काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा डा. वाग्ले नियुक्त
काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपति पदमा प्राडा अच्युतप्रसाद वाग्ले नियुक्त भएका छन् । विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिका संयोजक र सदस्यद्वयको सिफारिसमा परेका तीन जनामध्येबाट डा वाग्लेलाई प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले सो विश्वविद्यालयको ऐन, २०४८ को दफा १३ (४) बमोजिम आज नियुक्त गरेका हुन् । उपकुलपति छनोटका लागि डा सुरेशराज शर्मा, डा अर्जुन कार्की र जनार्दन नेपाल रहेको समिति गठन गरिएको थियो । सो विश्वविद्यालयका उपकुलपति डा भोला थापाको कार्यकाल गत माघ ६ गते सकिएको थियो । काभ्रेपलाञ्चोकको वनेपा नगरपालिकामा २०२५ सालमा जन्मिएका नवनियुक्त उपकुलपति वाग्ले काठमाडौं विश्वविद्यालयका कार्यवाहक उपकुलपति एवं रजिष्ट्रार थिए । उनले सो विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टको सहायक डीन, उक्त स्कुलको विज्ञान विभागको प्रमुख र एड्जङ्कट प्रोफेसर रहेर काम गरिसकेका छन् । इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी, कानपुरबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका उनले बेलायतको ब्रिमिङ्घम विश्वविद्यालयबाट एमएस्सी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट एमए उत्तीर्ण गरेका छन् । डा वाग्लेसँग प्रधानमन्त्रीको प्रेस सल्लाहकार र नेपाल राष्ट्र बैंकका गभर्नरको सल्लाहकार रही काम गरेको अनुुभव छ । उनले व्यवसाय, वातावरण, क्षेत्रीय अर्थतन्त्र, वित्तीय सङ्घीयता र उद्यमशीलता आदि विषयमा अनुसन्धान गर्दै आएका छन् । उपकुलपतिको कार्यकाल चार वर्षको रहने छ ।
मनाङमा ४६ विद्यार्थीले एसइई दिने
मनाङ । यही चैत ७ गतेदेखि सुरु हुन लागेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा मनाङबाट ४६ जना सहभागी हुनेभएका छन् । परीक्षा केन्द्र सदरमुकाम चामेस्थित लोकप्रिय माविमा तोकिएको छ । परीक्षामा नियमिततर्फ ४१ र ग्रेडवृद्धितर्फ पाँच परीक्षार्थी सहभागी हुन लागेको शिक्षा समन्वय एकाइ मनाङका प्रमुख धु्रवप्रसाद कोइरालाले जानकारी दिए । चारवटा स्थानीय तह रहेको मनाङमा नार्पाभूमि गाउँपालिकाबाट कुनै पनि परीक्षार्थी छैनन् । उनका अनुसार नासोँ गाउँपालिकाको प्रकाशज्योति माविबाट २१, ङिस्याङ गाउँपालिकामा रहेको अन्नपूर्ण माविबाट चार, चामे गाउँपालिकामा रहेको लोकप्रिय माविबाट १६ जना परीक्षामा सहभागी हुँदैछन् । प्रकाशज्योति माविबाट दुई र लोकप्रिय माविबाट तीन जनाले ग्रेडवृद्धि परीक्षा दिन लागेका छन् ।
नमूना विद्यालयमा करोडौं लगानी, नतिजा खस्कँदो
