आर्थिक सचेतना बढाउन मेरोमाइक्रोफाइनान्सको अन्तरक्रिया कार्यक्रम

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको आयोजनामा वित्तीय साक्षरता अभिवृद्धि तथा ग्राहक गुनासो सुनुवाइ कार्यक्रम चितवनमा सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, संस्थाका पदाधिकारी तथा सेवाग्राहीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि खैरहनी नगरपालिका–८ का वडा अध्यक्ष शंकर कडेलले वित्तीय साक्षरताले नागरिकलाई आत्मनिर्भर बनाउने उल्लेख गर्दै यस्ता कार्यक्रमलाई अझ विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए । उनले स्थानीय तह र वित्तीय संस्थाबीच सहकार्यमार्फत आर्थिक सशक्तीकरणलाई अगाडि बढाउन सकिने धारणा व्यक्त गरे । कार्यक्रमका विशेष अतिथि इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरीक्षक सागर पन्तले वित्तीय कारोबारलाई सुरक्षित र पारदर्शी बनाउन सबै सचेत हुनुपर्नेमा जोड दिए । उनले ठगी तथा वित्तीय अपराधबाट जोगिन सचेतना अत्यन्त आवश्यक रहेको बताए । त्यसैगरी, मेरोमाइक्रोफाइनान्सका बागमती तथा गण्डकी प्रदेश प्रमुख जितेन्द्र काजी थापा र अनुगमन कार्यालय चैनपुर, चितवनका प्रमुख कृष्ण प्रसाद उप्रेतीले संस्थाले सञ्चालन गर्दै आएका कार्यक्रमहरू र सेवाबारे जानकारी गराउँदै वित्तीय अनुशासन र जिम्मेवार ऋण प्रयोगमा जोड दिएका थि ए। कार्यक्रममा सहभागी सेवाग्राहीहरूलाई बचत, ऋण व्यवस्थापन, आय–व्यय सन्तुलन तथा योजनाबद्ध लगानीका विषयमा जानकारी प्रदान गरिएको थियो । ग्राहक गुनासो सुनुवाइ सत्रमा सेवाग्राहीहरूले आफ्ना समस्या, जिज्ञासा तथा सुझावहरू राखेका थिए । ग्राहकको तर्फबाट मन्तव्य राख्दै सदस्यहरू सुस्मा सिवाकोटी र विद्या महतोले यस्ता कार्यक्रमले आफूहरूलाई आर्थिक रूपमा सचेत र सक्षम बन्न मद्दत पुगेको बताएका थिए । कार्यक्रमले सेवाग्राही र संस्थाबीच आपसी विश्वास अभिवृद्धि गर्नुका साथै वित्तीय सचेतना विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ । 

निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय १३.११ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्ममा निर्जीवन बीमकहरूले ३१ अर्ब ७० करोड रुपैयाँ बढीको व्यवसाय गर्न सफल भएका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमकले १८ लाख ६२ हजार ११४ वटा बीमालेख जारी गरेर ३१ अर्ब ७० करोड २३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।  अघिल्लो आवको तुलनामा बीमा कम्पनीहरूको व्यवसाय १३.११ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवको फागुन मसान्तसम्ममा बीमा कम्पनीहरूले १८ लाख ४३ हजार ४५६ वटा बीमालेख जारी गरेर २८ अर्ब २ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । अघिल्लो आवको तुलनामा १३ वटा बीमा कम्पनीहरूको व्यवसाय बढेको छ भने एउटाको घटेको छ । सबैभन्दा धेरै व्यापार गर्नेमा शिखर अगाडि  ८ महिनाको अवधिमा सबैभन्दा धेरै व्यापार भित्र्याउने कम्पनीमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीले ४ अर्ब ३८ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ९.२५ प्रतिशतले बढेको छ । अघिल्लो आवको यही अवधिमा शिखरले ४ अर्ब १ करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । दोस्रो धेरै व्यापार भित्र्याउने कम्पनीका सगरमाथा लुम्बिनी इन्स्यारेन्स(सलिको) रहेको छ । उक्त कम्पनीले गत आवको माघसम्ममा ३ अर्ब ३२ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेकोमा चालु आवको यही वअधिमा ३ अर्ब ३६ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको छ । गत आवको तुलनामा कम्पनीको व्यापार १.