इलाममा सन नेपाल लाइफको दोस्रो चरण वृक्षारोपण, हजार फलफूलका बिरुवा रोपियो

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले देशव्यापी वृक्षारोपण अभियानलाई निरन्तरता दिँदै इलाम नगरपालिका क्षेत्रमा दोस्रो चरणको वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार सम्पन्न कार्यक्रम अन्तर्गत ५०० आरू र ५०० नासपातीसहित कुल १ हजार फलफूलका बिरुवा रोपेर इलाममा हरियाली अभियान औपचारिक रूपमा अघि बढाइएको कम्पनीले जनाएको छ । वृक्षारोपण कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, नायब प्रमुख कार्यकारी अधिकृत कबी फुयाँल, प्रमुख बजार अधिकृत गणेश चौलागाई, कोशी प्रदेश प्रमुख तुलसीनाथ पौडेल तथा विभिन्न शाखाका प्रमुखहरू सहभागी थिए । यस्तै, लुम्बिनी वर्ल्ड पीस फोरमका वृक्षारोपण अभियन्ता बासु गौतम, इलाम नगरपालिकाका मेयर केदार थापा, साथै विभिन्न वडाका जनप्रतिनिधि नुतन देव दुलाल (वडा ४ अध्यक्ष), दुर्गामदन श्रेष्ठ (वडा ६ सदस्य), दलमान तामाङ (वडा ६ अध्यक्ष), ओमनाथ प्रधान (वडा १० अध्यक्ष), पारस मणि काफ्ले (वडा ४ सदस्य) र कृषि प्राविधिक उपेन्द्र नेपालको पनि उपस्थिति थियो । कम्पनीले सामुदायिक दिगोपन, सामाजिक उत्तरदायित्व र वातावरणीय सन्तुलनलाई आफ्नो संस्थागत दर्शनको प्रमुख आधार मानेर देशभर वृक्षारोपण अभियान विस्तार गर्दै आएको छ । हाल, सन नेपाल लाइफ इन्स्योरेन्सले देशभरका १४८ शाखा तथा उप–शाखाबाट जीवन बीमा सेवाहरू प्रदान गरिरहेको छ ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको कामु सीईओमा अनिल जोशी नियुक्त

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले अनिल जोशीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी तोकेको छ । कम्पनीका अनुसार मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । पूर्व प्रमुख कार्यकारी अधिकृत लिलामणि न्यौपानेको दोस्रो कार्यकाल मंसिर २२ गतेदेखि सकिएको छ । अर्को व्यवस्था नहुँदासम्म वा अधिकतम ३ महिनासम्मका लागि नायव प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत अनिल जोशीलाई सीईओको जिम्मेवारी प्रदान गरिएको कम्पनीले जनाएको छ । निर्णय अनुसार जोशीको कायम मुकायम सीईओको कार्यभार मंसिर २३ गतेदेखि लागू हुनेछ ।  

यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६८ रुपैयाँ २३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १९२ रुपैयाँ ३४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७९ रुपैयाँ ४८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ९३ पैसा र बिक्रीदर १११ रुपैयाँ ४० पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २५ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ३५ पैसा र बिक्रीदर २० रुपैयाँ ४३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६३ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५१ पैसा र बिक्रीदर चार रुपैयाँ ५३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ १६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ११ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८० पैसा र बिक्रीदर नौ रुपैयाँ ८४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ २८ पैसा र बिक्रीदर १५ रुपैयाँ ३५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४३ पैसा र बिक्रीदर २२ रुपैयाँ ५२ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४६८ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४७० रुपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३८३ रुपैयाँ १० पैसा, ओमनी रियाल एकको खरिददर ३७३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ११ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।