एसएलसी परीक्षाको नतिजा अपराह्न ३ बजे प्रकाशित हुँदै, रिजल्ट यसरी हेर्न सकिनेछ
भक्तपुर, असार २ गते । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७२ सालको प्रवेशिका अर्थात् एसएलसी परीक्षाको नतिजा बिहीबार सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले परीक्षाफल सार्वजनिक गर्ने अन्तिम तयारी भएको जानकारी दिँदै भने, “बिहीबार मध्याह्न बोर्ड बैठक आह्वान गरेका छौँ, प्राविधिक समस्या नआएमा बिहीबार अपराह्न ३ बजे शिक्षा विभागमा पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गर्छौैँ ।” गत चैत १८ गतेदेखि २९ गतेसम्म सञ्चालित परीक्षाको नतिजा यस वर्षदेखि अक्षराङ्क अर्थात् ग्रेडिङ प्रणालीमा हुनेछ । परीक्षामा छ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी भएका थिए । नियमिततर्फ चार लाख ५२ हजार ८८१ र पूरकतर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी सहभागी भएको परीक्षा नियन्त्रक काप्रीले जानकारी दिए । नौ ग्रेडिङमा परीक्षाफल एसएलसीको ८२ वर्षे इतिहासमा यस वर्षदेखि ग्रेडिङ पद्धति लागू भएको छ । विभिन्न नौ ग्रेडिङमा परीक्षाफल प्रकाशन गरिने परीक्षा नियन्त्रक काप्रीले जानकारी गराए । उनले ९० देखि १०० प्रतिशत ल्याउने ‘ए प्लस’, ८० देखि ९० प्रतिशत ‘ए’, ७० देखि ८० प्रतिशत ‘बी प्लस’, ६० देखि ७० प्रतिशत ‘बी’, ५० देखि ६० प्रतिशत ‘सी प्लस’,४० देखि ५० प्रतिशत ‘सी’, ३० देखि ४० ‘डी’ प्लस, २० देखि ३० ‘डी’ र १० देखि २० प्रतिशत ल्याउनेलाई ‘इ’ ग्रेडिङमा राखिएको जानकारी दिए । नियमित, प्राविधिक र पूरक परीक्षामा संलग्न सबै विद्यार्थीको नतिजा अक्षराङ्क पद्धतिअनुसार प्रकाशन गरिनेछ । पहिलो लेटर ग्रेडिङ र अन्तिम एसएलसी भएका कारण यो नतिजाप्रति धेरैको चासो रहेको छ । वेबसाइट www.moe.gov.no, www.doe.gov.np, www.slcresult.soce.gov.np, www.slc.nt.ntc.net.np नेपाल टेलिकमको PQM\N, CDMA, Postpaid,Prepaid मार्फत १६०० नं डायल गरी प्राप्त सन्देशअनुसार नतिजा प्राप्त गर्न सकिने छ । त्यसैगरी sms बाट नजिता थाहा पाउन PQM\N, CDMA, Postpaid,Prepaid मोबाइलको मेसेज बक्समा गएर slc<space> सिम्बोल नं र अल्फाबेट टाइप गरी १६०० एसएमएस पठाउन सकिनेछ । परीक्षा नियन्त्रण कार्यालयले मौका परीक्षाको पनि व्यवस्था गरेको छ । ‘लेटर ग्रेडिङ’ प्रणालीमा नतिजा प्रकाशन हुने र कोही पनि विद्यार्थी अनुत्तीर्ण नहुने भनिए पनि ‘डी’ र ‘इ’ गे्रड ल्याउने विद्यार्थीका लागि साउनमा मौका परीक्षा सञ्चालन गरिने भएको छ । मौका परीक्षा दिनैपर्ने अनिवार्य व्यवस्था भने नगरिएको र स्वेच्छिक रुपमा मौका परीक्षा दिन चाहनेले परीक्षा दिन सक्ने छ ।
परीक्षा प्रणालीलाई थप आधुनिक र वैज्ञानिक बनाउन व्यवस्थापिका–संसद्को निर्देशन