३२ प्रतिशतले वृद्धि भएको छ ।  सलिकोपछि धेरै व्यवसाय भित्र्याउने कम्पनीमा  हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । कम्पनीले चालु आवको फागुनसम्ममा  ३ अर्ब २० करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आवको यही अवधिमा बीमा कम्पनीले २ अर्ब २१ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा चालु आवको ८ महिनासम्ममा कम्पनीको व्यवसाय ४५.१५ प्रतिशतले वृद्धि भएको छ ।  हिमालयन एभरेष्टपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब ७९ करोड २१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले अघिल्लो आवको यही अवधिमा २ अर्ब ७५ करोड  ३९ लाख बीमा शुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको व्यापार १.३९ प्रतिशले बढेको छ । त्यसैगरी, आइजीआई प्रुडेन्सियलले २ अर्ब ६८ करोड ४७ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब ५३ करोड २५ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २ अर्ब ३९ करोड ५४ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ९६ करोड २९ लाख रुपैयाँ, दि ओरियन्टलले १ अर्ब ९४ करोड ३६ लाख रुपैयाँ कुल बीमा शुल्क  संकलन गरेको छ ।  अघिल्लो आवको यही अवधिमा आइजीआई प्रुडेन्सियलले २ अर्ब ३७ करोड ६० लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब ८५ करोड ९१ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २ अर्ब १९ करोड ४८ लाख रुपैयाँ, युनाइटेड अजोडले १ अर्ब ५९ करोड ८६ लाख रुपैयाँ र ओरियन्टलले १ अर्ब ७० करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । अघिल्लो आवको तुलनामा चालु आवमा कम्पनीहरूले क्रमशः १२.९९ , ३६.२२, ९.१४, २२.७९ र १४.१० प्रतिशतले व्यापार बढेको छ ।  फागुन मसान्तसम्ममा सानिमा जीआईजी इन्स्योरेन्सले १ अर्ब ७८ करोड ५९ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब २१ करोड ४२ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ६ करोड ३३ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्सले ८६ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवको यही अवधिमा सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब ५७ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब ४० करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब १६ करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ९ करोड रुपैयाँ र नेशनल इन्स्योरेन्सले ७६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका थिए । अघिल्लो आवको तुलनामा चालु आवमा सानिमा जीआईसी इन्स्योरेन्सको १३.६८ प्रतिशत, नेपाल इन्स्योरेन्सको ६.६९ प्रतिशत, प्रभु इन्स्योरेन्सको ४.५४ प्रतिशत र नेसनल इन्स्योरेन्सको १३.६० प्रतिशत व्यवसाय वृद्धि भएको छ । राष्ट्रिय बीमा कम्पनीको  भने २.७९ प्रतिशतले व्यापार घटेको छ । 

९ बुँदे घोषणापत्र जारी गर्दै सकियो लघुवित्त सदस्य सम्मेलन, ‘शून्य गरिबी-शून्य बेरोजगारी’

