कुमारी बैंकले सीईओ उपाध्यायलाई निलम्बन गर्यो, निमित्त सीईओ राजीव गिरी

१४ फागुन/कुमारी बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)उदयकृष्ण उपाध्यायलाई निलम्बन गरेको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सीईओ उपाध्यायलाई निलम्बन गरी निमित्त सिईओको जिम्मेवारी राजीव गिरीलाई दिएको छ । विदामा बसेका प्रमुख कार्यकारी अधिकृत उपाध्यायको आचरण खराव देखिएकोले तत्काल निलम्बन गर्नु परेको बैंकका एक सञ्चालकले बताए । उनी बैंकमा हाजिर भएपछि प्रष्टीकरण लिने लगायत आवश्यक कारवाही हुने उनले बताए । प्रमुख कार्यकारी अधिकृत उपाध्यय वार्षिक विदा अन्तरतग फागुन एकदेखि १५ गतेसम्मका लागि छुट्टीमा बसेका थिए । फागुन ११ गते महानगरीय प्रहरी वृत तिनकुनेले कोटेश्वरको एक गेष्ट हाउसबाट पक्राउ गरी थुनामा राखिएरहेको छ । ‘पहिला उहाँ अपहरणमा परेको भन्ने जानकारी आएको थियो । खोज्दै जाँदा उहाँलाई प्रहरीले पक्राउ गरेको रहेछ । त्यो पनि गलत आचरणको विषय जोडिएर आयो’–ती सञ्चालकले भने–‘प्रहरीले सार्वजनिक अपराधको आरोप लगाएर मुद्दा हाल्ने तयारी गरिरहेको व्यक्तिलाई बैंकको मुख्य पदमा कायम राख्न सकिदैन ।’ ‘उहाँको आचरणबारे गम्भिर समाचार प्रकाशित भएका छन् । बैंकको छवि उहाँको आचारणसँग जोडिएर आएको छ । त्यसैले तत्कालका लागि निलम्बन गरेका, उहाँ आएपछि स्पष्टीकरणको मौका दिनेछौं’ ती सञ्चालकले भने–‘उहाँले सफाई दिनसक्नुभयो भने पुर्नवहाली हुन्छ, मनासिव प्रमाण दिनसक्नुभएन भने आवश्यक कारवाही हुनेछ ।’ उपाध्यायलाई प्रहरी कार्यलयले तिनकुनेमा थुनामा राखेको छ । उनीमाथि सार्वजनिक अपराध सम्वन्धि मुद्दा चलाईएको छ । फागुन १३ गते जिल्ला प्रशासन कार्यलय काठमाडौंले उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको छ । निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका गिरी सोही बैंकका नायब प्रमुख कार्यकारी अधिकृत हुन् । उनी १० महिनाअघि मात्र कुमारी बैंकमा प्रवेश गरेका हुन् । उनले स्ट्यान्डर्ड चार्टर्ड बैंकमा २५ बर्षको अनुभव संगालेका छन् ।

