मदन भण्डारी विश्वविद्यालय निर्माण गर्न ४३ अर्ब लाग्ने, सी चिनफिङकाे भ्रमणमा सम्झाैता हुँदै
कठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय नेपाल भ्रमणमा क्रममा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माणका लागि सम्झौता हुने भएको छ । नेपाल सरकारले नीति, कार्यक्रम र बजेटमा प्राथमिकता दिएको उक्त विश्वविद्यालयको पूर्वाधार विकासका लागि चिनियाँ पक्षले प्रारम्भिक रुपमा छलफल र अध्ययन गरी सहमत भइसकेको छ । सो विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष डा राजेन्द्रध्वज जोशीले चिनियाँ पक्षले अध्ययन गरिरहेको र सहयोगमा सकारात्मक सङ्केत गरेकाले आफूहरु सम्झौता हुनेमा आशावादी रहेको जनाए । “हामीले यसलाई विश्वस्तरको अनुसन्धानमूलक विश्वविद्यालय बनाउन खोजेका छौँ । यसका लागि विभिन्न चरणमा गरी कूल रु ४३ अर्ब लागत लाग्ने अनुमान छ । त्यसका लागि आवश्यक पर्ने पूर्वाधार निर्र्माण गर्न चीनले सहयोग गर्ने प्रतिबद्धता हुनु उल्लेखनीय हो ” उनले भने । यस विश्वविद्यालयमा चार हजारसम्म विद्यार्थी रहने छन् । पूर्वाधार समितिका लागि यो आर्थिक वर्ष रु १० करोड विनियोजित गरिएको छ । विधेयक लागू भएपछि आगामी वर्षदेखि विद्यालय सञ्चलनमा आउनेछ । समितिले ललितपुरको सैँबुका सम्पर्क कार्यालय स्थापना गरी काम गरिरहेको छ । मुलुकका लागि आवश्यक पर्ने सक्षम, उच्च प्राविधिक तथा अन्य विधाका आदर्शवान् जनशक्ति, वैज्ञानिक तथा विचारकहरुको उत्पादन तथा नयाँ ज्ञान र प्रविधि सिर्जना गर्ने उद्देश्यले सो विश्वविद्यालय खुल्न लागेको हो । यसका अतिरिक्त मदन भण्डारी प्रौद्योगिक विश्वविद्यालय पनि खोल्ने सरकारको नीति छ । सरकारको चालू आर्थिक वर्षको बजेटमा यसका लागि रु एक अर्ब १० करोड बजेट व्यवस्था गरेको छ । बजेट वक्तव्यमा अर्थमन्त्री डा युवराज खतिवडाले भनेका छन्-“विज्ञान तथा प्रविधिको विकास बिना उन्नत अर्थतन्त्र र आधुनिक राष्ट्र निर्माण सम्भव छैन । त्यसैले यस क्षेत्रमा विश्वस्तरको अध्ययन र अनुसन्धान विशिष्टीकृत विश्वविद्यालयका रुपमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने प्रस्ताव गरेको छु ।” सरकारले सो विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकलाई यसअघिको सङ्घीय संसद्को अधिवेशनमा पेश गरिसकेको छ । विश्वविद्यालय मकवानपुरको थाहा नगरपालिकास्थित चित्लाङमा रहने विधेयकमा उल्लेख छ । हाल सो स्थलमा ७४० रोगनी जग्गा पहिचान भई प्राप्तिको क्रम शुरु भएको छ । विश्वविद्यालय विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिक शास्त्र, व्यस्थापन, कानून र न्यायलगायतका विषय र क्षेत्रमा केन्द्रित हुनेछ । विधेयकमा अन्य विश्वविद्यालयको भन्दा पृथकरुपमा सञ्चालनका लागि संरक्षक समिति गठनको प्रबन्ध गरिएको छ । त्यसको मातहतमा कार्यकारी परिषद् हुनेछ । कार्यकारी प्रमुखको हैसियतमा विश्वविद्यालयमा एक अध्यक्ष हुनेछन् । यो विश्वविद्यालयमा कुलपति र उपकुलपति हुँदैन । