१५ प्रतिशत लाभांश दिने डिप्रोक्स लघुवित्तको घोषणा
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । मंसिर २५ गते बसेको लघुवित्तको सञ्चालक समितिका बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त लाभांश मध्ये १० प्रतिशत बोनस सेयर रहेको छ भने ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।
नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई २१ प्रतिशत लाभांश दिने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । मंसिर २४ गते बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र १६.०५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनी सचिव विनोदकुमार भुजेलका अनुसार यो प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी हुने वार्षिक साधारणसभाले पारित गरेपछि सम्बन्धित सेयरधनीहरूमा वितरण गरिने छ ।
फर्स्ट माइक्रोफाइनान्सको ६.५ प्रतिशत नगद लाभांश प्रस्ताव
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ६.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । संस्थाको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । २०८२ असार मसान्तसम्म संस्थाको कुल चुक्ता पूँजी १ अर्ब ३४ करोड ४८ लाख ७१ हजार ३२३ रूपैयाँ रहेको छ । प्रस्तावित ६.५ प्रतिशत नगद लाभांश (करसहित) रकम ८ करोड ७४ लाख १६ हजार ६३६ रूपैयाँ बराबर हुनेछ । संस्थाले यसपटक बोनस सेयर नदिने निर्णय गरेको छ । लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएपछि आगामी वार्षिक साधारण सभामा पेश गर्ने संस्थाले जनाएको छ । कम्पनी सचिव विजय शर्माले लाभांश स्वीकृतिपछि आवश्यक प्रक्रिया अघि बढाइने उल्लेख गरेका छन् ।