अन्तर्राष्ट्रियस्तरको शिक्षा अब पेन्टागन कलेजमै, स्नातकोत्तर स्तरको पढाई शुरु गर्दै
काठमाडौं । २०६६ सालमा स्थापित भएको पेन्टागन इन्टरनेशनल कलेज उच्च शिक्षाको क्षेत्रमा ख्याति प्राप्त, अनुभवी तथा विशुद्ध प्राज्ञिक व्यक्तिहरूको समूहबाट सञ्चालित कलेज हो । यस कलेज स्थापना कालदेखि नै विद्यार्थी तथा अभिभावकहरूको पहिलो रोजाईमा परेको छ । पेन्टागन कलेजमा १० वर्षदेखि ३० वर्षसम्मका अनुभव संगालेका प्राध्यापकहरू आफै सञ्चालक रहेका छन् । जसले गर्दा गुणात्मक शिक्षा पाउनेमा कुनै शंका नरहेको यस कलेजका प्राचार्य तथा शिक्षाविद् डा. कृपाराम मेहताले बताएका छन् । कलेजको प्राज्ञिक निर्देशक केशवराज पोखरेले यहाँका अधिकांश प्राध्यापकहरू उच्च माध्यामिक तहको पाठ्यक्रममा पढाइ हुने किताबहरूको लेखक पनि भएकाले शिक्षणको गुणवत्ता अन्तर्राष्ट्रियस्तरको हाराहारीमा पुगेको बताएका छन् । कलेजमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारका प्रयोगशालाहरू, सुविधा सम्पन्न पुस्तकालय, उपत्यका तथा हिमालहरूको विहङ्गम दृश्य अवलोकन गर्न सकिने तथा विविध किसिमका स्वस्थकर एवं स्वादिष्ट परिकारहरू उपलब्ध हुने क्यान्टिनजस्ता भौतिक पूर्वाधारहरु रहेका छन् । कलेजका शैक्षिक निर्देशक डा. कृपाराम मेहता भन्छन्- ‘नेपाली शिक्षालाई विश्वस्तरीय बनाउन आधुनिक शिक्षण विधि प्रयोग गरिएको छ । यस प्रयोजनका लागि मोडेल, चार्ट, ओभरहेड प्रोजेक्टर तथा मल्टिमिडियाजस्ता सामग्री प्रयोग गरी हाम्रा विद्यार्थीहरूलाई कठिन विषयहरूलाई पनि सरल ढंगले बुझाउने प्रयास गर्दछौं ।’ उनले थपे- ‘हामीले पारिवारिक वातावरण सिर्जना गरी विद्यार्थीहरूसँग मित्रवत व्यवहार गर्दछौं, जसले गर्दा विद्यार्थीहरू भयरहित भएर आफ्ना समस्याहरू शिक्षकहरूसमक्ष राख्ने गरेका छन् । यहाँ शिक्षकको दायित्व कक्षाकोठाभित्र मात्रै सीमित हुँदैन, हामी जुनसुकै बेला विद्यार्थीहरूलाई सहयोग गर्न तत्पर हुन्छौं ।’ विज्ञान संकायजस्तै व्यवस्थापनतर्फ पनि यस कलेजले उत्कृष्टता स्थापना गरेको देखिन्छ । होटल म्यानेजमेन्ट, ल्याब, कम्प्युटर ल्याबको साथै आवश्यक फिल्ड भिजिटको व्यवस्था गरिएको हुनाले विद्यार्थीहरू आफ्ना शैक्षिक अभिष्ट पूरा हुने कुरामा विश्वस्त देखिन्छन् । शैक्षिक निर्देशक डा. अरविन्द केसरी भन्छन्- ‘एक्काइसौं शताब्दीका चुनौतीहरूलाई सामना गर्न सम्पूर्ण आधारभूत कुराहरूलाई दृष्टिगत गरी कहलिएका योग्य शिक्षकहरूद्धारा अध्यापन गराउँदैछौं ।’ साथै, उनले शिक्षालाई व्यवहारिक बनाउन आधुनिक शिक्षण विधिहरू प्रयोग गरी व्यवस्थापनको शिक्षा किताबमा मात्रै सीमित नभई व्यवहारमा पनि उतार्ने प्रयास गरेको बताएका छन् । कलेजले उत्कृष्ट शिक्षणसँगसँगै अतिरिक्त क्रियाकलाप तथा खेलकुदमा पनि उत्तिकै चासो राखेको छ । अन्तर्राष्ट्रिय मापदण्डको बास्केट बल कोर्ट, क्रिकेट, टेबलटेनिस तथा अन्य खेलहरूको व्यवस्था गरिएको छ । यस कलेजका प्रशासनिक निर्देशक ठानेश्वर बस्यालले उपत्यका बाहिरका विद्यार्थीका लागि सुविधा प्रदान गर्ने उद्देश्यले कलेजले छात्राबासको व्यवस्था गरेको जानकारी दिएका छन् । यस संस्थाले विज्ञान, व्यवस्थापन र मानविकीका विषयमा अध्यापन गराउँदै आएको छ । बोर्डको परीक्षाफल, मेडिकल प्रवेश परीक्षा, इन्जिनियरिङ प्रवेश परीक्षा एवं विदेशी दूतावासबाट लिइने छात्रवृत्ति परीक्षामा समेत पेन्टागनका विद्यार्थीहरूले प्रत्येक वर्ष १०० को सेरोफेरोमा निःशुल्क छात्रवृत्ति कोटामा नाम निकाली अग्रस्थान कायम राख्न सफल भएको कलेजले जनाएको छ । निर्देशक ठानेश्वर बस्यालले भने- ‘अनुभवी, योग्य र सक्षम शिक्षक कर्मचारी प्रवेशबाट सुदृढ एवं परिस्कृत हुँदै शैक्षिक उत्कृष्टताको नमुनाको रुपमा स्थापित भई गुणस्तरीय शिक्षा दिन कटिबद्ध रहेको छ । विगत ९ वर्षे अवधिमा बोर्ड दोस्रो एवं बोर्ड पाँचभित्र पर्न सफल रहेकोमा २०६९ सालको व्यवस्थापन समूहबाट सर्वोत्कृष्ट र विज्ञान कक्षा ११ मा ६ जना उत्कृष्ट स्थान प्राप्त गर्न सफल रहेको छ ।’ मेडिकल साइन्समा २०७२ सालको शिक्षा मन्त्रालयको एमबीबीएस प्रवेश परीक्षामा यस कलेजका राजु अधिकारी राष्ट्रिय रुपमा सर्वोत्कृष्ट भए भने २०६९ सालको शिक्षा मन्त्रालयको प्रवेश परीक्षामा भगवान श्रेष्ठ र विदुर खतिवडाले सर्वोत्कृष्ट प्रथम र दोस्रो स्थान प्राप्त गरेका छन् । इन्जिनियरिङतर्फ २०७२ सालको प्रवेश परीक्षामा अरविन्द गुप्ता राष्ट्रिय रुपमा प्रथम र २०६८ सालको परीक्षामा क्षितिज सुवेदी सर्वोत्कृष्ट दोस्रो स्थान प्राप्त गरेका छन् । यसैगरी, हालसम्म छात्रवृत्तिको रुपमा इन्जिनियरिङ्तर्फ ४५० र मेडिकल साइन्सतर्फ ५०० भन्दा बढी विद्यार्थी पूर्ण, आंशिक तथा अन्य छात्रवृत्ति कोटामा अध्ययन गरिरहेका छन् । राष्ट्रिय बोर्ड परीक्षामा २०७१ सालको विज्ञानतर्फ प्रकृति डुमरु प्रथम स्थान प्राप्त गरी नेपाल प्रथम (महिला) र २०६८ सालमा आशिष भट्टराई दोस्रो र २०६७ सालमा क्षितिज सुवेदी प्रथम स्थान ल्याउन सफल रहे भने व्यवस्थापनतर्फ २०७० र २०७१ सालमा क्रमशः आशिष गुप्ता र चन्दन यादवले प्रथम स्थान प्राप्त गरी प्रधानमन्त्रीबाट समेत राष्ट्रिय रुपमा पदक र प्रमाणपत्र प्राप्त गरी