एमबिबिएस र बिडिएस तहमा छात्रवृत्तिका लागि दरखास्त आह्वान, कात्तिक २० सम्म आवेदन दिन पाइने
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ऐनको प्रावधान अनुसार पहिलो पटक चिकित्सा शिक्षा अन्तर्गतको एमबिबिएस र बिडिएस तहमा ७५ प्रतिशत निःशुल्क छात्रवृत्तिका लागि दरखास्त आह्वान गरेको छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन२०७५ को छात्रवृत्ति सम्बन्धी प्रावधान कार्यान्वयनमा आएपछि मन्त्रालयको छात्रवृत्ति शाखाले ती तहका प्रवेश परीक्षामा प्राप्त योग्यताको आधारमा छात्रवृत्ति निर्धारण गर्ने जनाउँदै छात्रवृत्तिको दरखास्त आह्वान गरेको हो । सूचनामा “राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५’ अनुसार ७५ प्रतिशत निःशुल्क छात्रवृत्ति सिट कायम गरिएका तथा काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त स्वदेशी लगानीका शिक्षण संस्थामा २० प्रतिशत एवं विदेशबाट प्राप्त हुने २० प्रतिशत छात्रवृत्तिमा मनोनयन गर्न योग्यताक्रम कायम गर्ने जनाइएको छ ।” न्यूनतम ५० प्रतिशत अङ्कलाई प्रवेश परीक्षा उत्तीर्ण भएकाले छात्रवृत्तिका लागि निवेदन दिन सकिने र निवेदन अनलाइनमार्फत् कात्तिक २० गतेसम्म कायम रहेको सूचनामा जनाइएको छ । अब एमबिबिएस र बिडिएस तहमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने छन् । साथै, यस्तै विदेशी लगानी भएका मणिपाल मेडिकल कलेज पोखरा र कलेज अफ मेडिकल साइन्सेज चितवन भरतपुरले कूल सिट सङ्ख्याको २० प्रतिशत छात्रवृत्ति दिनुपर्नेछ । बाँकी मेडिकल कलेजहरुले १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने प्रावधान रहेको छ । हालै चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहको नयाँ शुल्क तय गरेको थियो । नयाँ शैक्षिक सत्र २०७६/७७ का लागि चिकित्सा शिक्षाको स्नातक तह अन्तर्गत एमबिबिएस र बिडिएस कार्यक्रमका लागि उपत्यका भित्र एमबिबिएस अध्ययन गर्न रु ४० लाख २३ हजार २ सय ५० र उपत्यका बाहिर रु ४४ लाख ३६ हजार २५ शुल्क आयोगले निर्धारण गरेको थियो । त्यसैगरी, बिडिएसका लागि उपत्यकाभित्र र बाहिर रु २० लाख १९ हजार ५८० तोकिएको थियो । यसअघि उपत्यकाभित्र एमबिबिएस तहका लागि उपत्यकाभित्र रु ३८ लाख ५० हजार र उपत्यका बाहिर रु ४२ लाख ४५ हजार तथा बिडिएसका लागि उपत्यकाभित्र रु १९ लाख ३२ हजार ६१२ शुल्क रहेको थियो । एमबिबिएस तह अध्ययन गर्न करिब रु दुई लाख र बिडिएस तहमा करिब एक लाख शुल्क वृद्धि भएको छ । रासस
नेपाल टेलिकमले पर्वतको विद्यालयलाई दियो चार थान कम्प्युटर
काठमाडौँ । नेपाल टेलिकमले पर्वतको फलेवास नगरपालिका वडा नम्बर ३ पोखराचौरस्थित श्रीराम माविलाई चार थान कम्प्युटर हस्तान्तरण गरेको छ । विद्यालयको ४० औं वार्षिकोत्सव तथा अभिवावक दिवसको अवसर पारेर कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्प्युटर प्रदान गरिएको हो । फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माको समुपस्थितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम विश्वकर्मालाई दूरसञ्चार कार्यालय पर्वतका कार्यालय प्रमुख मोहन सुवेदीले कम्प्युटरहरु हस्तान्तरण गरे । सो अवसरमा नगरपालिका प्रमुख शर्माले कम्पनीले देशका सबै स्थानमा सेवा पु¥याउनुका साथै अन्य सामाजिक कार्यमा समेत संलग्न भएकोमा खुसी ब्यक्त गरे । कार्यालय प्रमुख मोहन सुवेदीले प्रविधिमैत्री शिक्षाका लागि थप टेवा पुगोस् भन्ने उद्देश्य अनुरुप विद्यालयलाई कम्प्युटर प्रदान गरिएको कुरा व्यक्त गरे । विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद भुसालले कम्प्युटर प्रदान गरेकोमा नेपाल टेलिकमप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै आगामी दिनमा थप सहयोगको अपेक्षा गरे । नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस अन्तर्गत सूचना प्रविधि क्षेत्रमा समेत टेवा पुग्ने गरी पठनपाठनमा सहजताका लागि सामुदायिक विद्यालयहरुलाई कम्प्युटर प्रदान गर्दैै आएको छ । कम्पनीले यो वर्ष १५ थान कम्प्युटर वितरण गर्ने कार्यक्रम रहेकोमा डोटीको केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पसलाई ५ थान र दुर्गा माध्यमिक विद्यालयलाई २ थान तथा कपिलवस्तुको बाल माध्यमिक विद्यालयलाई ४ थान कम्प्युटर वितरण गरिसकेको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताइन् ।
