मेडिकल कलेजमा लिइएको बढी शुल्क फिर्ता हुने

काठमाडौँ । विभिन्न मेडिकल कलेजमा जथाभावी शुल्क लिइएको तथा विद्यार्थी परीक्षा फारम भर्नबाट वञ्चित गराइएको विषयमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी सङ्गठनका पदाधिकारीबीच सहमति भएको छ । जबर्जस्ती लिइएको शुल्क फिर्ता गर्ने, आवेदनमा छुट भएका विद्यार्थीलाई यही चैत ८ गतेसम्मको अवधिमा फारम भर्न लगाउने र विद्यार्थी सङ्गठनले गरेको तालाबन्दी खुलाउने सहमति भएको अनेरास्ववियुका सचिव आरसी लामिछाने जानकारी दिए । शिक्षामन्त्री गिरिराजमणि पोखरेल, सचिव खगराज बराल, त्रिविका उपकुलपति डा तीर्थराज खनियाँ, निजी कलेज सञ्जालकका प्रतिनिधि, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र नेपाल विद्यार्थी सङ्घका प्रतिनिधिबीच आज सिंहदरबारमा वार्ता भएको थियो । सो विषयमा कारवाही नभएको भन्दै सत्तारुढ नेकपा निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले मङ्गलबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति र चिकित्साशास्त्र अध्ययन संस्थानको डीनको कार्यालयमा तालाबन्दी गरेका थिए । गण्डकी र किष्ट मेडिकल कलेजमा आफूखुशी शुल्क असूल भएको र परीक्षा फाराम भर्न नपाएका विद्यार्थीलाई मनोवैज्ञानिक त्रास दिई मुद्दा फिर्ता लिन दबाब दिएको विषय कानूनी कारवाहीको सवाल भएकाले तालाबन्दी खुलेपनि पीडित विद्यार्थीले मुद्दा फिर्ता नलिने जनाएका छन् ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपतिकै संरक्षणमा ठगी !

काठमाडौँ । शैक्षिक शुल्कका नाममा लाखौं रुपैयाँ असुलेर विद्यार्थी र अभिभावकलाई ठगी गर्ने मेडिकल कलेजलाई त्रिभुवन विश्वविद्यालयकै उपकुलपति तीर्थराज खनियाँले संरक्षण दिने गरेका छन् । पटक–पटक विद्यार्थीरअभिभावकले उजुरी गर्दा पनि ती कलेजविरुद्ध कारबाही गर्न उनले चासो नदेखाएका हुन् । जसका कारण मेडिकल कलेजले विद्यार्थीबाट असुल्ने रकमको दर बढाउँदै लैजाने मौका पाएका छन् । विद्यार्थीको उजुरी र त्रिविकै अनुगमन निर्देशनालयले गरेको छानबिनमा अघिल्लो शैक्षिक सत्रमै मेडिकल कलेजले विद्यार्थीबाट लाखौं अवैध शुल्क उठाउँदै आएको पाइएको थियो । उजुरी र छानबिन समितिको प्रतिवेदनलाई कार्यकारी परिषद्मालगेर कारबाही प्रक्रिया अघि बढाउन खनियाँले आनाकानी गरेका हुन् । यसमा रजिस्ट्रार डिल्लीराम उप्रेतीले पनि साथ दिएका छन् । ‘विद्यार्थीबाट करोडौं अतिरिक्त शुल्क उठाउने मेडिकल कलेजलाई जोगाउन खनियाँ सरकै मिलेमतो देखिन्छ,’ त्रिवि कार्यकारी परिषद् स्रोतले भन्यो, ‘प्रतिवेदनमाथि छलफल भयो, तर उहाँले निर्णय गरेर कारबाही गर्ने अग्रसरता कहिल्यै देखाउनुभएन ।’ डिन कार्यालयलगायत त्रिविका विभिन्न निकायमा आएका उजुरी र गुनासा कार्यकारी परिषद् बैठकमा लैजाने र त्यहाँबाट निर्णय गरेर कारबाही गर्ने प्रावधान छ । निर्देशनालयको छानबिन प्रतिवेदन पनि परिषद्बाटै निर्णय गराएर कार्यान्वयनमा लगिन्छ । उपकुलपति खनियाँले भने निर्देशनालयको विज्ञ छानबिन टोलीले तयार पारेको प्रतिवेदन लुकाएर अवैध धन्दा चलाउने मेडिकल कलेजहरूलाई संरक्षण गर्दै आएका हुन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

एसईई परीक्षा दिँदै सांसद शान्ता चौधरी, लक्ष्य पीएचडी !