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीको राजकीय भ्रमण यही असोज २५ र २६ गते हुँदैछ । तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारीले कम्युनिष्ट आन्दोलनमा ‘जनताको बहुदलीय जनवाद’ को विचारको प्रतिपादन गरेपछि ‘जननेता’का रुपमा स्थापित भएका थिए । उनकाे २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटनामा निधन भएको थियो । नेपालमा कम्युनिष्ट पार्टीको सरकार रहेको समयमा चीन सरकारले जननेता भण्डारीको नाममा खुल्ने विश्वविद्यिलायलाई सहयोग गर्ने तयारी भएको छ । रासस
२४ वटा विद्यालय पुनर्निर्माणका लागि त्रिपक्षीय समझदारी, नर्वे सरकारको ८० लाख अमेरिकी डलर सहयोग
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नेपालस्थित नर्वेजियन राजदूतावास तथा युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युनओपिएस) बीच २४ वटा विद्यालय पुनर्निर्माणका लागि समझदारी भएको छ । नर्वे सरकारको करिब ८० लाख अमेरिकी डलर सहयोगमा सिन्धुली, रामेछाप, भक्तपुर र काठमाडौंमा विद्यालय बन्नेछन् । परियोजनाअन्तर्गत रामेछापमा १३, सिन्धुलीमा ९ तथा काठमाडौं र भक्तपुरमा एक–एक वटा विद्यालय पुनर्निर्माण हुनेछन् जसमा १४४ वटा कक्षाकोठा रहनेछन् । अपांगमैत्री यी विद्यालयमा शौचालय, खानेपानीको सुविधा हुनेछ । विद्यालय पुनर्निर्माण भएपछि करिब ५ हजार ५ सय विद्यार्थी लाभान्वित हुनेछन् । परियोजनाको अवधि सन् २०२१ नोभेम्बर (२०७८ मंसिर १४) सम्म रहेको छ । समझदारीपत्रमा प्राधिकरणका तर्फबाट सहसचिव पिताम्बर घिमिरे, नर्वेजियन राजदूतावासका तर्फबाट नेपालका लागि राजदूत लास्से जोर्न जोहानेसें र युनओपिएसका कन्ट्री डाइरेक्टर चाल्र्स क्यालानानले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रमपछि नर्वे सरकार तथा युनओपिएसलाई धन्यवाद दिंदै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले परियोजनाको समयमै सफल कार्यान्वयन हुने विश्वास व्यक्त गरे । उनले प्राधिकरण भूकम्पपछिको पुनर्निर्माणमा विकास साझेदारहरुसँग समन्वय तथा मिलेर काम गर्दै आएको र गर्न तयार रहेको पनि उल्लेख गरे । नर्वेका राजदूत जोहानेसेंले नर्वे सरकारको विद्यालय क्षेत्रप्रति दरिलो प्रतिबद्धता रहेको उल्लेख गर्नु हुँदै भूकम्पबाट क्षति भएका विद्यालयहरुको पुनर्निर्माणका लागि पुनर्निर्माण प्राधिकरण तथा युनओपिएससँग साझेदारी गर्न पाउँदा गर्व