लोगो विश्वविद्यालयकाे अध्यापन निजीको
काठमाडौं । त्रिविको नाम, निजीमा काम, दिमागमा दाम हुनाले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का करिब एक हजार ५०० प्राध्यापक वर्षेनी अन्य क्याम्पसमा पढाउने गरेको पाइएको छ । लोगो विश्वविद्यालयको लगाएर त्यही लोगो बेच्दै तन, मन र ऊर्जा अन्यत्र खर्च गर्ने र सार्वजनिक शिक्षामा प्वाल पार्ने धमिरे प्रवृत्ति मौलाएको छ । त्रिविको स्वीकृति लिएर प्राध्यापकले वर्षेनी अन्य क्याम्पसमा पढाउने गरेको त्रिवि अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक विष्णु खनालले जानकारी दिएका छन् । निर्देशनालयसम्बन्धी विनियममा त्रिविका प्राध्यापक पूर्वस्वीकृति लिएर मात्र बाहिर आंशिक समयका लागि पढाउन पाउने व्यवस्था छ । सोहीअनुसार वर्षेनी त्रिविका आंगिक क्याम्पसअन्तर्गतका प्राध्यापकले बाहिरका क्याम्पस तथा कलेजमा पढाउन पाउने गर्दछन् । बाहिर पढाउनका लागि स्थायी र करार प्राध्यापकले निर्देशनालयमा निवेदन दिनुपर्ने छ र निर्देशनालयले निवेदन हेरेर पढाउनका लागि स्वीकृति दिने गर्दछ । उनका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा एक हजार ३५८ प्राध्यापकले बाहिर पढाउनका लागि स्वीकृति पाएको छ भने आव २०७४÷०७५ मा एक हजार ४१७ प्राध्यापकले बाहिर पढाउनका लागि स्वीकृति पाएको थियो । “विनियमअनुसार प्राध्यापकले क्याम्पसलाई कुनै असर नपर्ने गरी अन्यन्त्र पढाउन पाउँछन्”, उनले भने, “हामीले प्राध्यापकबाट आएका निवेदन हेरी ती प्राध्यापकलाई अयन्त्रका लागि पढाउन स्वीकृति दिने गर्दछौँ ।” राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनमा एउटै सिफ्टमा दुई–तीनतिर पढाउनेहरू पनि भेटिएको उल्लेख छ । करिब १८ प्रतिशत प्राध्यापकले अनुमति लिएर अन्यत्र पढाइरहेको केन्द्रको प्रतिवेदनमा उल्लेख छ । अनुमति नलिई निजीतिर धाउनेको संख्या प्रशस्तै छ । गैरसरकारी संस्थामा कन्सल्टेन्सी गर्नेहरू अध्ययनका विषय बनेका छैनन् । त्रिविमा पूर्णकालीन करिब आठ हजार प्राध्यापक रहेका छन् । उनका अनुसार विनियमअनुसार नआएका निवेदनलाई भने त्रिविले स्वीकृति दिने छैन । त्रिविले आव २०७५÷०७६ मा १४ जना र आव २०७४÷०७५ मा ११ जना प्राध्यापकलाई स्वीकृत दिएको थिएन । ती पदाधिकारी भएकोले अध्यापनका लागि स्वीकृत नदिएको निर्देशनालयका कार्यकारी निर्देशक खनालले जानकारी दिएका छन् । त्रिविले पदाधिकारी भनी उल्लेख गरिएका पदका प्राध्यापकलाई भने अयन्त्र पढाउनका लागि पूर्व स्वीकृत दिने गरेको छैन । त्रिविका पदाधिकारी, विभागका डीन, सहायक डिन, निर्देशनालयका निर्देशक, उपनिर्देशक, परीक्षा नियन्त्रक, क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखलाई पदाधिकारी भनी व्याख्या गरिएको छ । विशिष्ट चिकित्सकलाई भने अयन्त्र काम गर्न दिइने यसैगरी त्रिविको पदाधिकारी भए पनि चिकित्सा सेवाका विशेषज्ञ चिकित्सकलाई भने अयन्त्र काम गर्न दिइने बारेमा छलफल भएको कार्यकारी निर्देशन खनालले जानकारी दिए । “त्रिविको शिक्षण अस्पतालमा मात्र कुनै एकमात्र विशेषज्ञ चिकित्सक छन् भने मानवीय संवेदनशीलतालाई हेरेर अन्यन्त्र काम गर्न दिइने भन्नेबारे प्रस्ताव आएको छ”, उनले भने, “छलफल गरेर हामीले यस्ता विशेषज्ञ चिकित्सकलाई अयन्त्र काम गर्न दिने सोचमा रहेका छौँ ।” त्रिविका ६१ आंगिक क्याम्पस, ३९ निकाय, नौ डिन कार्यालय, चार वटा अनुसन्धान विभाग रहेका छन् । यस आवमा पनि त्रिविले सूचना प्रकाशित गरी अयन्त्र पढाउनका लागि प्राध्यापकलाई निवेदन माग गरेको छ । निर्देशनालयका उपनिर्देशक ओम बरालका अनुसार अहिलेसम्म करिब ५०० प्राध्यापकले अयन्त्र पढाउनका लागि निवेदन दिएका छन् । त्रिविले साउनदेखि मङ्सिर मसान्तसम्म निवेदन माग गरेको छ । यसैगरी त्रिविले स्वीकृत नलिएर पढाउने २० जना कारवाहीका लागि त्रिवि कार्यकारी परिषद्मा सिफारिस गरिएको निर्देशनालयका कार्यकारी निर्देशक खनालले जानकारी दिएका छन् । रासस