अनलाइन फाराम नभरेका १००० जना विद्यार्थीले परीक्षा दिन पाउने, विद्यालयलाई भने कारबाही हुने

काठमाडौं। विद्यालयको लापार्वाहीको कारण परिक्षा दिन नपाउने भएका कक्षा ८ का १००० जना विद्यार्थीहरुले परिक्षा दिन पाउने भएका छन्। काठमाडौं महानगरपालिकालेको परिक्षा समितीको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। विद्यालयले लापरवाही गरेको कारणले विद्यार्थीको भविष्य जोखिममा नपार्ने कामपाकि शिक्षा विभाग प्रमुख निर्मला केसीले बताईन्। केसीले विद्यालयलाई भने कारवाही हुने जानकारी दिईन्। बैठकले विद्यालयलाई स्पस्टीकरण माग्ने र त्यसपछी मात्र विद्यालयमा प्रश्नपत्र पठाउने निर्णय गरेको छ। काठमाडौं महानगरपालिकाले कक्षा ८ को परिक्षा गत बर्ष देखी अनलाईन मार्फत भर्ने नियम बनाएको थियो। तर २० वटा विद्यालय ले त्यसलाई लापारवाही गरेको कारण १००० जना विद्यार्थी परिक्षाबाट बन्चित भएका थिए। कामपा शिक्षा विभागले पटक पटक निर्देशन दिँदा पनि विद्यालयहरुले अटेरी गरेका थिए।

गण्डकी मेडिकल कलेजमा ठगी प्रकरणः अध्यक्ष अर्यालको रिटमा अन्तरिम आदेश अस्वीकार

कास्की । गण्डकी मेडिकल कलेज (जिएमसी) प्रकरणमा कलेजका अध्यक्ष खुमाप्रसाद अर्याललगायतले उच्च अदालत पोखरामा दर्ता गरेको रिटमा अन्तरिम आदेश जारी गर्न अदालतले अस्वीकार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले यही फागुन २३ गते जारी गरेको पक्राउ पुर्जीविरुद्ध अर्यालसहितका छ जनाले वारेसमार्फत उच्च अदालत पोखरामा निषेधाज्ञासमेतको अन्तरिम आदेशको माग गरी रिट दायर गरेका थिए । दुवै पक्षको बहसपछि उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश रामचन्द्र यादवको इजलासले अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश गरेको हो । कलेजले तोकिएको भन्दा बढी शुल्क असुलेर ठगी गरेको भन्दै फागुन २१ गते कलेजका अध्यक्षलगायत ११ जनाविरुद्ध विद्यार्थीले जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगीको उजुरी दर्ता गरेका थिए । सोही उजुरीका आधारमा प्रहरीले कलेजका सञ्चालकहरुलाई पक्राउ पुर्जी जारी गरेको थियो । रिटमा जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय तथा विद्यार्थी अनित सिन्हा, अङ्कित शर्मा र सम्राट पराजुलीलाई विपक्षी बनाइएको थियो । इजलासमा रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ तथा अधिवक्ता पूर्ण राजवंशी र दीपक शर्मा पौडेलले बहस गर्नुभएको थियो । विपक्षीका तर्फबाट उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता नरेन्द्रबहादुर चन्द र उपन्यायाधिवक्ता खेमराज पाठकले बहस गरेका थिए । विद्यार्थीका तर्फबाट वरिष्ठ अधिवक्ता तिलक पराजुली, ओमप्रकाश अर्याल र भगवती पहारीले बहस गरेका थिए । पक्राउ पुर्जी जारी भएपछि प्रहरीले कलेजका पूर्वप्रमुख कार्यकारी अधिकृत सन्तोष खनाल र कर्मचारी लक्ष्मण शर्मालाई पक्राउ गरिसकेको छ । गएको माघ १७ देखि कलेजका विद्यार्थीले चरणबद्ध आन्दोलनमा उत्रेका छन् ।

विश्वविद्यालय पढाउनेले पीएचडी गर्नै पर्ने, ‘त्रिविले ल्याउँदैछ नयाँ नीति’

लुम्बिनी । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थ खनियाँले अबको केही वर्षभित्र क्याम्पस पढाउने प्राध्यापक अनिवार्यरुपमा विद्यावारिधि(पीएचडी) गरेको हुनुपर्ने नीति ल्याइने बताएका छन् । भैरहवा बहुमुखी क्याम्पसको स्वर्णमहोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले त्रिवि विश्वका एक हजार उत्कृष्ट र गुणस्तरीय विश्वविद्यालयको सूचीमा परेको उल्लेख गर्दै यसको सकारात्मक प्रभाव ६२ वटै आङ्गिक क्याम्पसमा जाने बताए । प्रा डा खनियाँले विश्वविद्यालयले बजारले खोजे अनुसारको नयाँ नया शैक्षिक कार्यक्रमसमेत सञ्चालन गरिरहेको बताए । उनले भैरहवा क्याम्पसमा सञ्चालित बिबिए, बिसिए, बिएससिआइटी, बिआइएमजस्ता विषय त्यसको उदाहरण भएको उल्लेख गर्नुभयो । उनले विश्वविद्यालयको आङ्गिक, सम्बन्धन प्राप्त, सामुदायिकमा गरी हाल चार लाख विद्यार्थी रहेको दाबी गर्दै उक्त सङ्ख्या विश्वकै ठूला विश्वविद्यालयकोभन्दा धेरै भएको बताए । कार्यक्रममा रजिस्टार डिल्लीराम उप्रेतीले त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसमा मात्रै शैक्षिकसत्र २०७३/०७४ मा एक लाख ३८ हजार विद्यार्थी रहेकामा हाल एक लाख ५६ हजार पुग्नुले विश्वविद्यालयप्रतिको विश्वास झनै बढेर गएको बताए ।