सम्मान पाएको सर्वविदितै छ । त्यसैगरी, एसएलसी बोर्ड परीक्षातर्फ २०६९ सालको नेपाल प्रथम विवेक अधिकारी र २०६७ सालको एसएलसी बोर्ड द्वितीय दिवस खड्काको रोजाई पनि पेन्टागन कलेज नै रहनु कलेजको उत्कृष्टताको एउटा नमुना हो । यस कलेजको अध्यक्ष तथा कार्यकारी प्रमुख डा. एसपी सिंहले- ‘स्वदेशी भूमिमा अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने उद्देश्यले शिक्षक तथा प्राध्यापकहरूलाई नै शेयरधनी बनाई यस मन्दिरको निर्माण गरेका छौं । कम खर्चमा स्तरीय शिक्षा प्रदान गर्ने तथा देशको पूँजी पलायनलाई रोक्ने हाम्रो मुख्य उद्देश्य रहेको छ ।’ साथै, उनले निकट भविष्यमै विभिन्न संकायमा स्नातक तथा स्नातकोत्तर स्तरका पठनपाठन शुरु गर्ने कलेजको तयारी रहेको बताएका छन् । उनले छनोटमा परेका विद्यार्थीहरूमध्ये करिब २५० जनालाई योग्यतानुसार विभिन्न प्रकारका छात्रवृत्ति प्रदान गर्दै आएको जानकारी दिएका छन् ।
सीभन्दा कम ग्रेड ल्याउने विद्यार्थीले विज्ञानबाहेक सबै विषय पढ्न पाउछँन्- खवराज बराल
खवराज बराल, सचिव–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय एसईईपछि विद्यार्थीहरु के पढ्ने भनेर सोचिरहेको छन्, उनीहरुलाई तपाई के सुझाव दिन चाहानुहुन्छ ? विद्यार्थीले आफ्नो क्षमता बुझ्नु पर्छ । पढ्ने विद्यार्थीले हो । अभिभावकले पढ्ने होइन । आफूलाई रुची छ कि छैन ध्यान दिनु पर्छ । जस्तो गणित, विज्ञान लगायतको विषय आफूलाई कतिको सजिलो लाग्छ । त्यो हिसाबमा विद्यार्थीले आफैले आफैलाई चिन्नु पर्छ । आफूलाई सजिलो नलाग्ने विषय विद्यार्थीले छानेर अघि बढ्नु सही हुन्न । सजिलो रुचिकर बिषय छनौट गर्नु राम्रो हो । विद्यार्थीहरुले शैक्षिक संस्था कसरी छान्ने ? मुलुकभर विभिन्न किसिमका विद्यालय र कलेज छन् । विदेशी विश्वविद्यालयाबाट सम्बोधन प्राप्त विद्यालयहरु पनि छन् । उनीहरुसँग स्वदेशी, विदेशी दुवै कोर्ष हुन्छ । विद्यालय छान्ने सन्दर्भमा खर्चको कुरा पनि छ । निजी कलेजहरु केही महँगो छन् । उनीहरुले दिने सुविधाहरुमा केही फरकपन छ । अहिलेको विद्यार्थीको क्षमतामा पनि भर पर्छ । कतिपय कलेजहरुमा छात्रवृद्धिको सुविधा हुन्छ । त्यसबेला विद्यार्थीहरुले छात्रावृद्धिको लागि प्रतिस्पर्धा गर्न सक्ने छन् भने त्यस्ता कलेज विद्यार्थीको लागि अवसरको रुपमा रहन्छ । अहिलेकालाई कलेज भने पनि वास्तवमा सबै विद्यालय नै हुन् । अहिले पढाउने १२ कक्षासम्म हो । मेरो बिचारमा विद्यार्थीहरुले प्रचार, प्रशार तथा विज्ञापनको पछि लाग्नु हुदैन । उनीहरुको प्रचार सामाग्रीका आधारमा यो