६६ जिल्लाका आधारभूत विद्यालयमा इन्टरनेट जडान गरिने

netकाठमाडौं । सरकारले ६६ जिल्लाका आधारभूत विद्यालयमा ‘ब्रोण्डब्याण्ड इन्टरनेट’ पुर्याउने भएको छ । ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ती विद्यालयमा इन्टरनेट सेवा जडान तथा सञ्चालनको तयारी थालिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आज एक सूचना जारी गर्दै ती जिल्लाका स्थानीय तहलाई समझदारी पत्रमा हस्ताक्षर गर्न आग्रह गरेको छ सूचना अनुसार विनासकारी गोरखा भूकम्पबाट अति प्रभावित काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुगां र काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर बाहेकका जिल्लाका सबै आधारभूत विद्यालयमा इन्टरनेट जडान हुने जनाइएको छ । सूचनामा १५ दिनभित्र समझदारी पत्रमा हस्ताक्षर गर्न भनिएको छ ।

एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट गर्न प्रस्ताव

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधिबाट गराउने तयारी गरेको छ । राष्ट्रिय परिक्षा बोर्डको प्रस्ताव माथि छलफल गर्न सोमबार बसेको मन्त्रालयको बैठकले मन्त्रिपरिषद्को बैठकका उक्त प्रस्ताव लैजाने तयारी गरेको हो । शिक्षामन्त्रीका प्रेस संयोजक ईश्वरराज ढकालका अनुसार आजको बैठकमा गत वर्षकै विधि अनुसार यस वर्ष पनि एसईई परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ । मन्त्रालयमा आवश्यक छलफल गरेर उक्त प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा लैजाने निर्णय भएको हो । कक्षा १२ को वार्षिक परीक्षा भौतिक उपस्थितिमा नै हुने भएको छ । शनिबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले उपयुक्त समयमा विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गरी परीक्षा गर्ने निर्णय गरेको हो । बाेर्डले उक्त परीक्षा तत्काल सञ्चालन गर्न कोभिड–१९ का कारण सम्भव नभएको भन्दै साउन तथा भदौ महिनामा उपयुक्त समय भएको भन्दै मन्त्रालयमा सिफारिस गरिएको छ । शनिबार राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को वार्षिक परीक्षा सञ्चालनको मोडालिटी मन्त्रालयमा पेश गरेको थियो । परीक्षा स्थगित भएपछि एसईई र कक्षा–१२ को परीक्षाको मोडालिटी तयार पर्न एक कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलको बुझाएको प्रतिवेदन माथि शनिबार राष्ट्रिय परीक्षा बोर्डमा छलफल गरिएको थियो । बोर्डले बुझाएको प्रतिवेदनका आधारमा मन्त्रालयले मन्त्रिपरिषद्को बैठकले उक्त प्रस्ताव लैजाने निर्णय गरेको हो । दोस्रो चरणको कोरोना संक्रमणदर बढ्दै गएपछि बोर्डले गत वैशाख २७ गते एसइई र कक्षा–१२ को परीक्षा स्थगित गरेको थियो । यस्तै बोडले मन्त्रालयमा कक्षा १२ को परीक्षा विद्यार्थीको भौतिक उपस्थितिमा नै गर्ने प्रस्ताव पेश गरेको थियो ।

वैकल्पिक विधिबाट एसइई सञ्चालन गर्न परीक्षा बोर्डले माग्यो अनुमति

काठमाडौं । गत वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले सरकारको अनुमति मागेको छ । बोर्डले सोसम्बन्धी प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई बुझाएको छ । यही जेठ १३ गतेदेखि एसईई र जेठ २६ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने गरी तयारी गरेको बोर्डले कोरोना भाइरसको महामारी पुनः फैलिएसँगै अर्को सूचना जारी नभएसम्मका लागि वैशाख २७ गते सूचना जारी गरी परीक्षा स्थगन गरेको थियो । बोर्डका अध्यक्ष डा चन्द्रमणि पौडेलले अहिलेको अवस्थामा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने भएकाले वैकल्पिक विधिबाट सञ्चालन गर्न मन्त्रालयसँग अनुमति माग गरेको जानकारी दिए । गत वर्ष पनि अहिलेको जस्तै अवस्था आएपछि सम्बन्धित विद्यालय आफैले आन्तरिक मूल्याङ्कन गरी पठाएको अङ्कका आधारमा बोर्डले नतिजा प्रमाणीकरण र सार्वजनिक गरेको थियो । सरोकारवालाले भने यस वर्ष पनि आन्तरिक मूल्याङ्कन गराउन सुझाव दिएका छन् । एसईई दिने परीक्षार्थी सबैको इन्टरनेट, ल्यापटप र कम्प्युटर नहुने भएको र मोबाइलबाट कक्षा लिए जस्तै परीक्षा दिन नसकिने भन्दै आन्तरिक मूल्याङ्कन विधि नै उपयुक्त भएको जोड दिइएको छ । देशभरीबाट पाँच लाख १७ हजार विद्यार्थी गत वर्षको एसईईको तयारीमा छन् । रासस