काठमाडौं । पाँचौ राष्ट्रिय लुघवित्त सदस्य सम्मेलन २०८२ नौ बुँदे घोषणापत्र जारी गर्दै काठमाडौंमा सम्पन्न भएको छ । चैत्र ८ र ९ गरी दुई दिनसम्म चलेको सम्मेलनले जारी गरेको घोषणापत्रको पहिलो बुँदामा उद्यमशीलता फैलाऔँ, युवालाई स्वरोजगार बनाऔँ भन्ने मूल नारालाई आत्मसात गर्दै देशको आर्थिक रुपान्तरणमा योगदान पुर्याउने दृढ संकल्प व्यक्त गरेको छ । यसका लागि लघुवित्त संस्था एवं लघुवित्त सञ्चालन गर्ने सहकारी संस्थाहरूले विद्यालयस्तरमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लगायत युवाहरूलाई स्वरोजगार सृजना गर्ने खालका आय तथा सीपमूलक तालिम, व्यावसायिक परामर्श र नव-प्रवर्तनलाई प्रोत्साहन गर्ने संकल्प गरेको छ ।  दोस्रो, लघुवित्त संस्था तथा लघुवित्त सञ्चालन गर्ने सहकारी संस्थाका कर्मचारीहरूले सदस्यहरूसँग गर्ने व्यवहारलाई थप मर्यादित, पारदर्शी र सम्मानजनक बनाउने र सेवा प्रवाहलाई सदस्य केन्द्रित र जिम्मेवार बनाउने संकल्प गरिएको छ । तेस्रो, वातावरणमैत्री, उद्यमशील र स्वावलम्बी समाज निर्माणका लागि हरित वित्तीय कार्यक्रममा युवा शक्तिलाई परिचालन गर्ने र युवाहरूको तीन शून्य क्लब (शून्य गरिबी, शून्य बेरोजगारी, शून्य खुद कार्बन उत्सर्जन) अभियानलाई व्यापक रूपमा प्रवर्द्धन गर्ने उल्लेख छ ।  चौथो, जलवायु परिवर्तनको बढ्दो प्रभावलाई ध्यानमा राख्दै प्रत्येक लघुवित्त संस्था तथा लघुवित्त सञ्चालन गर्ने सहकारी संस्थाले आफ्नो कार्यक्षेत्रमा कम्तीमा एक वातावरणमैत्री गाउँ निर्माण गर्न पहल गर्ने तथा हरित उद्यम र दिगो उत्पादन प्रणालीलाई प्रोत्साहन गर्ने भनिएको छ । पाँचौ, समयको माग अनुसार डिजिटल प्रविधि मार्फत लघुवित्त सेवाहरुलाई सरल, सुरक्षित र पँहुचयोग्य बनाउने र सदस्यहरूमा डिजिटल साक्षरता अभिवृद्धि गरि आधुनिक वित्तीय प्रणालीमा पहुँच विस्तार गर्ने उल्लेख छ । छैटौं, सदस्यहरूको आर्थिक तथा सामाजिक रूपान्तरणको वास्तविक प्रभाव मापन गर्न मापदण्ड विकास गरी प्रत्येक वर्ष अध्ययन, मूल्यांकन र सुधारको प्रक्रिया अवलम्बन गर्ने उल्लेख छ । सातौं, लघुवित्त संस्था एवं लघुवित्त सञ्चालन गर्ने सहकारी संस्थाहरूमा रहेका निष्कृय सदस्यहरूलाई पुनः सकृय बनाउन वित्तीय साक्षरता, उद्यम प्रवर्द्धन तथा नियमित अन्तरक्रिया कार्यक्रम सञ्चालन गरी उनीहरूलाई उत्पादनमूलक कार्यमा सक्रिय रुपमा सहभागी हुन जोड दिइनेछ ।  आठौं, विपन्न महिलाहरूले सामूहिक ऐक्यबद्धताको माध्यमबाट प्राप्त गर्दै आएको सहज कर्जा तथा बचत सेवाबाट वञ्चित गराउने वा अवरोध सिर्जना गर्ने कुनै पनि गतिविधि (ऋण मिनाहा, चर्को व्याज) जस्ता भ्रममा सदस्यहरू संलग्न नहुने उल्लेख छ । साथै अरु सदस्यहरूलाई पनि त्यस्ता कृयाकलापमा नलाग्न समुदायस्तरमै चेतना फैलाउने र रोक्ने विषयमा जोड दिइएको छ । नवौँ, लघुवित्त क्षेत्रमा देखिएका वर्तमान समस्या तथा चुनौतीहरू समाधान गर्न लघुवित्त संस्था तथा लघुवित्त सञ्चालन गर्ने सहकारी संस्था, कर्मचारी र सदस्यहरू स्वयं जिम्मेवार भई कार्य गर्ने प्रतिवद्धता गरिएको छ । यसबाहेक आवश्यकता अनुसार एक आपसमा सहकार्य, संवाद गरी नीतिगत समस्या समाधानका लागि सरकार तथा नियामक निकायमा सामूहिक पहल गर्ने विषय उल्लेख गरिएको छ । सम्मेलनमा उपस्थित प्रतिनिधिहरूबाट प्राप्त महत्वपूर्ण सुझाव, विज्ञ वक्ताहरूको विश्लेषणात्मक धारणा, महिला उद्यमी सदस्यहरूको प्रेरणादायी अनुभव तथा लघुवित्तकर्मीहरूको तीन दशकभन्दा लामो अनुभव, भोगाइ र सिकाइलाई समेट्दै घोषणापत्र तयार गरिएको हो । सम्मेलनले विगतका अमूल्य अनुभव, सिकाइ र उपलब्धिहरूलाई आत्मसात गर्दै वर्तमान लघुवित्त क्षेत्रले सामना गरिरहेको चुनौती, अवसर र आवश्यकता माथि गहन समीक्षा गरेको थियो । सम्मेलनमा सहभागी लघुवित्त सदस्य, कर्मचारी, व्यवस्थापक तथा सरोकारवालाहरूले गरिबी, बेरोजगारी र वातावरणीय असन्तुलन जस्ता साझा समस्याहरू समाधान गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले अनुशासित, स्वावलम्बी, स्वाभिमानी र उद्यमशील समाज निर्माण गर्नमा घोषणापत्र महत्वपूर्ण हुने बताए । नेपालमा लघुवित्तको सफल अभ्यास मार्फत लाखौं विपन्न परिवारलाई उद्यमशीलता, स्वरोजगार र आत्मनिर्भरताको मार्गमा अग्रसर गराउने राष्ट्रका रूपमा विश्व समुदायमा परिचित हुँदै गएको सहभागीको भनाइ छ ।  