बीमा कम्पनीहरूको वित्तीय क्षमता बलियो, सोल्भेन्सी अनुपात नियामकीय मापदण्डभन्दा माथि
काठमाडौं । जीवन बीमा कम्पनीहरूको वित्तीय दायित्व बहन गर्न सक्ने क्षमता (सोल्भेन्सी रेसियो) समग्रमा मजबुत देखिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को तथ्यांकअनुसार १३ वटा जीवन बीमकको औसत सोल्भेन्सी अनुपात १.८१ प्रतिशत देखिएको छ । प्राधिकरणले जीवन बीमकको सोल्भेन्सी अनुपात १.३ तोकेको छ । तर १३ वटै जीवन बीमकको सोल्भेन्सी अनुपात १.३ भन्दा माथि नै रहेको छ । कम्पनीहरूको सोल्भेन्सी अनुपात नियामकले तोकेको न्यूनतम १.३ प्रतिशतभन्दा माथि रहनुले बीमितहरूको लगानी सुरक्षित रहेको र कम्पनीहरू भविष्यमा आउने सक्ने वित्तीय जोखिम न्यूनीकरण गर्न सक्षम रहेको संकत गर्छ। प्राधिकरणको तथ्यांकअनुसार रिलायबल नेपाल लाइफको सोल्भेन्सी अनुपात सर्वाधिक २.५४६ छ । सन नेपाल लाइफको सोल्भेन्सी अनुपात २.४३८, आइएमई लाइफको २.३९७, मेटलाइफको २.०८३ रहेको छ । त्यस्तै , एशिएन लाइफ इन्स्योरेन्सको १.३३२, सिटिजन्स लाइफको १.७२८, सूर्यज्योति लाइफको १.६५४, सानिमा रिलायन्स १.५१३, प्रभु महालक्ष्मी लाइफको १.९१६, नेशनल लाइफ इन्स्योरेन्सको १.६५५, नेपाल लाइफ इन्स्योरेन्सको १.५३७ र लाइफ इन्स्योरेन्स कर्पोरेशनको १.५०३ रहेको छ । हिमालयन लाइफको सोल्भेन्सी अनुपात सबैभन्दा कम १.३२४ छ । लघु जीवन बीमकको सोल्भेन्सी अनुपात पनि नियामकीय प्रावधानभन्दा माथि नै रहेको छ । प्राधिकरणले लघु जीवन बीमकको सोल्भेन्सी अनुपात १.५ तोकेको छ । गत आर्थिक वर्षमा गार्डियन माइक्रो लाइफको २.०६, लिबर्टी माइक्रो लाइफको १.९९ र क्रेस्ट माइक्रो लाइफको १.९७ रहेको छ ।
सरकारकाे 'सुन्ने अनि थुन्ने' नीतिमा भद्दा मजाक
काठमाडौं । सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल नियमित काममा फर्किएका छन् । कम्पनीले नेपाल स्टक एक्सचेञ्जलाई उनी नियमित काममा फर्किएको जानकारी दिएको हो । गत चैतमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई पक्राउ गरेको थियो । कम्पनीले कार्यरत कर्मचारीकाहरूलाई छुट्ट्याएको सेयर बाँडफाँट सम्बन्धमा गलत विवरण पठाएको आरोप लगाउँदै उनलाई पक्राउ गरिएको थियो । सीआईबीले उनीमाथि अनुसन्धान सम्पन्न गरेपछि उनी नियमित काममा फर्किएका हुन् । केही दिन हिरासतमा बसेका उनी पछि रिहा भएपनि कार्यालय हाजिर भएका थिएनन् । त्यसपछि कम्पनीले कवि फुयाललाई कामु सीईओको जिम्मेवारी दिएको थियो । कुनै पनि अनुसन्धान नगरी सीआईबीले ठाडो उजुरीका आधारमा अर्याललाई पक्राउ गरेको थियो । बीमा क्षेत्रमा राम्रो सीईओको छबि बनाएका अर्याललको पक्राउले बीमा क्षेत्र नै एकाएक तरंगित बनेको थियो । वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले अगाडि सुन्ने त्यसपछि मात्रै थुन्ने नीति लिएको बताए पनि सीईओ अर्याललाई भने ठाडो उजुरीका आधारमा पक्राउ गरिएको थियो । उनी सो विषयमा संलग्न नभएकै कारण सीआईबीले उनलाई रिहा गरेर उनी काममा पनि फर्किसकेका छन् । पछिल्लो समय सरकारले सुन्ने अनि थुन्ने भन्दा पनि थुन्ने अनि सुन्ने नीति आत्मसात गरेको अनुभुती, बैंकर, उद्योगी व्यवसायी तथा सर्वसाधारणले पनि गरेका छन् । सीईओ पक्राउ, बीमा क्षेत्र सरप्राइज
सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमा
काठमाडौं । आईएमई खल्ती लिमिटेड (खल्ती) ले नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ मा आफ्ना प्रयोगकर्तालाई सहभागी गराउने व्यवस्था गरेको छ । अब खल्तीमार्फत १०० रुपैयाँभन्दा बढीको योग्य डिजिटल भुक्तानी गर्ने प्रयोगकर्ता स्वतः दैनिक र पाक्षिक उपहार योजनामा सहभागी हुनेछन् । कार्यक्रमअन्तर्गत हरेक दिन एक जना विजेताले कर कट्टीपछि १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, प्रत्येक १५ दिनमा एक जना बम्पर विजेताले १० लाख रुपैयाँ जित्नेछन् । खल्तीका अनुसार योग्य कारोबारको विवरण सुरक्षित प्रणालीमार्फत स्वतः आन्तरिक राजस्व विभागको प्लेटफर्ममा पुग्नेछ । योग्य कारोबार भएपछि उपहार कुपन पनि स्वतः सिर्जना हुनेछ। प्रयोगकर्ताले उक्त कुपन खल्ती एपमै हेर्न सक्नेछन् । आन्तरिक राजस्व विभागले प्रत्येक महिनाको १ र १६ गते स्वचालित प्रणालीमार्फत विजेता छनोट गर्ने जनाएको छ। विजेतालाई मोबाइल फोन र इमेलमार्फत जानकारी दिइनेछ । खल्तीमार्फत विजेता बनेका प्रयोगकर्तालाई खल्तीले पनि विभिन्न माध्यमबाट जानकारी गराउने जनाएको छ । खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले सरकारको डिजिटल कर प्रणालीलाई प्रभावकारी बनाउन सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले डिजिटल भुक्तानी विस्तार, वित्तीय पारदर्शिता प्रवर्द्धन र औपचारिक अर्थतन्त्रको विस्तारमा खल्तीले निरन्तर योगदान गर्ने बताए ।