन, परीक्षाको प्रभावकारी संचालन र व्यवस्थापन, सम्बन्धनजस्ता योजनाहरू समेट्न अनुरोध गरिन् । उनले नेपालका विश्वविद्यालयहरूले रोजगार बजारका लागि दक्ष जनशक्ति उत्पादन गर्न विदेशी विद्यार्थीलाई आकर्षित गर्ने विशेष योजना बनाउन पनि आग्रह गरिन् । असोज १० गतेसम्म जारी रहने यस अन्तरक्रिया कार्यक्रममा विश्वविद्यालयको शैक्षिक क्यालेन्डरलाई प्रभावकारी बनाउने, विद्यार्थी र प्राध्यापकका गुनासा सुनुवाइ र सम्बोधन, पाठ्यक्रम निर्माण र परिमार्जन, छात्रवृत्ति, प्राध्यापक कर्मचारीको सेवा सुविधा, र जग्गा व्यवस्थापनजस्ता विषयमा छलफल भइरहेको छ । अन्तरक्रिया कार्यक्रममा विश्वविद्यालय अनुदान आयोग, विश्वविद्यालयका उपकुलपति र पदाधिकारी, राष्ट्रिय योजना आयोगका सदस्य, विभिन्न विश्वविद्यालयका डिनहरू, मन्त्रालयका सचिव र कर्मचारीको सहभागिता रहेको छ । यसअघि आइतबार सुदूरपश्चिम विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूसँग पनि अन्तरक्रिया सम्पन्न भएको थियो ।
सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै
दमौली । तनहुँका केही विद्यालयले विद्यार्थीलाई सीपमूलक सीप सिकाउन थालेका छन् । भानु नगरपालिकास्थित सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने प्रयोगात्मक सीप सिकाउन थालेका हुन् । पढाइसँगै जीवनपयोगी सीपलाई जोड्ने भानु नगरपालिका–८ स्थित मनोहर माध्यमिक विद्यालयले विद्यार्थीलाई टपरी बुन्ने सीप सिकाउन थालेको प्रधानाध्यापक हरिमा नेपालीले जानकारी दिए । पुरानो पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने उद्देश्यसहित विद्यार्थीलाई दुना, टपरी बनाउने सीप प्रदान गरिएको नेपालीको भनाइ छ । पछिल्लो समय आल्मुनियम कागज प्लेटको प्रयोग बढेपछि दुना टपरीको चलन लोप हुँदै गएको छ । अहिलेका कतिपय युवापुस्तालाई सालको पातबाट बनाइने दुना टपरीको ज्ञान पनि नभएको नेपालीको भनाइ छ । त्यस्तै भानु नगरपालिका–६ सिम्पानीस्थित प्रभात आधारभूत विद्यालयले मकैको खोस्टाबाट विद्यार्थीलाई चकटी बनाउने सीप सिकाएको छ । विद्यालयले ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रममार्फत प्रत्येक हप्ताको शुक्रबार सीपमूलक तालिम सञ्चालन गर्न थालेको हो । विद्यार्थीलाई पढाइसँगै सीपमा अब्बल बनाउने उद्देश्यसहित मकैको खोस्टाबाट चकटी निर्माण गर्न सिकाइएको विद्यालयका प्रधानाध्यापक चिजकुमार सुर्खालीले जानकारी दिए । उनका अनुसार विद्यार्थीको रुचिअनुसार कम्प्युटर मर्मत, चित्रकला, हाजिरीजवाफ, विद्युतीय वायरिङलगायत सीप सिकाउन थालिएको छ । विद्यालयका शिक्षिका मानकुमारी खवास, प्रतिमा खड्गी, रेखबहादुर थापाले विद्यार्थीलाई मकैको खोस्टाबाट चकटी बनाउन सिकाएका थिए । विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालनले विद्यार्थीको सीप र क्षमता वृद्धिमा सहयोग पुग्ने भानु नगरपालिकाका शिक्षा शाखा प्रमुख धु्रवराज पौडेलले जानकारी दिए । उनले भने, ‘बालबालिकामा जीवनपयोगी सीपको व्यावहारिक अभ्यास सुरु गरेर केही विद्यालयले अनुकरणीय प्रयास गरेका छन्, यसलाई निरन्तरता दिनुपर्छ ।’ असहाय बालबालिकालाई पढाउँदै व्यास व्यास नगरपालिकाले दुई टुहुरा विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ । व्यास नगरपालिका–१३ छाब्दी निवासी दुई टुहुरा बालबालिकालाई अध्ययन, खानबस्नको सम्पूर्ण व्यवस्थापन गर्ने गरी नगरपालिकाले अभिभावकत्व ग्रहण गरेको हो । बाबुआमा बितेपछि अरुको घरमा काम गर्न बसेका दुवै जनालाई आइतबार नगरप्रमुख वैकुण्ठ न्यौपाने, वडाध्यक्ष बसन्त आलेले अभिभावकत्व ग्रहण गर्दै नगरपालिकाले स्थापना गरेको व्यास नगर समता विद्यालयमा भर्ना गरिएको छ । कक्षा १ र ६ मा अध्ययनरत उनीहरु अब आवासीय विद्यालय नगर समता विद्यालयमा बसेर अध्ययन गर्नेछन् । विपन्न, असहाय, टुहुरा बालबालिकालाई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले नगरपालिकाले व्यास नगरपालिका–७ मा नगर समता विद्यालय स्थापना गरेको छ । उक्त विद्यालयमा हाल ५३ जना बालबालिका अध्ययन गर्छन् । नगरपालिकाले यस विद्यालयलाई देशकै नमूना विद्यालयका रूपमा विकास गर्दै लैजाने लक्ष्य लिएको नगरप्रमुख न्यौपानेको भनाइ छ । उनले भने, ‘यहाँ अध्ययन गर्ने बालबालिकाको सम्पूर्ण जिम्मेवारी नगरपालिकाले नै बहन गर्दै आइरहेको छ ।’ न्यौपानेका अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खान, बस्नको व्यवस्थापन समेत यही गरिएको छ । बन्द अवस्थामा रहेको क्यामिनकोट प्राथमिक विद्यालयलाई गत वर्षदेखि समता विद्यालयको रुपमा सञ्चालन गरिएको छ । विद्यालयमा अति विपन्न, अभिभावकविहीन, शिक्षाको पहुँचमा नरहेका बालबालिकालाई अध्ययनको व्यवस्था मिलाइएको वडाध्यक्ष कृष्णप्रसाद न्यौपानेले जानकारी दिए । विद्यालयमा हाल कक्षा ६ सम्म अध्यापन हुँदै आएको छ । निकट भविष्यमा कक्षा थप गरिने योजना बनाइएको छ । रासस
हेराल्ड ल स्कुलले माग गर्यो बीए एलएलबीका लागि आवेदन, ४० विद्यार्थीको कोटा
काठमाडौं । हेराल्ड ल स्कुलले यो वर्षदेखि कानुन संकायअन्तर्गत स्नातक तहमा बीए एलएलबी कोर्स पढाउन स्वीकृति पाएको छ । राजर्षि जनक विश्वविद्यालयको सम्बन्धनमा हेराल्डले यो वर्षदेखि ४० जना विद्यार्थीलाई बीए एलएलबी पढाउने भएको हो । हेराल्ड ल स्कुल हेराल्ड एजुकेशन नेटवर्कबाट सञ्चालित हुँदै आइरहेकाे छ । काठमाडौंको बसुन्धारास्थित हेराल्ड एजुकेशन नेटवर्कले प्ले ग्रुपदेखि स्नातक तहसम्म अध्ययन अध्यापन गराइरहेकाे छ । हेराल्डमा कक्षा ११ मा विज्ञान, मानविकी, व्यवस्थापन र कानुन संकाय सञ्चालन भइरहेको छ । स्नातक तहमा पनि यो वर्षदेखि बीए एलएलबी कोर्स सुरु गरिएको हो । पछिल्लो समय कानुनी शिक्षा विद्यार्थीहरूको रोजाइकाे विषय बनेको छ । कानुनमा स्नातक अध्ययनका लागि एलएलबी र बीए एलएलबी गरी दुईवटा प्रोगाम रहेको छ । एलएलबी अध्ययनका लागि कुनै पनि एक विषयमा स्नातक पास गरेको हुनुपर्छ भने बीए एलएलबीका लागि कुनै पनि संकायमा कक्षा १२ उत्तीर्ण भएको हुनुपर्छ । कानुनमा स्नातक अध्ययनका लागि अहिले निकै ठूलो प्रतिस्पर्धा हुने गरेको छ । सीमित कोटा र प्रतिस्पर्धाका कारण चाहेर पनि धेरैले कानुन पढ्न नपाइरहेको अवस्थामा हेराल्डले यो कोर्स पढाउन सुरु गरेको हो । कानुनी शिक्षामा विद्यार्थी र अभिभावकहरूको बढ्दो आकर्षणलाई ध्यान दिँदै यो शैक्षिक सत्रबाट बीए एलएलबी कोर्स सुरु गरिएको हेराल्ड एजुकेशन नेटवर्कका अध्यक्ष कपिल ज्ञवालीले जानकारी दिए । अध्यक्ष ज्ञवालीका अनुसार अहिले हेराल्ड ल स्कुल बसुन्धाराबाट प्रवेश परीक्षाको फारम वितरण भइरहेको र आगामी असोज १२ गते शनिबार दिउँसो ३:३० बजेदेखि साँझ ५:३० बजेसम्म प्रवेश परीक्षा सञ्चालन हुनेछ । प्रवेश परीक्षा उत्तीर्ण उत्कृष्ट ४० जनाले यो शैक्षिक शत्रमा भर्ना हुन पाउने छन् । उपयुक्त र आधुनिक प्रविधियुक्त शैक्षिक वातावरणमा अनुभवी प्राध्यापकहरूबाट पढाइ हुने हेराल्डको नतिजा पनि उत्कृष्ट रहेको छ । हेराल्डले उत्कृष्ट शैक्षिक क्रियाकलापसँगै विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न प्रकारका अतिरिक्त क्रियाकलाप र खेलकुदमा विशेष जोड दिँदै आएको छ ।