लागेको बताए । त्यसैगरी, पुनर्निर्माण प्राधिकरणका योजना तथा बजेट व्यवस्थापन महाशाखा प्रमुख सहसचिव पिताम्बर घिमिरेले परियोजनाले भूकम्पपछिको पुनर्निर्माणमा योगदान गर्नुका साथै दुई देशबीचको सम्बन्घमा पनि नयाँ आयाम थप्ने बताए । युएनओपिएसका कन्ट्री डाइरेक्टर चाल्स क्यालानानले पुनर्निर्माण प्राधिकरण र नर्वे सरकारसँग मिलेर विद्यालय पुनर्निर्माण गर्नु पाउनु गर्वको कुरा भएको उल्लेख गर्दै तोकिएको समय र गुणस्तरमा विद्यालय पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाए ।
दशैं तिहार मनाउन एक महिना विद्यालय बिदा, अभिभावकलाई टाउको दुखाई
काठमाडौं। धोबिघाटकी पुष्पा थापा मगर सहकारी संस्थामा काम गर्छिन् । बिहान साढे ९ बजे घरबाट हिँडेर बेलुकी साँढे ५ बजे घर आईपुग्ने उनको दैनिकी हो । छोराछोरीलाई विद्यालय पठाएर अफिस जान उनलाई ठिक्क हुन्छ, तर जब स्कुल बिदाको खबर आउँछ उनलाई तनाव शुरु हुन्छ । ६ र १० बर्षका दुइ छोराछोरी भएकी उनलाई विद्यालय बिदाको दिन अफिसमा रहँदा दिनभर उनीहरु कहाँ गए, के गरे भन्ने चिन्ताले सताउँछ । लैनचौरकी ३५ वर्षिय कमला रायमाझीलाई पनि दिउँसो अफिस जानु पर्ने भएकोले १२ वर्षिय छोरी रचनाको स्कुल बिदा हुँदा त्यस्तै तनाव हुन्छ । कमलाका श्रीमान् दुबईमा बस्छन् । यहाँ उनी एउटा फ्ल्याटमा छोरीसँग बस्दै आएकी छिन् । उनको सासुससुरा गाउँमै बस्छन् । छोरीलाई धन्न विद्यालयको गाडीले घर अगाडि नै छोडिदिन्छ र उनलाई ढुक्क छ । तर, दशैं तिहारमा लामो समय विद्यालयहरु छुट्टी हुँदा छोरीको बिजोग हुने तनाव उनलाई हरेक बर्ष हुन्छ । हजुरबुवा हजुरआमाकोमा छोड्ने अवस्था छैन, किनकी उहाँहरुलाई नै हेर्नपर्ने अवस्था छ । उनी हरेक बर्ष बिदामा छोरीलाई कहिले मामाकोमा छोड्छिन् त कहिले साथीकोमा । आफन्तकोमा छोड्दा उनी छोरीलाई दिनमा ५-६ पटक कल गर्छिन् । आफु नहुँदा अरुलाई दु:ख दिने चिन्ताले उनलाई दिनभर सताउँछ । यो पुष्पा र कमलाको मात्रै समस्या होइन, हजारौं जागिरे परिवारको प्रतिनिधि समस्या हुन्, जो स्कुल बिदा नै नहोस् भन्ने चाहन्छन् । पुष्पा भन्छिन्–‘कतै गएर हराउने हो कि, दुर्घटनामा पर्ने हो कि, कसैसँग झगडा गर्ने हो कि भन्ने चिन्ताले सताउँछ, बरु स्कुल गए आनन्द आउँछ।’ अहिले काठमाडौं महानगरपालिकामा मात्रै सामुदायिक र निजी विद्यालयमा गरी १ लाख ७५ हजार ४ सय विद्यार्थी अध्ययन गर्छन् । माध्यमिक तह भन्दा तल्ला कक्षामा पढ्ने विद्यार्थीहरुलाई अभिभावकको निरन्तर निगरानी आवश्यक हुन्छ । तर, बिदाको बेला दिनभर उनीहरुलाई हेर्ने कोही हुँदैन । दशैं तिहार मनाउन १ महिना बिदा दशैंको सुरुवातसँगै कलेज तथा विद्यालयहरुले एक महिना लामो छुट्टी दिएका छन् । तर, सरकारले