विद्यालयको सिकाइ र कमाइ कार्यक्रम : बाँझो जमिनमा तोरी खेती

चितवन । भरतपुर महानगरपालिका–१९ मा स्थित शारदा माध्यामिक विद्यालयको बाँझो जमिनमा तोरी खेती गरिएको छ । विद्यालयको करिब तीन बिघा जमिनमा तोरी खेती गरिएको हो। अहिले विद्यालय ओरपरको क्षेत्रमा तोरी फुलेर ढकमक्क छ । विद्यायलको जग्गा संरक्षणसंगै विद्यार्थीलाई सिकाइ उपलब्धिका लागि तोरी खेती गरिएको विद्यालयका प्रधानाध्यापक एन्डिला रिजालले बताइन् । उनले विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थी मिलेर तोरी खेती गरिएको जानकारी दिइन् । यस विद्यालयमा त्रिभुवन विश्वविद्यालयको अनुसन्धान कार्यक्रम समेत सञ्चालनमा छ । ‘विद्यालयमा सिकाइ र कमाइ कार्यक्रम चलिरहेको छ’, उनले भनिन्, ‘त्यो कार्यक्रमको खाकाले हामीलाई पनि हौसला प्रदान गर्‍यो ।’ उनले अनुसन्धान कार्यक्रम बाहेक रहेको जमिनमा विद्यालयले नै खेती गर्ने व्यवस्थापन समितिको निर्णयपछि तोरी खेती गरेको बताइन् । ‘झाडीमा परिणत भएको विद्यालयको जमिन ढकमक्क छ’, उनले भनिन्, ‘यसमा विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकको साथ छ ।’ विद्यार्थीलाई माटो चिनाउन र उनीहरुले पढेका कुरालाई व्यवहारिक रुपमा जोड्न विद्यालयले गरेको खेती उपयोगी हुने उनले बताइन् । कक्षा कोठामा सिकेका सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक सिकाइ मार्फत दिगो बनाउन सकिने जनाउँदै उनले यसले विद्यालयको शैक्षिक गुणस्तरलाई समेत बढाउने विश्वास व्यक्त गरिन् । उनले भनिन् ‘स्थानियले भैसी बाख्रा चराउने ठाउँ हो तर हामीले खनजोत गरेपछि उहाँहरु सबैले राम्रो गर्नुभएको छ भन्दै सहयोग गर्न आउनुहुन्छ ।’  प्रधानाध्यापक रिजालले विद्यालयले गरेको प्रयासमा समुदायको पनि साथ रहेको बताइन् । खेतीले विद्यालयलाई समुदायसंग जोड्ने सेतुको रुपमा काम गरेको अनुभव भएको उनले बताइन् । विद्यालयका शिक्षक ठाकुर ढकालले आगामी पाँच वर्षमा विद्यालयको सबै जामिनलाई उपयोग गर्ने योजना बनाइएको बताए । उनले सिचाइँको समेत तयारी गरिएको जनाउँदै जमिनमा तारबारका लागि स्थानीय सरकारसंग अनुरोध गरिएको जानकारी दिए । ‘विद्यालयलाई यो कार्यक्रम मार्फत नमूना विद्यालयको रुपमा अघि बढाउने योजना छ’,उनले भने,’विद्यार्थीलाई सिकाइसंग र अभिभावकलाई विद्यालयसंग जोड्ने यो महत्वपूर्ण छ ।’ जीवन उपयोगी शिक्षा आजको आवश्यकता रहेकाले विद्यालयमा सिकाइने व्यवहारिक शिक्षाले हरेक घरपरिवार खुसी र सुखी हुने शिक्षक ढकालले बताए । रासस

