नेपालगञ्जमा आर्थिक विकास परियोजना शुरू हुँदै, चार क्षेत्रमा विशेष प्राथमिकता

राँझा । नेपालगञ्ज उपमहानगरपालिकामा स्थानीय तथा प्रादेशिक आर्थिक विकास परियोजना शुरू हुने भएको छ । जर्मन विकास नियोग (जिआइजेड)ले उपमहानगरपालिकामा सो परियोजना सञ्चालन गर्न लागेको नगरप्रमुख डा. धवलशम्शेर राणाले जानकारी दिएका छन् । उनका अनुसार, उद्योग व्यापार, शिक्षा, स्वास्थ्य र पर्यटन गरी चार क्षेत्रमा परियोजनाले विशेष प्राथमिकता दिएको छ । कार्यक्रमले गाउँ र शहरलाई जोड्ने उनको दाबी छ । उनले भने, “यसले गाउँनगरलाई जोड्दै व्यवसाय पनि प्रोत्साहन पनि गर्नेछ ।” सन् २०१९ को जुन १ देखि कार्यान्वयन प्रक्रियामा रहेको परियोजना २०२२ को मे १ सम्म सञ्चालन हुनेछ । प्रदेशसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेका अध्यक्ष आइपी खरेलले सरकार र जनताको आवश्यकताअनुसार दातृ निकायका कार्यक्रम सञ्चालन हुनुपर्ने बताएका हुन् । जिआइजेडका प्रमुख प्राविधिक सल्लाहकार भोल्केव स्टाइजरवडले उक्त कार्यक्रमले उपमहानगरपालिकाले लाभ लिनसक्ने बताए । उनका अनुसार, उपमहानगरपालिकाले कार्यक्रम सञ्चालनका लागि प्राथमिकता तोकेपछि जिआइजेडले कार्यक्रम र बजेटको निर्णय गर्नेछ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्य, जिल्ला सहकारी सङ्घ बाँकेका अध्यक्ष प्रेम सुवेदी, होटल व्यवसायी सङ्घ नेपालगञ्जका अध्यक्ष भीमलाल कँडेलले परियोजना कार्यान्वयनका लागि आवश्यक सहयोग र समन्वय गर्ने जानकारी दिएका छन् । रासस

कक्षा ११ को नतिजा प्रकाशित

काठमाडाैं । कक्षा ११ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले केहिबेरअघि नतिजा प्रकाशित गरेको हो । कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए । बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो ।  यसअघि कक्षा १२ को परीक्षा पनि अघिल्लो वर्षभन्दा छिटो प्रकाशित भएको थियो । कसको कति जिपिए ? नतिजा अनुसार ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या २ हजार ३१९, ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या १३ हजार ७७२, २.८१ देखि ३.२० जीपीए ल्याउने विद्यार्थीको संख्या ३२ हजार २५३, २.४१ देखि २.८० जीपीए ल्याउने विद्यार्थीको संख्या ५४ हजार ८१६, २.१ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या ८४ हजार २३९ रहेकाे छ । यस्तै  १.६१ देखि २ जीपीए ल्याउने विद्यार्थीको संख्या ८९ हजार ६५०, १.२१ देखि १.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ४३ हजार ३७, ०.८१ देखि १.२० जीपीए ल्याउने विद्यार्थीको संख्या ८ हजार १७१ र ० देखि ०.८१ जीपीए ल्याउने विद्यार्थीको संख्या २१ हजार ३४६ जना रहेको जनाइएकाे छ ।

अक्सफोर्ड विश्वविद्यालयद्वारा नेतृत्व प्रशिक्षण कार्यक्रम आयोजना

काठमाडौँ । अक्सफोर्ड विश्वविद्यालय प्रेसले विद्यालयका प्रधानाध्यापकहरुको लागि अन्तरक्रियात्मक नेतृत्व प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । प्रशिक्षण कार्यक्रममा देशभर भएका विभिन्न अग्रणी विद्यालयहरुका ७० भन्दा बढी प्रधानाध्यापकको सहभागिता रहेको थियो । आइतबार काठमाडौँको अन्नपूर्ण होटलमा प्राध्यापकहरुको लागि पहिलो पल्ट यस्तो प्रकारको अन्तरक्रियात्मक नेतृत्व प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम डा. नीलकण्ठले संचालन गरेका थिए । अन्तरक्रिया कार्यक्रम मुख्यत ःशिक्षामा ‘नेतृत्व संगै भावनात्मक बौद्धिकता‘ विकासको लागि केन्द्रित थियो ।