काठमाडौं, ३० वैशाख । व्यवस्थापिका–संसद्, राज्यव्यवस्था समितिले लोकसेवा आयोगको परीक्षा प्रणालीलाई थप वैज्ञानिक बनाउन निर्देशन दिएको छ । नेपालको संविधानले आयोगको क्षेत्राधिकार विस्तार गरेको हुँदा त्यसैअनुरुपको भूमिका बहन गर्न तथा परीक्षा प्रणालीलाई पनि थप वैज्ञानिक र प्रविधियुक्त बनाउन समितिको आजको बैठकले निर्देशन दिएको हो । राज्यको प्रतिनिधिका रुपमा रहने गाविस सचिवका धेरै पद रिक्त रहेकाले त्यसको अविलम्ब पदपूर्ति गर्न आयोगका तर्फबाट लिइनुपर्ने पहलकदमीका लागि समेत समितिले आयोगलाई भनेको छ । राज्यबाट हुने सेवा प्रवाहलाई जनतासमक्ष पु¥याउने गाविस सचिवहरुको लामो समयदेखि पदपूर्ति हुन नसकेकामा समितिले आयोग र नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको छ । सभापति दिलबहादुर घर्तीको सभापतित्वमा बसेको समितिको बैठकले भूकम्पबाट भत्किएका आयोगका भौतिक संरचना पुनःनिर्माण गर्न आयोगबाट औचित्यसहित माग भएको बजेट तत्कालै उपलब्ध गराउन सरकारलाई निर्देशन पनि दिएको छ । यसअघि समितिको बैठकमा आयोगका अध्यक्ष उमेश मैनालीले आयोगको भावी कार्ययोजना तयारी र परीक्षा प्रणाली सुधारको सोचलगायतका विषयमा जानकारी दिएका थिए । सो अवसरमा आयोगको तर्फबाट नवीन प्रविधि अपनाउने सिलसिलामा सबै दरखास्त अनलाइनमार्फत लिने, हुलाक कार्यालयमार्फत दस्तुर बुझाउन सकिने तथा शाखा अधिकृतलगायतका पदहरुमा प्रथम चरणको परीक्षा उत्तीर्ण हुनेलाई मात्र अन्य परीक्षामा सामेल गराउने व्यवस्था गरेको जानकारी दिइएको थियो । रासस
भूकम्प पीडित ५ सयलाई सिटिइभिटीले निःशुल्क पढाउने
काठमाडौँ, २९ वैशाख । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले भूकम्प प्रभावित १४ जिल्लाका ५०० छात्रछात्रालाई निःशुल्क पढाउने भएको छ । राजधानीमा पत्रकार सम्मलेनमार्फत परिषद्ले विशेष प्राविधिक शिक्षाअन्तर्गत छनोट भएका ५०० जना छात्रछात्राका लागि आगामी जेठ २ गतेबाट निःशुल्क कक्षा सञ्चालन गर्न लागिएको जानकारी दिएको हो । सिटिइभिटीका प्रवक्ता एवम् सूचना तथा अनुसन्धान महाशाखाका निर्देशक शिवशङ्कर घिमिरेले चालु आवको बजेट तथा कार्यक्रममा व्यवस्था भए बमोजिम भूकम्प प्रभावित मध्येबाट छनोट भएका विद्यार्थीका लागि कक्षा सञ्चालन गर्न लागेको बताए। काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, रसुवा, धादिङ, नुवाकोट, गोरखा, मकवानपुर, रामेछाप, दोलखा, सिन्धुली र ओखलढुङ्गाका भूकम्प प्रभावित ‘क’ वर्गको परिचयपत्र प्राप्त गरेका परिवारबाट छनोट भएका छात्रछात्राले निःशुल्क प्राविधिक शिक्षा लिन पाउने भएका हुन् । निःशुल्क पढ्न पाउने छात्राले निर्वाह भत्ताबापत् प्रतिमहिना तीन हजार ५००, बर्सेनि यातायात खर्च एक हजार ५००, पोसाक खर्च दुई हजार ५०० पाउनुका साथै निःशुल्क अध्ययन एवम् छात्रावासको पनि सुविधा प्राप्त गर्नेछन् । परिषद्का सदस्य सचिव रामहरि लामिछानेले ६५ करोड बराबरको रकम विपन्नलाई छात्रवृत्तिका लागि खर्च हुने जानकारी दिए । “वार्षिक एक अर्ब दुई करोडको छात्रवृत्ति ८८ छात्रछात्राका लागि खर्च हुनेछ” उनले भने। शारीरिक अपाङ्गता भएका बहिरा व्यक्तिका लागि पनि प्राविधिक शिक्षामा समावेश गर्ने हेतुले धवलागिरि बहिरा आवासीय माध्यमिक विद्यालय वागलुङ्लाई परिषद्को आङ्गिक शिक्षालयको रुपमा सञ्चालन गरी स्नातक तहको कम्प्युटर इन्जिनियरिङ कार्यक्रम समेत आव २०७३÷७४ बाट सुरु गर्न लागिएको लामिछानेले बताए । परिषद्बाट सम्बन्धन लिन प्रमाणपत्र तहको कार्यक्रम सञ्चालनका लागि आफ्नै अस्पताल, मेडिकल कलेज, सहकारी गुठी र ट्रष्ट्रले जुनसुकै बेला प्रस्ताव पेस गर्न पाउने निर्णय खारेज गरेको परिषद्ले जनाएको छ । अब यस्ता प्रस्ताव पेस गर्न परिषद्ले विज्ञापन गरेपछि मात्र पाइने छ ।