राम्रो विद्यालय अर्को नराम्रो भनेर छुट्याउन सकिन्दैन । तपाईले अघि भन्नुभयो कि सरकारी र निजी क्षेत्रको उच्च विद्यालयमा शिक्षामा केही फरक छ । फरक कति हुन्छ र कुन बढी राम्रो हो ? ११ र १२ को पाठ्यक्रम एउटै हो । पाठ्यपुस्तक उस्तै हो । पढाउने मोडालिटी, मेथोलोजी लगायतमा फरक होला । तर कन्टेन्ट त एउटै हो । परीक्षा राष्ट्र परीक्षा बोर्डले नै दिएको हो । कस्तो स्कूलहरुमा स्कलरशीप पाइन्छ ? स्कलरसिप पाउनको लागि के कस्तो विधि प्रक्रिया पुरा गर्नुपर्छ ? स्कलरशीप विद्यार्थीहरुले नै खोज्नुपर्छ । विगतमा सरकारले १० प्रतिशत स्कलरशीप राखेको थियो । त्यसको लागि उच्च माध्यमिक शिक्षा परिषद, शिक्षा विभागले परिक्षा सञ्चानल गर्थ्यो । त्यो अनुुसार अगाडी बढ्थ्यो । अहिले चाहीँ स्कलरशीप स्थानीय तहबाट गर्ने अथवा पुरानो पद्दतिले गर्ने निर्णय हुन बाँकी छ । हामी छिट्टै निर्णय गर्दैछौं । उक्त स्कलरशीप भनेको सामूदायीक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई मात्रै हो । संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई भने त्यस खालको सुविधा छैन । कतिपय ११/१२ पढाउने संस्थाहरुले उनीहरु आफैले स्कलरशीपको व्यवस्था गर्छन् । उनीहरुले थोरैदेखि बढी अंक आएकालाई विभिन्न खालको स्कलरशीप खुलाउने गर्छन् । दुर्गम ठाँउबाट आएका लगायतको लागि समेत छुट्टै स्कलरशीप दिने प्रचलन छ । त्यस्तो कुरा बुझेर स्कलरशीप खोज्नु पर्छ । अहिले कक्षा ११ र १२ पढाउने सकारी विद्यालयहरु कति छन् ? हाल ३ हजारभन्दा बढी विद्यालयहरुलाई ११/१२ कक्षा पढाउनलाई अनुमति दिएका छौं । त्यसमा संस्थागत तथा सामूदायिक दुवै किसिमका विद्यालयहरु छन् । प्लस टुबाट शुरु गरेर व्याजलर, मास्टर लेबलमा बढाउने कलेजहरु पनि ५०/६० वटा कलेज पनि छन् । तपाई विद्यार्थीहरुलाई सरकारी विद्यालयलमा पढ्न सुझाव दिनुहुन्छ कि निजी विद्यालयमा ? तपाईको यो प्रश्न नै गलत भयो । यस्तो विषयमा हामीले बोल्न मिल्दैन । एसईई पढिसकेपछि कलेज पढ्ने कि स्कुल पढ्न जाने भन्ने दुविधा देखिन्छ । पत्रपत्रिकामा विज्ञापन हेर्ने हो भने ११ को भर्नाको लागि स्कूलहरुले पनि विज्ञापन गरेका छन्, कलेजहरुले पनि विज्ञापन गरेको छ । पत्रपत्रिका हेर्दा ११ कक्षाको पढाई स्कूलमा हुने हो कि कलेजमा हुने हो भन्ने दुविधा देखियो नि, किन यस्तो भयो ? केही कलेजहरुले कक्षा ११/१२ मात्र चलाउन अनुमति पाएका छन् । उनीहरुलाई कि कक्षा १ देखि नै पढाउन थाल्नुहोस्, कि स्कूल तहको कक्षा बन्द गर्नुहोस भनेर सरकारले भनेको छ । तर त्यो टुंगीएको छैन । अझै