हिमालयन ह्वाइट हाउस कलेज र चाइनिज एकेडेमी अफ साइन्सेसले सहकार्य गर्ने

काठमाडौं । काठमाडौंको पुतलीसडक स्थित हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज र चाइनिज एकेडेमी अफ साइन्सेसबीच  सम्झौता भएको छ । हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेज र चाइनीज एकेडेमी अफ साइन्सेज (सीइएस)बीच सम्पदा, शैक्षिक र पर्यटनका विषयमा सम्झौता भएको हो । चाइनिज एकेडेमीअफ साइन्सेसका प्रोफेसर र रिसर्चरहरुको एक टोली नेपालमा भएका सम्पदा, शैक्षिक अवस्थाबारे जानकारी लिइ सहकार्य गर्ने उद्देश्यले नेपाल आएको र सोही क्रममा निजी क्षेत्रको अब्बल शैक्षिक संस्थासँग महत्वपूर्ण सम्झौता गरेको जनाइएको छ । सम्झौताअनुसार विशेषगरी बीएचएम र बायोटेक्नोलोजीका विद्यार्थीलाई चाइनीज युनिभर्सिटीमा कसरी एकिकृत गर्न सकिन्छ भन्ने विषयमा सहकार्य गर्नेछन् । कलेजका प्रिन्सिपल तोयानारायण पौडेलले आफू शैक्षिक र पर्यटनका हिसावले टोलीसँग सहकार्य गर्न तयार रहेको बताएका थिए । ‘चीन शिक्षाको हिसावले मात्र नभइ सबै क्षेत्रमा विकसित र शक्तीशाली राष्ट्र हो, तपाईहरुसँग सहकार्य गर्न पाउँदा खुसी भएका छौं’, कलेजका प्रिन्सिपल पौडेलले भने । कार्यक्रममा जेराफिक विज्ञान र प्राकृतिक स्रोत अनुसन्धान संस्थानका प्राध्यापक, रिसर्चर झाओपिङयाङले नेपाल पर्यटकीय हिसावले सुन्दर रहेको बताइन् । उनले भनिन्, ‘देश सुन्दर छ भन्ने थाहा थियो, आएर हेर्दा राम्रो लाग्यो अब हामीले नेपालको शिक्षा र सम्पदालाई जोडेर काम गर्नुपर्छ, यसले दुवै देशको लागि फाइदा हुन्छ ।’ सम्झौतामा कलेजमा होटेलम्यानेजमेन्ट पढिरहेका विद्यार्थीलाई प्रशिक्षणका लागि चीन लैजाने र केही विद्यार्थीलाई स्कलरसिपमा अध्ययन गर्न लाने र कलेजलाई आवश्यक पर्ने प्रविधि हस्तान्त्रण गरिने उल्लेख छ । यस्तै कलेजले पनि नेपालमा रहेको सम्पदा र शैक्षिक अवस्थाबारे अध्ययन गर्न समन्वय गर्ने जनाएको छ । चिनियाँ टोलीले कलेजका प्रिन्सपललाई भ्रमणको लागि समेत औपचारिक निमन्त्रणा गरेका छन् । कलेजका प्रिन्सिपल पौडेलले सम्झौताले कलेजलाई मात्र नभइ समग्र देशको लागि फाइदा हुने बताए । उनले भने, ‘चीन हामी भन्दा शक्तिशाली राष्ट्र हो । त्यहाँ शिक्षण पेशामा प्रयोग हुने प्रविधि धेरै छन्, त्यहाँबाट अलिकति पनि हामीलाई पाउन सक्यौँ भने, हाम्रा विद्यार्थीलाई धेरै फाइदा हुन्छ ।’ उनले थपे ‘हामीबीच क्वालीटि, एक्सचेन्ज, स्टुडेन्ट एक्सचेन्ज गर्ने विषमा पनि सम्झौता भएको छ ।’ सिभिल इन्जिनियरिङमा चीनमा बनेका सामानहरु नेपाल पठाउने पूर्वाञ्चल विश्वविद्यालयलाई पनि सहयोग गर्ने विषयमा पनि द्वीपक्षीय छलफल भएको छ । कोभीड पछि चीनबाट नेपाल आउने र नेपालबाट चीन जानेहरुको संख्या पातलिदा अब कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारे टोलीले नेपालको पर्यटन मन्त्रालय र शिक्षा मन्त्रालयमा समेत छलफल गर्ने भएको छ । नेपालको सम्पदा शिक्षा र होटेल म्यानेजमेन्ट लगायतका क्षेत्रमा उनीहरूले भ्रमण गर्नेछन् ।

