यही शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्दै काठमाडाैं महानगर
काठमाडाैं । काठमाडौं महानगरपालिकाले आधारभूत तहको स्थानीय पाठ्यपुस्तक यही चैतको तेस्रो सातादेखि लागू गर्ने भएको छ । कामपाको २०७७ असोजमा बसेको १९औँ कार्यपालिका बैठकले यही शैक्षिक सत्रदेखि स्थानीय भाषाको पुस्तक लागू गर्ने निर्णय गरेअनुरुप कामपा शिक्षा विभागले कार्यान्वयनको तयारी थालेको हो । कोरोना भाइरसका कारण यस वर्ष आगामी जेठसम्म शैक्षिक सत्र सञ्चालन हुनेछ । कार्यान्वयनका लागि कामपाले अहिले विद्यालयमा स्थानीय पाठ्यपुस्तक पठाइसकेको छ भने शिक्षक पनि पठाउन थालेको छ । निजी विद्यालयका शिक्षकलाई पनि कामपाले उक्त पाठ्यसामग्री पठनपाठन गर्न सक्ने तालिम सञ्चालन गरिरहेको कामपा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए । ‘यस वर्षका लागि शैक्षिक सत्रको समय साढे दुई महिना मात्र बाँकी छ । यस समयमा जे–जति सकिन्छ पठनपाठन कार्य सुरु गर्ने हो’, प्रमुख सुवेदीले भने । यसका लागि पाठ्यक्रम सबै विद्यालयमा पुगिसकेको भन्दै उनले पाठ्यपुस्तक पनि तत्काल पठाइने जानकारी दिए । गत फागुन २८ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र कामपा प्रमुख विद्यासुन्दर शाक्यले सयुक्तरूपमा ‘येँ देय् म्हसीके’ ९काठमाडौँ चिनौँ० नामक स्थानीय पाठ्यपुस्तक विमोचन गरिसकेका छन् । नेपालको संविधानको भाग ३ मौलिक हकअन्तर्गत धारा ३२ को उपधारा ९२० र ९३० मा मुलुकको हरेक स्थानीय तहबाट आफूमातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रमका रूपमा आफैँले एक विषय अध्ययन/अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । काठमाडौँ महानगरपालिकाले सोही व्यवस्थाअन्तर्गत यो पाठ्यपुस्तक तयार गरेको हो । कामपा प्रमुख शाक्यले काठमाडौं नेवारहरुको बाहुल्य रहेको ठाउँ भएको र यहाँ ७७ वटै जिल्लाका नागरिक बसोबास गर्ने भएकाले सबैलाई यहाँको हावापानी, संस्कृति, परम्पराबारे जानकारी दिने उद्देश्यले यस किसिमको पाठ्यक्रम तयार गरिएको जानकारी दिएका छन् । पाठ्यक्रम लेखनमा सुरुदेखि सहभागी हुँदै आएका वरिष्ठ संस्कृतिविद् डा चुन्दा बज्राचार्यले पाठ्यपुस्तकमा काठमाडौं महानगरभित्र रहेका विभिन्न जात्रा, पर्व, ढुङ्गेधारा, पाटी, सत्तल, व्यक्ति आदिसम्बन्धी पाठ मात्र समावेश गरिएको बताउँछन् । त्यसैगरी नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपि, परम्परागत खेलजस्ता विषय समेटिएका छन् । “बालबालिकालाई सिक्न सजिलो होस् भन्ने उद्देश्यले कक्षा १ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यासगत पठनपाठन गरिने छ । कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठनपाठन हुनेछ”, कामपा शिक्षा विभागका प्रमुख सुवेदीले भने, ‘कक्षा ६, ७ र ८ मा भने ५० अभ्यासगत ५० सैद्धान्तिक पठनपाठन हुने व्यवस्था गरिएको छ ।’ यस भाषा पठनपाठन गर्नका लागि कामपाले आफूमातहत रहेका सामुदायिक विद्यालयमा १७२ नयाँ शिक्षक नियुक्ति गर्ने छ । यसरी राखिने शिक्षकहरु सेवा करारअन्तर्गत नियुक्त गर्ने र हरेक एक वर्ष समयावधि थप गर्ने व्यवस्था रहने छ । यही शैक्षिक सत्रदेखि अनिवार्यरूपमा लागू गर्न लागिएको यो विषय पठनपाठन गराउनका लागि हरेक सामुदायिक विद्यालयका कम्तीमा एक/एक वा विद्यार्थी सङ्ख्या र आवश्यकता हेरी तीन जनासम्म शिक्षक राख्ने कामपाको तयारी छ । सामुदायिक र संस्थागत दुवै विद्यालयका लागि पाठ्यपुस्तक तयार गरेको भए पनि हाल सामुदायिक विद्यालयका लागि मात्रै अनिवार्यरूपमा लागू गरिने भएकाले शिक्षक पनि सोहीअनुरुप राखिने छ । कामपामा रहेका ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालयमा लागू गर्ने गरी पाठ्यपुस्तक तयार गरिएको हो । अब यी सबै विद्यालयमा १०० पूर्णाङ्कको स्थानीय विषयको पठनपाठन हुनेछ । कामपाका सामुदायिक विद्यालयमा ४२ हजार र संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थी पठनपाठन गर्ने गरेका छन् । कामपाका सामुदायिक विद्यालयमा एक हजार ७९१ शिक्षक कार्यरत छन् । रासस
ज्योति विकास बैंकले इक्यानका सदस्यहरुलाई १५ लाखसम्मको कर्जा दिने
काठमाडाैं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र ज्योति विकास बैंकबीच सहकार्य सम्बन्धि सम्झौता भएको छ । आइतबार इक्यानका अध्यक्ष प्रकाश पाण्डे र बैंकका सीइओ श्रीचन्द्र भट्टले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे । अध्यक्ष प्रकाश पाण्डेका अनुसार अब इक्यानको कार्यसमितिको सिफारिसमा इक्यान सदस्यहरुले १५ लाख रुपैयाँसम्मको प्रोफेसनल लोन लिन सक्नेछन् । यस सम्झौताबाट इक्यानका सञ्चालक, सदस्य संस्था, कर्मचारी तथा उच्चशिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुले कर्जा लिन सहित ज्योति विकास बैंकबाट प्राप्त हुने सम्पूर्ण बैँकिङ्ग सुविधा सहज रुपमा उपयोग गर्न सकिने उनले बताए । इक्यान शैक्षिक परामर्श क्षेत्रको अग्रणी संस्था हो । साथै सबैभन्दा पुरानो र धेरै सदस्य भएको संस्थाका रुपमा संघले आफ्नो भूमिका निर्वाह गर्दै आएको छ । महासचिव दिपकराज भुसालका अनुसार ज्योति विकास बैंकसँगको सहकार्यले यससंघमा आबद्ध संस्था र तीनका सञ्चालकहरुले मात्र नभई विद्यार्थी र अभिभावकले पनि सेवा तथा सुविधा उपयोग गर्न पाउने विश्वास व्यक्त गरे । उच्च शिक्षाका लागि विदेशी भूमिमा अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि इक्यान र इक्यान अन्तर्गतका सदस्य संस्थाले विभिन्न प्रकारका परामर्श सेवा प्रदान गर्दै आएका छन् ।
त्रिविले ३२ लाखमा किन्याे सफट्वेयर: विद्यार्थीले घरमै बसेर विदेशी पुस्तक निःशुल्क पढ्न पाउने
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले अनलाइनमार्फत विद्यार्थीलाई घरमै बसेर विदेशका पुस्तक निःशुल्क पढ्ने व्यवस्था गरेको छ । पुस्तकालयले रिमोट एक्सेस प्रणालीको विकास गरेर घरमै बसेर पुस्तक, डकुमेन्ट, जर्नल पढ्न व्यवस्था गरेको हो । पुस्तकालयले रिमोट एक्सेस सेवासहितको प्रोक्वेस्ट डाटाबेस सफट्वेयर जडान गरी विदेशमा रहेका पुस्तक पढ्ने व्यवस्था गरेको हो । बेलायतबाट उक्त सफ्टवेयर पुस्तकालयले ३२ लाखमा खरीद गरेको हो । पुस्तकालयले त्रिविअन्तर्गतका आङ्गीक क्याम्पस र पुस्तकालयसँग सम्झौता गरेका अन्य विश्वविद्यालयका विद्यार्थीलाई प्रोक्वेस्ट डाटाबेस सफट्वेयरबाट निःशुल्करुपमा पुस्तक पढ्ने व्यवस्था गरिएको पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठले जानकारी दिए । विदेशी विश्वविख्यात विद्वानले प्रकाशित गरेका पुस्तक, जर्नल, लेखरचनालगायत निःशुल्क पढ्नका लागि विद्यार्थीले पुस्तकालयको वेबसाइट www.tucl.org.np मा उपलब्ध फाराम भर्नुपर्ने हुन्छ । सोही फाराम भरेका आधारमा विद्यार्थीको इमेल आइडी उपलब्ध गराई पुस्तकालयले विदेशी पुस्तक, डकुमेन्ट, जर्नललगायत पढ्न पाउने व्यवस्था गरेको उनले जानकारी दिए । गत मङ्सिरबाट शुरु भएको रिमोट एक्सेस प्रणालीमा अहिले ३० हजार विद्यार्थीको इमेल आइडी बनाइएको छ । पुस्तकालयका सूचना अधिकारी विजय शर्माले विद्यार्थीलाई घरमै बसेर विदेशका प्रसिद्ध लेखकले लेखका सामग्री पढ्न पाउने बताए । उहाँका अनुसार उक्त रिमोट एक्सेसमार्फत प्रोक्वेस्ट डाटाबेशमा राखिएका चार लाख ५० हजारभन्दा बढी ई–पुस्तक, ५० लाखभन्दा बढी ई–थेसिस डिजर्टेशनका साथै हजारौँ शीर्षकका जर्नल, पत्रिका र लेख, रचना रहेका छन् । उक्त सेवाका लागि नेपाल खुला विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, हेटौँडा कलेज अफ सोसल साइन्सेस, सगरमाथा इञ्जिनीयरिङ कलेज, बानेश्वर बहुमुखी क्याम्पस संस्थागतरुपमा पुस्तकालयले खरीद गरेको डाटाबेससँग जोडिएका छन् । यस्तै पुस्तकालयले पछिल्लो समय एशियन विकास बैंक र नेशनल डिजिटल लाइब्रेरी अफ इण्डियासँग ई–रिसोर्सेसको प्रयोगमा सम्झौता र सहकार्य गरेको छ । उक्त सम्झौतानुसार एशियन विकास बैंकसँग रहेका तीन लाख रिर्सोस पुस्तक र डिजिटल लाइब्रेरीसँग रहेका चार करोड ५० लाख ई–पुस्तकालय, जर्नल, थेसिस, अडियो, भिडियोसमेत निःशुल्क पढ्न पाउने सूचना अधिकारी शर्माले जानकारी दिए । अहिले पुस्तकालयसँग चार लाख १० हजार पुस्तक छन् । छुट्टै ई–पुस्तकालय प्रविधिको युगसँगै पुस्तकालयले आफ्नै छुट्टै ई–पुस्तकालयको डाटाबेस बनाउने योजना पनि अगाडि बढाएको पुस्तकालयका प्रमुख श्रेष्ठले जानकारी दिए । उहाँले स्नातकोत्तर तह, दर्शनाचार्य र विद्यावारिधि तहका शोधपत्रलाई अनलाइनमा राखी ई–पुस्तकालय निर्माणको शुरुआत गरेको छ । अहिलेसम्म दुई हजार शोधपत्र डिजिटलाइज गरिएको छ । पुस्तकालयले छिट्टै पुस्तक, थेसिस, डिजर्टेशन, जर्नल, रिपोर्ट तथा ऐतिहासिक दस्तावेजसहितको आफ्नै छुट्टै डिजिटल डाटाबेस बनाउने उनले बताए । रासस