घोषणापत्र कार्यान्वयनमा जोड  सम्मेलनको समापन सत्रमा सहभागीहरूले घोषणापत्रको कार्यान्वयनमा जोड दिए । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले लघुवित्तको माध्यमबाट नेपाली समाजमा आएको सकारात्मक परिवर्तन, उद्यमशीलता र आत्मनिर्भरताको प्रशंसा गरे । उनले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरू मुख्यतया नाफा कमाउने उद्देश्यले सञ्चालित हुने भएकाले ती संस्थाहरूले विपन्न परिवारको घरदैलोमा पुगेर सेवा दिन नसक्ने बताए । कुनै पनि नेपाली अभावमा रहन नपरोस् र उनीहरूसँग भएको सिप खेर जान नपाओस् भन्ने उद्देश्यले लघुवित्तले विपन्न वर्गको आवश्यकता पूरा गर्न काम गरिरहेको उनले उल्लेख गरे । लघुवित्तका सकारात्मक पक्षहरूसँगै यसका चुनौतीहरूप्रति पनि पूर्व गभर्नर क्षेत्रीले  सचेत गराए ।   यससँगै राष्ट्र बैंकका अर्का पूर्व गभर्नर डा.विजयनाथ भट्टराईले हाल लघुवित्त क्षेत्रमा निष्क्रिय कर्जा मुख्य चुनौतीको रूपमा देखिएको बताए । करिब ५० वटा लघुवित्त संस्थाहरूमार्फत ६४ लाख परिवारलाई समेटिएको यस क्षेत्रमा निष्क्रिय कर्जा ८ प्रतिशतको हाराहारीमा पुगेको तथ्यांक छ । उनले ‘आफ्नो घर आफैं बनाउनुपर्छ’ भन्ने मान्यताका साथ संस्थाहरूले बाह्य सहयोगको मात्र भर नपरी आफैं भित्रबाट सुधार र सुशासन कायम गर्नुपर्नेमा जोड दिए । नागरिक र संस्था दुवैले सुशासनको पालना गरे मात्र देश र क्षेत्रको विकास सम्भव हुने उनको भनाइ छ । लघुवित्तहरूले अब ऋण दिने मात्र नभई उद्यमशीलता विकासमा पनि ध्यान दिनुपर्ने र प्रविधिको प्रयोगमार्फत आफूलाई परिपक्व बनाउँदै लैजानुपर्ने समय आएकोतर्फ उनले ध्यानाकर्षण गराए ।  सम्मेलन आयोजक समिति अध्यक्ष शंकरमान श्रेष्ठले समापन मन्तव्य राख्ने क्रममा सम्मेलनमा लघुवित्तको सुरुवाती दिनहरूको चर्चा गरे । दुई दिने बसाईबाट राम्रो घोषणा पत्र बनेको र सम्पूर्ण लघुवित्त र सदस्यहरुबाट कार्यान्वयन हुनुपर्नेमा जोड दिए । लघुवित्तको मुख्य उद्देश्य बैंकको पहुँच नपुगेका विपन्न व्यक्तिहरूको दैलोमा पुगेर सेवा दिनु रहेको उल्लेख गरे । ‘लघुवित्तलाई व्यावसायिक बैंकको नजरबाट मात्र नहेरी ’मुटुदेखि मुटुसम्म’ जोडिने प्रणालीका रूपमा बुझ्नुपर्ने र सही पद्धति अपनाउँदा यसमा जोखिम शून्य वा न्यून हुने छ’ उनले भने । लघुवित्तहरुले थ्रि जीरो अवधारणामार्फते क्लबहरु गठन भएको र शून्य गरिबी, शून्य बेरोजगारी र शून्य कार्बन उत्सर्जनमा काम गरिरहेको र अझै निरन्तरताका लागि अनुरोध गरेका छन् । यसैगरी, आयोजक समितिका सदस्य सचिव बेचन गिरिले सम्मेलनले लघुवित्त अभियानलाई थप सदस्यमुखी, समुदायमुखी र उत्तरदायी बनाउन महत्वपूर्ण मार्गदर्शन प्रदान गरेको बताए । ‘लघुवित्तः वित्तीय सेवा मात्र नभई सामाजिक अभियान सम्मेलनले लघुवित्तलाई केवल वित्तीय सेवा प्रवाह गर्ने माध्यमका रूपमा मात्र नभई एक सामाजिक सशक्तिकरणको अभियानका रूपमा स्थापित गरेको छ’ उनले भने ।  समापन समारोहमा उत्कृष्ट कर्मचारी र संस्थालाई सम्मान गरिएको थियो ।