काठमाडौं। प्रतिनिधिसभा सांसद शान्ता चौधरी दुई साताअघि संसद् सचिवालयमा बिदा फाराम बोकेर पुगिन् । उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट संसद्को सचेतकको भूमिकामा छिन् । आफ्नो जिम्मेवारी आगामी २० चैतसम्म सम्हाल्न नसक्ने भएकाले उनी बिदा माग्दै सचिवालय पुगेकी हुन् । दुई सातादेखि दाङस्थित आफ्नो निवासमा बसेर बाहिरी राजनीतिको विषयमा कुनै ध्यान नदिएर सांसद चौधरी परीक्षामा एकाग्र भएकी छन् । उनी अहिले मुलुकको कानुन बनाउनेभन्दा त्यही कानुनले व्यवस्था गरेको शिक्षाको अधिकार प्रयोग गरिरहेकी छन् । कारण हो, एसईई परीक्षाको तयारी । पाँच दिनपछि एसईई परीक्षा सुरु हुँदै छ । यो वर्ष उनी एसईईको परीक्षामा सामेल हुँदै छिन् । त्यसका लागि उनले संसद्बाट बिदाको बन्दोबस्तो मिलाएकी हुन् । परीक्षाको तयारीमा व्यस्त रहेकी उनी फोन उठाउनसमेत भ्याउँदिनन् । ‘अहिले सबैजसो विषयमा ट्युसन क्लास लिएकी छु, पहिलेभन्दा धेरै सहज बनेको छ । दिनभरि पढाइमा व्यस्त हुन्छु । राजनीतिक कार्यक्रममा गएकी छैन,’ सांसद चौधरीले भनिन्, ‘स्कुलमा गएर पढ्नु राम्रो हो । त्यो गर्न नसके पनि घरमा बसेर अध्ययन गर्छु । नजानेका कुरा सम्बन्धित विषयका शिक्षकसँग सोध्छु ।’ वर्षभरि उनी राजनीतिक काममा व्यस्त रहिन् । पढाइका लागि समय मिलाउन पनि उनलाई अप्ठ्यारो थियो । विद्यार्थीले जस्तो तालिकाअनुसार पढ्न राजनीतिज्ञलाई सजिलो हुँदैन । तर पनि सकेसम्म पढ्ने वातावरण मिलाउने कोसिस गर्छिन् उनी । ‘समय व्यवस्थापन गर्ने आफूले हो । समयको व्यवस्थापन गर्न नसकेको समस्या मसँग छ,’ सांसद चौधरीले भनिन्, ‘राजनीति गर्ने मान्छेलाई जनताको काम र पार्टीको काम गर्नुपर्ने हुन्छ । यसका बाबजुत पनि पढ्ने वातावरण मिलाउन कोसिस गर्छु ।’ सचेतकको जिम्मेवारीमा रहेकी उनी नियमित संसद् बैठकमा उपस्थित हुनुपर्छ । संसद्भित्रका गतिविधिलाई उनले विशेष ध्यान दिनुपर्ने दायित्व छ । ‘पढाइप्रतिको दृढताले समयको व्यवस्थापन गर्न कोसिस गर्छु,’ उनले भनिन्, ‘बढी उमेरका मानिसमा बिर्सिने समस्या हुन्छ । अलि ढिलो बुझ्ने हुन्छ । तर, पनि भित्री इच्छाका साथ पढ्नुपर्छ भनेर होला मेरो पढाइ सन्तोषजनक छ, यसमा खुसी लाग्छ ।’ सांसद चौधरीको सपना पीएचडी गर्ने रहेको छ । उनले यो कुरा बेलाबेला साथीभाइलाई पनि सुनाउँदै आएकी छन् । तर, पीएचडी गर्ने सोच एसईईमा कस्तो नतिजा आउँछ, त्यसमा भर पर्ने उनी बताउँछिन् । ‘एसईईमा कस्तो ग्रेड आउँछ । कलेज पढ्न पाउँछु कि पाउँदिन । राम्रो ग्रेड आए पढ्छु । पीएचडी गर्छु त भनिराछु,’ उनले थपिन्, ‘हेरौं, त्यो त समयले बताउने कुरा हो । अहिलेको एसईईमा कस्तो नतिजा आउँछ त्यसमा भर पर्छ ।’ आजको राजधानी दैनिकमा समाचार छ ।