विदेश पढ्नेको नाममा बाहिरियो ८० अर्ब बढी रकम
काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा नेपालबाट विदेश अध्ययन गर्न गएकाहरुले अध्ययन प्रयोजनका लागि भनेर ८० अर्ब रकम लगेका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ८ महिनामा नेपालबाट विदेश पढ्न जाने विद्यार्थीहरुले ८० अर्ब १४ करोड रुपैयाँ लगेका हुन्, जुन शिर्षकमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा जम्मा अवधिमा ५४ अर्ब ७० करोड रुपैयाँ बाहिरिएको थियो । त्यस्तै, समीक्षा अवधिमा विदेश भ्रमण प्रयोजनका लागि नेपालीले ५१ अर्ब ३९ करोड रुपैयाँ खर्च गरेका छन्, जुन शिर्षकमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३६ अर्ब १६ करोड रुपैयाँ बराबरको रकम बाहिरिएको थियो । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको समीक्षा अवधिमा खुद सेवा आय ४४ अर्ब ८२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ५५ अर्ब ९१ करोडले घाटामा रहेको थियो ।
माई सेकेन्ड टिचरद्वारा सुदूरपश्चिममा पहिलो स्मार्ट स्कूलको अनावरण
काठमाडौं । अनलाइन शिक्षा प्रदायक माई सेकेन्ड टिचरले राष्ट्रिय परीक्षा बोर्डका लागि डिजिटल अध्ययन सामग्रीहरू उपलब्ध गराउन सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपीए) सँग साझेदारी गरेको घोषणा गरेको छ । बुधबार एसपीए कलेजलाई नेपालको पहिलो सुदूरपश्चिम माई सेकेन्ड टिचर नेपाल स्मार्ट स्कूलको रूपमा तोक्दै सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । माई सेकेन्ड टिचर एक अग्रणी ग्लोबल एडटेक प्लेटफर्म हो भने जसको उपस्थिति ५० देशहरूमा छ । जसमा क्याम्ब्रिज विद्यालय सहित ९००० भन्दा बढी विद्यालयहरूमा विश्वव्यापी रूपमा उपयोग भैरहेको छ । माई सेकेन्ड टिचरले नेपाल पाठ्यक्रम विकास केन्द्रको पाठ्यक्रमहरू ३५०० भन्दा बढी भिडियोहरूमा पङ्क्तिबद्ध गरेको छ । जसको प्रयोगबाट विद्यार्थीहरूले उनीहरूको अध्ययन तथा परीक्षामा राम्रो गर्न मद्दत गर्दछ । विद्यार्थीहरूले माई सेकेन्ड टिचरको अन्तरक्रियात्मक भिडियोहरू, निदान रिपोर्टहरू, परीक्षण पत्रहरू, र अन्य उपकरणहरूको मद्दतले आफ्नो प्रगति र अध्ययनलाई सफलतापूर्वक मापन गर्न सक्छन् । प्रविधि र अध्यापन साझेदारको रूपमा विश्वव्यापी रूपमा प्रयोग हुँदै आएको प्रविधिमा अत्याधुनिक शैक्षिक प्रगतिहरू कार्यान्वयन गर्नका लागि माई सेकेन्ड टिचर र एसपीएको साझेदारी घोषणा गर्न पाउँदा हामी हर्सित भएको संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एसपीए कलेजका प्रधानाध्यापक सुवास शाहीले भने, ‘हामी हाम्रा विद्यार्थीहरुका लागि सिकाई अनुभव बढाउन माई सेकेन्ड टिचरसँग साझेदारी गर्न पाउँदा उत्साहित छौँ । राष्ट्रिय परीक्षा बोर्ड पाठ्यक्रमसँग पङ्क्तिबद्ध शैक्षिक सामग्रीहरूको बृहत् संग्रहले हाम्रा विद्यार्थीहरूलाई शैक्षिक उत्कृष्टता हाँसिल गर्न निःसन्देह फाइदा पुर्याउँछ ।’ ‘हामी विद्यार्थीहरूलाई उनीहरूको पूर्ण क्षमतामा पुग्न र शैक्षिक रूपमा फस्टाउन आवश्यक शैक्षिक समग्री र उपकरणहरू प्रदान गर्ने आशा गर्दछौ,’ आइएनजीका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले बताए ।
निजी स्कुलको नाम नेपाली नबनाए काठमाडौं महानगरले विद्यार्थी भर्ना गर्न नदिने
