मेगा बैंकमा खुल्यो जागिरको अवसर, प्रबन्धकसहित ११३ कर्मचारीको माग

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ११३ जना कर्मचारी माग गरेको छ । बैंकले शाखा प्रबन्धक सहित ११३ जना कर्मचारीको माग सहित सुचना जारी गरेको हो । बैंकका अनुसार शाखा प्रबन्धक हुन कम्तिमा स्नातकोत्तर गरी १ वर्षको प्रबन्धक तह वा ११ वर्षको वाणिज्य बैंकमा ३ वर्ष काम गरेको हुनुपर्नेछ । त्यस्तै बैंकले २९ जना अधिकृत तहका कर्मचारी र ६६ जना सहायक अधिकृत माग गरेको छ । यसका लागि क्रमश वाणिज्य बैंकमा पाँच वर्ष र तीन वर्ष काम गरेको हुनुपर्नेछ । बैंकले १६ नयाँ ठाँउका नयाँ शाखाका लागि पनि धेरै संख्यामा कर्मचारी माग गरेको छ । जसका लागि २२ जना कर्मचारीको माग गरेको छ । त्यस्तै नयाँ शाखाका लागि १७ जना प्रशिक्षार्थी कर्मचारीको पनि माग गरेको छ । यसका लागि कम्तिमा स्नातक गरेको हुनुपर्ने बैंकले जानकारी दिएको छ । ईच्छुक आवेदकले मंसिर १४ गतेसम्म बैंकमा आवेदन बुझाउनुपर्ने बैंकले जनाएको छ ।

प्राइम लाइफ इन्स्योरेन्सको नाफामा १७९ प्रतिशतले वृद्धि

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा राम्रो प्रगति हासिल गरेको छ । कम्पनीले तीन महिनामा ६ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । कम्पनीले तीन महिनामा ४६ करोड ४१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा ३७ करोड ८९ लाख रुपैयाँ आर्जन गरेको थियो । दाबी भुक्तानी पनि गत वर्षको प्रथम त्रैमासमा ७ करोड ८२ लाख रुपैयाँ भएकोमा यस वर्ष ४ करोड ७४ लाख रुपैयाँ मात्र भएको छ । आम्दानीमा उच्च वृद्धि र दाबी भुक्तानीमा उच्च गिरावट आउँदा कम्पनीमा नाफामा राम्रो सहयोग मिलेको छ । कम्पनीको व्यवस्थापन खर्च ६ लाख रुपैयाँले मात्र वृद्धि भएको छ । चुक्ता पुँजी ६१ करोड रुपैयाँ भएको यस कम्पनीको बीमा कोष ५२ करोड छ भने जगेडा कोषमा ९ करोड र महाविपत्ती कोषमा करिव ८ करोड रुपैयाँ रहेको छ । लामो समय विभिन्न समस्याबाट गुज्रिएको यो कम्पनी पछिल्लो समयमा सहि ट्रयाकमा अगाडि बढेको देखिएकाे छ ।

सगरमाथा इन्स्योरेन्सले दुई वर्षको नाफाबाट एकै पटक बोनस सेयर दिने

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को नाफा एकै पटक वितरण गर्ने भएको छ । बीमा समितिको निर्देशन अनुसार तोकिएको समयमा चुक्ता पुँजी १ अर्ब रुपैयाँ बनाउने र सकेसम्म धेरै बोनस सेयर वितरण गर्ने योजना रहेको कम्पनीले जनाएको छ । ‘कम्पनीले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ नाफाबाट करिब ३७ करोड बोनस सेयर वितरण गर्ने र करिब १० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने गरी पुँजी वृद्धि योजना बीमा समितिलाई बुझाएको छ’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले भने–‘सकेसम्म हकप्रद सेयर निष्काशन गर्न नपारोस्, बोनस सेयर वितरण गरेर नै १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन सकियोस् भन्ने कम्पनीको चाहाना हो ।’ आर्थिक वर्ष २०७३/७४मा कम्पनीको खुद नाफा २७ करोड ६२ लाख रुपैयाँ भएको उनले जानकारी दिए । त्यसबाट नियमअनुसार ११ करोड ९ लाख रुपैयाँ बीमा कोष, महाविपत्ति कोषमा राखेको भने वितरणयोग्य नाफा १६ करोड ५३ लाख रुपैयाँ जगेडा कोषमा राखेको छ । चुक्ता पुँजी ५३ करोड ८२ लाख रुपैयाँ रहेको यस कम्पनीको बीमा कोष पनि ५३ अर्ब ८२ करोड भएको छ । बीमा समितिको नियम अनुसार चुक्ता पुँजी सरह बीमा कोष रकम नपुगेसम्म खुद नाफाको ५० प्रतिशत रकम बीमा कोषमा जम्मा गर्नुपर्ने हुन्छ । आगामी वर्षको खुद नाफाबाट १० प्रतिशत महाविपत्ति कोषमा राखी बाँकी रकम बोनस सेयरको रुपमा लगानीकर्तालाई वितरण गर्ने कम्पनीको योजना रहेको पाइएको छ । गत वर्षको नाफा यस वर्ष सेयरधनीलाई वितरण नगर्ने निणर्य सञ्चालक समितिले गरेको छ । ‘कम्पनी नाफामा छ । लाभांश वितरण गर्ने अवस्थामा छ’ उनले भने ‘लाभांश वितरण शैली कम्पनी अनुसार फरक हुन सक्छ ।’ सगरमाथा इन्स्योरेन्स कम्पनीले तीन वर्षअघि एक पटक लाभांश स्थगित गरेको थियो । त्यसपछिको वर्ष १२९ प्रतिशत लाभांश वितरण गरेको थियो ।