बाँकी नै छ । कक्षा ११/१२ शिक्षा भनेको स्कूलतहको शिक्षा नै हो, कलेज तहको शिक्षा होइन । तर कलेजहरुले ११ कक्षामा भर्ना खुला भयो भनेर राष्ट्रिय स्तरको पत्रपत्रिकाको सूचनाहरु प्रकाशित गरिरहेका छन् । ती शैक्षिक संस्थामा पढ्ने विद्यार्थीले कलेज पढेको अनुभूति गर्ने कि स्कूल पढेको अनुभूति गर्ने ? सञ्चार माध्यमले सत्य तथ्य कुरा बाहिर ल्याइदिनु पर्यो । त्यो ११/१२ कक्षा पढाईलाई प्लस टु एजुकेशन पनि भनिदैन । कलेज पनि होइन । त्यो उच्च माध्यमिक विद्यालय हो । कक्षा ११ र १२ पढ्नको लागि राजधानी बाहिर शैक्षिक संस्थाको उपलब्धता कति छ ? कति विद्यार्थी स्कूल तहको पढाईका लागि पनि राजधानी नै आउनु पर्ने वाध्यता छ ? के ११/१२ पढ्न काठमाडौं नै आउनु पर्छ भन्ने छ र ? अघि नै पनि भनिसके देशभर सो तह पढाउने विद्यालयहरु पर्याप्त छन् । काठमाडौं खासै आउदैनन् । अहिले करिब ११ कक्षामा पढ्ने विद्यार्थी काठमाडौंमा ३ लाख ५० हजार जना छन् । त्यस्तै १२ पढ्ने विद्यार्थीहरु पनि साढे २/३ लाखकै हाराहारीमा छन् । स्वभाविक रुपमै काठमाडौंमा ११/१२ कक्षा पढाउने विद्यालयहरु बढी छन् । जनसंख्या ५० लाख रहेकोले पनि त्यतिका संख्यामा विद्यार्थी हुनु स्वभाविकै हो । बाहिर विज्ञान पढाउने विद्यालयहरु धेरै नभएको भएर पनि काठमाडौंमा पढ्न आएका हुन् । दुर्गम ठाँउमा विज्ञान पढाउने शिक्षकको अभावको कारण विज्ञान पढ्ने चाहनाको कारणले काठमाडौं अथवा पोखरा जस्ता सहरहरुमा गएको देखिन्छन् । त्योसँगै विराटनगर, वुटवल, चितवन लगायतमा पनि विद्यार्थीको चाप त्यतिकै बढी छ । सीभन्दा तलको ग्रेड पाएका विद्यार्थीहरु अब कसरी अघि बढ्ने ? तिनीहरुको लागि ग्रेडबृद्धि परिक्षाको लागि योजना छ । उहाँहरुले ग्रेडबृद्धिको परिक्षा दिनुपर्छ । सी प्लस गणित र विज्ञानमा ल्याउनुभयो भने विज्ञान पढ्न पाउनुहुन्छ । अरु केही रोकावट छैन । सी ग्रेडभन्दा कम भएका विद्यार्थी ११ कक्षामा भर्ना नै हुन नपाएको गुनासो पनि नि ? भर्ना नलिने भन्ने होइन । मापदण्डभन्दा कम छ भने चाहीँ नलिन सक्छ । अर्को प्रवेश परिक्षा लिने हुदा सो परिक्षा उत्तिर्ण नगर्दा विद्यार्थीको छनौट प्रक्रियाको आधारमा नलिने हो । ग्रेट सीभन्दा तलकाले अघि बढ्न नपाउने भन्ने होइन विज्ञान मात्र पढ्न नपाउने हो । पढ्ने अरु धेरै विषय छन् । विज्ञान तथा गणितमा साइन्स पढ्न चाहनेले सी प्लस ल्याउनुपर्छ । त्यसको लागि अघिनै पनि भने पूरक ग्रेडवृद्धि परिक्षाको व्यवस्था गरिएको छ । त्यहाँ उहाँहरुले भाग लिइ आवश्यक स्कोर लिएर अघि बढ्न सक्नुहुन्छ ।