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयले अनिवार्य रूपमा नेपालीपन झल्कने गरी नामकरण गर्नुपर्ने भएको छ । पछिल्ला दिनमा विद्यार्थी आकर्षण गर्ने नाममा अधिकांश संस्थागत विद्यालयले अङ्ग्रेजी नाम राख्ने गरेका छन् । साथै युरोप, अमेरिकालगायत विकसित मुलुकमा उत्कृष्ट ठहरिएका शैक्षिक संस्थाको नाम राखेर विद्यालय खोल्ने क्रम पनि बढेको छ । त्यस्ता विद्यालयले नेपालीपनलाई संरक्षण गर्न नसकेको बताउँदै महानगरपालिकाले अबदेखि अनिवार्य रूपमा नेपालीमा नै नाम राख्न निर्देशन दिएको छ । नेपालीपन झल्कने गरी नामकरण नगर्ने विद्यालयलाई आगामी शैक्षिक सत्रदेखि विद्यार्थी भर्नामा रोक लगाउने चेतावनी पनि महानगरपालिकाले दिएको छ । अहिले काठमाडौँमा मात्रै नभएर अन्य जिल्लामा समेत अङ्ग्रेजीमा विद्यालयको नाम राख्ने चलन बढेको छ तर काठमाडौँ महानगरपालिकाले मात्रै नेपालीपन झल्कने नाम राख्ने निर्देशन दिएको हो । अझ विद्यार्थीमाझ आफूलाई फरक रूपमा प्रस्तुत गर्न विद्यालयले नामसँगै इन्टरनेसनल शब्द जोड्ने चलन पनि बढेको छ । तर इन्टरनेसनल शब्द जोडे पनि त्यस्ता विद्यालयमा विदेशी मुलुकका विद्यार्थी भने पढ्दैनन् । अहिले राजधानीमा ह्वाइटहाउस, ट्रिनिटी, मिल्सबेरी, युरो किड्स, किड्जी, ब्राइट फ्युचर, लिभरपुल, गोल्डेन गेट, ग्लोबल, प्रिमिअर, जेम्स, नाइटिङ्गल, लिटिल एन्जल्स, हेराल्ड जस्ता अङ्ग्रेजी नाममा सञ्चालित विद्यालय छन् । महानगरपालिका शिक्षा विभागका अनुसार महानगरपालिकाभित्र अङ्ग्रेजी वा विदेशी शैक्षिक संस्थाको नाम राखेर सञ्चालित संस्थागत विद्यालयको सङ्ख्या ३२३ वटा रहेको महानगरपालिकाका शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोख्रेलले जानकारी दिइन्। ती विद्यालयको नाम रुजु गर्ने काम भइरहेकाले सङ्ख्यामा तलमाथि हुन सक्ने उनले बताइन्। रुजु गरिसकेपछि सबै विद्यालयलाई लिखित पत्राचार गरेर नेपालीपन झल्कने नाम राख्न सचेत गराइने छ । पत्राचारको काम बिहीबारदेखि नै सुरु गरिने छ । काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था छ । तर महानगरपालिकाभित्रका अधिकांश संस्थागत विद्यालयको नाम उक्त व्यवस्था प्रतिकूल रहेको महानगरपालिकाले जनाएको छ । बुधबार सार्वजनिक सूचना जारी गरेर सात दिनभित्र मौलिक नामकरण गर्ने प्रक्रिया अगाडि नबढाए नयाँ शैक्षिक सत्रमा भर्ना प्रक्रिया अघि बढाउनसमेत रोक लगाइने महानगरपालिकाले जनाएको छ । विभागका निमित्त शिक्षा प्रमुख सरस्वती पोखरेलका अनुसार सम्बन्धित संस्थागत विद्यालयले विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर ३५ दिनभित्रमा विभागमा निवेदन दिनुपर्ने छ । तर आफूहरूको निर्देशनको अवज्ञा गरेमा शिक्षा नियमावली २०५९ र काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ अनुसार कारबाही गरिने महानगरपालिकाले जनाएको छ । अहिले विद्यालयको नाम परिवर्तन गर्न चाहने विद्यालयसँग महानगरपालिकाले पचास हजार रुपियाँ राजस्व लिँदै आएको छ । तर आफैँले नाम परिवर्तन गर्न बाध्य पारेका कारण महानगरपालिकाले उक्त राजस्वमा छुट दिनुपर्ने विद्यालय सञ्चालकले माग गरेका छन् । राजस्व दस्तुर छुट दिने वा नदिने भन्ने विषयमा भने कुनै निर्णय नभएको शिक्षा विभागका निमित्त प्रमुख पोखरेलले बताइन् । आजको गोरखापत्रमा समाचार छ ।