सामसङ सिडिएमए आयो, एकै पटक एक अर्बको मोबाइल अर्डर

१५ फागुन । सामसङ मोबाइलले सिडिएम र जीएसएम सिमकार्ड प्रयोग गर्न मिल्ने ‘सामसङ ग्यालेक्सी एस फोर’ स्मार्ट फोन नेपाली बजारमा भित्र्याएको छ । सामसङ मोबाइलका लागि नेपालको आधिकारीक बिक्रेता इन्टेग्रेटिड मोबिलिटी सर्भिस(आईएमएस)ले नेपालमै पहिलो पटक सिडिएमए र जिएसएम नेटवर्क सहितको स्मार्ट फोन भित्र्याएको हो । आईएमएस र नेपाल टेलिकमले सामसङ कम्पनीलाई बिशेष अनुरोध गर्दै नेपालका लागि सिडिएमए स्मार्ट फोन निर्माण गर्न लगाएका हुन् । सामसङ कम्पनीले तीन बर्ष पहिले नै बन्द गरेको सिडिएमए मोबाइलको उत्पादन नेपाली बजारको मागलाई सम्बोधन गर्दै पुनः निर्माण गरेको हो । १२ हजार मुल्य पर्ने ग्यालेक्सी एस फोरमा सिडिएम र जीएसएमको दुबै सिमकार्ड प्रयोग गर्न सकिन्छ । नेपालका ग्रामीण क्षेत्रमा स्मार्ट फोनको सुबिधा विस्तार गर्ने योजनासहित सिडिएमए स्मार्ट फोन ल्याएको आईएमएसका अध्यक्ष दिपक मलहोत्राले बताए । नेपालको ग्रामीण क्षेत्रमा सिडिएमए फोनको माग अत्याधिक रहेको र स्मार्ट फोनको सिरिजमा सिडिएमए मोबाइल उपलब्ध नरहेकाले सामसङले त्यस्तो प्रयास गरेको उनले बताए । नयाँ फोनबाट गाउँ गाउँमा इन्टरनेतको सुबिधा पुग्ने उनले बताएका थिए । एकै पटक एक अर्बको फोन अर्डर आईएमएस प्रालिले एकै पटक एक अर्बको मोबाइल अर्डर एक अर्बको मोबाइल सेट अर्डर गरेको छ । कम्पनीले सिडिएमए र जीएसएम सर्भिस सहितको सामसङ ग्यालेक्सी एस फोर मोबाइल एकै पटक एक अर्ब ८० करोड मुल्य बराबरको अर्डर गरेको हो । १८ महिनाका अर्थात डेढ बर्षमा बेच्ने लक्ष्यसहित आईएमएसले ९० हजार सिडिएमए स्मार्ट फोनको अर्डर गरेको कम्पनीका निर्देशक डिकेश मलहोत्राले बताए । प्रतिसेट १२ हजार मुल्य पर्ने ९० हजार सेट मोबाइल फोनको कुल मुल्य एक अर्ब ८ करोड हुन्छ । नेपालको हिमाली, पहाडी तथा ग्रामीण क्षेत्रमा सिडिएमए फोनको अत्याधिक प्रयोग हुने गरेको छ । सोही बजारलाई मध्यनजर गर्दै कम्पनीले ठूलो मात्रामा फोन अर्डर गरेको हो । ‘नेपालको ग्रामीण क्षेत्रमा सिडिएमए मोबाइलको राम्रो बजार छ, त्यसकै लागि सामसङका स्मार्ट फोन भित्र्याएका हौं’–निर्देशक मलहोत्राले भने । के के छन् त ग्यालेक्सी एस फोरमा ? सिडिएम र जीएसएम सिमकार्ड लाग्ने यो मोबाइलमा ३ एमपी रिअर क्यामेरा, ४ जिबीको इन्टर्नल तथा ६४ जिबीको एक्सपाण्डेबल मेमोरी र ५१२ को ¥याम रहेको छ । यसमा १.२ गिगाहर्जको ड्युअल कोर प्रोसेसरका साथमा १५०० एमएएचको ब्याट्री रहेको छ । गाउँगाउँमा इन्टरनेट सहितको सिडिएमए फोन सामसङ सिडिएमए फोनको सार्वजनिक गर्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले गाउँ गाउँमा इन्टरनेट सहितको सिडिएमए फोन पुग्ने बताए । उनले नेपालका पहाडी तथा दुर्गम क्षेत्रमा सिडिएमए सेवाको बजार राम्रो रहेको बताउँदै अब त्यसका प्रयोगकर्ताहरुले समेत इन्टरनेटको सुबिधा प्रयोग गर्न सक्ने बताए । टेलिकमको मोबाइल सेवा निर्देशनालयका निर्देशक लोचनलाल अमात्यले सिडिएमए सेवामा ८ गिगाबाईटको इन्टरनेट क्षमता भएपनि हालसम्म १ गिगाबाईट समेत प्रयोग नभएको जानकारी दिएका थिए । उनले सामसङको सिडिएमए स्मार्ट फोनले गाउँगाउँका जनतामा इन्टरनेटको पहुँच विस्तार गर्ने दावी गरेका थिए ।