शिक्षामा दोष छैन, व्यवसायिक वातावरण ठिक हुनुपर्यो- दीपिका थापा
करिव २० वर्षअघि भक्तपुरको गट्ठाघरमा सिद्धार्थ विद्यापिठ स्कूलको स्थापना गर्दाको समयबाट आजको दिनसम्म अनेकौं आरोह अवरोह पार गर्दै अघि बढेकी जुझारु महिला दीपिका थापासँग स्कूल सञ्चालनको सुरुवाती समयमा उनले भोगेका तितामिठा अनुभवका साथै नेपालको स्कूल तहमा आवश्यकिय शिक्षा र विद्यार्थीलाई प्रविधिमैत्री बनाउन उनको स्कूलले गरिरहेको क्रियाकलाप लगायतका विषयमा देशविकासका राजाराम न्यौपानेले गरेको कुराकानी । दीपिका थापा, प्रिन्सिपल, सिद्धार्थ विद्यापिठ सेकेण्डरी बोर्डिङ्ग स्कूल कस्तो परिवेशमा तपाईले सिद्धार्थ विद्यापिठ स्कूल स्थापना गर्नु भएको हो ? मैले १५ वर्षको उमेरदेखि नै शिक्षण पेसा शुरु गरेकी हुँ । साना नानीहरुलाई पढाउँदै जाँदा समयक्रम सँगै मैले आफ्नै स्कूल खोल्ने सोच बनाउन थालेको थिएँ । ५ अलग अलग विद्यालयबाट शिक्षिकाको रुपमा प्रशस्त अनुभव बटुलेपछि २०५६ सालमा यस स्कूलको स्थापना गरेकी हुँ । स्कूल सञ्चालन गर्ने योजना सुनाउँदा साथीभाइ, आफन्त लगायतले महिलाले धेरै ठूलो सोच बनाउँदा असफल भइन्छ भनिरहन्थे । तर म पहिलेदेखिनै अलि जिद्धि स्वभावको भएकोले होला सहि काम गर्नमा महिला अथवा पुरुष भन्ने कुराले केहि फरक पार्दैन भन्ने धारणा बनाएँ अनि आफ्नो सपनालाई मलजल गर्दै गएँ । फलस्वरुप २०५६ सालमा सिद्धार्थ विद्यापिठ स्कूलको स्थापना गर्न सफल भएँ । सिद्धार्थ विद्यापिठ अन्य स्कूलहरुभन्दा के कारणले फरक भएको छ ? हरेक विद्यालयले पढाइलाई नै फोकस गर्ने गर्दछन् र हामीले पनि त्यही नै गरेका छौँ । त्यसैगरी विद्यार्थीहरुलाई पढाइका साथसाथै नृत्य, गायन, वादन लगायतको ज्ञान दिनु त सामान्य नै भइसक्यो । तर आज यस मानेमा हामी अन्य स्कूलहरु भन्दा फरक भएका छौं कि हामी आउँदो युग टेक्नोलोजीको युग हुनेछ भन्ने कुरालाई विशेष ध्यान राख्दै हाम्रा विद्यार्थीहरुलाई टेक्नोलोजीको पनि आवश्यकय ज्ञान दिने गर्दछौं । यस अन्तर्गत भिब्ग्योर नेक्स्ट जेन प्रोग्राम्स्का ६ अलग अलग विषयहरुको ज्ञान हाम्रा विद्यार्थीहरुले स्कूल लेभलमै हासिल गरिरहेका छन् । ती ६ विषयहरुमा लाइफ स्किल्स क्लासेज, आर्ट एण्ड डिजाइन क्लासेज, फोटोग्राफी एण्ड सिनेमेटोग्राफी, रोबोटिक्स एण्ड टेक्नोलोजी क्लासेज, इमर्सिभ मिडिया क्लासेज र एनिमेसन एण्ड भिजुअल इफेक्ट्स क्लासेज रहेका छन् । यस्तो फरक किसिमको कक्षा सञ्चालनले तपाईंका विद्यार्थीहरुमा कस्तो किसिमको परिवर्तन ल्याएको छ ? हाम्रो विद्यालयमा दिइने फरक तथा जीवनोपयोगी शिक्षाको एकदम राम्रो प्रभाव