सिटिजन लाइफको नाफा १०६.६३ प्रतिशत बढ्यो, ८.९१ अर्ब दाबी भुक्तानी गर्याे

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा १०६.६३ प्रतिशत बढेर ३९ करोड ८ लाख ४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले १८ करोड ९१ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्ष कम्पनीको खुद बीमा शुल्क २५.८७ प्रतिशत बढेर ८ अर्ब ९७ करोड ७१ लाख २० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ७ अर्ब १३ करोड २१ लाख ४२ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।  समीक्षा अवधिमा इन्स्योरेन्सको खुद दाबी भुक्तानी २७.६९ प्रतिशत बढेर ८ अर्ब ९१ करोड २७ लाख ८४ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले ६ अर्ब ९८ करोड १ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत वर्ष कम्पनीले ११ अर्ब १८ करोड ५० लाख ११ हजार रुपैयाँ कुल आम्दानी गरेर १० अर्ब ७९ करोड ४२ लाख ६ हजार रुपैयाँ कुल खर्च गरेको थियो । अघिल्लो वर्ष कम्पनीले ९ अर्ब १९ करोड ८७ लाख १३ हजार रुपैयाँ कुल आम्दानी गरेर ८ अर्ब ६४ करोड ९४ लाख ६१ हजार रुपैयाँ कुल खर्च गरेको थियो ।  ५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सेयर प्रिमियममा ४४ करोड ९६ लाख रुपैयाँ, महाविपत्ती कोषमा २६ करोड ९४ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ४९ करोड ८३ लाख रुपैयाँ र अन्य इक्विटीमा ३६ करोड २६ लाख रुपैयाँ रहेको छ । नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ४.०३ रुपैयाँबाट बढेर ७ .८२ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३१.६० रुपैयाँ रहेको छ । 

सन नेपाल लाइफद्वारा गण्डकी र नारायणी क्षेत्रका उत्कृष्ट अभिकर्ता सम्मानित

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गण्डकी तथा नारायणी क्षेत्रअन्तर्गतका एजेन्सी डेभलपमेन्ट म्यानेजर (एडीएम) तथा सन इमर्जिङ क्लबमा योग्य अभिकर्ताहरूलाई सम्मान गरेको छ । पोखरास्थित होटल निवासमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा प्रमुख बजार अधिकृत गणेश चौलागाईंको विशेष आतिथ्यतामा सम्मान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गण्डकी तथा नारायणी क्षेत्रका प्रदेश प्रमुख ईश्वर विकल सापकोटाले एडीएम तथा अभिकर्ताहरूको क्षमता, सक्रियता र व्यावसायिक विकासमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने बताए । प्रमुख कार्यकारी अधिकृत अर्यालले अभिकर्ताहरू कम्पनीको व्यवसाय विस्तारका प्रमुख आधार रहेको उल्लेख गर्दै अभिकर्ताको वृद्धि, विकास, प्रोत्साहन तथा सम्मानका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । प्रमुख बजार अधिकृत गणेश चौलागाईंले अभिकर्ता तथा एडीएमले प्राप्त गर्ने विभिन्न सेवा–सुविधा, एडीएमको भूमिका तथा बिक्री नीति २०८३/८४ का प्रमुख विषयवस्तुबारे जानकारी गराए । उनले नयाँ बिक्री नीति तथा योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै व्यवसाय विस्तारमा थप सक्रिय हुन अभिकर्ताहरूलाई आग्रह गरे । कार्यक्रममा योग्य एडीएम तथा सन इमर्जिङ क्लबका अभिकर्ताहरूलाई सम्मान तथा प्रोत्साहन प्रदान गरिएको थियो । सम्मानले अभिकर्ताहरूमा थप ऊर्जा र उत्साहसँगै आगामी दिनमा उत्कृष्ट व्यवसाय प्रदर्शन गर्ने प्रेरणा मिलेको सहभागीहरूले बताएका छन् । सन नेपाल लाइफले देशभरका करिब १५० शाखा तथा सेवा सञ्जालमार्फत जीवन बीमासम्बन्धी सेवा तथा जानकारी प्रदान गर्दै आएको छ । कम्पनीले आगामी दिनमा पनि अभिकर्ता तथा एजेन्सी सञ्जालको क्षमता अभिवृद्धि, व्यावसायिक विकास र सम्मानलाई प्राथमिकतामा राख्ने जनाएको छ ।

धौलागिरी लघुवित्तको डीसीईओमा मिनप्रसाद जोशी नियुक्त

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले मिनप्रसाद जोशीलाई नायब प्रमुख कार्यकारी अधिकृत पद (डीसीईओ)मा नियुक्त गर्ने निर्णय गरेको छ। संस्थाको सञ्चालक समितिको बिहीबार बसेको ५६औँ बैठकले जोशीलाई डीसीईओमा स्थायी नियुक्त गर्ने निर्णय गरेको हो । संस्थाका अनुसार जोशीको नियुक्ति भदौ १ गतेदेखि लागू हुनेछ । बैठकको निर्णय अनुसार जोशीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय भएको संस्थाले जनाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत हेमराज जोशीले उक्त जानकारी दिएका हुन् ।