दिएको सार्वजनिक बिदा ६ दिनको मात्र हो । यति लामो बिदाले कामकाजी अभिभावकको दैनिक कार्यमा समस्या थपिएको छ । काठमाडौं महानगरपालिका शिक्षा विभागले गत फागुनमा नयाँ बर्ष २०७६ को क्यालेन्डर बनाउँदै गर्दा दशैं र तिहारमा १ महिना बिदा दिने निर्णय गरेको थियो । प्याब्सन, एनप्याब्सन, अभिभावक संगठन बीचको छलफलपछि बिदाबारे निर्णय गरिएको बताइएको छ । के भन्छन् विद्यालय सञ्चालकहरु ? धेरै विद्यार्थीहरु उपत्यका बाहिरका भएको र महानगरले पनि यही निर्णय गरेको कारण पनि धेरैजसो शैक्षिक संस्थाहरुले छठसम्म बिदा दिएका छन् । यधपी केही विद्यालय तथा कलेजहरुले भने पन्ध्र दिन मात्र बिदा दिएका छन् । कलंकी स्थित नेपालय विद्यालयका प्रधानाध्यापक मनोज थापा मगरले यस बर्ष विद्यालय एक महिना बिदा दिएको बताए । उनले भने-‘एक-एक महिना बिदा हुँदा विद्यार्थीहरुको पढाई बिग्रन्छ । यसले न त विद्यालयलाई कुनै फाईदा छ, न त बालबालिकाहरुलाई ।’ यसअघि आफुहरुले कहिले पनि एक महिना बिदा नदिएको, तर महानगरले यो बर्ष बिदा गर्नैपर्छ भन्ने नयाँ नियम ल्याएको कारण मात्र आफुहरुले १ महिना बिदा दिएको बताए । यता, मैत्रीनगर स्थित सौगात मन्टेश्वरीले भने दशैं लगत्तै विद्यालय खोल्ने निर्णय गरेको छ । कामकाजी अभिभावकहरुले लामो बिदामा बालबालिका हेरचाह गर्ने व्यक्ति घरमा नभएकोले विद्यालय खोल्न आग्रह गरेको कारण आफूहरुले छोटो समय मात्र बिदा दिएको प्रधानध्यापक राज्य लक्ष्मी बताउँछिन् । उनी भन्छिन्-‘२० प्रतिशत अभिभावकले मात्र बिदामा आफ्नो छोराछोरीलाई समय दिन पाउँछन् । ’ बालबालिका र हजुरबुवा/हजुरआमाबीच बढ्दै गएको दुरीहरु मेटाउन दशैँको लामो बिदा निकै उपयुक्त भएको उनी बताउँछिन् । यो समयमा विद्यार्थीहरुले खेलेर मात्र नभई अन्य नयाँ ठाउँ घुम्ने, नयाँ सामाग्रीको बारेमा ज्ञान बटुल्ने हो भने निकै फाईदाजनक हुने उनको तर्क छ । बिदा हुँदा रमाउँछन् विद्यार्थी धोबीघाटको हिमालय इन्टरनेशनल आइडल स्कूलमा कक्षा १० मा अध्ययनरत प्रवेश थापा मगर बिदा कहिले हुन्छ भनेर दिन गन्दै बस्ने गरेको बताउँछन् । बिदा हुँदा विद्यार्थी मात्र नभएर हरेक व्यक्तिको अनुहारमा छुट्टै चमक आउँछ । तर, के एक महिना बिदा विद्यार्थीको लागि राम्रो हो त ? के यसले उसको पढ्ने बानी बिगार्दैन ? यस सम्बन्धमा भने विभिन्न व्यक्तिहरुको धारणा फरक फरक पाइन्छ । नौ दिनमा नौलो र २० दिनमा बिर्स्यो भन्ने उखान नै छ । यही उखानलाई आधार मान्दा १ महिना बिदाले विद्यार्थीहरुको पढाईमा पक्कै नकारात्मक असर पर्छ । विद्यार्थीहरुलाई विद्यालय तथा अभिभावकले बिदाको सदुपयोग गर्ने उपायहरुको बारेमा नसिकाउँदा पनि विद्यार्थीहरु बिदाभर खेलेरै बिताउने गर्छन् ।