विद्यार्थीहरुमा परेको हामीले पाएका छौं । उनीहरुमा सकारात्मक सोच राख्ने र सिर्जनात्मक हुने कला विकास हुँदै गइरहेको छ । पहिलेका विद्यार्थीहरुले पनि कार्टुन हेर्ने गर्थे र अहिलेकाहरुले पनि हेरिरहेका छन् । तर पहिलेका विद्यार्थीहरुले मनोरञ्जनका लागि मात्र हेर्थे भने अहिले हाम्रा विद्यार्थीहरुले कार्टुन हेर्ने मात्र नभई बनाउन पनि सिकिरहेका छन् । त्यसैगरी उनीहरुले कम्प्यूटरमा गेम खेल्ने मात्रै नभई गेम कसरी बनाएको छ भनेर पनि ज्ञान हासिल गरिरहेका छन् । स्कूल नजाने भन्दै बहाना बनाउने बच्चाहरु पनि खुशी हुँदै स्कूल जान हतारिन्छन् भन्ने कुरा अभिभावकहरुको भनाई छ । यसका साथै बोल्ने किताबका माध्यमबाट पनि पढाइने हुँदा विद्यार्थीहरु उत्सुकताका साथ कक्षामा सहभागि हुने गर्दछन् । वेलावेलामा हामीले सिकाएका विषयहरुको बारेमा विद्यार्थीका अभिभावकलाई पनि जानकारी दिने गरेका छाैँ। जसका कारण अभिभावकहरु पनि आफ्नो बच्चाको भविष्यको कुरालाई लिएर धेरै नै ढुक्क हुनुभएको हामीले पाएका छौं । बोल्ने किताब भनेको के हो ? बोल्ने किताब पनि अन्य किताबजस्तै हुन्छ । हाम्रो आँखाले त्यसलाई छुट्याउन सक्दैन । त्यो किताव नदेखिने चिप्सको सहायताले बोल्ने गर्दछ । यसका लागि विशेष प्रकारको कलमले त्यो किताबमा छुनुपर्ने हुन्छ । किताबमा भएको अक्षरमा कलमले छुँदा त्यहाँ लेखिएको कुरा शब्दमा उच्चारण हुन्छ । त्यतिमात्र नभई त्यहाँ दिइएका जनावरहरुको चित्रमा छुने हो भने त सो जनावर कराएको आवाज पनि आउने गर्दछ । बोल्ने किताबबाट पढ्दा विद्यार्थीहरुलाई के फाइदा भएको छ ? हामीले विदेशबाट यस्ता किताब ल्याएर विद्यार्थीहरुलाई सिकाइरहेका छौँ । किन्न सक्ने क्षमता भएका विद्यार्थीहरुले बोल्ने किताव वास्तविक मूल्यमै किनेर लगेका छन् । तर आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई भने हामीले सो किताब थोरै मुल्यमै उपलब्ध गराएका छौं । बोल्ने किताबबाट पढ्नाले गर्दा विद्यार्थीहरुले विभिन्न शब्दहरुलाई सहि उच्चारण गर्न सिकेका छन्, अनेकौं जनावरहरुको आवाज प्रत्यक्ष सुन्न पाएका छन् । यसका साथै किताब कसरी बोल्न सक्छ भनेर हामीले विस्तारमा बताइदिने भएकोले गर्दा उनीहरुलाई टेक्नोलोजीबाट असीमित कुराहरु निर्माण गर्न सकिने रहेछ भन्ने पनि ज्ञान प्राप्त भएको छ । अंग्रेजी, नेपाली लगायत अन्य विभिन्न भाषाहरुमा समेत सो किताब बोल्ने भएकाले विद्यार्थीहरुलाई अन्य भाषाहरुको सामान्य ज्ञान हासिल गर्न पनि सजिलो भएको छ । यस्तो विधिबाट हुने पढाईको लागि विद्यार्थी शुल्क निकै महँगो छ कि ? होइन, त्यस्तो विल्कुल छैन । हाम्रो पढाउने तरिकाको तुलनामा मासिक शुल्क निकै नै सस्तो छ । यहाँ एक पटक भर्ना भएको विद्यार्थीले अर्को कक्षामा पुग्दा पुनः भर्ना शुल्क तिर्नु पर्दैन । त्यसैगरी विद्यार्थी भर्ना गर्ने बेलामानै हामीले टेस्ट लिएर विद्यार्थीको लेबल छुट्याउने गर्दछौं । ए ग्रेड ल्याउने विद्यार्थीलाई निशुल्क भर्ना, बी ग्रेड ल्याउनेलाई भर्ना शुल्कमा ५० प्रतिशत छुट र त्यसैगरी सी ग्रेड ल्याउनेलाई मात्र पुरै भर्ना शुल्क लाग्ने गर्दछ । सी ग्रेड ल्याएका विद्यार्थीहरुलाई हामीले धेरै मेहनत गर्नुपर्ने भएकोले पनि यस्तो भएको हो । झट्ट हेर्दा केहि मंहगो देखिए पनि प्रविधिको प्रयोग गरेको हिसावमा यो धेरै नै सस्तो हो । नेपाली विद्यार्थीहरु राम्रो शिक्षा प्राप्त गर्नका लागि विदेश जान हतारिएका देखिन्छन् । के नेपालमा शिक्षा वास्तवमै कमजोर हो ? मलाई लाग्छ, हाम्रो देशमा शिक्षाको स्तर नराम्रो भएर विद्यार्थीहरु विदेश गएका होइनन् । बरु यहाँ शिक्षा अनुकुल रोजगारी नभएकोले, लागानीमैत्री वातावरण बन्न नसक्नाले, रोजगारमूलक पाठ्यक्रमको अभाव भएकोले र त्यसैगरी विद्यालय तथा घरपरिवारबाट पनि राष्ट्रप्रेमको पाठ नपढाइएकोले गर्दा पनि उनीहरुले विदेश तिरै गएर थप शिक्षा आर्जन गर्न खोजेका हुन् । शिक्षा क्षेत्रमा तपाईंको सफलताको अनुभव कसरी बाँड्न चाहनुहुन्छ ? म सफल हुनुमा मेरो जिद्धिपना नै प्रमुख कुरा हो । मलाई लाग्छ कोहि मान्छे सफल हुनका लागि उसले आफ्नो कामलाई निरन्तरता दिनु पर्छ । हाम्रो समाजले अहिले पनि धेरथोर मात्रामा छोरा र छोरीमा भेदभाव गरिरहेकै छ । मैले स्कूल स्थापना गर्दाको समयमा त झन् छोराले धेरै पढ्ने र ठूलो काम गर्नुपर्छ तर छोरीले भने घरपरिवार राम्रोसँग चलाउन जान्नुपर्छ भन्ने चलन व्यापक थियो । त्यस्तो परिस्थतिलाई चिर्दै मैले यो स्कूल स्थापना गर्न सकें । आजका महिलाहरु पनि पढाइमा अव्वल बन्दै गएको र हरेक क्षेत्रमा आत्मविश्वासका साथ अघि बढेको देख्दा साहै्र खुशी लाग्छ । हाम्रो देशमा एकदम धेरै सम्भावनाहरु छन् । त्यसैले आफूलाई मनपर्ने क्षेत्रमा सम्पूर्ण ध्यान केन्द्रित गर्दै अनि अध्ययनलाई पनि सँगसँगै अघि बढाउँदै जाने हो भने एकदिन अवश्य पनि सफल भइन्छ र देशको नाम उँचो बनाउन सकिन्छ भनी म सम्पूर्ण विद्यार्थीहरुलाई अनुरोध गर्न चाहन्छु र त्यसैगरी अभिभावकहरुलाई पनि म के भन्न चाहन्छु भने आफ्ना घरमा बच्चाहरुलाई हप्काएर, डर देखाएर पढ्नमा मात्र दवाव दिइरहनु हुँदैन । यसले उसमा भएको सिर्जनात्मक क्षमतामा ठूलो ह्रास ल्याउन सक्छ ।