काठमाडौं विश्वविद्यालयका एक हजार ८३८ विद्यार्थी दीक्षित

काठमाडौं । काठमाडौं विश्वविद्यालयका एक हजार आठ ३८ विद्यार्थी आज दीक्षित भएका छन् । प्रधानमन्त्री तथा उक्त विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २९औं दीक्षान्त समारोहमा ती विद्यार्थीलाई दीक्षित  भएको प्रमाणपत्र प्रदान गरे । दीक्षित हुनेमा पीएचडी, डिएम र एमसिएचमा स्कुल अफ आर्ट्सका एक, शिक्षाका तीन, मेडिकल साइन्सेजका १२ र विज्ञान विषयका दुई जना गरी १८ जना रहेका छन् । त्यस्तै एमफिल तहका ३८, स्नातकोत्तर तहका तीन सय १४, पिजिडी तहका ५२ र स्नातक तहका एक हजार चार सय १६ जनासहित एक हजार आठ सय ३८ विद्यार्थी २९औँ दीक्षान्तको पहिलो चरणमा दीक्षित भएको काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्टसका सहप्राध्यापक एवं विश्वविद्यालयका प्रवक्ता एक्कुमाया पुनले बताए । समारोहमा काठमाडौं विश्वविद्यालयको इतिहासमा पहिलोपटक स्कुल अफ इञ्जिनियरिङ अन्तर्गत् माष्टर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्समा एक, स्कुल अफ मेडिकल साइन्सेज अन्तर्गत् माष्टर अफ साइन्स इन मिडवाइफेरी नर्सिङमा आठ र स्कुल अफ एजुकेसनअन्तर्गत् माष्टर इन हायर एजुकेशनमा ९ जनालाई पनि उपाधिको प्रमाणपत्र दिइएको थियो । यसैबीच विश्व विद्यलायले प्रदान गर्दै आएका पदकमध्ये पहिलो चरणको भाइस चान्सलर स्वर्णपदक स्नातक तहमा सबैभन्दा बढी अङ्क ८४दशमलव२६ प्रतिशत ल्याउन सफल विराटनगरको विराट मेडिकल कलेजका सनम ढकाललाई प्रदान गरिएको थियो । त्यस्तै एमबी ए तहमा सबैभन्दा बढी तीन दशमलव ८९ सिजीपीए प्राप्त गर्न सफल स्कुल अफ मेनेजमेन्टका विनायक घिमिरेलाई जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक, एमबीएमा तीन दशमलव ७८ सिजीपीए प्राप्त गरी सर्वोत्कृष्ट हुन सफल स्कुल अफ मेनेजमेन्टका विद्यार्थी अङ्कित सुवेदी, एमबीबीएसतर्फ स्नातक तहमा सबैभन्दा बढी अङ्क ८०दशमलव २९ प्रतिशत प्राप्त गर्न सफल विराज मेडिकल कलेजका संस्कृतिश्री ढकाललाई न्हुछेरत्न तुलाधर स्वर्ण पदक र स्कुल अफ मेनेजमेन्टमा स्नातक तहमा सबैभन्दा बढी तीन दशमलव ९७ सिजीपीए प्राप्त गर्न सफल सौगात बास्तोलालाई प्रेमराज पन्त स्वर्ण पदक प्रदान गरिएको थियो । दीक्षान्त समारोह शताब्दी पुरुष वरिष्ठ चिकित्सक डा गौरीशङ्करलाल दासको पनि सहभागिता थियो । रासस