काठमाडौं । गोरखाका विभिन्न ५ विद्यालयलाई शिक्षा मानव तथा स्रोत विकास केन्द्रले नमूना विद्यालय घोषणा गरी वर्सेनी करोडौं अनुदान उपलब्ध गराएपनि शैक्षिक गुणस्तर खस्कँदो छ । दुल्लभ मावि घ्याम्पेसाल, महेन्द्र मावि कुन्दुर, सूर्यज्योति मावि ताकुकोट, परोपकार आदर्श मावि जौवारी र अमरज्योति मावि लुइँटेल नमूना विद्यालय घोषित भइ करोडौं अनुदान प्राप्त गरेपनि विगत पाँच वर्षको शैक्षिक प्रगति विवरण सन्तोषजनक नदेखिएको हो । गोरखा नगरपालिकास्थित महेन्द्र माविका प्राचार्य गोपालबाबु मरहट्टाले भने, ‘यो वर्ष १० लाख रुपैयाँ परेको छ, कार्यक्रम आएको सुरुको वर्ष ५० लाख रुपैयाँ आएको थियो ।’ प्राप्त बजेट शैक्षिक गुणस्तर निर्माणका लागि खर्च गरेको उनले बताए । उनका अनुसार १२र१२ कोठाको २ वटा विद्यालय भवन, एउटा छात्रावास, व्यवस्थित शौचालय निर्माणसँगै कम्प्युटर, अन्य जिन्सी सामग्री खरिद गरिएको छ । विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न विविध कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ । सो विद्यालयमा हाल ५६४ जना विद्यार्थी अध्ययनरत छन् । सो विद्यालय नमूना घोषणा भएको वर्ष २०७४ को एसइईमा औसत २.४० जिपिए थियो । विसं २०७५ मा २.४८, २०७६ मा २.५९, २०७७ मा २.७४, २०७८ मा २.२७ र वर्ष २०७९ मा २.२१ मात्र जिपिए ल्याएको छ । गतवर्ष २०८० को एसइई नतिजा घटेर १.७२ जिपिए छ । भीमसेन थापा गाउँपालिका–१ घ्याम्पेसालस्थित दुल्लभ माविमा नमूना विद्यालय कार्यक्रम सञ्चालन भएसँगै भौतिक निर्माणले गति लिएको छ । हाल ३२४ जना विद्यार्थी रहेको सो विद्यालयमा २ वटा ६÷६ कोठे भवन निर्माण गर्नुका साथै विद्यालय बससमेत सञ्चालन गरिएको प्रअ लक्ष्मणबाबु आचार्यले बताए । नमूना विद्यालय कार्यक्रमअन्तर्गत प्राप्त वार्षिक १ करोड रुपैयाँ भौतिक पूर्वाधारमा र बाँकी ५० लाख रुपैयाँ व्यवस्थापनमा खर्च गरेको उनले जानकारी दिए । विद्यालयको गतवर्षको एसइई नतिजा औसत ७५.८६ प्रतिशत छ । ३१५ जना विद्यार्थी पढ्ने बारपाक सुलिकोटको सूर्यज्योति मावि ताकुकोटले कार्यक्रमअन्तर्गत सुरुको ५ वर्ष डेढ–डेढ करोड र गतवर्ष ३० लाख रुपैयाँ प्राप्त गरेको छ । अनुदानवापत प्राप्त ४ करोड रुपैयाँ विद्यालय भवन निर्माणमा खर्च गरेको विद्यालयले जनाएको छ । ९७ लाख रुपैयाँ बराबरको चमेना गृह, २१ लाख रुपैयाँ लागतमा विद्यालयको मञ्च र करिब १० लाख रुपैयाँमा आइसिटी ल्याब निर्माण गरेको प्रअ प्राचार्य बाबुराम नेपालीले बताए । बजेट करोडौँ खर्च गरेपनि एसइईको नतिजा खासै राम्रो देखिएको छैन । सुरुको वर्ष विसं २०७५ मा विद्यालयले २.२५ जिपिए प्राप्त गरेको थियो । विसं २०७६ मा २.८४, २०७७ मा ३.१४, २०७८ मा २.२० र विसं २०७९ मा २.६५ जिपिए प्राप्त ग(यो भने गत वर्ष जम्मा ०.५६ जिपिए प्राप्त गरेको छ । ३६५ जना विद्यार्थी पढ्ने अर्को नमुना विद्यालय सिरानचोक–८ जौवारीस्थित परोपकार आदर्श माविको गत वर्षको एसईई नतिजा ६४ दशमलव २८ प्रतिशत छ । यस्तै, विद्यालयले २०७९ मा २.५५, २०७८ मा २.५३, २०७७ मा २.८५, २०७६ मा २.८५ र २०७५ मा २.८७ जिपिए ल्याएको थियो । जिल्लामा सबैभन्दापछि नमूना विद्यालय घोषणा भएको पालुङटार नगरपालिकास्थित अमरज्योति जनता माविमा गतवर्ष एसइई परीक्षामा नौ जना अनुत्तीर्ण भएको विद्यालयले जनाएको छ । त्यसअघिका वर्षहरुमा ग्रेडिङ प्रणाली लागू भएकाले केही विद्यार्थी फेल नभएको विद्यालयका प्रअ माधव देवकोटाले बताए । ६३० जना विद्यार्थीहरु अध्ययनरत उक्त विद्यालयमा हाल नमूना विद्यालय कार्यक्रमको चौथो वर्ष सञ्चालन भइरहेको छ ।