लुम्विनी इन्स्योरेन्समा पहिरो गयो, सीईओ र डेपुटी सीईओले पनि खुट्टा उचाले

१४ फागुन/लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबाट एकपछि अर्को गर्दै कर्मचारीले छोडिरहेका छन् । हालसालै एक दर्जन कर्मचारीले लुम्बिनी छोडेर युनाईटेड इन्स्योरेन्स प्रवेश गरेका छन् भने प्रमुख कार्यकारी अधिकृत शेखर बराल र सहायक प्रमुख कार्यकारी अधिकृत विनोदकाजी श्रेष्ठले पनि अन्य कम्पनीमा जान खुट्टा उचालेका छन् । स्रोतका केन्द्रीय कार्यलयबाट कम्तिमा पाँच जना कर्मचारीले छाडेका छन् । यादव पाठक, सविना महर्जन, लक्ष्मण पराजुली, दीपक खत्री लगायतले लुम्बिनी इन्स्योरेन्समा राजीनामा दिएर युनाईटेड इन्स्योरेन्समा प्रवेश गरेका हुन् । त्यस्तै, ठमेल शाखाका अर्का एक कर्मचारी पनि लुम्बिनी छोडेर युनाईटेड गएका छन् । त्यस्तै, धनगढी शाखा प्रमुख राकेश कर्माचार्यसहित ४ जनाले लुम्बिनी इन्स्योरेन्स छोडेर युनाईटेड इन्स्योरेन्स गएका छन् । उक्त ब्रान्चका सुरक्षाकर्मी र सहायक एक कर्मचारी बाहेक सबै युनाईटेड गएका हुन् । कम्पनीको ब्राण्ड इमेजले भन्दा कर्मचारीको मिहेनत र सम्वन्धमा आधारित बीमा बजारमा ब्रान्चका मुख्य मान्छेहरुले एकैपटक छाडेपछि उक्त शाखाको व्यापार नराम्ररी प्रभावित भएको छ । त्यस्तै हेटौडाबाट बद्री अधिकारीसहित दुई जनाले लुम्बिनी इन्स्योरेन्समा राजीनामा दिएर युनाईटेडमा हाजिर भएका छन् । लुम्बिनी इन्स्योरेन्सकै नेपालगञ्ज शाखाका रमेश पण्डित युनाईटेड गएका छन् । मध्यम र तल्लो तहका कर्मचारीको पहिरो चलिरहेको बेलामा, उच्च तहका व्यवस्थापक पनि कम्पनी छोड्न खुट्टा उचालेर बसेको स्रोतले बतायो । केन्द्रीय कार्यलयका वित्त प्रमुख गणेश कापरले राजीनामा गरि घरमा बसेका छन् । त्यस्तै सहायक प्रमुख कार्यकारी अधिकृत विनोद काजी श्रेष्ठ कम्पनी छोड्ने मनस्थितिका साथ उपयुक्त अवसरको खोजीमा लागेका छन् । उनले पुर्नजन्म पाउँदै गरेको एनवी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा आवेदन गरेको स्रोतले बतायो । त्यस्तै, प्रमुख कार्यकारी अधिकृत शेखर बराल पनि युनाईटेड इन्स्योरेन्समा जान लागेको बताईएको छ । युनाईटेड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विरविक्रम रायमाझीले दिएको राजीनामा फागुन एकदेखि लागू गरि स्वीकृत भईसकेको छ । कम्पनीले प्रमुख कार्यकारी अधिकृतका लागि आह्वान गर्दै सार्वजनिक सूचना प्रकाशित गरेको छ । नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्तीको विषयमा बराल र युनाईटेड इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष शर्माबीच भेटवार्ता भईसकेको स्रोतले बतायो । तर बरालले विकासन्युजसँग कुरा गर्दै आफूले युनाईटेड इन्स्योरेन्समा जाने तयारी नगरेको बताए । उनले लुम्बिनी इन्स्योरेन्स तत्काल छोड्ने सम्भावना नभएको बताए । स्रोतका अनुसार प्रमुख कार्यकारी अधिकृत बराल र कम्पनी सञ्चालक समिति सदस्य चिन्तामणि भट्टराईबीच बढ्दो टसलले पनि बराललाई काम गर्न अप्ठ्यारो परेको छ । फागुन २५ हुन गईरहेको लुम्बिनी इन्स्योरेन्सको १० औं साधारसभा सम्पन्न भएपछि बरालले कम्पनी छोड्न सक्ने अडकलबाजी लुम्बिनी इन्स्योरेन्स भित्रै भईरहेको छ । बीमा समितिले जारी गरेको संस्थागत सुशासन भित्र बस्ने हो भने युनाईटेड इन्स्योरेन्समा बरालले मासिक १ लाख ५७ हजार पाँच सय रुपैयाँ भन्दा बढी पारिश्रमिक पाउने छैनन् । जवकी उनले लुम्बिनी इन्स्योरेन्समा मासिक एक लाख ७५ हजार रुपैयाँ भन्दा बढी नै पाउँदै आएका छन् ।